प्रश्नको पक्षमा

विज्ञापन

डा. हर्कबहादुर छेत्री बौद्धिक लेखक हुन्, उनका दुइवटा वैचारिक पुस्तकसमेत छ। राजनैतिक पाटो जेहोस्, उनले आफ्नो लेखकीय जीवनलाई जिउँदो राखेका छन्। खबरम्यागजिनले उनको  एनआरसी र मोदी भ्रमका आयाम, प्रकाशित गरेका थियौं, (पढ्न चाहनेले यो रातोमा क्लिक गर्नुस्), यसपल्ट लेखनाथ छेत्रीले अनुवाद गरेको  रवीश कुमारको पुस्तक मुक्त आवाज-लाई केन्द्रमा राखेर राष्ट्रीय फ्लोरमा हुने चलखेलबारे गहन लेख प्रकाशित गरेका छौं। खबरम्यागजिनमा डा. छेत्रीको कलम निरन्तर रहने जानकारी गर्दछौं-सम्पादक


 हर्कबहादुर छेत्री


भयको कारखाना

पत्रकारितामा एशियाको नोबेल पुरष्कार मानिने रमण म्यागसेसे पुरष्कार प्राप्त गर्ने एनडीटिभी का वरिष्ठ पत्रकार रवीश कुमारको पुस्तक मुक्त आवाज हातमा छ। नेपाली रुपान्तर गरेका छन्, लेखनाथ छेत्रीले। आजको स्थितिमा अचेल छापिने पुस्तकहरुमध्ये एउटा महत्वपूर्ण अनि देशको परिस्थितिको सन्दर्भमा समय सान्दर्भिक पनि।

पत्रकारिताको गिर्दो स्तरले कसरी नागरिकलाई भीडमा परिणत गरिदिन्छ अनि वौद्धिक जमातमासमेत भयको वातावरण सृजना गरेर उनीहरुको आवाज बन्द गरिदिन्छ, यसका ठोष दृष्टान्त रवीशले  पेश गरेका छन्। आम नागरिकको मुद्दा बोकेर सरकारमा आएपछि  सरकार नै मुद्दाहरुको कारखाना बनिन्छ र नयाँ-नयाँ मुद्दाहरुको उत्पादन हुनथाल्छ। लगत्तै परिस्थितिमा यस्तो परिवर्तन आउँछ कि सरकारी मुद्दा मात्र मुद्दा रहन्छ। नागरिकको मुद्दा हराउँछन्। हराएको मुद्दा नागरिकले नै बिर्सन्छन्।

शोहराबुद्दिन शेखको फर्जी इनकाउन्टर हुँदा गुजरातमा गृह मन्त्री थिए अमित शाह। मुख्यमन्त्री नरेन्द्र मोदी। २१० जना आरोपीहरुमा आइपिएस् अनि आइएएससितै दुईवटा राज्यका गृह मन्त्रीको नाम पनि थियो। तर सिबिआईको इन्क्वारीमा पर्याप्त सबुतको अभावमा रिहा भए।

यो केश जस्टिस लोयाको न्यायालयमा थियो। निर्णय दिँदा न्यायधीशले ‘म बाध्य छु’ भनेका थिए। तिनले किन त्यसो भने त? कसको दबाव थियो त? किन सोहराबुद्दिनका भाईले फर्जी इन्काउन्टरको मुद्दा सर्वोच्च न्यायालयबाट फिर्ता लिए? पक्रा परेर १४ दिन पुलिसको हिफाजतमा हुँदा अमित साहले के भने? यी प्रश्नहरु अझै अनुत्तरित छन्।

कुनै राष्ट्रीय च्यनालले यो मुद्दाबारे बोल्न चाहेन। खबर छापेन। कुनै प्यानल बहस भएन। सत्तासित हाक्काहाक्की चुनौतीमा उत्रनु भनेको सानो साहसको कुरा होइन। यस्तोमा देशमा २०१४-को चुनाव भयो।भाजपा सत्तामा आयो। सत्ताधारी दलको सभापतिको हैसियतले अमित शाहा अझ शक्तिशाली भए।

यल्तैमा जस्टिस लोयाको मृत्यु भयो। त्यो हत्या थियो कि आत्महत्या भन्ने कुरा कुनै च्यानलले चर्चा गरेन। एनडीटिभीको प्राइम टाईममा त्यो चर्चा रवीश कुमारले गरे। त्यस समय तिनले सरकार र सरकारसित सहानुभूति राख्नेहरुबाट प्रशस्त धम्कीको सामना गर्नुपऱ्यो। त्यति मात्र होइन तर आफ्नै च्यानलका साथीहरुले पनि तिनलाई सक्दो हतोत्साहित गरेको कुरा रवीश लेख्छन्। साथीहरुको  सुझाव थियो,  ‘किन व्यर्थै झमेला निम्त्याएको। के यस्तो विषयमा हामीले चर्चा नगर्दा हुँदैन? तिनकै परिवारका सदस्यहरु त चुपचाप छन्। हामीलाई के को खसखस।’ साथीहरूको यस्तै टिप्पणीले पनि रवीशलाई एक्लो पाऱ्यो।

‘एउटा गहिरो कुवाभित्र भास्सिँदै जाँदै थिएँ म अनि कुवा अन्धकार थियो र सहारा कतै पनि थिएन,’ भन्छन् रवीश, ‘यस्तो स्थितिमा आफ्नै आवाज र शब्दमात्र सहायक हुँदा रहेछन्। त्यसैलाई सिँडी बनाएर म त्यो कुवाबाट बाहिर निस्कें!’

अर्थात जब चारैतिर मौनता छाउँछ त्यस समय आफुले साहस बटुलेर चिच्याउनु बाहेक अर्को विकल्प नभएको कुरा गर्छन् तिनी।

यहाँ अर्को महत्वको कुरा तिनी के गर्छन् भने पत्रकार हुनलाई गहन अध्ययन, सफा जिब्रो, व्यक्तिगत पूर्वाग्रह, घृणा, स्वार्थ र द्वेश रहित हुनपर्छ भन्ने तिनको किटान छ। त्यति मात्र होइन तर आफुले पाएको तथ्यको सबै पाटा पूर्णरुपले जाँच नगरी बोल्नु हुँदैन। जीवन सफा राख्नुपर्छ। त्यहाँ कुनै दाग हुनुहुँदैन नभए सत्य बोल्ने वा लेख्ने साहस हुँदैन।

जसरी एउटा धावक फिनिसिङ लाईनमा पुग्ने बेलामा आफ्नो शरीर अघिल्तिर फालेर फिनिसिङ लाईनको रिबिन छुने कोशिस गर्छ तर पत्रकारिताको फिनिसिङ लाईनमा कङ्क्रिटको भित्ता पत्रकारलाई पर्खिरहेको हुन्छ। जीतको खुशीले जहाँ खेलाडीलाई पर्खिन्छ त्यो स्थानमा पत्रकारको निम्ति दुर्घट्नाको सम्भावना धेर हुन्छ।

शुभचिन्तकहरुको विषयमा रवीश भन्छन्, ‘कति मानिसहरु हेर्दा सचेत र समाज प्रति चिन्तित देखिन्छन् अनि यस्ताहरु सँधै कुनै जोखिमको काम गरिरहेका व्यक्तिहरुलाई शुभचिन्तक भएर सुझाव दिन्छन्। अलिक जोगिएर है, समयकाल राम्रो छैन। यस्ताहरुसित किन दुश्मनी मोल्नुहुन्छ?  समय आउँछ नि, चक्र हो, समयलाई पर्खिनुपर्छ।’  यस्ता सुविधावादी सचेत नै समाजको सबैभन्दा ठुला दुश्मन हुन्। यस्ता सचेतहरु डरको वातावरण हटाउनलाई होइन तर त्यसलाई कायम राख्ने काम गरिरहेका हुन्छन्।

86 मा पनि यस्तै

१९८६को आन्दोलनकालमा यस्तो परिस्थितिको मैले धेरै चोटी सामना गरेको छु- लेखेको छु अनि मेरो लेखको कारणले पत्रिका जलाउने घटना पनि भएको छ।

जुनै पनि सरकारले सजिलोसित शासन गर्नलाई जनताको मनमा एउटा डर हालिदिने काम गर्छ। यो सबैभन्दा तल्लो दर्जाको शासन गर्ने तरिका हो। सबैभन्दा राम्रो शासन प्रेमको, त्यस पछि श्रद्धाको अनि अन्तमा डरको हुन्छ भन्ने कुरा इटालीका चिन्तक मेकियाभेलीले ‘द प्रिन्स’ नामक तिनको पुस्तकमा भनेका छन्-

‘तर डर फैलाएर शासन गर्नेहरु सँधै सतर्क रहनुपर्छ किनकि डर र घृणाको बीचको दुरी एकदमै कम्ती हुन्छ अनि शासकहरु कतिबेला डर घृणामा परिणत भयो भन्ने कुरा थाहै पाउँदैनन्। डर घृणामा परिणत हुनु नै शासनको अन्त हुनु पनि हो।’

डराउने बानी छ भने ससाना र सामान्य कुरादेखि पनि डर लाग्छ। डरलाई थुप्रिनु दिनु हुँदैन। यो पनि एकप्रकारको पढाई जस्तै हो। कति विद्यार्थी अरु बेला पढ्दैनन् अनि परीक्षाको समयमा यति साह्रो डराउँछन कि ती मन्दिरतिर सहायता माग्न पुग्छन्। तर कुनै देउताले परीक्षामा पास गरिदिँदैन। पढ्नेहरु मन्दिर जान भ्याउँदैनन् अनि दरकार पनि पर्दैन।

यसैकारण डरलाई पनि सानैदेखि सामना गर्ने बानी बसालिएको छ भने ठूलो डर पनि सहजै सामना गर्न सकिन्छ। अनि रातारात डरको सामना गर्ने क्षमता विकास गर्छु भन्नु पनि कहिल्यै नपढ्ने विद्यार्थीले एकै रातमा पढेर सजिलै पास गर्छु भन्ने आशा राखे जस्तो मात्र हो। यस सन्दर्भमा रवीश तिनलाई बाबुले सानोमा सुनाएको, बेलको रुखमा भुत बस्छ भन्ने कथा सम्झन्छन्।

भुतको बेलको रुखसित के सम्पर्क हुन्थ्यो र तर पत्याएर सानो छँदा आफु त्यहाँ पुगेपछि आँखा बन्द गरेर दगुरेको कुरा लेख्छन्। डरबाट पनि धेरै सक्रियता आउँछ । धेरै मानिसहरु जीवनमा एउटा न एउटा बेलको रुख पालेरै राख्छन् अनि डराईरहन्छन्। रवीश जस्ता मानिसहरुले उनीहरुको बेलको रुख समय मै काट्न सफल भए अनि आज देशका नागरिकहरुको बेलको रुख काट्न लागिपरेका छन्।

फेरिएको शक्तिखेल

२०१४ देखि एता भारतको राजनीतिमा व्यापक परिवर्तन आयो। सरकार नै देश र संविधान भयो। सरकारको आलोचना देशको आलोचना अनि सरकारका नीतिमाथि प्रश्न गर्नु आतङ्कवादी गतिविधिमा गनिन थाल्यो। सरकारी नीतिको बौद्धिक आलोचनाको क्षमता राख्नेहरु अर्बन नक्सल भए। इतिहास अब पुस्तकमा पढिँदैन तर वाटस्यापमा पढाईन्छ। मध्यामिक परीक्षासम्म पास नगर्नेहरु इर्फान हबीब र रोमिला थापरभन्दा ठूला इतिहासकार बनिन्छन्। सोसल मिडियामा ककसले के के लेख्दैछन भन्ने जान्न सरकारले आईटी सेल खोल्छ। पक्राउको डरले सोच र समझ भएका मानिसहरु चुप छन्। हावाजहाज भगवान राम कै पालामा थियो र त रामले सीता हरण गर्दा आकासमार्गको सहायता लिए। अझ हनुमान त आफैं उड्थे। प्याराग्लाईडिङको कुरा गरेको होइन मैले। कुनै कुराको सहायता बिनै उड्थे। अनि कल्पना गर्नुहोस् – तिनी दलित थिए र अनुसुचित जनजातिमा पर्थे। सरकारको मन्त्रीले भनिसकेपछि हामी झैं साधारण नागरिकको त यस विषयमा बोल्ने कुरै आएन।

अचेल युवा पिँडि ‘बुक’ को साटो ‘फेसबुक’ पढ्छन्। फेसबुकले गान्धीलाई विभाजनकारी  भनेर गोड्सेलाई रास्ट्रभक्त बताउँछ। फर्जी इतिहासको भरमार छ। भर्खरै केही दिन अघि मेरा एक राजनीति विज्ञान पढाउने साथीले टर्कीमा ख्रिश्चियनहरुमाथि गरिएको अत्याचारको भिडियो मलाई पठाएका थिए।

१५-२० जना नागरिकहरुलाई गाडीबाट उतारेर एक ठाउँ उभिन लगाई टर्कीका सिपाहीहरुले गोली ठोकी मारेको त्यो मर्मान्तक भिडियो हेरेर म साह्रै खिन्न भएको थिएँ। म त्यो भिडियोको आधिकारिकतातिर जादिनँ। मानिलिएँ त्यो साँच्चै हो र यसरी टर्कीमा युरोपका नागरिकहरुलाई अन्याय पूर्वक त्यसरी मारिएकै हो अरे- तर मेरा मित्रले त्यो भिडियो मलाई पठाउनु पछिको तात्पार्य चाहीँ मुस्लिम विरोधी मानसिकता म मा तयार पार्ने अनि भारतमा आज सरकारले गरिरहेको मुस्लिम विरोधी योजनालाई सही ठहऱ्याउनु हो अनि मेरो समस्या पनि त्यही हो।

वाटस्याप युनिभर्सिटीको पहिलो काम फर्जी इतिहासको प्रचार गरेर आम मानिसको ब्रेनवश गरि विचार र चेतना शुन्य बनाउनु। चेतनाशुन्य भएपछि उ भीडभित्रको एउटा अनुहार मात्र रहन्छ अनि भीड सञ्चालन गर्नेले जे सिकायो त्यही गर्छ। यस्तो सम्भावनाको कुराआजभन्दा ४०० बर्ष अघि शेक्सपियरले देखिसकेका थिए।

But Caesar was an honorable man….  भन्दै मार्क एन्टोनीले पल भर मै सीजरका मलामीहरुलाई यस्तो उत्तेजित पारिदिए कि सीजरका समर्थक र प्रशंसकहरु नै तिनको विरोधी भए र लाश घसार्दै शहर भरि घुमाएका थिए। त्यही कथा आज गान्धी र नेहरुसित दोहोरिइरहेको छ।

संसारको सबैभन्दा सुन्दर र शक्तिशाली भावना प्रेम हो। शेक्सपियरले भनेका थिए-

“ If music be the food of love… play on…”

तर आज भ्यालेन्टाईन डे को विरोधमा एउटा दल उत्रिन्छ। सँगै हिँडेका दाजु बहिनीसम्मलाई मरिञ्जेल पिट्छ। नाम दिएको छ -लभ जेहाद। स्वाधीन भारतमा आफ्नो इच्छाले मानिसहरु खाना खान पनि पाउँदैनन्। गाई-गोरुको मासु बोकेर हिँडेको भेटे पिटेरै मारिन्छ। गौ हत्याको विरोधमा अर्को जेहाद छ।

दङ्गा गराउन परे मन्दिरमा सुङ्गुरको मासु फ्याकिन्छ अनि हिन्दु-मुस्लिमको दङ्गा लगाइन्छ।  जामिया मिलिया  विश्वविध्यालयमा पुलिस भित्रै पसेर लाठीचार्ज र टियर ग्यास चलाउँछन्। लाईब्रेरीमा भित्रै पसेर गुण्डाहरु विद्यार्थीको टाउको फोर्छन्। हातमा रड र लाठी लिएर जवाहारलाल नेहर विश्वविध्यालयमा जाने अपराधीहरुलाई पुलिसले सुरक्षा प्रदान गरेर लान्छ जहाँ सञ्चार माध्यमलाई छिर्न पनि दिइँदैन अनि सीसीटीभीमा स्पष्ट देशले हेरेको अनुहार पुलिसले खोजेर पाउँदैन तर प्रधानमन्त्री कुनै पाठशालामा गएर स्कुलको परीक्षा हुन अघि विद्यार्थीहरुलाई परीक्षाबारे  भाषण दिन्छन्।

शासकको भाष्य

यो सरकारको हातमा आफ्ना विरोधीहरुको निम्ति के रणनीति छ त…? रवीश कुमारलाई हिन्दु बिरोधी, देशद्रोही र कम्युनिष्ट भन्ने दोषारोपन लगाईएको कुरा रवीश लेख्छन्। सरकारी पक्षको वाटस्यापमा रवीश कुमारको फोटो जुङ्गा बिनाको दाह्रीको,  मैले पनि देखेको हुँ।

गौरी लङ्केसको हत्या पछि दक्षिण भारतमा पनि आतङ्कको माहौल थियो। गौरी लङ्केसलाई पनि अर्बन नक्सलको दोष लगाईएको थियो। हत्या गर्ने को हुन त्यो स्पष्ट भएपनि पुलिसले कार्वाही गरेको थिएन। तिनको शोकसभामा उपस्थित हुन गएका रवीशले गौरी लङ्केस र उनको हत्या बारे बोले। सुनेर तिनका साथीहरु डराए।

“  अब गौरी लङ्केस पछि तिम्रो पालो…”  भन्ने प्रकारको व्यवाहार तिनले आफ्नै पत्रकार साथीहरुबाट पाएको कुरा रवीशले लेखेका छन्। सीएएको विरोधमा निस्कँदा इतिहासकार रामचन्द्र गुहलाई गिरफ्तार गरियो। त्यही दिन दिल्लीमा स्वराज इण्डियाका अध्यक्ष योगेन्द्र यादवलाई पनि गिरफ्तार गरियो। केन्द्रीय शिक्षा मन्त्री प्रकाश जावेडकर र स्मृति इरानीको एकै प्रकारको प्रतिक्रिया थियो-

“ यो विपक्षीहरुले रचेको षड्यन्त्र हो नभए योगेन्द्र यादव कसरी घट्ना घटेको १५ मिनट पनि नबिती जवाहारलाल विश्वविध्यालय पुगे त..?”.

अलिगढ मुस्लीम युनिभर्सिटीमा कसैको आदेश नपर्खी विश्वविध्यालय भित्र पसेर मनपरी गर्ने पुलिसले किन जे०एन०यु०मा चैं उपाचार्यको अनुमति पर्खेर बस्यो जब बाहिरका गुण्डाहरु विश्वविध्यालय भित्र पसेर ताण्डव मच्चाउँदै थिए भन्ने गहन प्रश्नबाट जोगिन भाजपाले कुरा योगेन्द्र यादव तिर घुमायो।

कुनै पनि राजनीतिक दलको योग्यता उस्ले प्रयोग गर्ने भाषाबाट थाहा लाग्छ। गालीले सत्ताको वजन थाहा पाईन्छ। हुनलाई राजनीतिमा गालीको प्रयोग धेरै पुरानो अभ्यास हो तर गालीलाई सरकारले हतियारको रुपमा प्रयोग गरेको भने यो पहिलो दृष्टान्त हामी यही सरकार मार्फत थाहा पाउँदै छौं।

पूर्ण बहुमतको सरकार बनेपछि सबैभन्दा पहिला यसले प्रचार तन्त्रलाई आफ्नो नियन्त्रणमा ल्याउँछ। संशाधनमाथि आफ्नो नियन्त्रण भएपछि प्रचार यति आक्रमक हुन्छ कि त्यसले साधारण मानिसलाई भीडमा परिणत गरिदिन्छ। नागरिक भीडमा परिणत भएपछि उसको सोचको खिड्की ,दैलो सबै बन्द हुन्छ अनि अह्राएको कुरा बिना प्रश्नै मानिलिन्छ। प्रश्न भीडको निम्ति सबैभन्दा ठूलो दुश्मन हुन्छ अनि सत्ताले यसैको फायदा उठाउँछ।

मौनता र भीड

ट्र्याफेलगर स्क्वायरमा यस्तै भीडले एक चोटी नोबेल पुरष्कार बिजेता बरट्राण्ड रसेललाई झण्डै मारेको थियो।

“  के गरेको….? उनी त प्रधान मन्त्रीको छोरा हुन…!” भनेर चिन्ने एकजनाले हप्काउँदा भीडले तिनलाई छोडिदिएको थियो। यस विषयमा रसेलले आफ्नो जीवनीमा लेखेका छन्-

“ मेरो नोबेल पुरष्कार र विभिन्न विषयको ज्ञान साथै मैले लेखेको सयौं पुस्तकहरुले मलाई बचाउन सकेन तर बाबुको नामले म बाचेँ….”

यो घट्ना १९३० सालको हो जब रसेल युद्ध विरोधी प्रचारमा सक्रिय थिए।

भीडको सामना गर्ने साहस प्रायै मानिसहरुसित हुँदैन। सत्ताको डर फैलाउन यसका एजेन्टहरु थुप्रै तरीका अप्नाउछन्। फोन ट्यापिङ गरेको छ भन्ने हल्ला फैलिएपछि मानिसहरु फोनमा बात गर्न डराउँछन्। गरिहाले पनि व्यक्तिगत कुरा र भलाकुसारी बाहेक राजनीतिक चर्चा गर्दैनन्।

सोसियल मिडियामा पनि सरकारले ख्याल राखेको छ भन्ने हल्ला फैलिएपछि मानिसहरु फेसबुकमा कुनै कुरा लेख्न पनि डराईरहेको परिस्थिति छ। कतै कतै फेसबुकमा टिप्पणी गरेको कारण मानिसहरु पक्रा पनि पर्दैछन्। जति मानिसहरु चुप हुँदै जाँदैछन् त्यत्ति नै भीड अझ उग्र हुँदै जान्छ। आफु तारो भइन्छ भन्ने डरले कति शिक्षित व्यक्तिहरु पनि भीडमा सामेल हुँदैछन्।

“ बिरोधी खेमामा आफु पर्नु नपरोस” भन्ने प्रायैको प्रयास देखिन्छ।

सत्ता नियत र सिएए

यस्तो परिस्थितिको सामना गोर्खाहरुले दार्जीलिङमा १९८६ मा सुवास घिसिङले गरेको आन्दोलनमा भोगेका थिए। गोरामुमोको समयमा सबैभन्दा प्रचलित शब्द नै “ ६ इञ्ची घट्ने डर “ अनि “ के गर्नु, बोल्नु हुँदैन..” जस्ता शब्दहरु थिए।

नागरिकलाई तईनमा राख्नु अनि नागरिक देखि भीडमा परिणत गर्नलाई सरकारले कानुनको सहारा लिन्छ। जसलाई चाह्यो उसैलाई पक्रिन्छ र मुद्दा हालिदिन्छ। यसरी पनि प्रतिपक्षको राजनीति कमजोर बनाईन्छ। मुद्दा खाने डरले प्रायै मानिस चुप लागेर बस्छन्। भर्खरै पनि देखियो- हातमा रड र लाठी लिएर जवाहारलाल नेहरु विश्वविध्यालयमा जानेहरुलाई पुलिस सुरक्षा दिएर गेट भित्र हुल्छन्। मिडिया र नागरिक समाजका मानिसहरुलाई गेटमा रोकेर त्यही पुलिसले भित्र जान दिँदैन। हिंसा र तोड-फोड सकेर निस्कने गुण्डाहरुलाई आदरसहित बाहिर निकालेर भाग्ने सुयोग मिलाई दिन्छ। वरिपरिका हरुले नदेखुन भनेर इलाकाको बत्ती समेत काटिदिन्छ। अनि त्यस पछि कुट्नेको नाममा होइन तर कुटाई खानेको नाममा एफ०आई० आर० दर्ता गरिन्छ। भर्खरै लखनउमा सीएएको विरोधमा धर्ना बसेका महिलाहरुलाई हिंसा र दङ् को मुद्दा लागेको-बाट सरकारको रणनीति स्पष्ट हुन्छ।

तर सरकारी पक्षकाहरुलाई कानुनको छुट् छ। सरकारलाई प्रश्न गरेर सामाजिक सञ्जालमा टिप्पणी लेख्नेहरु, एउटा सर्वेक्षण अनुसार २०१४ देखि २०१७ भित्र ४० जना पक्रा परे तर पुलवामा काण्डमा कुनै व्यक्ति पनि खुफिया विभागको हातमा पक्रा परेनन्। आर०डी०एक्स० लाने ड्राईभरको त कुरै छाडिदिउँ तर गाडी समेत पक्रा परेन। प्रधानमन्त्रीको कार्यालयबाट रफायलको फाईल हरायो। त्यस सम्बन्धमा पनि कसैको गिरफ्तारी भएन। अझ अचेल त भाजपाका नेता र मन्त्रीहरु सीएएका विरोधीहरुलाई गोली ठोकेर मार्नुपर्छ भन्ने भाषण दिएर पनि मुक्त छन्।

स्वामी नित्यानन्दहरु ढुक्कै भन्दैछन्-

“ मोदीको विरोधमा बोल्ने या लेख्नेहरुको हात काटिनेछ। कुनै न्यायधीशले सरकार विरोधी निर्णय दियो भने उसको औँली भाँचिनेछ। “  त्यस्तै उग्र भएर बङ्गालका भाजपा अध्यक्ष भन्छन्-

“ सीएए र एनआरसी को विरोध गरे गोली ठोकिने छ।“

दललाई दिशा निर्देशन दिने व्यक्तिहरुको यस्तो मनोस्थिति छ भने त्यहाँ गणतन्त्रको अवस्था कस्तो होला…?

यस्तो डरको माहौलमा कन्हैया कुमार, जावेद अख्तर,रवीश कुमार,प्रशुन बाजपेई र राजीब सरदेसाई र त्यस्तै साहस भएकाहरु प्रजातन्त्र बचाउन लागिपरेका छन्। केही दिन अघि जावेद अख्तरले एउटा गोष्टीमा कविता पाठ गरे-

“ जो कहते सब डरते है, तु वो बात लिख्

इतनी अंधेरी पहली रात न थी…. लिख् “

तर डरमा अभ्यास भएका हरुलाई यी पंक्तिहरुले कति पो साहस देला र…!  यसैले रवीशले यस पुस्तकमा भनेका छन्-

“ डरको जरा पैल्याएर काम जरा देखि गर्नुपर्छ। मोदीलाई सोझै आलोचना गर्ने साहस नहुनेहरुले जवाहारलाल देखि नै कलम उद्याउनु पर्छ। पहिलो प्रधानमन्त्रीदेखि नै आलोचना गर्ने बानी बसाले मोदीसम्म आईपुग्दा त्यो आलोचना कुनै व्यक्तिको नभएर प्रधान मन्त्रीको  संस्थानको आलोचना हुन्छ अनि पूर्वाग्रहदेखि पनि बाचिन्छ।..”

साहसको अर्थ

मुक्त आवाज लेख्दा सीएए,एनआरसी र एनपीआर जस्ता विषयहरु उठेकै थिएनन्। २०१८मा यो पुस्तक लेखियो। २०१८ को अन्ततिर यी मुद्दाहरु संक्रामक भए। हामीले पनि रवीशलाई यही दौरमा देख्यौं। लक्ष गऱ्यौं। कति त रवीशलाई अदम्य साहसी मानिस ठान्छन्। यस विषयमा रवीशको कुरा एकदमै सोझो छ। पत्रकारको काम नै देखेको कुरा नबङ्ग्याई सोझै र इमान्दारितापूर्वक लेख्नु हो। यसमा साहसको कुनै भूमिका नै छैन।

मानिस स्वार्थले नै कायर बनिन्छ। सुविधा  र सुरक्षाको लोभ नै सर्वोपरि लोभहरु हुन्। त्यसपछि आउँछ कुनै विचारको कट्टरपना। त्यो विचार सैद्धान्तिक हुनसक्छ अथवा धार्मिक। हामी वर्त्तमान समयमा धार्मिक कट्टरपनाको चङ्गुलमा छौं।

तर आलोचना गर्दा या प्रश्न उठाउँदा त्यो प्रश्न जायज छ कि छैन भन्ने कुरा चाहीँ राम्ररी जाच्नुपर्छ। एकपल्ट मात्र होइन तर धेरैपल्ट जाच्नुपर्छ। व्यक्तिगत पूर्वाग्रह र घृणालाई प्रश्नभित्र पस्ने मौका दिनु हुँदैन। नैतिक रुपमा आफु स्वच्छ हुनपर्छ। नैतिकता प्रश्नबाट टाडिनसाथ घृणा र पूर्वाग्रहहरु त्यो स्थान ओगट्न आइपुगिहाल्छन्।

अधकल्चोहरु

गुजरात विधानसभा चुनावको समयमा प्रधानमन्त्री मोदीले एउटा वक्तव्य दिए जो झुटो थियो। कुरा के थियो भने एक रात मणिशंकर ऐय्यरको घरमा एउटा पार्टी थियो जहाँ पूर्व प्रधानमन्त्री मनमोहन सिंह, भारतमा पाकिस्तानका हाईकमिश्नर र अन्य काङ्ग्रेसीहरु भेला भएर काङ्ग्रेसका अहमद पटेललाई जिताउने षड्यन्त्रको कुरा भयो भन्ने फर्जी बयान मोदीले दिएका थिए।

उद्देश्य के थियो भने काङ्ग्रेसलाई पाकिस्तान र मुस्लिम समर्थक देखाएर हिन्दुहरु माझ ध्रुवीकरण गरि गुजरात चुनावमा भाजपालाई जिताउनु । यो कुरा ९ दिसम्बर २०१७ को हो। भाजपाको त्यस समय चुनाव हार्न निश्चित थियो त्यसैले त्यो फर्जी खबर प्रधानमन्त्रीलाई भन्न लगाईयो। मोदीले भने-

“ गुजरातको चुनावमा पाकिस्तानलाई के को चासो? अनि काङ्ग्रेस किन पाकिस्तानको कुरा सुन्छ? यसरी त काङ्ग्रेस सम्पूर्ण देश कै निम्ति खतरा प्रमाणित हुँदैछ र कुनै पनि हालतमा यसलाई हराउनु पर्छ। “

१० दिसम्बरको खबरकागजहरुले मोदीको वक्तव्य छाप्यो। मानिसहरुले पढे। भाजपाले चाहे झैं भयो अनि गुजरात चुनाव भाजपाले जित्यो। तर पछिबाट त्यो खबर फर्जी भएको प्रमाण भयो। मोदीले माफ मागेनन् अनि अरुण जेट्लीलाई माफ माग्ने काम गर्न लगाइयो।

आम मानिसलाई थाहै नभएको अथवा अधकल्चो थाहा भएको विषयमा नै फर्जी खबर बनाउने काम हुन्छ। अनि रसेलले भने झैं यस्तै अधकल्चो र अज्ञानीहरु नै सुनेको कुराहरु जानेको जस्तै गरेर लेंढेढिपि गर्छन्।

पागलहरू

मलाई रसेल कै कथन याद आउँछ-

“ Ignorance is the hall mark of eminence in politics.”

सहदत हसन मन्टोले देश विभाजन बारे एउटा सुन्दर कथा लेखेका छन् – तोबा टेक सिहं।

देश विभाजन हुँदा एउटा पागलखाना सिमानामा परेको कारण त्यसलाई बीचबाट दुईभाग गर्ने निर्णय सरकारले लिन्छ। तोबा टेक सिंहलाई अधिकारीहरु प्रश्न गर्छन्-

“ तिमी भारतमा बस्ने कि पाकिस्तानमा?”

टेक सिंह भन्छ-

“ म त यहीँ बस्छु, कतै जादिन। “

अधिकारीले पुन भन्छ-

“ बस्नु त तिमी यहीं बस्नु पर्छ तर तिमीले हामीलाई बताउनुपर्छ कि तिमी भारत पटिको पागल खानामा बस्छौ कि पाकिस्तान पटिको?”

अचम्म मानेर उसले अधिकारीलाई सोध्छ-

“ जब यो ठाउँ कहीँ जाँदैन अनि हामी पनि यहीं बस्छौं भने व्यर्थमा तिमी मलाई किन भारत कि पाकिस्तान भनेर सोद्धै छौ?”

विरक्त मानेर अधिकारीले भन्छ-

“ हेर देश विभाजन भयो। तिमी कि त भारतीय हुनपर्छ कि चैं पाकिस्तानी…!”

आश्चार्य मानेर अधिकारीतिर हेर्दै टेक सिंह उत्तर दिन्छ-

“ हामी पो पागल भनेको त बाहिर त अझ ठूल्ठुला पागलहरु रहेछन्…!”

आज पागलहरु प्रत्येक राजनीतिक दलमा ठूल्ठूला ओहोदामा छन् अनि सम्पूर्ण देशलाई पागलपनको मुलधारामा बगाउन लागिपरेका छन्।

एउटा फर्जी बयान सरकारले दिन्छ। त्यस्लाई प्रचार गर्ने काम गोदी मिडियाले गर्छ। प्रचारमा चाहिने तेल पनि सरकारले नै उपलब्ध गराईदिन्छ। आज देशको मिडियाको हालत जे छ त्यसैलाई लिएर टिप्पणी गर्दै रवीश भन्छन्-

“ भन्नुलाई प्रेस राष्ट्रको चौथो खम्बा हो तर यसले काम चैं सरकारी गरिरहेछ। “

सत्य हो …जब च्यानलका एङ्करहरु आक्रमक भएर सरकारको साटो विपक्षी दललाई…” The nation wants to Know…! अथवा विपक्षी दलहरुलाई नै….Why are you against the government..?” भनेर प्रश्न गर्छन् तब पागलपनको प्रोजेक्ट आफ्नो तर्कहीन निष्कर्षमा पुग्यो भन्न सकिन्छ।

मिडिया र भाषाको हतियार

न्वाम चोम्सकीले आफ्नो पुस्तक- Manufacturing consent…  मा वर्णन गरेका छन्। अमेरिकी हवाई जहाजले जब इराकमा रेडियो र टेलिभीजनका टावरहरु  ध्वस्त पाऱ्यो। अस्पताल र स्कूलहरुमा बम खसायो। बाटो,पुल र पानीका पाइप लाइनहरु ध्वस्त पाऱ्यो। कति मरे त्यससको हिसाब छैन। तर Washington post ले एक लाईनको रिपोर्ट लेख्यो-

“ The communication lines were disrupted…”

चोम्सकीले यसलाई …Disinfected language…भनेका छन्।

यस्तो अत्याचारको बारेमा कुनै पत्रकारले पेन्टागनका प्रवक्तालाई सोद्धा तिनले भनेका थिए-

‘ No no no… how can you say that..? he ( the general who led the bomb squad) is a fine gentleman. I have seen a copy of Euripides in his chamber. He is a great poetry lover…”

Euripides को एउटा कविताको किताब राखेर एउटा हत्यारा जेनेरल सभ्य भयो।

अमेरिकाले इराकमा आक्रमण गर्दा कसरी भाषालाई हतियार बनायो भन्ने कुरा यसरी चोम्सकीले खुलस्त पारेका थिए।

प्रचारले भीड तैयार पार्छ। प्रचार असरदार छ भने त्यसले आम मानिसलाई आफ्नो चिन्तनदेखि मुक्त बनाएर प्रचारकै दास बनाइदिन्छ। नाजी जर्मनीमा यस्तै भएको थियो। हिटलरको प्रचार तन्त्रले पहिले त यहुदीहरु विरुद्ध यस्तो प्रचार गऱ्यो कि यहुदी हुनु श्रापित हुनु जत्तिकै भयो। फलस्वरुप ६० लाख यहुदीहरुलाई ग्यास च्याम्बरमा हालेर मारियो।

मिडिया सरकारको कमारो भएपछि जनताको र जनताको समस्याको कुरा गर्दैन। प्याज भारतमा १५० रु० प्रति किलो हुँदा मिडिया पाकिस्तानमा टमाटर २०० रुपियाँ किलो भयो भन्छ। शिक्षित युवाहरु बेरोजगार छन् अनि २ करोड बर्षेनी रोजगार तैयार गर्छु भनेर सत्तामा आएको सरकार किन चुप छ भन्ने प्रश्न गऱ्यो भने मिडिया पाकिस्तानमा आतङ्कवादको कुरा गर्छ।  नागरिकको समस्या सरकारसम्म पुऱ्याउने दायित्व भएको मिडिया आज नागरिक कै आवाज दवाउने यन्त्रमा परिणत भएको छ।

फर्जी खबर र असहिष्णुता

संसारका विभिन्न देशहरुमा फर्जी खबर विरुद्ध कानुन बनिएको छ। भारतमा छैन। सरकारमाथि नजरदारी गर्नु मिडियाको काम भएपनि भारतमा त सरकार कै प्रचारको निम्ति बनिन्छन् च्यानलहरु। एउटा दृष्टान्त नमो टीभीको देखाउन सकिन्छ जो केही समय मोदीको प्रचार गरेपछि आज कता पुग्यो त्यो कसैलाई थाहा छैन।

भाजपा सत्तामा आएपछि सबैभन्दा बढ्ता फर्जी खबर नेहरुको विषयमा प्रचार भयो।

जवाहार…अराबिक शब्द हो।

नेहरुका बाजेको नाम गियासुद्दीन हो। तिनी रेड लाईट एरियामा जन्मेका थिए। एउटी नन् लाई तिनले गर्भवती बनाएका थिए। नेहरुका बाबुले तीनजना बिहे गरेका थिए जसमध्ये एउटीबाट नेहरु, अर्कोबाट शेख अब्दुल्ला र अर्कीबाट जिन्ना।

भाजपाले प्रचार गरेको इतिहास उनीहरु आफैंले लेखेको हो यसैले यस्तो कुरा अन्य कुनै इतिहासमा पाइँदैन।

देशलाई लगातार प्रधानमन्त्री दिने उत्तर प्रदेशमा भाजपाको आगमन पछि सबैभन्दा धेर हिंसा मुसलमान विरुद्ध शुरु भयो। मोहम्मद अखलाखलाई गाईको मासु लिएर हिँडेको दोषमा भीडले पीटेरै हत्या गऱ्यो। गवाही दिने कोही भएनन्- हत्याराहरु छुटे। यो २०१५को कुरा।

२०१७ मा राज्यसभा सांसद परेश रावलले लेखिका अरुन्धती रायको विरोधमा वक्तव्य दिएका थिए। कश्मीरमा मानव अधिकारको कुरा गरे बापत तिनलाई देशद्रोही घोषित गर्नपर्ने तिनको माग थियो। नासिरुद्दीन शाह र अमीर खानले पनि एक पल्ट-…” हामी स्वयंलाई असुरक्षित महशुस गर्न थालेका छौं…” मात्र भनेका थिए सम्पूर्ण भाजपा उनीहरु माथि खनियो। ……” त्यसो भए तिमीहरु सुरक्षा माग्न पाकिस्तान जानु…” भन्ने प्रकारका टिप्पणीहरु जहीँतहीँ भए। मुस्लिम विरुद्ध असहिष्णुताले पराकाष्ट छोयो।

रोबोट नागरिक

हाल हिन्दुत्व प्रचार गर्ने नेटमा थुप्रै फर्जी साईट् भएको रवीश कुरा गर्छन्। ती सबै साईट्हरु सरकारी सहयोगमा चल्छ। फर्जी समाचारको सेवनले नागरिक रोबोट बनिन्छ। तपाईं रोबोट हुने कि नागरिक…?

रोबो नागरिकसित तर्कको स्थान हुँदैन। भावनाले जता अह्रायो उ त्यतै लाग्छ। फर्जी समाचारले एउटा वैकल्पिक नागरिक समाज तयार पार्छ जो इतिहास, भूगोल, अर्थशास्त्र र राजनीतिका कुराहरु विशेषज्ञबाट सुन्न चाहाँदैन तर दलको लोकल नेता नै इतिहासकार बनिन्छ। यस प्रकारका नमुनाहरु अचेल सर्वत्र देखिन्छ। एउटा भाजपा सांसद भन्छ – डार्विनले भूल गऱ्यो। मानिसलाई इश्वरले सोझै बनाएका हुन्। विकासको सिद्धान्त झुटो हो।

अर्कोले भन्छ- हनुमान आदिवासी हुन

अर्कोको दाबी छ- गौमुत्रले क्यान्सर ठीक हुन्छ

अर्कोले गुरुत्वाकर्षणको आविष्कार न्युटनको साटो आईन्सटाईन्लाई बताउँछ।

भर्खरै अझ अर्कोले भन्दैथियो- रावणसित २४ वटा विभिन्न प्रकारका हवाईजहाज थिए अनि लङ्कामा हवाइअड्डा समेत थियो।

गुरु नानक १४६९ मा पाकिस्तानमा जन्मेका थिए तर प्रधान मन्त्री मोदीले एउटा भाषणमा भर्खरै भने-

“ युपीका मुख्यमन्त्री योगी आदित्यनाथका बाबु र गुरु नानक बेलुकी चिया दोकानमा भेट्थे र धर्मको कुरा गर्थे- चर्चा गर्थे। “

अगुवा नै त्यो प्रकारको भएपछि अरु बाट त के आसा राख्ने…?”

रोबो पब्लिक आफै पढ्दैनन् अनि पढ्नेको कुरा सुन्दैनन्। तथ्य र तर्कको खिसी गर्छन्। उनीहरुले भावनाको प्रशिक्षण पाएका हुन्छन्। एउटा मानिसको मात्र अनुहार हेर्ने र उसैको बाट मात्र सुन्ने बानी हुन्छ। यस्तो एकतन्त्री व्यवाहारले तयार पारेको प्रजातन्त्र कस्तो हुन्छ ?

सत्ता, प्रश्न र भक्त

२०१२ मा दिल्लीमा मन्कीम्यानको आतङ्क थियो। थुप्रै प्रकारका कथाहरु सुनिन्थ्यो। मान्छे होइन तर एक विशेष प्रकारको जन्तु हो जसको शरीर भरी रौं र लामालामा दाह्राहरु छन् अनि पुच्छर पनि छ भन्थे मानिसहरु।

“ मैले त आफ्नै आँखाले देखेको”  भन्नेहरु पनि थिए। अन्तमा मन्कीम्यान पक्रा पऱ्यो। मन्की थिएन तर म्यान नै थियो। सहजसित चोरी गर्नु र पक्राउ नपर्नको निम्ति यस्तो हल्ला फैलाइएको थियो। आफ्नै आँखाले देखेको दाबी गर्नेहरु कता हराए त्यो कसैले खोजेनन्।

तिरुपतिको मन्दिरमा साँप निस्केर ब्राम्हण भएको पर्चा धेरै अघि देखि निस्कन थालेको हो। अझै पनि समय समयमा यस्तो पर्चा निस्कन्छ र त्यसको १०० प्रति बनाएर नबाँड्ने या त त्यस माथि विश्वास नगर्नेहरुको ठूलो नोक्सानी भएको दाबी गरिन्थ्यो। यो ठीक सत्य नारायणको कथा जस्तो थियो। लोग्ने आउँदै गरेको खबर पाएर प्रसाद पनि नलिई पूजाबाट उठेर लोग्नेलाई भेट्न दगुर्दा लोग्नेको गाडी दुर्घट्नाग्रस्त भएर तिनको त्यहीं प्राण गएको कुरा।

शिक्षित- अशिक्षित दुवै प्रकारका श्रद्धालुहरु भक्तिसित यस्तो कथा सुन्थे। भक्त अथवा विश्वासी भएपछि के को प्रश्न?”

१९७४-७५ सालतिर म अलगडा जुनियर हाईस्कुलमा शिक्षक थिएँ। एक दिन पढाईरहेको बेला पछिल्लो सीटमा धेरै हल्ला भयो। झुरुम्म भएर विद्यार्थीहरु केही पढ्दै थिए। खोसेर हेरेको त त्यही पहेँलो पर्चा- तिरुपति मन्दिरमा साँप निस्केको कुरा। मैले पर्चा सबैको सामु च्यातिदिएँ। विद्यार्थीहरुले एकै चोटी ला…… भनेको सुनें।

त्यस बेला मैले उनीहरुलाई सम्बोधन गर्दै भनें-

“ हेर यो पर्चामा विश्वास नगर्नेहरुको लाखौं रुपियाँको नोक्सानीको कुरा लेखिएको छ। मसित सबै कुरा जोड्दा हजार रुपियाँको सम्पति पनि छैन भने लाखौं रुपियाँको नोक्सानी कसरी हुन्छ?”

मेरो कुरा सुनेर सबैजना गलल हाँसे।

गणेशको मुर्तीले दुध खाएको कथा पनि घरि-घरि दोहोरिइ रहन्छ। यस्ता घट्नाहरु एक प्रकारले धार्मिक लाइसेन्स रिन्यु गर्नलाई साथै मुल बाटोबाट भट्किन लागेका भक्तहरुलाई पुन मूलबाटोमा फर्काउने रणनीति पनि हुनसक्छन्।

देशमा एकपल्ट नेताजीको फाईललाई लिएर पनि धेरै चर्चा भयो। त्यस फाईलभित्र चमत्कारिक कुराहरु हुनसक्छन् जसले नेताजीको जीवन मात्र नभएर मृत्युको वास्तविकतामाथि पनि प्रकाश पार्नसक्छ भन्ने देशव्यापी धारणा तैयार गरियो।

पछि त्यो फाइल सार्वजनिक पनि गरियो। त्यस फाईलमा १९४५ सालमा नेहरुले सुभाष चन्द्र बोसलाई युद्ध अपराधी घोषित गर्नुपर्छ भनी बेलायतकी प्रधानमन्त्रीलाई चिट्ठी लेख्नुभएको देखाइएको भएता पनि पछिबाट त्यो चिट्ठी फर्जी प्रमाणित भयो। चिट्ठीमा भुलै भूल हिज्जे देख्नेले त्यो फर्जी भनेर थाहा पाईहाले। “ Discovery of India” का लेखक नेहरुबाट त्यस्तो सामान्य भूल कसरी हुनसक्थ्यो र…? तर नेहरुलाई बदनाम गर्न चाहानेहरुको योग्यता पनि त्यही चिठ्ठीले प्रमाण गरिदियो।

नागरिक हुनको नाताले हाम्रो कर्तव्य के हुनपर्ने भन्ने विषयमा पनि रवीश कुमारले आफ्नो मन्तव्य पोखेका छन्-

देशमा भाजपा सरकार आएकै साल अर्थात २०१४ देखि नयाँ इतिहास बनाउने प्रोजेक्ट शुरु भयो।नयाँ परिपाटीमा इतिहास लेखिन लाग्यो। उदारवादी बुद्धिजिवीहरुलाई हटाएर कट्टरपन्थीहरु विश्वविध्यालयमा नियुक्ति पाउन थाले। नालन्दा विश्वविध्यालयबाट नोबेल पुरष्कार विजेता अमर्त्य सेन हटाइए। NCERT को पाठ्यक्रमबाट मुगलकालीन इतिहास हटाइयो। इर्फान हबीब र रोमिला थापर झैं विश्वप्रसिद्ध इतिहासकारहरुको नाम सदस्यताबाट हटाइयो। रिजर्भ व्याङ्कका गभर्नर हरुले सरकारको नीति गलत देखेपछि राजीनामा दिए अनि अर्थशास्त्रीहरुको साटो इतिहासको विद्यार्थीलाई रिजर्भ व्याङ्कको गभर्नर बनाइयो। तिनले पनि पदोन्नति भएको खुशीमा सरकारले रिजर्भ व्याङ्कसित मागेको १ लाख ७० हजार करोड रुपियाँ सुटुक्कै दिए सरकारलाई।

डिजीटल भारतमा इतिहास, राजनीति, समाज,विकास,विज्ञान आदि सबै कुरा पछि फर्किँदैछ। अर्थशास्त्र बुझ्नलाई चानक्यतिर फर्किनु पर्छ। राजनीति र समाजको त तिनी नै एकमात्र श्रोतको रुपमा प्रचार गरिन्छ।

फासीवादका लक्षण

ज्वरो आफैमा कुनै रोग नभएर रोगको लक्षण मात्र भए झैं फासीवादको पनि लक्षणहरु छन्। जर्मनीले पुन अर्को हिटलर नबनियोस् भन्नलाई नाजी मानसिकताबाट कसरी जोगिनु भन्ने विषय आफ्नो पाठ्यक्रममा अन्तरभुक्त गरेको छ। नाजीहरुको उत्थानको समय जुन कट्टरपन्थी सोच नागरिकमा भर्ने काम भयो आज लगभग त्यही काम भारतमा भइरहेको छ।

उत्तर प्रदेशमा पहलुखान र जुनैदको हत्या दिउँसै अनि बजारको भीडको सामु भयो।

गवाही दिन कोही आएनन्। देख्नेहरु थुप्रै थिए तर कसैले पनि गवाही बन्ने जोखिम उठाएनन्। रोबो-पब्लिक सामु बोलेर उनीहरुको तारो हुनुभन्दा मौन रहेर भीडको एक हिस्सा हुनु नै बेस ठानेर चुप बसे। च्यानलले पनि यो कुरा उठाएन। बहसमा प्रजातन्त्र बाँच्छ तर मौनतामा मर्छ – अनि धेरै भन्दा धेरै मानिसहरु यो सरकार आएपछि मौन बन्दैजाँदैछन्।

यही परिस्थिति देखएर रवीश भन्छन्- टी०भी० हेर्न छाडिदिनुहोस। टी०भी० मा त अचेल एउटै एजेण्डा छ- नागरिकलाई कसरी भीड बनाउनु! बिकिसकेका एङ्कर र न्युज रीडरहरुमा अल्मलिएर समय बर्बाद गर्नुभन्दा अरु नै काम गर्नुहोस्। अचेल टी०भी० हेर्नु भनेको स्वयंलाई अपमान गर्नु हो। खबर कागजको अवस्था पनि त्यही छ। गान्धी र नेहरु अनि सावरकरको कथा टी०भी० एङ्कर या त प्यानलिष्टहरूबाट सुनेर बुझिने कुरा होइन। उनीहरु त आफ्नो पूर्वाग्रह र राजनीतिक साथै व्यक्तिगत लाभको हिसाबले ऐतिहासिक व्यक्तित्वहरुलाई हिरो र जीरो बनाउँछन्। सबैभन्दा असल कुरा तपाईं पुस्तकालयमा जानुहोस। उनीहरुको जीवनबारे समय लिएर पढ्नुहोस्। श्रद्धाले तपाईंको शीर झुकेन भने मलाई भन्नुहोस्।

इतिहास, बाँदर र रैती

एक पल्ट ऋषि वशिष्ठ र विश्वमित्र माझ झगडा भयो। बशिष्ठ ब्राम्हण थिए अनि विश्वमित्र क्षत्रिय। क्षत्रियले ब्राम्हणको बराबरी गर्न सक्दैन अनि गर्नु हो भने कठिन तपस्या गर्नपर्छ भन्ने सुझाव नारदबाट पाएपछि विश्वमित्र तपस्या गर्न हिँडे।

कैयौं बर्षको तपस्या पछि तिनलाई जुन ज्ञान प्राप्त भयो त्यस्ले विश्वमित्रको रिसलाई शेष पारिदियो। जुन वशिष्ठसित बदला लिन चाहान्थे तिनकै आश्रममा गएर विश्वमित्रले शीर निहुऱ्याई वशिष्ठलाई गुरुको दर्जा दिए। ज्ञानको प्रभाव सँधै नमनीयतामा हुन्छ तर क्रोध र हिंसामा होइन। हाम्रो समयका ज्ञानीहरु त हत्या र उच्छेदको धम्की दिँदै हिँड्छन्।

फर्जी समाचारको मूल उद्देश्य सही इतिहासलाई मेटाउनु हो। आज एकातिर देश विभाजनको जिम्मा नेहरु र गान्धालाई लगाउने काम भइरहेछ भने अर्कातिर इतिहासको लुकाइएको पाटा देखाएर राष्ट्रभक्त भनाउँदाहरुले लिखित रुपमा अङ्ग्रेजसित माफी मागी जेलजानबाट जोगिएको कुरा पनि छ।

एउटा पक्षले लुकाउन चाहेको इतिहास अर्को पक्षले उधिनेर देखाउन चाहिरहेको हुन्छ –त्यो स्वाभाविक पनि हो। तर अन्तमा जीत सही इतिहास कै हुन्छ।  इतिहासलाई नरिवल बनाउन चाहाने बाँदरहरुले कुनै निर्णय लिन अघि यो कुरा याद राख्न पर्छ। म हिन्दु भएको नाताले मुस्लिम राजाहरुमा मलाई औरङ्गजेब मन पर्दैन भन्न सक्छु किनकि तिनले हिन्दु रैतीहरुमाथि जिजिया नामक ट्याक्स लगाएका थिए। तर व्यक्तिगत रिसको कारण मैले औरङ्गजेब छँदै थिएनन् भनें भने म इतिहासको बाँदर हुन्छु।

फेरि सम्राट अकबरको सराहना गर्न नसक्नेलाई औरङ्गजेबको आलोचना गर्ने पनि अधिकार हुँदैन भन्ने मेरो धारणा हो। संसारको इतिहासको तुलनामा एउटा देश अनि त्यसमा पनि त्यो देशको एउटा राजनीतिक दलको इतिहास त पानीको फोका झैं हुन् जसको ठीक आकार पनि देख्न नपाई अन्त हुन्छ।

तरै पनि कतिपय दलहरुको व्यवाहार हेर्दा तिनीहरु अस्तित्वमा पनि आउनु नहुने हो। यस्ता दलहरु अस्तित्वमा आएर शासन समेत गरेको दृष्टान्त प्रशस्तै पाईन्छ। आम मानिसको अज्ञानता नै उनीहरुको अस्तित्वको आधार हुन्छ। अनि रवीश भन्छन्- प्रजातन्त्रमा जुन दिन मानिसको चेतना डरमा परिणत हुन्छ त्यही दिन लोकतन्त्र पनि सकिन्छ। आज हाम्रो देशको परिस्थिति त्यस्तै छ। भय,क्रोध र स्वार्थको भीड अघि चेतना हराइ रहेछ अनि हामी नागरिकबाट विस्तारै रैतीमा परिणत भएर जाँदैछौं।

तपाईं के हुन चाहानुहुन्छ..? दास कि नागरिक?

रवीश प्रश्न गर्छन्-

बिन्ती गर्ने कि अधिकार खोज्ने…? बिन्ती दासहरु गर्छन् अनि अधिकार नागरिकहरु खोज्छन्। तपाईं के हुन चाहानुहुन्छ..? दास कि नागरिक? चुन्ने काम तपाईंहरुको हो। नागरिकलाई डरको खोरभित्र हुलेर राख्ने, सरकारसित लाखौं उपाय छन्। क्यै नगरी तपाईं राजद्रोहको दोषमा पक्रा पर्न सक्नुहुन्छ जसरी वर्त्तमान भारतमा भइरहेछ। फेसबुक पोष्ट, लेख, फेसबुक पोष्ट सेयर, ट्वीट,जे पनि तपाईं विरुद्ध कारण र प्रमाण बनिन सक्छन्।

यस्तो घट्ना अघि पनि नघटेको होइन तर कहिले कहीँ मात्र हुन्थे र मानिसलाई याद रहँदैनथ्यो। नत्र आज पनि सरस्वतीको चित्र बनाएकोमा चित्रकार एम० एफ० हुसेन माथि भएको काण्ड अघिल्लो पिँडीको स्मृतिमा ताजा रहने थिएन। ममता व्यानर्जीको कार्टुन बनाए बापत ती कार्टुनिष्ट पनि पक्रा परेका थिए।

वर्त्तमान सरकारले सत्ता सम्हालेपछि नयाँ नयाँ मुद्दा खडा गर्दैछ। भ्यालेन्टाइन डे को प्रतिवाद शुरु भयो। प्रेममाथि निगारानी राखिन शुरु भयो। सिनेमाका निर्देशकहरु पनि हिन्दु केटा र मुस्लिम केटी कथानक भएको चलचित्र बनाउन डराउँछन्। एक-दुजेके लिए एउटा प्रयास थियो जो सफलतासित सम्पन्न भयो तर आजको दिनमा हो भने के हुने थियो होला?

पद्मावतीमा हामीले त्यो देखिहाल्यौं। लिङ्ग परिवर्तन गरेर पद्मावत नबनाएको भए प्रदर्शन नै सम्भव हुने थिएन जबकी उक्त पुस्तकका लेखक स्वयं मुसलमान थिए।

अचेल निर्देशकहरु कथा चुन्नमा निक्कै सतर्क रहन्छन्। धनी र गरीब माझको प्रेम देखाउँछन् अनि गीत लेख्छन्-

चाँदी की दीवार न तोडी

प्यार भरा दिल तोड दिया।

प्रेम संसारको सबैभन्दा बलियो संवेदना हो तर देशमा हिंसा र घृणा फैलाउनेहरु प्रेम विरुद्ध नाकाबन्दी गरेर बसेका छन्। विशेष उत्तर भारतमा यी घट्नाहरु घटेको प्रायै खबरमा पढ्न अनि सुन्न पाइन्छ।

दिल्लीमा एक युवा, अङ्कित सक्सेनाको हत्या भयो। तिनकी मुस्लीम प्रेमिकासित त्यस दिन अङ्कितले भाग्ने चाँजो मिलाएका थिए। मेट्रो रेलवे स्टेशनमा भेट्ने उनीहरुको सल्ला थियो। हतारमा आफ्नो पुरानो गाडीमा मेट्रोतिर गइरहेका अङ्कितको गाडी तिनकी प्रेमिकाको आमाको स्कुटीसित ठोक्कियो। यो शायद पूर्वनियोजित थियो। केटीको आमा,मामा,काका,दाजु सबै मिलेर अङ्कितलाई घेरे अनि गला रेटेर मारिदिए।

त्यसमाथि राजनीति गर्न चाहानेहरुले घट्नालाई हिन्दु-मुस्लिमको रङ दिए। तर अङ्कितकि प्रेमिकाले तिनको प्रेमीलाई आफ्नै परिवारले मारेको बयान दिइन् अनि बयानबाट पछि हटिनन्।

यस्तै घट्ना २०१६मा कोइम्बटोरमा युगल प्रेमी कौशल्या र शङ्करमाझ पनि भयो। शङ्कर दलित र कौशल्या उच्च परिवार कि थिई। तर भन्नलाई दुवै हिन्दु। कौशल्याले पनि शङ्करको हत्यारा आफ्नै परिवारका सदस्यहरु भएको कुरा नडराइ बताइन्।  कट्टरपन्थी समाजमा कसले कोसित प्रेम गर्न पाउँछ भन्ने कुरा पनि तथाकथित  समाजका अभिभावकहरु बताउँछन्।

रवीश भन्छन्,– २१ वौं शताव्दीमा धर्म र जाति यस्ता दुई शब्दहरु हुन् जसले डरको माहौल पैदा गरेर मानिसको स्वाधीनताको हत्या गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ।

यता देशमा अर्का थरीका एजेन्टहरु छन् धर्मका, जसलाई हामी सन्तको रुपमा चिन्छौं। अरबौंको सम्पत्ति बटुलेका बाबाहरु भक्तहरुलाई सांसारिक मोहदेखि अलग रहने प्रवचन दिन-रात दिइरहन्छन्। चुनावको समयमा ठूला-ठूला राजनेताहरु समेत उनीहरुको आशिर्वाद लिन पुग्छन्। मुख्यमन्त्री देखि प्रधानमन्त्रीसम्म उनीहरु अघि श्रद्धाले शीर नुहाउँछन्। आज त्यस्ता ऋषिहरु जेलमा छन्। राम –रहीमदेखि आसारामसम्म। सबै नै प्रधानमन्त्री समेतले ढोगेका सन्तहरु हुन्। आधुनिक सन्तको चरित्र जान्न परे चिन्मयानन्दहरु काफी छन् तर भीडलाई चेतना सुम्पिसकेकाहरु सुन्न र जान्न चाहाँदैनन् यसैकारण बलत्कारी बाबाहरुलाई पक्रिन अघि सरकारलाई कर्फ्यु लगाउन आवश्यक हुन्छ, जुन कुरा हामीले राम-रहीम र आसारामको गिरफ्तारीको समयमा देखेका थियौं।

भीड र हिटलरको जर्मनी

दोस्रो विश्वयुद्धको तयारीको समय हिटलरले पहिले त हिब्रु व्यापारीहरु विरुद्ध षड्यन्त्र गरे। जर्मन विशुद्ध आर्यहरु हुन् अनि हिब्रुहरु तल्लो दर्जाका र अपराधिक मानसिकता भएका मानिसहरु हुन् भन्ने दुश्प्रचार फैलाउने काम भयो। पहिलो कदमको रुपमा प्रत्येक हिब्रु पुरुषले आफ्नो नाम पछि इज्रायल अनि महिलाले सहारा लेख्न अनिवार्य बनाइयो। हिब्रुहरुको दोकानको साइनबोर्डमा ताराको चिन्हो लगाउन अनिवार्य भयो। यो उनीहरुलाई चिन्हित गरेर आक्रमण गर्न सजिलो होस भन्ने उद्देश्यले गरिएको थियो। त्यसपछि हिब्रु डाक्टर र वकीलहरुको फीस काट्ने काम भयो।  पार्क, अडिटोरियम झैं सार्वजनिक स्थलहरुतिर जान उनीहरुलाई निषेध गरियो। त्यसपछि बीमा कम्पनीहरुले हिब्रुहरुको सम्पति बीमा गर्न अस्वीकार गऱ्यो। स्कुल कलेजको पाठ्यक्रमहरुमा हिब्रुलाई दुष्ट देखाउने पाठहरु पढाइन थाल्यो। रेलमा हिब्रुहरुको निम्ति अलग बगी हुन्थ्यो। हिब्रुहरुको सम्पतिमा आगो लगाउन अघि ती दोकानका मालिकहरुलाई गिरफ्तार गरिन्थ्यो अनि अग्निशमन विभागलाई हिब्रुको दोकानको आगो ननिभाउने निर्देशन थियो। आगो फैलिएर कतै नन-हिब्रुको घर या दोकान तिर गए ती नन-हिब्रुहरुको घर र दोकान तिर जाने आगो मात्र निभाइन्थ्यो। एक-एक गर्दै यसरी हिब्रुहरुको प्रार्थना गृह जलाइयो। त्यहाँ फुटेका शिशाहरुको आवाज आफ्नो घरको बैठक कोठासम्म सुन्दा हिटररले आफ्नो डायरीमा लेखएका छन्-

“ The boys are doing a good work…!”

प्राय ५ सय वर्ष अघि शेक्सपियरले भनेका थिए-

“ If you want to kill a dog then give आईटी a bad name..!”

हिटलरले त्यही काम गरे। यस्ता उदाहरणहरु इतिहासमा प्रत्येक ती राजाहरुबारे पाइन्छ जसलाई पछिल्लो पिँढीले मानवताको दुश्मन भनेर घोषणा गऱ्यो। ख्रिष्टपूर्व तेस्रो शताब्दीमा अलेक्ज्याण्ड्रियाको पुस्तकालय जलाउनेहरुले तर्क दिएका थिए- यो पुस्तकालयमा भएका पुस्तकहरु कि चैं कुरान विरोधी छन् कि चैं कुरानमा लेखिएकै कुराहरु गर्छन्। दुवै अवस्थामा यस्ता पुस्तकहरुको आवश्यक्ता छैन।

इराकमा आक्रमण गरेपछि सिनियर जर्जबुशले एउटा बक्तव्य दिएका थिए। संसारको सबै देशले अमेरिकाको कार्वाहीको समर्थन् गरोस भन्ने तिनको उद्देश्य थियो। समर्थन् नगर्नेहरुलाई चेतावनी दिँदै बुशले भने-

“ कि चैं उनीहरु हामीसित छन् कि चैं हाम्रो शत्रुहरुसित। “

तानाशाहहरु कसैलाई तठस्थ बस्न दिँदैनन्। आफुलाई समर्थन् नगर्ने जति सबै उनीहरुलाई शत्रु झैं लाग्छ। यो “ हामी र उनीहरु..” माझ संसारलाई विभाजित राखेर शासन गर्ने रणनीति हो। एक प्रकारको विभाजन आज हामी भारतमा पनि देख्दै छौं। हिन्दु र मुसलमान् माझ विभाजनको यो राजनीतिले कुनै कुनै दललाई लाभ होला तर देशको निम्ति यो भन्दा ठूलो दुर्घट्ना अर्को छैन।

राजनीतिबाट जनहितका मुद्दाहरु हराएर गएको छ अनि कसले “ जै श्रीराम..” को नारा लगाउँछ अथवा लगाउँदैन भन्ने कुरा प्रमुख भएको छ। मन्दिरको पवित्र कुरा सडकमा झरेर प्रदुषित भएको छ। यस्तो परिस्थितिमा सही मार्गदर्शन गर्ने दायित्व जुन चेतनशील व्यक्तिमा हुनपर्ने उ पनि भीडको आक्रमकता देखेर सुरक्षाको निम्ति त्यही भीडसित संलग्न छ। मौन छ।

संसारका सबै तानाशाहहरु उनीहरुको शुरुवाती दिनमा भीड कसरी बटुल्नु भन्ने कुरा मै व्यस्त थिए। हिटलरले नाजीहरुको शौर्यको भीड बटुले। हिब्रुहरुको गलत इतिहास प्रचार गरि उनीहरुलाई दुष्ट र अपराधी दऱ्याए। एउटा व्यक्तिप्रति भीड आशक्त भएपछि समाज या राष्ट्रमा जुन ताण्डवको सृजना हुन्छ त्यसैको नमुना हो हिटलरको जर्मनी।

विश्वका कतिपय राष्ट्रहरुमा अचेल त्यही एक व्यक्ति र एक विचार प्रतिको आशक्ति देखा पर्दैछ।

भारतका हिटलर

२०१४ देखि एता भारतमा पनि थुप्रै ऐतिहासिक घट्नाहरु भए। पुरानो नोट बल्दियो। लाईनमा उभिएर १०० भन्दा धेर आम मानिस मरे। जीएसटी लागु भएपछि कति खुद्रा व्यापारीहरुको व्यापार बन्द भयो। दक्षिण भारतमा लगभग १२ हजार किशानहरुले आत्महत्या गरे। रिजर्ब व्याङ्कको सुन र १ लाख ७० हजार करोड रुपियाँ साफ भयो। थुप्रै कम्पनीहरुको निजीकरण भयो।

राफेल हवाई जहाज किन्ने ठेका अनिल अम्बानीलाई दिइयो जबकी  सरकार कै Hindustan Aeronautical limited लाई यो जिम्मादेखि बाहिर राखियो। अम्बानीलाई हवाईजहाजको कुनै अनुभव या त प्रशिक्षण थिएन। लोकसभा पनि पूर्ण बहुमतको शिकार भयो । तरै पनि  धेरै होइचोई भएपछि एकदिन प्रधानमन्त्री कार्यालयबाट राफेलको फाईल हरायो।

अटोमोबाईलका कम्पनीहरुमा हज्जारौं करोडको घाटा शुरु भयो। Glaxo ले आफ्नो कर्मीहरुको छँटाई गऱ्यो। देशमा रोजगारको सृजनाको आश्वासनमा गठन भएको सरकारले रोजगारको सृजना त होइन तर लाखौं मानिसले भएको रोजगार समेत गुमाउनु पऱ्यो। आर्थिक मन्दीको चपेटमा अहिले देश छ। घोटालाको शिकार भएको कारण व्याङ्कहरुले आफ्नो खाता धारकलाई उनीहरुकै पैसा पनि दिन सकिरहेको छैन।

हज्जारौं करोडको ऋण नतिरी मोदी,माल्या र चोक्सीहरु भागे। कालो पैसा देशमा फर्काउने नारामा जनताले भोट हाले अनि आफ्नै पसिनाको पैसा पनि गुमाउला झैं परिस्थिति भयो। यस्तो परिवेशमा ३ हजार करोडको पटेलको मुर्ती बनाउने काम भयो। विपक्षी कमजोर भएको लाभ सरकारले उठायो।

आज एनआरसी,एनपीआर अनि सीएएको कारण देशको विभिन्न हिस्सामा प्रतिवादको आगो जलिरहेको छ। विश्वविध्यालयमा फीस बढाइएको कारण शुरु भएको प्रतिवादमा देशको विभिन्न ठाउँका शैक्षिक संस्थानहरु संलग्न हुँदैछन्। जवाहारलाल नेहरु विश्वविध्यालयका विद्यार्थीहरुको दरिलो कदम र देशभरिका सचेत व्यक्तिहरुको नैतिक समर्थनले गर्दा फिसको मामिलामा उनीहरुको भर्खरै जीत भएको छ। साँच्चै यतिबेला देशमा गणतन्त्र ती ठाउँहरुमा छन् जहाँ मानिसहरु खुलेर सरकारको भूल नीतिहरुको आलोचना गरिरहेछन्। प्रजातन्त्र त्यहीँ छ जहाँ मानिसहरु खुलेर बोल्दैछन् अनि सरकारको नीति गलत छ भन्नलाई हिच्किचाएका छैनन्। भर्खरै भूतपूर्व राष्ट्रपति प्रणब मुखर्जीले एउटा कार्यक्रममा भने-

“ प्रजातन्त्र तर्क,बहस, सहमति साथै असहमतिले बनिन्छ।“

असहमतिको आवाज सुन्न नचाहानेहरुलाई यो प्रजातन्त्रको पाठ पनि थियो।

कुनै पनि मुद्दा बारे आफ्नो विचार स्पष्टसित राख्नेहरुले प्रजातन्त्रलाई जोगाएर राख्छन्। कुनै पनि समय अनि कुनै पनि ठाउँमा चुप लागेर बस्नु अनि भीडको एक भाग भएर आफुलाई सुरक्षित सम्झनु भनेको हिटलरको जर्मनी हुनु हो। देश सँगसँगै दार्जीलिङ पनि कतै त्यतैतिर हिँडिरहेको त छैन?

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया