परीक्षामा दल

विज्ञापन

समीक्षा

स्टार प्रचारकहरुको ओइरो थुपारेर पार्टीले चुनावको विगुल त धमाकाको साथमा फुकेको छ तर दिल्लीको सिंहासन भाजपाको निम्ति सहज यात्रा भने कदाचित होइन । एक त राज्यमा आम आदमी पार्टीको पकड मजबुत देखिएकै छ, अर्को एनआरसी र सिएएका कारण मुसलमान मतदाताहरु भाजपासँग रुष्ट छन्। केवल मुसलमानहरु मात्र होइन कतिपय बौद्धिक हिन्दु जमात पनि केन्द्र सरकारको फैसलादेखि खुशी छैनन् । यस्तोमा हिडन भोटर्सहरुको जवाब चुनावको फलाफल घोषित हुने दिन अर्थात 11 फरवरिले नै स्पष्ट पार्नेछ


बबिता मादेन


दिल्ली देशको राजधानी, सत्ताको देवालय, राजनीतिका केन्द्र बिन्दु जहाँबाट चलायमान हुन्छ सम्पूर्ण देश मै राजनीतिका चलखेल। सम्पन्न भइसकेको छ, दिल्ली विधानसभा चुनाव । विधानसभा चुनाउको यस महाकुम्भ राजनीतिको अखाडामा नै परिणत भयो।

जिज्ञासा, रहस्य र उत्सुकताले परिपूर्ण विभिन्न कारकहरु जोडिएको र चुनावलाई प्रभावित पार्ने विविध मुद्दाहरु मुछिएको पनि देखियो। यसै मुद्दाका कारण विगत केही दिनदेखि दिल्लीको वातावरण अस्थिर, अनिश्चित र असुरक्षित व्याप्त भयो।

एकातिर विधानसभा चुनाव अर्कोतिर एनआरसी, सिएए र एनपिआरको विरुद्धमा धर्ना प्रदर्शन अनि चर्चामा रहेको शाहिन बाग, तर जतिसक्दो मुद्दालाई आफ्नो फाइदाको निम्ति प्रयोगमा ल्याउने कसरतमा लागे विभिन्न राजनीतिक पार्टी।

छात्र आवासभित्र पसेर छात्राहरुमाथि हातपाई गरिन्छ, दोषीहरु चिन्हित भएको दावी गरिँदा गरिँदै पनि एफआईआरसम्म दर्ता गरिन्न। कपिल गुज्जर जस्ता युवकहरु खुल्ला रुपमा पुलिसको आँखा अघि हिन्दुवादी नारा बोकेर फाइरिङ्ग गर्दै हिँड्छ, त्यही सरजिल इमाम जस्ता पढे लेखेका युवकहरु साम्प्रदायिकताको अर्को दिवार खडा गर्दै विछिन्नवादी विचारहरु रोपिरहेका छन्, तर, राजनीति दलहरु भने यसमा पनि भोट व्याङ्क कै राजनीति गर्न व्यस्त बन्छन्।

यति मात्र होइन नेताहरु खुदै भाषाको मयार्दादेखि बाहिर गएर बयानबाजी गरि तल्लोस्तरको राजनीति गरिरहेको पनि देखियो, जसको निम्ति मुख्यमन्त्री केजरीवाल, भाजपा प्रवक्ता सम्वित पात्रा लगायत केही वरिष्ठ राजनैतिक व्यक्तित्वसम्मलाई चुनाव आयोगले नोटिससमेत जारी गरे।

दिल्लीमा सत्तामा छ आम आदमी पार्टी। तर कानुन व्यवस्था केन्द्र सरकारको अधिनमा छ यसैले दुवै सरकार राज्यको बिग्रँदो कानुन व्यवस्थाको निम्ति एकाअर्कालाई जिम्मेवार ठहऱ्याएर आफुलाई सक्तो निर्दोष सिद्ध गरिरहन्छ। एकप्रकार हेऱ्यौं भने दिल्लीको विधानसभा चुनावमा सकारात्मक मुद्दा भर्सेस नकारात्मक मुद्दा देखा पऱ्यो।

दिल्ली विधानसभा चुनावको त्रिकोणीय सङ्घर्षमा मुख्य रुपमा आम आदमी पार्टी, भाजपा र काङ्ग्रेस मैदानमा आयो। एक्जिट पोलले आपमा बहुमत देखाइरहेको छ।  लालु यादवको पार्टी राजद अर्थात राष्ट्रिय जनता दलसँग गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएको काङ्ग्रेसको दाबेदारी यसपटक पनि खकुलो देखिएको छ। देशको सबैभन्दा पुरानो पार्टी मात्र होइन तर 1998 देखि 2013 सम्म लगातार 15 वर्ष सम्म दिल्लीको सिंहासनमा राज गर्ने काङ्ग्रेसलाई दिल्लीले यति चाँडै दिलबाट बाहिर निकाल्छ भनेर सायदै कसैले सोचेको हुनुपर्छ।

2013 सम्म सत्ता सम्हालेका काङ्ग्रेसले 2015 को विधानसभा चुनावमा खातासम्म खोल्न नसक्नु पार्टी कै इतिहासमा कुनै राज्यमा पार्टीको द्रुतगतिको पतन हुनुपर्छ ।

यस चोटि काङ्ग्रेसले मतदाताहरुलाई आकर्षित गर्न लोभ्याउने घोषणपत्र तयार पाऱ्यो। सत्तामा आए 300 युनिट बिजुली फ्री, सबै बृद्धा, विधवा अनि दिव्याङ्गहरुलाई प्रतिमहिना 5000 पेन्सन, कन्याहरुलाई पिएचडीसम्म निःशुल्क शिक्षा, शिक्षित बेरोजगार युवाहरुलाई 5000 र 7500 गरेर बेरोजगारी भत्ता प्रदान गर्ने प्रतिबद्धता छ।

तर काङ्ग्रेस जान्दछ, यसपटक पनि दिल्लीमा कुनै दाल गल्नेवाला छैन । वरिष्ठ नेताहरु हार पश्चात् आफ्नो प्रतिष्ठामा आँच आउने डरले चुनावी उम्मेदवारिता दिन हिच्किचाए। फलत पार्टीले कुनै ख्यातिप्राप्त अनुहारलाई चुनावी मैदानमा उतार्न सकेन ।

बाचेखुचेका कसरलाई काङ्ग्रेस अध्यक्ष राहुल गान्धीले पूरा गरिदिएका छन्। हतासामा आएर मनको भडास निकाल्न उनले यस्तो शब्दहरुको प्रयोग गरे, जसको क्षतिपूर्ति पनि पार्टीले नै उठाउनु पर्ने पक्का छ। दिल्लीमा अल्पसंख्यक र दलितहरु मुख्य रूपमा काङ्ग्रेसका भोट व्याङ्क हुन् तर पार्टीलाई यिनीहरुको मनमा पनि आत्माविश्वास जगाउन हम्मे हम्मे परेको छ तथापि केही आसनहरु आफ्नो नाम गर्न सफल भएतापनि खिताबी प्रतिस्पर्धाबाट भने काङ्ग्रेसलाई टाडै राख्दा गलत हुने छैन ।

सत्तामा आए दुई सय नयाँ स्कुल र कलेजको निर्माण, कलेज जाने छात्राहरुलाई स्कुटी, स्कुल जाने गरिब छात्राहरुलाई साइकल, छोरीहरुलाई 21 वर्ष पुगेपछि 2 लाख रुपियाँ, विधवाको कन्याहरुलाई विवाहमा 51 हजार सहयोग जस्तो चुनावी घोषणा गरेर चुनावको मुखैमा राम मन्दिर निर्माणको निम्ति ट्रस्टको गठन भाजपाको अर्को मास्टरस्ट्रोक छ।

प्रधानमन्त्री नरेन्द्र मोदी राम्ररी जान्दछन्, पुरा भारतमा कमल फुलाए तापनि दिल्ली नजिति भाजपाको विजय अधुरो रहनेछ। महाराष्ट अनि झारखण्ड हातबाट उम्किएपछि दिल्लीको आसन भाजपाको निम्ति प्रतिष्ठाको प्रश्न पनि बनेको छ। यति मात्र होइन अर्को साल हुनेवाला बङ्गाल विधानसभाको तार पनि कहीँ न कहीँ मात्रामा दिल्लीसँग जोडिएको छ। यसैले दिल्लीलाई लिएर पार्टी साम दाम दण्ड भेदको नितिमा ओर्लियो।

प्रधानमन्त्री नरेन्द्र मोदी अनि गृहमन्त्री अमित शाह जस्तो अनुभवी नेताहरु जनतालाई इमोशनल्ली आकर्षित गर्ने चेष्टामा रहे, त्यहीँ वित्त राज्य मन्त्री अनुराग ठाकुर जस्तो युवा नेतालाई बन्दुकको सहारामा राष्ट्र प्रेम जताएर मतदाताहरुको मनमा ठाउँ खोजिरहेको देखियो। ।

स्टार प्रचारकहरुको ओइरो थुपारेर पार्टीले चुनावको विगुल त धमाकाको साथमा फुकेको छ तर दिल्लीको सिंहासन भाजपाको निम्ति सहज यात्रा भने कदाचित होइन । एक त राज्यमा आम आदमी पार्टीको पकड मजबुत देखिएकै छ, अर्को एनआरसी र सिएएका कारण मुसलमान मतदाताहरु भाजपासँग रुष्ट छन्। केवल मुसलमानहरु मात्र होइन कतिपय बौद्धिक हिन्दु जमात पनि केन्द्र सरकारको फैसलादेखि खुशी छैनन् । यस्तोमा हिडन भोटर्सहरुको जवाब चुनावको फलाफल घोषित हुने दिन अर्थात 11 फरवरिले नै स्पष्ट पार्नेछ ।

2015 को विधानसभा चुनावमा ऐतिहासिक विजय हासिल गरि सत्तामा आएका आम आदमी पार्टीले सत्तामा बनाई राख्न जनतालाई बम्पर अफर प्रदान गऱ्यो । शिक्षा, स्वास्थ, पानी अनि 24 घन्टै बिजुलीको ग्यारेन्टी, वरिष्ठ नागरिकहरुलाई मुफ्तमा तीर्थयात्रा, घर घर रासन पुऱ्याउने व्यवस्था, कुनै कर्मचारी नोकरी अवधी मृत्यु भए परिवारलाई एक करोड रुपयाको सहयोग आदि आदि।

चुनाव कै छेकमा पार्टीले विभिन्न अभियोगहरुको सामना गर्नु परे पनि जनताको आस्था केजरीवाल सरकारमाथि कायम रहेको छ । दिल्लीको उन्नतिको पछि एउटा कारण केन्द्रमा भाजपा अनि राज्यमा आम आदमी पार्टीको सरकार हुनु पनि हो । यदि देशमा सबैभन्दा सचेत मतदान कहीँ गर्छ भने त्यो दिल्ली नै हो । काङ्ग्रेस र भाजपा कट्टरवादको सिधान्तलाई बोकेर हिँडेका पार्टीहरु हुन्, यसको तुलनामा सचेत जमातले एउटा न्युटल विचारधारालाई नै प्राथमिकता दिने गर्दछ। यो बाहेक पनि मुख्यमन्त्री अरबिन्द केजरीवालले आफ्नो घोषणाहरुमाथि कायम रहेर जनतालाई अधिक विश्वास दिलाएकै छन्।

निष्कर्षमा भन्नू पर्दा दिल्लीको चुनावी मैदानमा सबै पार्टीहरुको जोडदार प्रदर्शन रहे पनि अधिक मात्रामा मुख्यमन्त्री केजरीवाल कै प्रभाव अनि आम आदमी पार्टी कै पल्ला गह्रौ रहेको देखिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया