बोटानिकल गार्डनलाई 10 करोड

कालेबुङ, 5 फरवरी


राज्य सरकारले दार्जिलिङको बोटानिकल गार्डनको सुन्दरीकरणको लागि 10 करोड खर्च गर्ने भएको छ। राज्य पर्यटन विभाग  र बन विभाग मिलेर बोटानिकल गार्डनलाई सुन्दर बनाउने भएको हो।  बोटानिकल गार्डनमा केही यस्ता विरुवाहरू पनि छन्, जो विलुप्त हुने अवस्थामा छ। यसैको संरक्षणको लागि पनि राज्य सरकारले यस्तो पहल गर्ने भएको हो।

उत्तर बङ्गालको पर्यटनलाई चुस्त गर्न राज्य सरकारले विभिन्न योजना हातमा लिएको छ। राज्यका पर्यटनमन्त्री गौतम देवले सबै पर्यटन क्षेत्रको कायापलट गर्न करोडौंको योजना तयार पारेको जनाएका छन्।

देवले सिलगढीमा यसै सम्बन्धमा प्रशासनिक अधिकारीहरूसित बैठकसमेत गरेका छन्।  जहाँ राज्य पर्यटन विभागका मुख्य सचिव नन्दिनी चक्रवर्ती उपस्थित थिइन्।

16 हेक्टर जमीन ओगटेको बोटानिकल गार्डनमा केही यस्ता विरुवा छन्, जो देशमा हतपत्त पाइन्न। यसैले यही विरुवा हेर्न देशविदेशका पर्यटक यहाँ आउँछन्। 1857 मा बनिएको यो गार्डनमा केही यस्ता रुख पनि छन्, जो देशभरिमा कतै पाइन्न।

देवले यसैले गार्डनको पर्यटनमा विशेष महत्व रहेको जनाएका छन्। यसै योजनाअनुसार गार्डनसम्म पुग्ने वैकल्पिक बाटो पनि बनाइने छ। अहिले दार्जिलिङ सुपरमार्केटको बाटो भएर गार्डन पुग्नपर्छ।

यसबाहेक गार्डनमा ग्रीन हाउस, वार्टर बडी, पोली हाउस, इन्टर्नल रोड, ड्रेनेज सिस्टम चुस्त गरिनेछ। पर्यटकको लागि कटेजहरूको निर्माण पनि गरिनेछ। यसैबीच मिरिकको सुन्दरीकरणको लागि पनि अलग्गै कोष राखिएको छ। मिरिकमा पनि शीघ्र काम शुरु गरिनेछ।  युडीएमए डिपार्टमेन्टले काम गर्नेछ। यसको लागि टेन्डरसमेत जारी गरिएको छ। यसबाहेक मालबजारको टुरिस्ट लजलाई भत्काएर अर्को बनाइने पनि देवले बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया