सहिदको ‘रोयल्टी’ खाँदै, बलिदान दिवस मनाउँदै

विज्ञापन

सिब्सुमा बलिदान दिवस पालन गर्दै विनय तामाङ

कालेबुङ, 9 फरवरी


भएको त छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति हो, सहिद। तर सहिदको मुल्याङ्कन भइहाल्ने परिस्थिति भने बनिएन। यस्तोमा आन्दोलनका विभिन्न चरणमा शहिद हुनेहरूलाई सम्झना गर्नु छोडिहाल्न मिल्दैन।

सिब्सुमा विमल गुरुङले जिटिए ग्रहण गर्न अघि आन्दोलन गरेका थिए। भनेका थिए, जहाँ जहाँ  टेक्छु, त्यही गोर्खाल्याण्डको मानचित्र हो।’ छुट्टै राज्यमा डुवर्सको भूमि नछोड्न उनले निकालेको पैदल यात्रा सिब्सु पुगेको थियो। सरकार रिसाउने र अशान्ति नचाहने जान्दा जान्दै हिंसा हुने सम्भावनासहित डुवर्स पुगेका विमलको पैदल यात्रा रोकियो।

पुलिसले गोली हाने। नेताहरूलाई गोलीले लागेन। जब की आन्दोलनलाई नेताहरूले नै नेतृत्व गरेका थिए। तर गोली लाग्यो, सामान्य कार्यकर्ताहरूलाई। जो मनबाट नै आन्दोलनप्रति समर्पित थिए। ती नै सिब्सुका सहिदहरूलाई सम्झन गोर्खा जनमुक्ति मोर्चाले बहिलान दिवस पालन गर्दै आइरहेको छ।

यसपल्ट भने सिब्सुको सहिद पार्कमा फरक दृश्य देखियो। झिसमिसेमा त्यही परिसरमा विमल गुरुङ खेमाले बलिदान दिवस पालन गऱ्यो, दिउँसो त्यही परिसरमा विनय तामाङ खेमाले।

विमल खेमा गोजमुमो डुवर्स कमिटीका मधुकर थापाले विहान बङ्गाल सरकारको कुटनीतिमाथि कटाक्ष गरे। भने, ‘बङ्गालबाट छुटिएमात्र सहिदको सपना पूरा हुन्छ।’

जुन सहिदको कुरा उनी गर्दै थिए, उनीहरू सहिद भएपछि विमल गुरुङले जिटिए थापे। 2017 मा बङ्गला भाषाको विरोधलाई जनताले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनमा परिणत गरेपछि गुरुङ बाध्य बनेर आन्दोलन त गरे, तर रणनीति बिनै।

ममता ब्यानर्जीले देशद्रोहको मुद्दा लगाएपछि भूमिगत बनेको विमल गुरुङसितै धेरै कार्यकर्ता पनि भूमिगत नै छन्। सांसद राजु विष्ट भन्छन्, यसरी भूमिगत हुनेहरू पाँचहजार छन्। मधुकर थापाले पनि यही भने।

विनय तामाङले ‘पाँच हजार भूमिगतहरूको नाम सार्वजनिक गर’ भनिरहेका छन्। सांसद विष्ट र विमल खेमाले त्यो सूची देखाएकै छैन।

‘गोर्खाल्याण्ड चाहने पाँच हजारभन्दा धेर घर बस्न पाएका छैनौं,’ सहिद पार्क परिसरबाट बिहान थापाले भने, ‘बङ्गालले अपत्यारिलो मुद्दा लगाएर खेदुवा लगाएको छ।  पहाड, तराई डुवर्स बङ्गालको थिएन। हामी बङ्गालको दिशा निर्देशमा बस्न चाहँदैनौं। शीघ्र नै छुटटै राज्य गठन गरोस्।’

दिउँसो त्यही परिसरमा विनय तामाङले छुट्टै राज्य गोर्खाल्याण्डका लागि आफ्नो प्राणको बलिदान दिने सहिदहरूको सपनालाई आफ्नो प्राण नै दिएर पनि पूरा गर्ने दाबी  गरे।

उनले श्रमिक आन्दोलन, भाषा आन्दोलन र गोर्खाल्याण्ड आन्दोलनमा भएका सहिद पनि  सम्झिए। उनले भने, ‘86 पछि हेर्नु हो भने सबैले सहिदको रोयल्टी खाएर बाँचिरहेका छन्। अहिलेसम्म हाम्रा सहिदहरूको सही मूल्याङ्कन भएको छैन। सहिद शब्द अहिले राजनीतिक पार्टीहरूका लागि बाँची खाने शब्द भएको छ।’

उनी विमलपन्थीसित पनि उस्तै गरी खनिए। बिहान सहिदवेदीमा खदा लगाउनेहरूलाई इङ्गित गर्दै सुटुक्कै श्रद्धाञ्जली गरेको बताए। ‘सुटुक्कै श्रद्धाञ्जी अर्पण गर्नु हुँदैन। छाती ठूलो राखेर गर्नुपर्छ। तपाईंहरू आएर गर्दा हामी केही भन्ने थिएनौं। किनभने तपाईंहरू पनि गोर्खा जाति हुनुहुन्छ। तपाईंहरूलाई पनि गोर्खाल्याण्ड चाहिन्छ। अस्तिसम्म 8 फरवरीको दिन अडियो र भिडियोमा दीयो बत्ती बाल्ने आज देखिएन। सायद बेलुकी आउँछन् होला। यति छिट्टो सहिदहरूलाई बिर्सिनु हुँदैन।’

तामाङअनुसार 2011 मा पनि विमल पन्थीले सहिदलाई 6 महिनापछि नै बिर्सेका थिए। 8 फरवरीका दिन विमला, बिक्की र नीता सहिद भएका हुन्।  6 महिना नबित्दै   तत्कालीन गोर्खा आन्दोलनका नेतृत्वले जीटीएमा सम्झौता गरे। 8 फरवरी 2011 का दिन विमला, बिक्की र नीताहरू जीटीएका सहिद भएका थिएनन।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया