इबरा जन्मजयन्ती विशेष : वृद्ध, युवा र वर्गीकरण

विचार

वर्गीकरणले वृद्धहरू र युवाहरूबीच (त्यस्तै शासक र शासित, यस सम्प्रदाय र त्यस सम्प्रदाय, यस जात र त्यस जात, यो दल र त्यो दल आदिबीच) विभेद र विरोधिता उमार्छ। यसो हुन्छ वर्गीकरणको गुणावगुणार्थले। अनि गुणार्थहरू जन्मन्छन् ती वर्गप्रतिका हाम्रा मनोवृत्ति, बोध, मूल्यनले। तर देख्छौं, यी मनोवृत्ति, बोध मूल्यन सबैका, सब स्थानका, सब समयका एक हुँदैनन्। र वर्गीकरणमा जोडिने आग्रहपरक गुणार्थहरूले गर्दा वर्गहरूको मूल्याङ्कन यादृच्छिक (आर्बिट्रेरी) हुन्छ।


इन्द्रबहादुर राई


गान्तोक गइरहेको गाडीमा बसेका थियौं। बर्खाको भलले सडकमा झारेको ढुङ्गामाटो हटाइसकेका रहेछन् तर हिलो थियो। गाडी एउटा आएपछि यतादेखि अर्कोलाई जानु दिँदैरहेछन्। उत्तादेखि आइरहेको बस धेरै होसियारीले विस्तारो आइरहेको देख्यौं। पर्खिन नसक्ने भइसकेको हाम्रो गाडीको ड्राइभर झोंक्कियो, ‘के ढिलो आएको त्यो बस, को रैछ त्यस्तो चलाउने।’

झुण्डिने सिकुटे क्लिनर केटाले बतायो कराएर, ‘ओल्डम्यान।’

‘ओल्डम्यान’-लाई ‘यङम्यान’-ले त्यसरी खिसी गरेको अलिक राम्रो लागेन। भनें, ‘ओल्डम्यानले गाडी होसियारीले विस्तारी ल्याएको एकदम ठिक।’

बस त्यही चालमा आइपुगेर हाम्रो गाडीको छेउबाट भएर गयो।

चालक यङम्यान नै रहेछ।

वृद्ध र युवाको वर्गीकरण (त्यस्तै शिक्षित-अशिक्षित, शाकाहारी-मांसाहारी, बजारमा बस्ने-बस्तीमा बस्ने, यस मतका-त्यस मतका आदि अनेक वर्गीकरण) माथि आज यहाँ अलिकति विचारौं।

वृद्ध र युवाको वर्गीकरण उमेरको वर्गीकरण मात्र हुँदैन, त्यसमा अन्य कति कुरासमेत हालिएका र भन्न खोजिएका हुन्छन्। वर्गीकरण वस्तुसूचक (डिनोटेटिव) मात्र हुँदैनन्, गुणार्थ (कनोटेटिव) पनि हुन्छन्। वृद्ध भन्दा बलहीन, परम्परा पछ्याउने, अब्डेरा इत्यादि पनि बुझाउन खोजिने र युवा भन्दा बलशाली, परिवर्तन चाहने, बुझकी इत्यादि पनि बुझाउन खोजिने।

सबै वृद्ध, सबै युवा यस्ता गुणावगुणार्थमा मिल्दैनन्। वर्गीकरणको बस चलाउँदा बुढेउली यत्ति होश राख्नुपर्ने हुन्छ, नराखे वर्गीकरण पल्टिन्छ।

कुनै पनि व्यक्ति, वृद्ध होस् वा युवा, एकमेव (युनिक) हुन्छ, विनिमेय (एक्सचेन्जेबल) हुँदैन। एकमात्र हुन्छ, त्यस्तै अर्को कहीँ हुँदैन। दोकानमा कुनै चिज किन्दाजस्तो जुनै एउटा लिँदा हुने हुँदैन।

त्यसैले कसैसित मित्रता गरिन्छ, प्रेम गरिन्छ। वर्गीकरणले चाँही त्यसभित्र पारिएका सबलाई सालाखाला एकै देख्न र देखाउन खोज्छ। प्राकृतिक अस्तित्वका मानिसहरू, बाघ, रुख, पर्वतहरू प्रत्येक नै भिन्दै छन्, यन्त्रमा बनेकाहरू मात्र एकनासका हुन्छन्। वर्गीकरणको साझे कोट सबैको आङमा टम्म मिल्ने हुँदैन।

वर्गीकरणले वृद्धहरू र युवाहरूबीच (त्यस्तै शासक र शासित, यस सम्प्रदाय र त्यस सम्प्रदाय, यस जात र त्यस जात, यो दल र त्यो दल आदिबीच) विभेद र विरोधिता उमार्छ। यसो हुन्छ वर्गीकरणको गुणावगुणार्थले। अनि गुणार्थहरू जन्मन्छन् ती वर्गप्रतिका हाम्रा मनोवृत्ति, बोध, मूल्यनले। तर देख्छौं, यी मनोवृत्ति, बोध मूल्यन सबैका, सब स्थानका, सब समयका एक हुँदैनन्। र वर्गीकरणमा जोडिने आग्रहपरक गुणार्थहरूले गर्दा वर्गहरूको मूल्याङ्कन यादृच्छिक (आर्बिट्रेरी) हुन्छ।

कसैलाई पनि पहिले नै कुनै वर्ग चिन्नु वा चिनाउनु त्यसवर्गको चलाइएको गुणावगुणार्थले उसलाई पहिल्यै निर्णय (जज) गर्नु समान हुन्छ। उनलाई अन्यन्य (युनिक) व्यक्ति चिनौं, अन्यन्य व्यक्तिहरूमाझको मनैले चिनजान, आत्मिक परिचित हुन्छ त्यो। वृद्ध र युवाहरूले पारस्परिकतामा यस्तै व्यक्तीय साँचो चिनारी खोजौं र पाऔं।

वृद्ध र युवाहरूबीच तनाव, अचेटाइ र घचेटाइ अघि पनि थियो, मात्रै अचेल जति फैलिएको र छर्लङ्ग थिएन। समयले गराएको। उहिले बाबुहरूले रेलै थिच्न सक्थे, अहिले छोराहरूले त्यति नथिचिन खोज्दैछन्।


सौजन्य : मणिकुमार प्रधान

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया