
कथा
आज धेरै दिनपछि यसरी लेखिदिएँ : “अनामिका चिनेको मान्छे पनि सप्पै ठिक हुँदैनन्, चिनेकैहरुलाई पनि विश्वास पटक्क नगर्नु है।”
– सन्ध्या आचार्य, सिटोङ ।
“जीवन साँच्चिकै गहिरो छ नि हौ!” अलिक नोस्टाल्जिक बन्दै उसले लेखिपठाई यता ।
“आ! आफ्नो बुताअनुसार डुब्दा भैहाल्यो त!” – म लेखिदिन्छु, “जत्तिसम्म पौडन सकिन्छ उत्ति पौढिने नि” ,पनि थपिदिन्छु!
“म केही हदसम्म उसको अतितसँग परिचित छु नि त म!” भनिरही ।
“को हो उ?” मैले सोधेको!
“च्याटको मान्छे!” उसले भनी।
“कस्तो नाम हौ फेरि?” सोध्छु ।
“हा हा!” मात्रै उत्तर उसको ।
मन नपराएको होइन मैले उसलाई । अझै पनि मनपरिरहन्छ । हरेक दिन नै झन झन मनपर्दै जान्छ! यो मायाको रङ त हरेक दिन गाडा पो बन्छ कि क्या हो! मनभित्र कतै डर लागिरहन्छ कि त्यो च्याटको मान्छे उसको मनकै मान्छे बन्यो भने? या त जीवनकै मान्छे पो भइदेला कि? हिजाज म साच्चिकै एउटा अघोषित युद्ध लढ्दैछु – लाग्छ । वास्तवमै यो एउटा अघोषित युद्ध हो या स्वघोषित युद्ध? बुझ्नै सकेको छैन मैले । बुझ्ने कोसिस पनि कहाँ गरिरहन्छु उसो त! लाग्छ – जित निश्चित भएको युद्ध त हरेकले लड्छन् नि! अनिश्चित युद्ध लड्ने पो लड्ने।
अहिलेलाई म च्याटकै मान्छे भइदिउँ कि? लालसा जाग्छ । हेर्छु अनामिका नाममा हरियै बत्ती छ म्यासेन्जरमा ।
“के गर्दैछौ?” लेख्छु ।
“केही हैन ।” उसले लेखी ।
“अन्त के पर्खेर बसेको?” म ।
“स्ट्रेन्जर को टेक्स्ट ।” भनी
“को स्ट्रेन्जर?” फेरि सोधें ।
“स्ट्रेन्जर मिन्स स्ट्रेन्जर! चिनेको भए के स्ट्रेन्जर भन्थें म ।” हाँस्नु हाँस्नु खोजेको स्माइलीसँग उत्तर आयो!
”धन्न! म त रिसायौजस्तै लागेको नि!” म लेख्दैछु ।
“किनम् पो रिसाउनु?” ऊ लेख्छे ।
“होशियार हुनु है स्ट्रेन्जर त Strange नै पो हुन्छन् नि ।” म लेख्छु ।
“तपाईं नजिकैको पनि कहाँकै चिरपरिचित जस्तो!”
पढेर खुशी भएँ म । त्यसपछि केही लेखिनँ । मज्जा लागिरह्यो । उसको यत्ति कुरा मात्रैले पनि केही दिनलाई रमाउन पुग्यो । लाग्यो – मनपरेका मान्छेहरु यत्तिका प्रिय किन हुन्छन् हँ? मनले सोधिरह्यो आफैलाई!
“च्याटको मान्छेको खबर के छ?” एकदिन म सोध्छु ।
“ठिकै छ नि ।” उसले लेखी ।
“मन परेरै बात गरेको अँ?” कुन्नि किन म सोध्छु ।
उत्तर आएन उताबाट ।
फेरि लेख्छु ।
“प्राइभेट कुराहरु किन भन्नू?” उतैबाट प्रश्न आयो ।
“ठिकै छ ।” म लेख्छु र सम्झिरहन्छु । प्राइभेसीसम्ममा दखल दिन थालेछ अब च्याटको मान्छेले।
“ए अँ उसको अतीत थाहा छ भन्थ्यौ नि तिमी?” म सोधिरहन्छु ।
“अलिलि थाहा छ ।” उसले लेखी ।
“नचिनेकोहरुसँग धेरै नबोल्नू ।” म भनिदिन्छु ।
“बरु तपाईंसँग नबोलुँला म!” यति लेखिवरी अफलाईन भई ऊ । सायद रीस उठेको हुनसक्छ ।
आज कता कता पछुतो लागिरह्यो । पछुतो पनि यस्तो कि मन र मस्तिष्कसँग जम्मै इच्छा, चहाना र भावना मिलेर कोस्नसम्म कोसे मलाई । आफू अफ्ठ्यारोमा पर्दा यिनीहरूको जुगलबन्दी देखेर छक्क परिरहें म । मानौं यिनीहरू भन्दैछन् – ‘राम्रो काम गर! मान्छेको भावनासँग नखेल!’
आई डी डिएक्टिभेट गरुँ कि ? सम्झिरहँदा नै निदाएछु ।
बिहानै म्यासेज आयो । ऊ नै थिई । अर्थात् अनामिका ।
गुडमर्निङ म्यासेज थियो, च्याटको मान्छेलाई !
उत्तर नलेखेर मेरो रियल आई डीबाट गुडमर्निङ पठाएँ, उत्तर आएन ।
“च्याटको मान्छे उठ्नु भा छैन?” फेरि लेखी ।
यता उत्तर नलेखिकनै आफ्नै आईडीबाट लेखेँ – “उठ्यौ अनामिका?”
उत्तर आएन । बारम्बार म्यासेज आइरह्यो च्याटको मान्छेलाई ।
जम्मा दस बाह्रवटा म्यासेजको उत्तर नआएपछि अन्तमा उसैले लेखी र गई : “व्यस्त हुनुहुन्छ, थाहा भयो । सी यु सुन!”
आफ्नो आईडीबाट पठाइएको एउटै पनि म्यासेजको उत्तर आएन ।
अहिले उसैको घरनजिक छु म । उ फूल स्याहार्दै छे । नजिक पुग्छु ।
“ठिकै छौ?” सोध्छु म ।
“अहिलेसम्म सम्म त!” उ भन्छे ।
खबर के छ स्ट्रेन्जरको? टेक्स्ट कत्तिको आउँदैछ?” म सोध्छु ।
जिस्काएको मैले? अहँ खुट्याउनै सकिन ।
हाँसी मात्रै उ ।
“भन न ।” म भनिदिन्छु ।
“सायद केही समस्यामा हुनुहुन्छ या त बिसन्चो ।” ऊ भन्छे ।
यस्तो कोमल र नाजुक मनसँग मैले किन खेलेँ? असह्य भयो यतिबेला मलाई ! लाग्यो अहिले नै भनिदिउँ कि – त्यो च्याटको मान्छे म नै हुँ । तर सक्दै सकिनँ ।
“बेगुनिया हैन ?” उसको हातको फुलबारे म सोध्छु । भर्खर रोपेकी होला उसले ।
“हो त! साह्रो कुहिएर झर्छ हौ ।” उसले भनी ।
“फुल त हो, कुनै कुहिएर झर्छ, कुनै झरेर कुहिन्छ ।” मैले भनिसक्दा नसक्दा उसले छक्क परेर हेरी ।
म लागेँ उकालै उकालो!
राती उसको म्यासेज आयो – “आजको तपाईंको कुरा त नि…”
“अँ भन न ।” मैले लेखें ।
“च्याटको मान्छेको जस्तै लाग्यो ।” उसले भनी । म झस्किएँ, कुनैदिन फुलबारे मैले यसै भनेको थिएँ उसलाई स्ट्रेन्जर भएर!
डर लाग्यो कुन्नि किन। तर पनि लेख्नु थियो – “अझै सम्झिन्छौ?”
“यति छिटो बिर्सियो भने त!” उसले लेखी ।
“कहिल्यै फर्किएन भने नि?” म लेख्छु ।
“मलाई उ फर्कन्दैनजस्तो लाग्दैन ।” उसले लेखी ।
“उसको मन फेरिएको हो भने?” म लेख्छु फेरि ।
“फेरिन्दैन । ऊ भन्छ मनलाई जित्नु सक्नुपर्छ! हुनुम् आफ्नै मनलाई जित्ने पो जित्ने ।” – सँगै – “गुडनाइट” पनि लेखी तर च्याटमा हरियो बत्ती बलिरह्यो । सायद च्याटको मान्छेको प्रतीक्षा थियो उसलाई ।
एकचोटी म्यासेज लेखिदिउँ कि? सम्झिएँ । अहँ अबोप्रान्त म उसको भावनासँग खेल्दिनँ नै ।
आईडी डिएक्टिभ गरिदिएँ । गरिसकेपछि लाग्यो – मभित्रको भावनात्मक एउटा मान्छे मरिसकेको छ । म फगत म छु एउटा स्वार्थी र मतलबी मान्छे जोसँग न त मन छ न त सहानुभूति न समवेदनशीलता! च्याटको मान्छेसँगै म पनि मरेको छु आज । मेरो मृत्यु भएको छ ।
हिजोआज उसलाई च्याटमा समेत हेर्ने सक्ने स्थितिमा छैन म । उ आउँछे म गइदिन्छु ।
फेरि पनि उ आउँछे म उसरी नै गइदिन्छु ।
“तपाईंले ठिकै भन्नुभएको रहेछ ।” उसले लेखिराखिछ – “नचिनेको मान्छेलाई विश्वास गर्नु मेरै गल्ती थियो । म तपाईँसँग रिसाएँ त्यसबेला । माफ गरिदिनु । च्याटको मान्छे अल्पियो ।”
मैले जवाफमा केही लेख्नै सकिनँ ।
आज धेरै दिनपछि यसरी लेखिदिएँ : “अनामिका चिनेको मान्छे पनि सप्पै ठिक हुँदैनन्, चिनेकैहरुलाई पनि विश्वास पटक्क नगर्नु है।”