छैटौं अनुसूचीले बङ्गालबाट मुक्ति गराउँदैन

विज्ञापन

चिन्ता

[लेखकको नोट: यो पोस्ट पनि मेरो नितान्त व्यक्तिगत पोस्ट भएकोले यसलाई साङ्गठनिक राजनीतिमा नमुछी बुझिदिने आग्रह गर्दछु। राजनैतिक मित्रहरूले यसलाई विरोध नठानेर आत्मचिन्तनको विषयको रूपमा लिनेछन् भन्ने आशा राखेको छु।]


बीपी बजगाईँ


भनिन्छ अतिले खति गर्छ। गोर्खा राजनीतिमा एउटा अचाहिँदो विषय अति हल्ला गरिँदैछ। त्यो विषय हो छैटौं अनुसूची। यो हल्ला गर्ने काम विगत चुनाउमा भाजपा-गोजमुमोको पुरानो गठबन्धनसँग नयाँ रूपमा घटक दल रहेको गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) -ले गर्दैछ। सम्पूर्ण भारतीय गोर्खा जनसमुदायलाई थाहा छ कि विगत चुनाउमा भारतीय जनता पार्टीले आफ्नो सङ्कल्प पत्रमा पहाड, तराई अनि डुवर्सको राजनैतिक समस्याको स्थायी राजनैतिक समाधान गर्ने अनि गोर्खाको रहल ११ जात-गोष्ठीलाई जनजाति मान्यता दिने वाचा गरेको थियो अनि त्यही वाचालाई जनता समक्ष राखेर भाजपा प्रत्याशी राजु विष्ट अनि निरज जिम्बाले चुनाउ जितेका हुन्। त्यसको सबैभन्दा भरपर्दो गवाही म स्वयम् हुँ।

संसदीय प्रणालीमा गठबन्धन भनेको सीमित समयको निम्ति निर्धारित प्रयोजनको लागि विभिन्न राजनैतिक दलहरूको ऐक्यवद्धता हो। त्यस्ता राजनैतिक निर्धारित प्रयोजनलाई इमान्दारी अनि विश्वसनीयतापूर्वक पालन गर्नुलाई गठबन्धन धर्म भनिन्छ।

गत चुनावमा राजु विष्ट अनि निरज जिम्बाको निम्ति भोट माग्दा हामी सबैको निर्धारित प्रयोजन भारतीय जनता पार्टीको सङ्कल्प पत्रमा भएको पहाड, तराई अनि डुवर्सको स्थायी राजनैतिक समाधान थियो अनि अहिलेपनि रहेको छ। आगामी पाँच वर्ष अनि त्यसपछि पनि जबसम्म यहाँ स्थायी राजनैतिक समाधान हुँदैन तबसम्म नै यहाँको निर्धारित राजनैतिक प्रयोजन यही नै रहनेछ।

किनभने स्थायी राजनैतिक समाधान भनेको गोर्खा राजनीतिमा अहिलेसम्म देखिएको अस्थायी प्रयोगहरू भन्दा माथि केवल अनि केवल बङ्गालबाट अलग हुनु मात्र हो, चाहे त्यसको स्वरूप राज्य होस् अथवा केन्द्र शासित प्रदेश। तर अहिले गोरामुमोले बङ्गालभित्र कै व्यवस्था छैटौं अनुसूचीलाई बोकेर अचाहिँदो राजनैतिक हल्ला गरेर गठबन्धनको धर्ममा चोट पुऱ्याएका छन्।

हुन त उनीहरुले चुनाव पछि नै पार्टीमा आन्तरिक रूपमा यो कुरा बोल्दै आएका थिए, त्यो उनीहरूको पार्टीको अडान अनि उनीहरूकै आन्तरिक विषय थियो।

राजनैतिक धर्मपालनभित्रको मौनतालाई कमजोरी ठानेर गोरामुमोले अहिले आएर सांसदको नामलाई मुछेर छैटौं अनुसूचीको कुरा गर्दा चाहीं अब पानी टाउकोमाथिबाट बग्न थालेछ भनेर बुझ्नैपर्ने हुन्छ।

सुवास घिसिङको पालोमा बनेका १२०० शहीद लगायत वर्तमानसम्मका शहीदका सपनालाई गोरामुमोले तुहाउने कोशिष नगरेको राम्रो हो। गोरामुमोको गल्तीले गोर्खाको हातबाट सिलगडी शहर र तराई क्षेत्र  फुस्किएको छ, हामी गोर्खाले त्यसलाई आफूसँग गाँस्नु छ। गोरामुमोको गल्तीले डुवर्सबासीलाई अन्याय भएको छ, हामीले न्याय दिनुछ।

हामीले १९८८ सालमा नै पाइसकेको युटी गलत निर्णयको कारणले गुमाउनु परेको छ, अब सही निर्णय गर्ने समय आएको छ। सबैतिर तारतम्य मिलिरहेको समय भाँजो हाल्ने राजनीतिलाई गोर्खा समाजमा हामीले चिनाउनु छ। विधायक निरज जिम्बाज्युले पनि हामीसँग महाकाल मन्दिरमा खाएको कसमलाई भुँईंमा राखेर हिँडनु हुँदैन, नत्र सुबास घिसिङले छ्यात-छ्याती मानेको, हामी सबैले हाम्रो रक्षक मानेको देउता रिसाउलान्। राजनीतिमा लोभलाग्दा सबै विषयलाई लक्ष्य मान्नु मिल्दैन, कतिपय जङ्गली विषफलहरू हेर्दा खाउँ-खाउँ लाग्दा देखिन्छन्।

छैटौ अनुसूचीले बङ्गालबाट हाम्रो मुक्ति गराउँदैन। छैटौं अनुसूचीले तराई र डुवर्सका गोर्खाहरूलाई न्याय दिँदैन। छैटौं अनुसूचीले पहाड, तराई अनि डुवर्सका गोर्खा, कोच (राजवंशी), मेच, टोटो, राभा आदिले गुमाउँदै गएको भाषिक, सांस्कृतिक परिचयलाई उभ्याउँदैन।

छैटौं अनुसूचीले केवल पहाड केन्द्रित राजनीतिलाई मात्रै पृष्ठपोषण गर्छ अनि भारतीय गोर्खाको परिचय पहाड केन्द्रित राजनीतिको कारणले सदाको निम्ति अस्ताएर जानेछ। चिकन नेक जस्तो अन्तर्राष्ट्रिय संवेदनशील क्षेत्रमा चाहिने राजनैतिक स्थायित्वलाई छैटौं अनुसूचीले स्थापित गर्न सक्दैन।

अस्थायी व्यवस्था अथवा बङ्गालभित्रकै व्यवस्थाले केही महिना अथवा वर्ष यो क्षेत्र शान्त रहला तर बङ्गालबाट अलग नहुञ्जेल राजनैतिक अस्थिरता भुसको आगो जस्तै भित्र-भित्र सल्किरहेको हुन्छ। हाम्रो राजनीति अब व्यक्क्ति केन्द्रित, कुर्सी र ओहदा केन्द्रित हुनुहुँदैन।

इतिहासमा कहिल्यै नमिलेका भिन्दाभिन्दै विचार भएका पूर्व जर्मनी र पश्चिम जर्मनी पनि एक हुनसके, भिन्दाभिन्दै नीति र सिद्धान्त बोकेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) पनि १७  मई २०१८ मा एक हुनसके, महाराष्ट्रमा सत्ताको निम्ति शिवसेनाले एनसीपी र काङ्ग्रेससँग गठबन्धन गर्न सक्यो भने के हामी गोर्खाले गोर्खा हीतमा, हाम्रो परिचय स्थापनाका लागी, हाम्रो भोलि जन्मने नानीहरूको सुखद अनि सुरक्षित भविष्यको पक्षमा सबैप्रकारको स्वार्थभन्दा माथि उठेर एक हुन सक्दैनौं?

आज गोर्खा समाजको निम्ति यो एउटा यक्ष प्रश्न हो। तमाम गोर्खा समाजले जातिको हीतको निम्ति सबै स्वार्थलाई पन्साएर अघि बढौं अनि हाम्रो लक्ष्यमा पुग्न नदिने बाधक तत्वहरुमाथि कसैले भरोसा नगरौं। धैर्यताको फल मिठो हुन्छ। गलत नेतृत्व र निर्णयको कारणले त्यस फलमा कीरा लाग्न नदिउँ। गोर्खा जातिले बितेका तीन संसदीय चुनाउमा भारतीय जनता पार्टीलाई गरेको विश्वास र मायालाई न्याय दिने समय आएको छ। हामी सबै न्यायको प्रसवको साक्षी बनौं, बाधक नबनौं।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया