
संवाद र कविता
प्रणय शङ्कर नयाँ हाँचका गम्भीर कविताकर्मी हुन्। केही फुटकर कविताहरूबाट नै आफूलाई बलिया कविकोरुपमा स्थापित गर्दै आइरहेका। शङ्करको वैचारिक फ्लोर पनि स्पष्ट छ। कविताका परम्परा र ‘कन्टेम्पोररी कन्सस’ छिचोलेर अघिको बाटो तय गर्न कविले उठाउनुपर्ने जोखिमसमेत चिन्न सक्ने कवि हुन्। उनका वैचारिक ‘स्पेस’-मा कविताको भविष्य चिन्न यो संवादले निक्कै सहयोग गर्छ भन्ने लागेको छ। यहाँ छ, प्रणयको विचार र तीन कविता- सम्पादक
विशाल नाल्बो
तपाईँको दृष्टिकोणमा अहिले भारतीय नेपाली कविताको अवस्था कस्तो छ?
कुनै पनि कुराको अवस्थाको नापतौल गर्न पर्दा तुलनात्मक दृष्टिकोणमा नै हेर्नु पर्ने हुन्छ। यस अर्थमा भन्नु पर्दा अहिले भारतीय नेपाली कविता संसारको फाँट त्यति गतिलो देखेको छुइनँ। अग्रजहरुले जे जति गरे अनि लेखेर साहित्यको सेवा गरे त्यो अतुल्य छ। तर वर्तमानमा जे जति हामीले लेखिरहेका छौं परिमाणमा राम्रै लेखिरहेका छौं।
हामी आफैमा समृद्ध छौं। तर गुणात्मक रूपमा जसरी नेपालमा लेखिरहेका कविताहरू, भारतीय हिन्दी कविता, भारतीय अङ्ग्रेजी कविता, पूर्वीय भारतीय राज्यमा लेखिरहेका कविताहरुका तुलनामा अलिक कमसल नै देखिँदैछ। कन्टेन्टमा त हामी सीमित नै छौं । हाम्रो क्राफ्टले पनि विश्व काव्यिक सौन्दर्य अनि संवेदनालाई अलिक छुन सकिरहेका छैनौं।
आफ्नै ‘रिजन’मा खुम्चिएर जाँदैछौं। हामीले कवितालाई आफ्नै दुखेसो पोख्ने माध्यम मात्र बनाएका छौं। सेन्टिमेन्टल। आक्रोसित। प्रेमिल कविताहरू पनि एउटै फर्म्याटमा आइरहेको छ। हरेक जाति अनि युगको आफ्नै महाआख्यान हुन्छ। हाम्रो महाआख्यान हो, जातीय अस्मिताको चेतना।
तर हाम्रो अस्मिताको सङ्ग्राम घरी घरी रुमलिएकोले हाम्रो काव्यिक अभिव्यक्ति पनि रुमालिएर गइरहेको छ। हामीले यस विषय बाहिर केही सोच्न सकिरहेको छैनौं। यसैले हामीले जहीँ बसेर कविता लेखेता पनि कविताहरूको बोध, अभिव्यक्ति अनि सौन्दर्य एकै खाले भएर आइरहेको छ। जसले कविताको विविधता मारेर लाँदैछ। तर यति भन्दाभन्दै पनि नारी लेखनमा पवित्र लामाले राम्रो काम गरिरहेकी छिन्। उहाँले आफ्नो क्राफ्टलाई ‘सिरियस्ली’ लिएकी छिन्। प्रेमिल कवितामा तार्मित लेप्चाको समसामयिक फ्लेवर छ।
प्रभात चिसोले जत्तिको अहिले दार्जीलिङे ‘सेन्सिनिलिब्लीटी’-लाई कसैले जनमानसमा उतार्न सकेका छैनन्। मिरिकबाट साहित्य सङ्गम, साहित्य सुनाउँको पहलमा राम्रो काम भइरहेका छन्। छन्द बद्ध कवितामा मणिराज खनाल अनि गजलमा भाइ सञ्जोक खवासहरुले राम्रा लेखिरहेका छन्।
‘आहा… कविता’ साङ्ग्रिला बुक्सद्वारा प्रकाशित कविता सङ्गालोभित्र परेका कविताहरुलाई कविहरुको प्रतिनिधि कविता नमानेर कविता सौन्दर्यको एक नुन्यतम् मानक मानेर कवि कवियत्रीहरूले आफ्ना क्राफ्टलाई सिरियसली लेखे हाम्रो भविष्य उज्जल छ। अग्रजहरूको विषयमा केही भन्ने वा लेख्ने आँट अहिले नै राखिन। अनि थुप्रै छन् जो चुपचाप उत्कृष्ट लेखिरहेका होलान् उहाँहरुलाई यहाँ उल्लेख गर्न सकिनँ।
तपाईँले कविता लेखिरहँदा तपाईँको ध्यान केमा चाहिँ बढी केन्द्रित हुन्छ? कन्टेन्ट वा क्राफ्ट?
खासै भन्न पर्दा म भर्खरै कविता लेख्दैछु। भनौं भने मैले कविता लेखेको एक वर्ष पनि भएको छैन। हुनत मैले पहिलो कविता २००१ मा लेखेको थिएँ। त्यसपछि १८ सालको अन्तरालमा लेख्न थालेको हुँ। विशेष मिरिक आएर मनमा बसेका कुराहरूले कविताको रूपमा अभिव्यक्ति पाउन सक्यो।
म अलिक क्राफ्टलाई नै बेसी ध्यानमा राखेर लेख्छु। भन्नै पर्दा कन्टेन्टमा हामीले बेसी केही गर्न सक्दैनौं। हामीमा सीमित युनिभर्सल्ली एकसेप्टेड विषय थिमहरू छन्। प्रेम, मृत्यु, समय, जीवन अनि आस्था। जुनै युग अनि देशको कविता भनौं या साहित्य यी विषयहरुको वरिपरि घुमेको हुन्छ। कन्टेन्टमा बेसी नयाँ केही थप्न सक्दैनौं। तर यी विषयहरूलाई तपाईंले आफ्नो अभिव्यक्ति अनि क्राफ्टद्वारा कसरी नौलो दृष्टिकोण दिनु हुन्छ त्यो मुख्य विषय हो।
तपाईंलाई भीडबाट मौलिक अनि भिन्नै देखाउने कविताको तत्व सौन्दर्य नै क्राफ्टमा हुन्छ। शब्द, बिम्ब, प्रतिकहरूमा हुन्छ। सामान्य विषय वस्तु अनि समसामयिक घटनालाई उठाएर अलिक भिन्नै प्रकारले पस्कने चेष्टा गरिरहेको छु। म मेरो क्राफ्टलाई गम्भीर रूपमा लिँदैछु।
तपाईँको अधिकांश कविता पढिरहँदा लाग्छ, तपाईँ आफु बाँचिरहेको समयलाई लेख्न खप्पिस हुनुहुन्छ। तपाईँको विचारमा चाहिँ कवि भइसके पछि एउटा कविले आफु बाँचेको समय अथवा समाज लेख्न कतिको जरूरी रहेछ?
कवि अनि समाज। यस विषयमा अनेक लेखिए। लेखिने छ। कविको भूमिकामा अनेक मत मतन्तर हुन सक्छ। कविको चेतना अनि अभिव्यक्तिमा सँधै आफू बसेको, भोगेको समयको अनि विचारको चेत त हुन्छ नै अनि अभिव्यक्तमा स्वतः आउँछ छ नै। यो जटिल प्रश्न होइन।
प्रश्न छ, कि के कविले साच्चै समाज लेख्छ त? अहिलेको सामाजिक सञ्जालको कम्प्लेक्स वर्ल्डमा धेरै कविहरुले भीडतन्त्र अनि लिन्चिङको विषयमा लेखिरहेका छन्। के फेक, के रियल छुट्याउन गाह्रो परिरहेको समयमा हामी कतिलाई थाह छ हामी कविहरु आफै त्यो भीड अनि भिक्टिम सृजना गर्दैछौं फेसबुक, वाट्सएपमा फेक न्युज शेयर गरेर? कतिलाई थाह छ झुटमा आधारित देशको महाआख्यान परिवर्तन भइसक्यौ भनेर?
नारी उत्पीडनको विषयमा लेख्छौं, तर कतिलाई थाहा छ रात विरात जबरजस्ती केटीहरूसित फेसबुक वाट्सएपमा फ्रेन्ड्स भयो भन्दैमा जबर्जस्ती हाई, हेल्लो पठाउँछौं। उमेरको भिन्नता अनि समयको ख्याल नगरी। समाजमा भएको विभ्रान्ति अनि विसङ्गतिलाई इङ्गित गरेर कविता लेख्नु सजिलो हो। तर आफैभित्रको विभ्रन्ति अनि विसङ्गति लेख्नु जटिल हो। यसैको उपज मेरो दुइ कविता ‘आधुनिक एमफिथिएटर’ अनि ‘मलाई मास्क सँग डर लाग्दैन’।
मेरो क्वेस्ट-
‘के कविता लेखिसिध्याएर कवि
हिजभन्दा अलिक असल मान्छे बनेको
उदाहरण कहीं छ’
‘व्लार, दिंगर,बुढो मानिस’ मेरो कविताबाट एक अंश।
यो समय कविहरूले पनि आख्यान लेख्ने ट्रेन्ड बढेर गइरहेको छ। तर तपाईँ भने चाहिँ कवितै लेखिरहँनु भएको छ। किन? तपाईँको विचारमा कवितामा के छ त्यस्तो जो आख्यानमा छैन?
सायद हुनसक्छ कविहरूले आख्यान लेख्न सकिरहेका छन् यसैले। जो कोहीले लेख्न सक्ने कुरा होइन। साधना नै चाहिन्छ। एउटा सर्जकमा भन्ने कुरा धेरै हुन्छ। मानव मनोविज्ञान, सम्बन्धहरुको सञ्जाल जटिल कुरा हो। कविता अनि आख्यानमा त्यस्तो केही फरक हुँदैन। दुईवटै मानव जीवन अनि संवेदना चियाउने वा पस्कने माध्यम हुन्। फरक क्राफ्टमा हुन्छ। सर्जकको आँटमा हुन्छ अनि अलिक बढी भन्ने हो भने कविता अलिक आत्मापरक हुने हुँदा पाठक सर्जक दुवैलाई मिनोटोनी जग्न सक्छ।
आख्यानका चरित्र घटना काल देश अलिक वस्तुपरक हुने हुनाले पाठकले त्यो स्वतन्त्रता पाउँछ जसमा उसले आफैंलाई त्यो परिस्थिति चरित्रसँग आफैलाई चिन्निहित ( identify) गर्न सक्छ। पात्रहरूलाई empathy गर्न पाउँन सक्छ। यसैले आख्यान रूचाएर पढ्छन् पाठक। कविताले सबैकुरा समेट्न सक्दैन। कविले अभिव्यक्त गर्न त्यो स्वतन्त्र पाउँदैन जुन कुरा आख्यानले दिन्छ। ग्लोबल आउटलूक , ह्वेल ट्रवेल्लड आख्यानकारहरू छन्, यसैले नयाँ प्रयोगमा लेखिरहेका छन्। अनि सफल पनि बनिरहेका छन । बजारको हिसाबमा पनि अनि क्रिटिकल्ली पनि। हिजाज निकै जोसिएर नेपाली आख्यानहरू पढिरहेको छु। भर्खरै साहित्य संगम मिरिकको पहलमा मेरो एकल कविता वाचन सम्पन्न भयो। सबैले मन पराए। कविताको क्राफ्टमा अलिकति सफल बनेको छु। पहिलो सङ्ग्रह निकाल्ने तरखरमा छु। अहिले कवितामा नै फोकस गर्दैछु। ८६ को आन्दोलनको पृष्ठभूमिमा प्रेम विछोडको विषयमा लेखिन्छ होला भविष्यमा । तर अहिले नै आख्यान लेख्ने आँट छैन। भनौं भने म मा आख्यानकारको आँट र क्राफ्ट दुवै छैन अहिले।
भारतीय नेपाली साहित्यमा त्यस्ता धेरै साहित्यिक अभियान अथवा आन्दोलनहरू जन्मिए। जसको असर खासै देखिएन भारतीय नेपाली साहित्यमा। अहिले पनि भारतीय नेपाली साहित्य प्रायः कन्फ्युज अवस्थामै बाँचिरहेको छ। यस्ता कन्फ्युजन सिर्जना गर्ने अभियान र आन्दोलनसँग तपाईँको निजी सहमति विमति के कस्तो छ?
एक छन् कल्पना गरौं यी वाद, धारा अनि अभियानहरू बिनाको हाम्रो साहित्य! कस्तो हुने थियो होला? सपाट! नेपाली साहित्यमा केही असर गरेन भन्न नमिल्ला। ती साहित्यिक धारा अनि अभियानहरुले हाम्रो साहित्यलाई भारतीय साहित्यमा अनि विश्व साहित्यमा कहा पुऱ्यायो यो चाहीँ चर्चाको विषय अवश्य हो। म कक्षा नौं मा हुँदा पढेको पहिलो पटक आयामिक आन्दोलन। त्यसपछि लीला लेखन हुँदै विचलन लेखन, हस्तक्षेप अनि समावेशी लेखन । चिया लेखन । अझै अन्य धेरै कति होलान्। हामी आफैमा समृद्ध भइरहेका छौं। तर हाम्रो काव्यिक समृद्धता अन्य जाति अनि ठाउँको साहित्यिक गुणात्मकतामा हाम्रो अवस्थान कहा छ? यसको लेखा जोखा हुन पऱ्यो।
एउटा कुरा स्पष्ट हुन पर्छ, समाजले साहित्यलाई जुन तीव्रतामा असर गर्दछ जीवन भोगाई अनि बचाईको चेत झल्किन्छ साहित्यमा, त्यै इन्टेन्सिटीमा साहित्यले समाजलाई बाटो नदेखाउँला! साहित्यको पछि समाज नहिँड्ला ! नत्र जुन परिमाणमा प्रेमिल कविताहरु लेखिँदैछ त्यस कुराले समाजलाई अति प्रेमिल बनाइसक्नु पर्ने ! जस्तो प्रकारको विद्रोहको आवाज परापूर्व कालदेखि कवितामा उठिरहेको छ त्यसले समाज परिवर्तन भएर अनि देश बद्लेर यति सुशील समाज भइसक्न पर्ने कि हामी सबै अहिले प्रोपागान्डा मात्र लेखिरहेको हुन पर्ने!
फेरि वाद,धाराको नाम दिँदैमा त्यस ठाउँ अनि समयको साहित्य सम्बृद्ध भइहाल्ने होइन। फेरि साहित्यिक वाद, अभियानहरू आफै नयाँ पनि हुँदैनन्। कहीं कतै भिन्नै फर्ममा प्रयोग भएकै हुन्छ। आयामिक लेखन ‘क्युबिस्म’ देखि कति फरक छ? लीला लेखन पूर्वीय दर्शन मायादेखि, हस्तक्षेपी मार्क्सवाद, नव मार्क्सवाददेखि अनि समावेशी लेखन डब्लु बि यिस्टको आइरिस फोकलोर, ग्रीक मिथस् कवितामा प्रयोग, नेपालको उपेन्द्र सुब्बाको कथा, कवितादेखि कति फरक छ?
वाद, धाराहरू साहित्यमा साइक्लिकली पुनरावृत्ति भइरहेको हुन्छ। उठिरहेको हुन्छ। तर ‘ओल्ड वाइन इन न्यु बोटल’ भन्ने उखान जस्तो प्रकारले सधैं चाहीँ होइन। तर त्यो पुनरावृत्ति चक्रवर्ती (spiraling) तुफान भएर जस्तो आएको हुन्छ। धेरै कुरा समेटेर आएको हुन्छ । नयाँ, पुराना कुरा आएको हुन्छ। अब नयाँ कुरा छ छैन देखाउने काम कसको? समालोचकहरुको।
समालोचकहरू (सबै होइन) यसकाममा विफल भइरहेका छन्। समालोचकहरू बोधो भइरहेका छन्। किनकि हामी कविहरू भुत्ते निस्किँदैछौं। कविहरू वैचारिक पक्षमा शिथिल हुँदैछौं। समालोचकहरुलाई चुनौतिको रूपमा केही पस्कन सकिरहेका छैनौं। समालोचकहरूले आफ्नो टुल्स उदाउने सान डुङ्गा पाइरहेका छैनन्। हामी कविहरू किन भुत्ते हुँदैछौ त? किनकि हाम्रो बचाईंको देश अनि काल भुत्ते छ। समाज बोधो छ। कुन अर्थमा भने हरेक चीज हाम्रो चेतन अवचेतन अनि अचेतन मन अस्मिता अनि चिनारी को वरिपरि मात्रै घुम्दैछ।
उहिले पश्चिममा के लेखियो, त्यसको असर यता पर्न एउटा दशक पर्खन पर्थ्यो। अहिले सामजिक सञ्जाल अनि विश्व globalised village भएर सुक्ष्म परिवर्तन पनि हरेक ठाउँमा समानान्तर प्रकारले भइरहेका छन। र पनि विश्व साहित्य संसारमा आएको परिवर्तन अनि काव्यिक सौन्दर्यलाई हामीले समेट्न सकिरहेका छैनौं।
जबकि नेपाल भनौं या भारतको प्रान्तीय कविताहरूमा त्यो आइरहेको छ। हाम्रा अधिकांश कविताहरू आँखामा पट्टी लगाएको घोडा जस्तो भइरहेछ। हामी आफैलाई राजनैतिक अस्मिताको महाआख्यानको बाइनरीबाट जबसम्म बाहिर निस्कँदैनौं तबसम्म केही हुने होइन। उदाहरण गिरी, राई अनि चामलिङको समयको भारतीय नेपाली साहित्य सबलता अनि तत्कालीन नेपालको नेपाली साहित्यको अवस्था र अहिलेको अवस्था दाँज्दा हुन्छ। समालोचक बोधो हुनु भनेको कवि, कविताको क्राफ्ट मर्नु हो। यो साइकल चलिबस्ने छ। भानुभक्त बाँचे मोतीराम भट्टमा । १६ औं शताब्दीको शेक्सपियर अहिले पनि रेलिभेन्ट छ।
मानव मनोविज्ञानको नयाँ थेइरिज जति जति प्रतिपाद हुँदै जाँदै छ समालोचकहरूले शेक्सपियरलाई त्यति समकालीन बनाउँदै लाँदैछन। १७ सौ शताब्दीको मेटाफिजिकल कविहरू टिइस इलियटमा आएर २० औं शताब्दीमा बाँचे। अहिले मनोज बोगटीको काफरे अमेरिका कवितामाथि कबीर बस्नेतको पठन ‘नाइन इलेभेन, म्याकार्थिज्म र काफरे अमेरिका’ मनन योग्य छ।
यस्ता कुराले हाम्रो साहित्य माथिको कन्फ्युजन कालान्तरमा हटेर जाने छ। अग्रजहरुले जे जति दिए हाम्रो साहित्यलाई यथेष्ट दिए । गिरी ,राई अनि चाम्लिङ हरुलाई- होइन के लेखे लेखे दलसिङ ढुङ्गा जस्तो कडा- भनेर फोस्सिलाइएस्ड बनाऊ या प्याज झैं केस्रा केस्रा खोलेर इन्स्टिच्युटसनलाईस्ड गरौं । उत्कृष्ट कृतिको आफ्नो समयमा मूल्याङ्कन हुनेछ नै।
तर एउटा सहज प्रश्न, हामी आफैले चाहिँ हाम्रा समयका समालोचकहरुलाई चुनौती दिने कृतिहरु कतिको दिँदैछौं त ? यदि छैनौं भने आउने पुस्ता चाहिँ साँच्चै कन्फ्युजनमा हुनेछ।
तपाईँको कवितामा एकखाले स्वाद छ जुन स्वाद बिल्कुलै पृथक छ। एकजना कविले आफ्नो कवितामा निजी स्वादलाई कसरी निर्माण गर्नु पर्ने रहेछ?
कवि बाँच्ने भनेको नै अभिव्यक्तिको पृथकता अनि मौलिकतामा हो। कन्टेन्ट त प्रायः अघि भने झैं सीमित नै हुन्छ। म कन्सियस्ली अरूले बेसिनै चलाएको शब्द वा भनौं टपिकहरुमाथि कविता लेख्दिनँ। जस्तै गाउँ, शब्द, यस विषयमा यति कविता यति लेखिसकियो की अब गाउँको विषय नयाँ भन्ने कुरा केही छैन। त्यो क्लिसे, ओभर हाक्न्येड भइसक्यो। यसर्थ गाउँ शीर्षकको कविताले कसैको रौँ उज्याउँदैन।
हालैको कुरा हो, एक बहिनीले सिरिया माथि कविता लेखेकी थिइन् ! पहिलो शब्द थियो ‘ए काफरे अमेरिका’। अमेरिका अघि काफरे लेखेर बोगटीले कवितालाई काल जयी बनाए। काफरे किन भयो त्यसको विश्लेषण छ। अरूले अमेरिका अघि काफरे प्रयोग गर्दा त्यो कविता कति मौलिक होला वा आफ्नो क्रफ्टको कति न्याय होला । भिन्दै फ्लेवरमा कति आउँला?
फेरि अहिले हामीमा एउटा ट्रेन्ड चल्दै छ। कवितालाई विद्रोहको आडमा ‘मैले त दामी हिर्काइदिएँ नी’ को प्रथा छँदैछ। कविता व्यक्तिगत रिस, कटाक्ष लेख्ने माध्यम होइन।
यसले तपाईंको क्राफ्टलाई बोधो बनाइदिन्छ। लेख्न सकिन्न होइन सकिन्छ। तर यस्ता कविताहरू विश्व साहित्य वा अरू भाषा भाषीहरूका दाजामा कहाँ उभिन्छ? कविताले रिस मात्र होइनन सौन्दर्य पनि माग्छ। सौन्दर्य बिनाको कविता जर्गन् मात्र हो। स्लोगन मात्र हो। मेरो चेष्टा यस्ता कुराबाट अलग हुने हो। क्राफ्टलाई , मेरो काव्यिक टुल्सलाई सुधार्दै लानु हो। अनि गर्दै जाँदा भिन्नै फलेवर ल्याउनु हो।
कविता लेखेर खानु लाउनु पुग्दैन भनौं कविता लेखेर जीविकोपार्जन हुँदैन भन्ने समाजलाई तपाईँको आफ्नो निजी जवाफ चाहिँ के हुन्छ?
कविता लेखेर खानु लाउनु पुराउँछु भनौं कविता लेखेर जीविकोपार्जन गर्छु सोच्नुनै यूटोपियामा जिउनु हो।
अरूलाई पनि कहिले पुगेन। मुगल साम्राज्यका राजकीय कविहरुलाई पुगे होलान्। न त नेपालमा पुगेको छ। न त भारतमा पुगेको छ । झन् दार्जीलिङमा सोच्नु पनि कविहरूको निम्ति पाप हो। अहिले विश्व बजारमा इन्स्टाग्राम कवि कवियत्री रूपी कौर, लङलिव , अतिकस, टाइलरनटहरूले सेलिब्रिटी लाइफ जिइरहेका छन्। फाइभ स्टार लाइफ जिइरहेका छन। तर कन्भेन्सनली जो लेखिरहेका छन् उनीहरूले पनि जीवन धान्न पत्रिका तिर स्तम्भहरू लेखिरहेका छन। इन्डाउमनेटमा बाँचिरहेका छन्। झन् हाम्रो भाषामा कविता सङ्ग्रहको रोयाल्टीमा जीवन धान्न सोच्नु आफैमा सुसाइडल हुन्छ। यसैले बढी भन्दा बढी कविहरू आख्यानतिर आकर्षित भइरहेका हुन् कि?
प्रणय शङ्करका तीन कविता
हाइड्रोपोनिक्स
सुनेका छौं
उम्रनलाई अब माटो चाहिँदैन।
“हाइड्रोपोनिक्स” छ वनस्पति जीवन् !
“भर्टिकल गर्डेनिङ” को जमानामा
भुईँमा लत्रिएर फैलिनु छैन हामीलाई अब
एउटा पहाड उक्लेर समतल बनेको
मालभूमी
“संसारको छानु”
बाट बहेको
कठ्याङ्ग्रिने निर्जीव हावालाई
पिठ्युँ देखाएर उभिएको
निरन्तर
अथाह कालदेखिको अडिग हिमश्रृङ्खलाको
कञ्चनजङ्घाले
बङ्गालको खाडीबाट मडारिएर उक्लेको
लाभनीय उपनिवेशी साम्राज्यवादी खार
घरिघरिको ‘काल बैशाखी’-लाई
आफ्नो छातीले उकालो चिस्याएर
निर्माण प्राकृतिक् हटहाउसको अवहावाबाट
अटाम्मे धुप्पी, चिया गाछहरुले सोसेको पहाडी पौष्टिक
पानीको तप् तप्
खनिजमा
समिश्रण
जिजु च्यापजु देखिको सामूहिक सङ्घर्षको पसिना तप्काएर
सभ्यता गाउँहरु निर्माणका स्मृति
बहन् गरेका
हड्डीहरू
बिलिन् भएर
नाइट्रोजन बगेको तरल उर्वरतामा
हामी पुस्तापुस्ताको जरा गाडेर
गाँजिएका छौं, मौलाएका छौं, ड्याम्मै
‘पहेलो’
थुम्का थुम्कीमा- डाँडाकाँडामा,
आफ्नै धरातलमा,
विना माटो
शताब्दीदेखि
हरेक दशकको
बिहानीको प्रकाशमा अस्मिताको
हरियो
घाम् खोज्दै।
“हाइड्रोपोनिक्स” त नयाँ प्रविधि हो,
हामी त उहिले देखिनै वनस्पति जीवन जिइरहेका छौँ,
यहाँ।
मास्कसँग मलाई डर लाग्दैन।
मलाई मास्कहरुसँग डर लाग्दैन
ठमेलको हरेक गल्लीको ‘कुरियो शप’मा देखेर म डराइनँ
डराएन मेरो छोरा पनि
चौरस्ताको तेर्सोमा थुप्रै देखेको छ त्यसले
तर डराउँछु म मास्क पछिको अनुहारसँग
त्यो डराउँछ डराउँदैन अहिले थाहा छैन ।
समुद्रको अन्धकार गहिराईमा
“हरमिट क्र्याब” ले
“डिसेन्ट” को मसिनो माछालाई खान
“सी सेल”को खोल ओडेर ढुके झैं
जेएनयुहरुमा
रातको अन्धकारमा कठोर “स्लेज ह्याम्मर”ले
कोमल सिर फुटाउने भिड नाकाब पोषमा कोही थिएन
रक्तामे तप तप शिरलाई दोषीको “एफआईआर” लेख्ने हातमा
माखौटा कसैको थिएन
तर थियो त केवल उदाङ्गो अनुहार
जसरी “जी न्युजले” मास्क लगाउँदैन!
यसर्थ उसको अनुहार छर्लङ्ग छ!
यसैले मलाई उनीहरूसँग डर लाग्दैन!
तर म सानो छँदा
बाउ आफू रुझ्दै भिज्दै भोको रहेर पनि हँसिलो अनुहार देखाउँदा
न्याय, आदर्शको पाठ पढाउँदा
मायाले छोरालाई न्यानो टिठ्याउँदा
खुसीको मास्क पछिको अनुहारसँग डर लाग्थ्यो
कतै यो निश्छल माया बाउको अनुहारमा रहेन भने?
महिनामा एक पटक रातमा आमालाई निलडाम बसाउने हात
अनि दाँत
ढाक्न ओडेको मायालु माखौटा पछिको अनुहार
कति भयावह !
बिहान मलिन हँसिलो मास्कपछि आमाको कठोर अनुहार
कति डरलाग्दो!
कतै यो भयावह बाउको अनुहारमा सधैं रह्यो भने ?
डर लाग्थ्यो मलाई
अहिले बाउको रिटायर्ड लाइफ छ
बाउ आमाको प्रगाढ प्रेम छ
छोरा नाति फलिफाप छ
गाउँको ठूला बड़ाको आसनमा बसेर
15 अगस्त अनि 26 जनवरीमा
अन्यायको विरोधमा उठेको हातको महिमा गर्ने
विद्रोही मास्कपछिको बाउको अनुहार कति कायर
किनकि
समाचारको सनसनी खेलघर भएको छ मेरो घर
साँझ झर्दा नझर्दै नव देश भक्तिको घण्टीले गुन्जिन्छ मेरो घर
रिमोटको हरेक फ्लिप फ्लिपसँगै
घरका चेपकुना नयाँ विशुद्ध देश निर्माणको धुप काँटीको बास्ना मग मग छ
आफ्नो सधैं छोरालाई चेप्ने बाउको आदर्श अनुहारमा
देश प्रेमको मास्क यस्तो चढेको छ कि
उनी हरदम विद्वेषको मन्त्र जप्छन्
“राम्रो गऱ्यो एन्टी नेशनलहरुलाई”
अहिले अर्नबको अनुहार उदाङ्गो छ!
कति स्पष्ट!
सुधीरको व्यवहार कति निश्छल!
निश्छल माया त केवल बाउको अनुहारमा छैन
रिस र राग भयावह छ
यसैले मलाई बाउको अनुहारसँग डर लाग्छ
आफ्नै घुरेनमा नश्लभेद र घृणाको खेती रोपेर
“डाउन विथ अमेरिकन फासीवाद’को
नारा लाउने
कविहरुको दोहोरो चालदेखि मलाई डर लाग्छ
छोरालाई प्रश्न गर्ने बनाउनदेखि डर लाग्छ
डिसेन्टको पाठ घोकाउनदेखि डर लाग्छ
मास्कसँग मलाई डर लाग्दैन
तर मास्क पछिको अनुहारसँग डर लाग्छ।
आधुनिक अम्फिथिएटर
कक्षा सातमा हुनपर्छ
सर्वप्रथम
अम्फिथिएटरको नक्शा रोमन इतिहासको पन्नामा पल्टाएको!
त्यो भव्य कथा, त्यो व्यथा,
रक्तपात, राज कैदी, नायक पूजन
दासको बध, दोस्रो दर्जा नागरिकताको पाशविक दमन
त्यो उष्ण, उन्मत्त रक्तरञ्जित खेल
घाइते योद्धा,
बलात्कारी, हत्यारा, युद्ध बन्दक अनि जेल
आइमाई, केटाकेटीहरुको डर
दर्शक लहरमा हर्ष उल्लास, तालीको गड़ गड़
शिर काटिएको शरीर लडाकू वीर निष्प्राण गल्याडिएटर
सोचें,
यो पाशविक खेल कसरी सार्वजनिक मनोरञ्जन हुनसक्छ?
बिग्रँदो अर्थनीति, राजनैतिक विफलतादेखि जनतालाई कसरी शासकले लट्याउन सक्छ?
कसले आफ्नो जन्म उत्सव यसरी विभत्स खेल रचेर मनाउन सक्छ?
मानिस कसरी नरपिसाच झैं
अरूको चोट पीडामा यसरी रम्न सक्छ?
सरले भन्नु भो, त्यो बरबरताका युग थियो।
नरबली, रिलिजियस इनक्वेष्ट, विच हन्ट,
पूर्वदेखि पश्चिसम्म
बोक्सी, वेश्या अनि सन्त “जोआन् अफ आर्क “
धार्मिक ‘स्टेकमा’ जिउँदै दहन!
मानिसहरु कसरी धार्मिक बन्न सक्छन्?
सर ले भन्नु भो, -त्यो अँध्यारोको युग थियो।
मनको भित्री अँध्यारोले मलाई त्यो विभत्स घटना हेर्न उक्साई रह्यो।
गएँ अनि हेर्न खोजें
पोर्न साइट , पोर्न हब, रेड ट्याबमा
त्यो बलात्कार अनि जिउँदै लाशको दहनको क्लिपिङ्स
मभन्दा अघि
८० लाख नेटीजेन्सले पीडिताको नाम खोजेर टप सर्च बनाएका रहेछन्
एक्स-भिडियोजमा!
बलात्कार किन हुन्छ?
कसैले निलो चरा ट्वीटरमा उडाएछन्
उन्मुक्त विचार भएको आइमाईको विषयमा,
उनीहरूले के विचार राख्छन्
तिम्रा धर्मगुरु, स्वनामधन्य बुढापाका , भद्र भलाद्मीहरुलाई
उहाँहरुका एकान्त ठाउँमा सोध,
अनि बुझ्नेछौ!
बलात्कारीको सोही ठाउँ इन्काउन्टरको तथ्य बिहानै फेसबुकमा रमाउँदै पढियो
न्यूज़को सनसनी खेज खेल, म उपभोक्ता
चियाको चुस्कीसँगै चाख लिएर उपभोग गरियो
मानो म नै हुँ त्यो न्यायधीश, जल्लाद, विजयी गल्याडिएटर,
निरङ्कुश शासक जो कोहीलाई न्याय दिन नियुक्त
वाट्सएप शेयर गरियो
शान्तिको सास फेरियो
झस्किएँ
यो कुन दोहोरो नैतिकता, हो कुन युग यो ?
देखें आफैलाई अनि सरलाई
यो विभत्स खेलको मनोरञ्जन लिँदै
दर्शकहरु माझ आधुनिक अम्फिथिएटरमा ताली बजाउँदै ।