चिया कारखाना खरानी

विज्ञापन

कालेबुङ, 1 फरवरी


अलकेमिस्ट ग्रुपले सञ्चालन गरेको अनि केही वर्षदेखि बन्द रहेको दार्जिलिङको धोत्रे चियाकमानको तुङसुङ कारखाना जलेर नष्ट बनेको छ। बिहान कारखाना जलिरहेको देखेपछि स्थानीय मानिसहरूले निभाउने यत्न गरेको थियो, तर त्यतिबेलासम्म कारखाना पूर्णरूपले क्षति भइसकेको थियो। आगो लाग्नुको कारण खुलेको छैन।

केहीवर्ष अघि अलकेमिस्ट ग्रुपले धोत्रे चियाकमान ‘लकअप’ गरेको थियो। उत्पादन नोक्सानमा पुगेको भन्दै बन्द गरिएको बगान अझसम्म खोलिने छाँट थिएन। यस्तोमा आज बिहान नै कारखाना खरानी बनेको छ।

सन् 1944 मा बनाइएको कारखाना खरानी बनेपछि चियाबगान सङ्ग्राम समितिले आगलागीको घटनाको उचित छानबिनको माग गरेको छ।

‘घटनाको छानबिन गरेर दोषीहरूलाई सजाय दिइनुपर्छ,’ समितिले भनेको छ, ‘फ्याक्ट्री पुनर्निर्माण गरी कमान सञ्चालनमा ल्याउनुपर्छ।’

स्थानीयले दिएको जानकारीअनुसार केही महिनाअघि यसै कमानको कार्यालयमा रहेका कम्प्युटर र अन्य सामानहरू चोरी भएको थियो। चोरीको घटनाबारे थाहा पाएपछि श्रमिकहरूले यसबारे पुलिसलाई सूचित गरी सुरक्षा दिइनुपर्ने मागसमेत गरेको थियो।

दार्जिलिङ, तराई डुवर्सलगायत उत्तरबङ्गालमा अहिले 23 वटा चियाबगान बन्द छन्। धोत्रे, कलेजभ्याल्ली र पेशोक बगान अलकेमिस्ट ग्रुपले नै चलाइरहेको थियो, जो केही वर्षदेखि बन्द छन्। दार्जिलिङमा मात्र यस्ता पाँचवटा बगान बन्द छन्। तराईँमा दुइवटा र डुवर्समा 16 वटा बगान बन्द छन्। उत्तर बङ्गालका दार्जीलिङ पहाड़, तराई र डुवर्स क्षेत्रमा करिब 276 चिया बगान छन्, जहाँ लगभग 4,50,000 मजदुरहरू काम गर्छन्।

हिजोदेखि शुरु भएको बजट संसद सत्रमा अकोपेसन एण्ड हेल्थ विधेयक ल्याइने भएको छ। दार्जिलिङका सांसद राजु विष्टले यसैअन्तर्गत चिया श्रमिकहरुलाई निम्नतम् वेतनको सुविधा प्रदान गरिने जनाएका छन्। ‘जुन  बगान श्रमिक ऐन (प्लान्टेसन्स लेबर एक्ट)को कारण श्रमिकहरूले निम्नतम् वेतनको सुविधा पाएका छैनन्,’ विष्टले भनेका छन्, ‘त्यो एक्टलाई हटाएर यो सुविधा श्रमिकहरुलाई दिइनेछ।’

हिजो मात्र सिलगढीमा भारतको चिया पर्षदको बैठक भएको थियो, जहाँ उत्तर बङ्गालका बन्द बगानहरू खोल्न भारतको केन्द्र सरकारसित अपिल गरिने प्रस्तावना लिइएको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया