राजमार्गको समस्या लिएर सांसदसित भेट : उद्दारकर्तालाई गाडी दिने

सिक्किम, 9 फरवरी


भारतीय जनता पार्टी, सिक्किम प्रदेश एकाईको प्रतिनिधिमण्डलले नयाँ दिल्लीमा दार्जीलिङका सांसद राजु विष्टसित भेट गरेर राष्ट्रिय राजमार्ग, 10 अन्तर्गतका विभिन्न समस्याहरूमाथि चर्चा गर्दै यसको समाधान निकाल्ने पहल गरेको छ। भाजपा प्रदेश अध्यक्ष डीबी चौहानको नेतृत्वमा रहेको उक्त प्रतिनिधि मण्डलमा गान्तोकका विधायक वाईटी लेप्चा, पार्टी राज्य समन्वयक सुदीप प्रधान, बीजेवाईएम उपाध्यक्ष सञ्चो लेप्चालगायत अन्य पदाधिकारीहरू सामेल थिए।

सांसद राजु विष्टसितको भेटवार्तामा विशेषगरी राष्ट्रिय राजमार्ग 10 अन्तर्गत दार्जीलिङ संसदीय क्षेत्रभित्र पर्ने सेवकदेखि रम्फूसम्म दिन प्रतिदिन बढ्दो सड़क दुर्घटनामाथि चर्चा गर्दै यसको समाधानको निम्ति विचार विमर्श गरिको छ। यस क्रममा राजमार्गको रखरखाउमा सुधारका साथै दुर्घटनामा परेका मानिसहरूको उद्धारकार्यमा निःस्वार्थ खटिरहेका स्वयंसेवी संस्थाहरूलाई सहयोग दिने विषयमा सांसद विष्टसँग चर्चा गरिएको छ।

सांसद विष्टले उपरोक्त विषयहरूलाई गम्भीरतापूर्वक लिँदै दुर्घटना अवधि उद्धारकार्यमा निःस्वार्थ रूपमा खटिरहेका स्वयंसेवीहरूको टोलीलाई सांसद निधि कोषबाट चाँड़ै एउटा वाहन उपलब्ध गराउने घोषणा गरेका छन् जसले गर्दा आपतकालीन स्थितिमा उनीहरू तत्काल घटनास्थलसम्म पुग्नसकुन्। यस अतिरिक्त उद्धार कार्यमा आवश्यक पर्ने साधनहरू उपलब्ध गराउने दिशामा पनि सांसद विष्टले पहल गर्ने बताएका छन्। यसै गरी राष्ट्रिय राजमार्गको उचित रखरखाउ अनि दुर्घटना भइरहने क्षेत्रहरूको पहिचान गरेर दुर्घटना रोक्ने उचित व्यवस्थाको निम्ति चाँड़ै सड़क तथा परिवहन मन्त्रालयसमक्ष कुरा उठाउने पनि आश्वासन दिएका छन्।

सड़क तथा परिवहन मन्त्रालयमा दुर्घटना क्षेत्रहरूको पहिचान गरेर उचित व्यवस्था गर्न 200 करोड़ रुपियाँसम्मको प्रावधान रहेको बताउँदै यस विषयमा मन्त्रालयसमक्ष चाँड़ै कुरा राख्ने सांसद विष्टले भाजपा सिक्किमको प्रतिनिधिमण्डललाई आश्वासन दिएका छन्।

भेटवार्ताको क्रममा सेवक रेल गेटमा ओभर ब्रिज निर्माणको निम्ति राष्ट्रिय राजमार्गमा यात्रा गर्ने यात्रीहरूले विगत लामो समयदेखि माग गरिरहेको विषयमा चर्चा गर्दै यसको निम्ति पनि पहल गर्ने सांसद विष्टसँग अपील गरिएको छ।

राष्ट्रिय राजमार्गमा अहिलेसम्म भएका सड़क दुर्घटनामा ज्यान गुमाउने मृतात्माको शान्तिको निम्ति चाँड़ै शान्ति पूजाको आयोजन गर्ने पनि सांसद विष्टले सुझाएको सिक्किम भाजपाका समन्वयक सुदीप प्रधानले विज्ञप्ती जारी गरेर बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया