इबरा जयन्ती विशेष : इबरा र याद

विज्ञापन

स्मृति

डा. इन्द्रबहादुर राईको जन्म जयन्ती सालबारीले सानो रूपमा भए पनि मनाउँदैआएको छ। ३ फरवरीको दिन हामी उहाँलाई श्रद्धा-सुमन अर्पण गर्ने गर्छौं। हामी केही साथीहरू भेला हुन्छौं। हामीलाई उत्साह प्रदान गर्न सधैँ आदरणीय कवि नरबहादुर दाहाल पनि आइपुग्नुहुन्छ। र, गोम्देन चिया-बारमा डा. इन्द्रबहादुर राईलाई सम्झनामा भेट्ने प्रचेष्टा गर्छौं। गत् वर्ष ३ फरवरीमा पनि हामीले इबरा सरको जन्म जयन्ती पालन गरेका थियौं। हार्दिक श्रद्धाञ्जलि इबरा सरलाई- लेखक

ज्ञानेन्द्र खतिवडा


ठूला इबरा

नेपाली साहित्यमा कृतिकारको कृतिभन्दा होहोरीमा दोहोरी गाएर सर्जकलाई सम्मान र आदरभाव जनाउने चलन अरु नेपाली समाजमाझैं सिलगढीको त्यस समयको नेपाली समाजमा थिएन भनेर भन्दिनँ म। सिलगढीको नेपाली समाजमा डा. इन्द्रबहादुर राईहरूजस्ता उपल्ला दर्जाको सर्जक कामले भन्दा नामले बढी चर्चा पाएको समयको कुरो गर्दैछु म।

चर्चा माने, ठूला हुन् भनेर जानिएको। ‘कुन अर्थका ठूला’- चाहिँ; अजाना-अज्ञानता-अन्धकारकै अवस्था। समाजमा रहरले सामाजिक काम गर्दैजाँदा बेलाबखत ‘यी र यस्ता’ नामहरू सुनिन थालिन्छ। र, अझ ज्यादा फलानो संस्थाले फलानालाई मुख्य अतिथि बोलाएछ. हामी किन नबोलाउनुको- देखासेखीबाट सुन्नथालेको नाम वा चर्चा पाएको नाम।

सिलगढीमा साहित्य पढ्ने बानीको विकासै नभएको समयमा इन्द्रबहादुर राईको आज रमिता छ जस्ता महान् कृतिको वाणी र ध्वनि कुनै अपरिचित नगर प्रवेश गर्दाको कालाङकुलुङ सुनिइने आवाज सहितको रमिता मात्र बन्ने अवस्था थियो। अझ उता कथास्थाले परिचयको आस्था बनाउने र नेपाली उपन्यासका आधारहरूले परिचयको आधारभूमि निर्माण गर्ने कुरो त कल्पनादेखि धेरै बाहिरको कुरो थियो। त्यसमाथि लीला लेखन त झन् पाठकका लागि साहित्यिक अन्यौलताको आकासमा उदाएको चर्को घामै थियो। र, थियो आँखै उघार्न गाह्रो तेज ज्योतिपुञ्ज।

यसैले म विभिन्न चरणमा दार्जिलिङबाट ज्ञानको सगर/सागर व्यक्तित्व डा. इन्द्रबहादुर राई र उहाँको हिउँदे घाम ताप्ने आँगन(सालबारी/सिलगढी) माझका दुइ-चारवटा सम्बन्ध र सम्झनाहरू  चरणवद्धरूपमा राख्दै जानेछु। (निवेदन छ- जहाँ म आफु जोडिएको प्रसङ्गलाई मात्र छोएको छु।)

लेखाइभन्दा बोलाइ सहज     

खामभित्र हिउँदे आँगनको झलमल्ल घाम बोकेर लाग्यौं उकालो म र मेरा मित्र विजय थापा । साँच्चै  जातिको आङमा लागेको घाम पिठ्युँ पिठ्युँमा बोकेरै घर घरबाट निस्किएका थियौं- हामी दुइ भाइ।

हातमा टम्म अटाइ नअटाइ अनुरोध र निवेदनले शिरै नुहेका, घामकै किरणले नुहाएर उज्यालिएका पत्रहरू बोकेर हामी दुइ भाइ दार्जिलिङ पुगेका थियौं। साथीहरूले तयार पारी दिएको लिस्टीमा नाम थियो। सिरानै नाम थियो- डा. इन्द्रबहादुर राई। त्यसपछि क्रमश डा. कुमार प्रधान, राजनारायण प्रधान. डा. जगत् छेत्री र रामलाल अधिकारी।

बसबाट ओर्लिएर झऱ्यौं लोचनगर। डा. इन्द्रबहादुर राई घरैमा हुनुहुन्थ्यो। सिलगढीबाट भेट्न आउनुका उद्देश्यसहित पत्र थमायौं। हामी दुवैका अनुहारमा भाषिक र साँस्कृतिक अतिक्रम विरुद्ध राज्य सरकारसित आन्दोलनमा उत्रिएर विजय प्राप्तिको रङ रोगन चढेकै हुनुपर्छ। इन्द्रबहादुर सरका चक्षुसामु दुइ भाइको गर्विलो अनुहार प्रस्ट छ/ पत्रले पनि भनिरहेकै छ।

पत्र पढिसकेर सर बोल्नथाल्नु भयो। बोल्ने शैली नै मिठो। मिहिन र गहन लेखनशिल्पीको सघन आकर्षण उहाँको बोलीमा पनि झल्किरहेकै पायौं। बोलाइको भाषामा हामीले कहीं कतै निस्सासिइनु पर्ने कुनै अवस्थाको सिर्जना भएन। हामीलाई त यति उच्चकोटीका विद्वान् घण्टौं बोलिरहेको सुन्न पाए पनि हुन्थ्यो- भइरह्यो।

सिङ्गो विपना कतिपय- कै भाषा सुनिरह्यौं हामीले। विषयलाई अर्थपूर्ण बनाउँदै सिङ्गो अनुभूति सम्प्रेषण गर्न बोलेर पनि सकिन्छ भन्ने उदाहरण नै पायौं। विषयलाई टिपेर हाँगा हाँगा पनि छुन पुग्नुहुन्थ्यो र फेरि फर्किएर जरा हुँदै काण्ड उक्लिएर टुप्पैसम्म पुग्नुहुन्थ्यो। लेखाइभन्दा बोलाइ सहज। बोल्ने शैली नै कलात्मक। आफैले विकास गर्नुभएको छुट्टै कलात्मक बोल्ने शैली।

चियाको चुस्कीसितै हामी दुइ भाइले सुनिरह्यौं।

मञ्च र खुट्टा भाँच्ने निवेदन

तर निचोडमा सरले कुरालाई अर्कै प्रकारले अघि राख्दै भन्नुभयो – ‘भाइ हो, साहित्य भनेको साधनाले मात्र निखारा ल्याउने कलात्मक विधा हो। यसैले साहित्यकारहरू मञ्च मञ्चमा उठेर रमिते बन्ने होइन।‘ फेरि केही क्षणको मौनता तोड्दै भन्नुभयो, ‘लौ न भाइ हो। मेरो एउटा अनुरोधै रह्यो तपाईंहरूमा…. भाषा साहित्यकै खातिर मान्नुहोस्… तपाईंहरूको सहयोगको खाँचो रह्यो। साधक नभई सिर्जना हुन्न। साधक तब होइन्छ जब साधनामा बस्छ साधक। साहित्य त साधनाले मात्र मौलाउँछ, फस्टिन्छ र विकास हुन्छ। यति भन्दा भाइहरूले कुरो नबुझ्ने कुरै छैन। ल ल तपाईंहरूले एउटा काम हातमा लिनुहोस् त- म अनुरोधै बिसाउँछु यहाँहरूमा – जुन जुन स्रष्टा मञ्च मञ्चमा नाचिहिँडेको पाउनुहुन्छ खुट्टै भाँचिदिनुहोस् त…. अनि उ थपक्क साधनामा लीन भएर बसोस्। अनि चाहिँ नेपाली साहित्यले असल र उम्दा कृति पाउँदैजान्छ। नेपालमा कृष्णप्रसाद पराजुलीले आफ्नो पुस्तकको नामै राख्नुभएको छ – राम्रो रचना मिठो नेपाली। साधना नगरे राम्रो रचना बन्दैन। राम्रो रचना नबने मिठो भाषा बन्दैन।’

हाम्रो फ्याङ्लाङे अनुहार

त्यसपछि हामीले बुझ्यौं, अब भने हाम्रो कुनै अनुनय विनय चल्नेवाला छैन। अड्डी कसेर बसिरहनुको कुनै तुक छैन। ढिप्पी कसेर बसिरहनु आफ्नै मुर्खता ठहरिन्छ। यसैले सरसित विदा लिने दुइ भाइका आँखै आँखाले बात मारे। सरले पनि कप कपको चिया सिद्धिएको बुझेर उठ्दै भन्नुभयो- लौ भाइ हो अब कुरा यस्तै रह्यो।

मनोवैज्ञानिकरूपले हामीलाई उठाउनुभयो र दैलासम्म आएर विदा गर्नुभयो। त्यसपछि रहल बाँड्नपर्ने पत्र बोकेर लोचनगरदेखि बाहिरियौं हामी।

दुइ भाइलाई त गर्व थियो। दुवै भाइ भर्खरै एउटा जातीय सम्मानको युद्धमा सरिक भएर आएका थियौं। अझ खोलेरै भन्नुपर्ने हो भने, हामी दुइ भाइ उक्त “विजयी भव:” आन्दोलनको अध्यक्ष र सचिवका रूपमा उपस्थित भएका थियौं।

विजेता बनी सिलगढीभन्दा अग्लो भिक्ट्रिस्याट्यान्डमा उभिनपुगेका थियौं- स्वाबासी शब्दको तक्मा कानमा भिर्नका लागि आफैं पत्र लिएर दार्जिलिङ पुगेका थियौं। अझ ज्यादा भविष्यमा गर्नपर्ने कार्यका लागि छातीभरि उर्जा भर्न दार्जिलिङ पुगेका थियौं। सिलगढीका अन्य धेरै साथीहरूसितै अहम् भूमिका निर्वाह गरेर विजेता बनी फर्किएर आएको अनुभूतिसितै दार्जिलिङ पुगेका थियौं।

हामी दुइ भाइको परिचय त त्यसक्षण नगन्य नै थियो। तर सिलगढी भानु जयन्ती समारोह समिति र युवा वर्गले एउटा अति नै महत्वपूर्ण तर कठिन काम फत्ते गरेर आएको जमातको प्रतिनिधित्व गरेर पुगेका थियौं।  जाति-भाषा-भानुको मर्यादालाई लतारिएको भुइँबाट टिपेर अग्लो चौरस्ताजस्तै टाकुरामा विराजमान गर्नसकेको थियौं – को गर्व लिएर पहाड उक्लिएका थियौं। हाम्रो अनुहारमा कार्यसिद्धिपछिको गर्वबोधसहितको सन्तुष्टिको रङरोगन चढेको हुनुपर्छ र त्यही रङ्गिविरङ्गी सन्तुष्टि बोकेर दार्जिलिङ पुगेका थियौं। तर हाम्रो सोचाइको डोरी कसिलो नभएर फ्याङ्लाङे निस्किएछ। कट्मेरो सोचाइको फल अमिलै निस्किएको मान्यौं हामीले।

दार्जिलिङले भानु जयन्तीको विदा खोसिएको थाहा पाएन ?

नेपाली भाषा साहित्यको सम्मानमा भानु जयन्तीको खोसिएको आधा दिने सरकारी विदालाई एउटा सिङ्गो एक दिने विदा बनाउनसकेको फुस्रो धक्कु लिएर पुगेकारहेछौं कि दार्जिलिङ – भन्ने तिर पनि मन पुग्यो। दार्जिलिङ त सिलगढीको पनि जिल्ला हेडक्वाटर हो। दार्जिलिङले सिलगढीको आधा दिने भानु जयन्तीको विदा खोसिएको थाहा पाएन ?  कि कतै आफु सिङ्गो विदाको हकदार बन्नलाई सिलगढीको आधा दिने विदा पनि आफैतिर खप्ट्याएर एक दिने पारेको त होइन दार्जिलिङले – भन्नेतिर पनि मन गयो। सिलगढीको आधा दिने विदा खोसिँदा सिङ्गो पहाड किन कराएन – ठुलो प्रश्न बन्यो हाम्रा अघि।

हाम्रो विजय त नेपाली जातिको विजय थियो। हाम्रो विजय त नेपाली साहित्यको सबलताको परिचयको विजय थियो। र, थियो आदिकवि भानुभक्त आचार्यको विजयसितै जातीय अस्तित्वको विजय। अनेपालीहरूमाझ सिलगढीमा नेपाली कवि भानुभक्तको नामलाई १३ जुलाईसँग जोड्दै सरकारी विदा पाएर भानुको परिचय सार्वजनिक गर्नुथियो। साथै भानुमा थपिएको जलपले जातीय मर्यादामाथि पनि अझ झलमल्ल घाम लाग्नुथियो।

दार्जिलिङले गतिलो स्याबासीको धाप ठोक्छ सिलगढीलाई- को लोभ बोकेर दार्जिलिङ पुगेका थियौं हामी। ‘भाइहरूले खोसिएको भानुको सम्मानका साथै जातिको प्रतिष्ठालाई सरकारसित लडेर जातिकै शिर उँचो गराउनु भयो, यसैले म अवस्य नै आउँछु’ – सुन्ने लोभमा दार्जिलिङ उक्लिएका थियौं। ‘भाइहरूको जागरुकताले जुन सफलता दिलायो पहाडलाई साँच्चै हर्ष लागेको छ’ – सुन्ने लोभमा दार्जिलिङ पुगेको थियो सिलगढी। तर….।

खीरझैं जयन्ती

हो, हामीले आदिकविको आधा दिने विदा खोसिएपछि धेरै सङ्घर्ष गर्नपऱ्यो। सिलगढीबाट दार्जिलिङ पुगी जिल्लापाल कार्य अघि भोक हडताल बस्यौं। त्यो भोकहडतालको हतियार पनि कामको ननिस्किए पछि अर्को बाटो समात्यौं। सिलगढीबाट झण्डै एक डेढ सय पदयात्रीलाई हिमालचुलीका सम्पादक कथाकार शिवकुमार राईले सिलगढी कोर्टको प्राङ्गणबाट हरियो झण्डा देखाएपछि पदयात्रा दार्जिलिङ जिल्लापाल कार्यालयमा मेमेरन्डम चढाउन पुगेका थियौं।

यसरी पटक पटकको विभिन्न सङ्घर्षपछि पाएको सफलताले हौस्याएर दार्जिलिङ पुगेका थियौं। हामी आफैमा नयाँ उर्जा नयाँ जोश थप्न दार्जिलिङ पुगेका थियौं। यी र यस्ता सोच बनाएर नै हामी दार्जिलिङका बौद्धिक व्यक्तित्वहरूलाई निम्तो गर्न पुगेका थियौं।

र, पनि हामीले त्यो वर्षको महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती सेमिनार आयोजना गरी धुमधामसितै मनायौं । अखिल भारतीय नेपाली भाषा समितिको मूल कार्यालयबाट भाषा शहिद/ भाषा सेनानी कृष्ण सुब्बाको पाँच छ थान पेन्टिङ पनि ल्याएर प्रदर्शनी गरेका थियौं। महाकवि लक्ष्मीप्रसाद देवकोटाको पाए जति पुस्तकहरू पनि प्रदर्शनीमा राखेका थियौं। हामीलाई माया गर्दै साथ दिन भनौं हाम्रो निवेदनलाई सम्मान गर्दै डा. जगत् छेत्री र रामलाल अधिकारी उपस्थित रही हाम्रो कार्यक्रमको शोभा बढाइदिनुभएको थियो। कृष्णमाया नेपाली विद्यालयमा पाइए जति महाकविका पुस्तकहरूको प्रर्दशनी पनि हामीले गरेका थियौं।

त्यति हो, त्यो जयन्ती टिस्टाको गड्तिरमा पाक्दैगरेको खीरझैं (इन्द्रबहादुर राईको खीर कथा) बन्यो कि के बन्यो- त्यो हेर्ने चक्षु भने हामीसित थिएन।

मञ्च र इबरा

फेरि अझ इखिएर हामीले सिलगढी जंक्सन अघिल्तिर भानुभक्तको पूर्णाङ्गी सालिक राख्ने इच्छा गऱ्यौं। खोसिएको भानुजयन्तीको विदा प्राप्त गर्न सक्षम बनेपछि हाम्रो जोशमा अझ इन्धन भरियो। थन्को लागेर बस्न मानेनन् हाम्रा आँट र उमङ्गहरू। सिलगढीमा आदिकवि भानुभक्त आचार्यको सिङ्गो सालिक निर्माण गर्नतिर हाम्रो ध्यान र ध्याउन्न अघि बढ्यो। हाम्रो सोचाइ थियो- आदिकविको सालिक इबरा सरकै हातबाट सार्वजनिक गर्ने….तर सालिक सार्वजनिक गर्नलाई पनि मञ्च त बनाउनपर्ने नै हुन्छ। इबरा सरले मञ्चमा सर्जकलाई मनाई गर्नुभएको छ। चाहेर पनि सिलगढी जक्सन अघिल्तिरको भानुको सालिक अनावरण गर्न इबरा सरलाई सिलगढी झार्नसकेनौं हामीले।

इबरा त टुप्लुक्कै : तर बचनको पक्का                   

सिलगढी तथ्य केन्द्र अघि भिआइपी गाडीहरूको लस्कर छ। तथ्य केन्द्रकै अघिल्लिर रहेको सिलगढी महकुमा पुस्तकालयको गेटै ढाकेर गाडीहरू पार्किङ गरिएका छन्। कार्यक्रम शुरु हुन अघि नै हामी तथ्य केन्द्र बाहिर उभिएका छौं। स्रोता/दर्शक बनी युवा वर्ग सिलगढीका धेरै साथीहरू पनि आएका छन्। सरकारी तवरमा एउटा नेपाली दैनिक अखबार – सगरमाथा – नाममा प्रकाशित हुने कार्यक्रमको शुभमुहूर्तमा साक्षी बन्न धेरै मानिसहरू आएका छन्। दार्जिलिङबाट पनि गन्यमान्यहरू आउँदैछन्। राज्य सरकारको सूचना विभागका अधिकारी तिलक राईको भ्याइनभ्याइ छ। दार्जिलिङबाट डा. लक्खीदेवी सुन्दास अघि नै आइपुग्नुभएको छ। सगरमाथाको संभावित सम्पादक एम. बी. राई पनि निकै फुर्तिलो देखिँदैछन्। सत्ताधारी राजनीतिक पार्टीका कार्यकर्ताहरूमा निकै जोश र उमङ्ग भरिएको छ। सबैको अनुहारमा एलइडी बल्बको स्वीच अन छ। हल्ला सुनिन्छ – डा. इन्द्रबहादुर राई पनि आउँदैहुनुहुन्छ। सुनेपछि, हामीले पटक्कै विश्वास गरेनौं। अझ ज्यादा मित्र विजय थापा र मैले त विश्वास गर्नु नै इबरा सरमाथि नै अविश्वास हुनजान्छ। साधनामा लीन हुन छाडेर कसरी आइपुग्नु होला….। उडन्ते खबरको हामीले विश्वास गरेनौं नै।

हलभित्र कार्यक्रम शुरु भयो। हामी हलभित्र पस्नै लाग्दैथ्यौं। एउटा गाडी आएर रोकियो। गाडीको दैलो खोलियो। पालैपालो केही छोटा छोटा गोडाहरू शरीरभन्दा पहिले निस्किएको देख्यौं हामीले। ती दुइवटा गोडाले डा. इन्द्रबहादुर राईलाई हलभित्र लिएर गए। साधनामा लीन हुनछाडेर मञ्च मञ्चतिर………. सरकै बोली सम्झिरहें। ती दुइ गोडाहरूलाई हलभित्र पस्न अघि सधैँझैं मैले शिर टेकाएर ढोगें।

मञ्चमा मन्त्री बुद्धदेव भट्टचार्यदेखि लिएर स्थानीय एमएलए तथा मन्त्री अशोक भट्टचार्यका साथै धेरै धेरै माननीयहरू चढिसकेकै थिए। डा. लक्खीदेवी सुन्दास पनि मञ्चासिन हुनुहुन्थ्यो। यता केही अवेर त नभनौं, तर कार्यक्रम शुरु भइसकेपछि आउनुभएको डा. इन्द्रबहादुर राईलाई पनि मञ्चमा बोलाइयो। तर सर मञ्चमा उठ्न पटक्कै मान्नुभएन। यहाँसम्म सूचना अधिकारी तिलक राई आफै आएर सरलाई अनुरोध गर्दा पनि डा. इन्द्रबहादुर राई मञ्चमा उठ्नु भएन।

…. साधकहरू मञ्च मञ्चमा नउठ्ने …. आफ्नो वचनको आफैमाथि प्रयोग गर्नुभयो – लागिरह्यो मलाई।

स्कुटर लडेन 

नेपालबाट आदिकवि भानुभक्त आचार्यको जीवनीमाथि आधारित सिनेमा निर्माण भएको थियो। उक्त सिनेमाको च्यारेटी शो सिलगढी प्रधाननगरको विश्वदिप सिनेमा हलमा हुनेभयो। भानुभक्त सिनेमा निर्माणसित शुरुदेखि नै सक्रिय रहनुभएको नेपाली साहित्यका धुरन्धर विद्वान् कमलमणि दीक्षित आफै सालबारी आई इन्द्रबहादुर सरलाई भेटी उक्त च्यारेटी शोमा आइदिने अनुरोध गर्नुभयो। शो बिहानै हुनेहुनाले सालबारीबाट सिनेमा हलमा इन्द्रबहादुर सरलाई समयमा पुऱ्याउने दायित्व मलाई आइलाग्यो। त्यस समय सालबारीबाट बिहानै गाडी पाउन सकिँदैनथ्यो। सरलाई मैले मेरो स्कुटरमा नै लिएर जाने विचार गरें।

त्यसभन्दा अघि पनि सर एकचोटि मेरो त्यही स्कुटरमा उठ्नुभएको थियो। त्यस समय म स्कुलबाट घर फर्कंदैथें। दार्जिलिङ मोडमा इन्द्रबहादुर सर र निर्मलचन्द्र खालिङ सर ( दान खालिङ सरको कान्छो भाइ। एक समय इन्द्रबहादुर सर र निर्मलचन्द्र खालिङ सर दुवै दार्जिलिङ टर्नबुल हाइस्कुलका शिक्षक हुनाका साथै दार्जिलिङको बौद्धिक व्यक्तित्व ) गाडी पर्खिएर बसिरहनुभएको रहेछ।

खालिङ सर इन्द्रबहादुर सरलाई सालबारी जाने गाडीमा उठाउन आउनुभएको रहेछ। खालिङ सरले म आउँदै गरेको देखेर गाडी रोक्ने इसारा गर्नुभयो। र, भन्नुभयो इन्द्रबहादुर सरलाई पनि लिएर जाने।    – सरको उमेरको मानिस दुइचक्केमा –  तरैपनि मैले नाइँ भन्नसकिनँ। म गाडीबाट ओर्लिएँ। इबरा सरको गोडा ढोगें। दुइ चक्केमा सर आफै मान्नु हुँदैनहोला भन्ने थियो मेरो मनमा। तर सर त आनाकानी नगरी नै दुइचक्केमा उठ्न चहानुभयो।

मेरो सोचाइले फेल खायो। गाडी स्टार्ट गरें। सरलाई सिटमा बस्नका लागि अनुरोध गरें।  मैले गाडी दह्रै समाएको थिएँ। खुट्टाले भुइँमा पैंठ पनि दह्रै जमाएँ। अस्सी नाघ्नुभएको सर। त्यसमाथि पनि होचा होचा कदको…. स्कुटरमा उठ्न केही अप्ठेरो त हुन्छ भन्ने सोच्दैथिएँ। अचानक स्कुटर एकातिर भारी भएर लड्लाजस्तै भयो। खोई कसरी मैले सरलाई लड्नबाट जोगाएँ मलाई नै थाहा छैन। म आफु पनि होचो होचो कदकै परें। भरे बुझ्दा त सरले खुट्टादानीमा खुट्टा टेकेर ठिङ्ग उभिइनुभएको रहेछ। यस्तो बेला दुइचक्के एकातिर भारी भएर लड्ने संभावना ज्यादा हुन्छ। मैले जन्मदेखिकै शक्ति निकालेर खुट्टामा थुपारें र सन्तुलन कायम गर्नसकें। त्यसपछि खालिङ सरको सहायताले दाहिने खुट्टा सिटदेखि माथि चढाएर बस्नुभयो इन्द्रबहादुर सर। त्यही पुरानो घटना सम्झिएर होला, यसचोटि सर आफैले भन्नुभयो- म डिलबाट उठ्छु है भाइ, गाडी डिलमा लगाउनुहोस्। मैले मेथीबारीमा सरको घरतिर जाने अच्छा राई रसिक मार्गको डिलमा दुइचक्के लगाएँ। र, सरलाई सिनेमा हलमा समयमा नै सुरक्षित पुऱ्याउनसकें।

इबरालाई डक्टरेट

उत्तर बङ्गाल विश्वविद्यालका प्रा.डा.घनश्याम नेपालको फोन आयो। त्यो दिन मङ्गलबार हुनुपर्छ। फोनमा डा. नेपाल भन्दैहुनुहुन्थ्यो-‘ सिक्किम केन्द्रिय विश्वविद्यालयका उप-कुलपति डा. टङ्क सुब्बा डा. इन्द्रबहादुर सरलाई भेट गर्न भोलि आउँदैहुनुहुन्छ। तपाईंसित पुरानो परिचय भएको कुरो गर्दैहुनुहुन्थ्यो। यसैले तपाईंले उप-कुलपतिलाई डा. इन्द्रबहादुर राईसित भेट गराइदिने कष्ट उठाइदिनु पऱ्यो।‘

मैले डाक्टर नेपाललाई भनें ’उहाँ र म उत्तर बङ्गाल विश्वविद्यालमा पार्वत्य विद्यार्थी सङ्गठनको कार्यकर्ता भएर सँगसँगैजस्तो काम गरेका हौं। तर भेट नभएको युगौं भयो।’

यसैले मैले नाइँनास्ती गर्ने कुरै छैन, ‘तपाईं ढुक्क बन्नुहोस्’ भनेर डाक्टर नेपाललाई आश्वस्त पारें।

भोलिपल्ट बिहानै उप-कुलपतिको फोन आयो। म दोकानमा नै थिएँ। यसो बाहिर निस्किएर तलतिर हेरें। डा. टङ्क सुब्बाजी सिक्किम केन्द्रिय विश्वविद्यालय नाम लेखिएको गाडीबाट ओर्लिएर फोन लगाउँदैहुनुहुन्थ्यो। धेरै वर्षपछि उहाँलाई देखें। उहाँमा केही परिवर्तन देखिनँ। कति साधारण अहङ्कारविहीन व्यक्तित्व। कति महान् व्यक्तित्व।

म हतारिएर गएँ। भलाकुसरी पछि हामी दुइ भाइ गाडीमा उठ्दै गर्दा मैले भनें, ‘आज बुधबारको दिन  आइबी सरकाँ जाँदा सालबारी हाट शुरु भइसकेको छ। हाटभित्रैबाट जानपर्ने हुन्छ। मदेशको हाटमा बाटै ढाकेर पालहरू टाङ्छन्। बाटो त छ अर्को तर अलिक कच्चा र खाल्डाखुल्डी।’

उप-कुलपतिले ‘जाऔं न विकल्पिक बाटो भएदेखि’ भन्नुभयो।

घरमा ठुला ज्वाइँ हुनुहुन्थ्यो। सर भित्र कोठामा ओछ्यान पर्नुभएको रहेछ। बातचित शुरु भयो। सिक्किम केन्द्रिय विश्वविद्यालयको आउँदो दीक्षान्त समारोहमा कुलपति भारतकै राष्ट्रपति आएर सरलाई डक्टरेट उपाधि प्रदान गर्ने कुरो रहेछ।

इबरा सरले शारीरिकरूपमा आफु आउननसक्ने कुरो राख्नुभयो। फेरि पनि भन्नुभयो- दार्जिलिङ फर्किएर गएपछि छोरासँग सल्लाह गर्नेछु। एकपल्ट दार्जिलिङमा आएर भेट्ने कुरा पनि भन्नुभयो। तर सरले अनिच्छा प्रकट गर्नुभएको प्रष्ट थियो। कुरो यति नै थियो। त्यसपछि सर दार्जिलिङ लाग्नुभयो। सिक्किम केन्द्रिय विश्वविद्यालयले सरलाई मानार्थ डाक्टरेट उपाधि दियो/दिएन मलाई थाहा भएन।

पत्रकारको अधकल्चो समाचार

त्यसको केही पछि आदरणीय गणेश रसिक दाइको फोन आयो। उहाँ काँकरभिटामा आयोजित एउटा साहित्य महोत्सवमा काठमाडौंको एउटा टोली नै लिएर आउनुभएको रहेछ। त्यही मौकामा डा. इन्द्रबहादुर सरसित भेट गर्ने मनसाय व्यक्त गर्नुभयो। टोलीमा कान्तिपुर समाचार पत्रका पत्रकार बन्धु देवेन्द्रराज भट्टराई पनि हुनुहुँदोरहेछ। मैले भेट गराइदिनपर्ने। फोनमा कुरो भयो। मैले हुन्छ भनिदिएँ।

सरको गोडा सुनिएर डम्म डम्मी थियो। बातैचितकै मौकामा सरले मलाई सिक्किम केन्द्रिय विश्वविद्यालयको त्यो घटना दोहोऱ्याउनुभयो। सरले तेस्रो पर्सनलाई पनि बातचितमा दोस्रो पर्सन बनाएर बोल्ने शैली विकास गर्नुभएको थियो। यसरी सरको बोल्ने शैलीको भेउ नपाउँदा पत्रकार बन्धु देवेन्द्रराज भट्टराईले मैले -कुनै समयमा कुनै कुरोको प्रतिश्रुति दिएको थिएँ र त्यो पूरा नगरेको गुनासो सरले पोख्नुभएको- भन्ने समाचार बनाइ प्रकाशित गर्नुभएछ। म छक्क परें। अधकल्चो बुझाइलाई किन पत्रकारहरूले यसरी समाचार बनाउँछन् ???

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया