मन घिसिङ बोले, विमल गुरुङ र आरबी राई मौन :  यो मौनताले ‘स्थायी राजनैतिक समाधान’-को नाम नै ‘छैटौं अनुसूची’ हो त भनिरहेको छैन?

विज्ञापन

न्यूज-रिभ्यु

चुनाउ लड्दा सारा गोर्खाको पहिचान बनाउने स्थायी राजनैतिक सामाधान र 11 जातलाई जनजातिको नाममा भोट माग्ने गोरामुमो छैटौं अनुसूचीको मागमा देखिनु निक्कै सोच्नुपर्ने कुरा त बनेकै छ। सोच्नु पर्ने कुरा यो पनि छ, कि गोरामुमोले छैटौं अनुसूचीको कार्यक्रम तीब्र पारिरहँदा, न आरबी राई बोलेका छन्, न भाजपा नेतृत्व बोलेका छन्, न विमल गुरुङ बोलेका छन्। गठबन्धित दल नितान्तै मौन छन्। यो मौनताले ‘स्थायी राजनैतिक समाधान’-को नाम नै ‘छैटौं अनुसूची’ हो त भनिरहेको छैन?


कालेबुङ, 9 फरवरी


 

दिल्लीमा विधानसभा चुनाउ सकिएको छ, राष्ट्रीय मिडियाले एक्जिट पोलमा अरबिन्द केजरीवालको नै पल्ला भारी रहेको देखाइरहेको छ। 11 तारिक दिल्लीको सङ्घर्षले कुनै न कुनै निष्कर्ष देला नै, तर दार्जिलिङको राजनीतिमा कसको पल्ला भारी होला?

चलिरहेको राजनीतिले कस्तो निष्कर्ष देला त्यो किटान गर्न गाह्रो छ। अघिल्लो लोकसभा चुनाउमा स्थायी राजनैतिक सामाधान र गोर्खाका 11 जातलाई जनजातिको मर्यादा दिने दुइवटा ठूलो मुद्दामा पहाडका प्राय सबै दलले भाजपाका उम्मेद्वार राजु विष्टलाई सदनमा पठाएको हो।

अघिबाटै बारम्बार सदनमा सांसद विष्टले ती मुद्दा लगायत अन्य मुद्दाबारे पनि कुरा उठान गरिरहेका छन्। भर्खरै बजट सत्रमा पनि उनले यही माग दोहोऱ्याए।

पाँचहजार भूमिगतको घर फिर्ती, भाजपाकै शीर्ष नेताहरूले गोर्खालाई 1950 को नेपाल भारत मैत्री सन्धीको चस्माले हेरेर भारतका गोर्खालाई विदेशी सावित गर्ने वयानमाथि पनि सांसद बोले। भारतमा गोर्खाको इतिहास पुरानो रहेको भन्दै उनले शीघ्र नै 11 जातलाई जनजातिको मर्यादा दिनु मात्र होइन वृटिशले गोर्खालाई दिएको हिल ट्राइबको मर्यादा पनि फिर्ता गर्नुपर्ने बताइसकेका छन्। उनले स्थायी राजनैतिक समाधानको कुरासमेत दोहोऱ्याए।

अरू झिनामसिना मुद्दा छोडेर सदन र सतहमा स्थायी राजनैतिक सामाधान र 11 जातलाई जनजातिको मर्यादा दिने कुरा नै चलिरहेको छ, तर दार्जिलिङमा भने अर्कै परिदृश्य छ।

2000 सालमा यस्तै माहौल देखिन्थ्यो, जहाँ गोर्खा राष्ट्रीय मुक्ति मोर्चाका कार्यकर्ताहरू छैटौं अनुसूचीको मागमा सडक ओर्लन्थे, ठीक 20 वर्षपछि अचानक पहाडमा गोरामुमो कार्यकर्ताहरू सोही मुद्दा लिएर सडक ओर्लन शुरु गरेका छन्। सदन र सतहमा छ अर्कै मुद्दा, दार्जिलिङ पहाडमा छ अर्कै मुद्दा छ।

गोरामुमो यस्तो दल हो, जसले बारम्बार जाति र माटोको सुरक्षाको कुरा गर्छ। गृहमन्त्री अमित शाहले नागरिक शंसोधन ऐन छैटौं अनुसूची क्षेत्रमा लागू नहुने वयान सदनबाटै दिएपछि गोरामुमोले त्यही जाति र माटोको सुरक्षाको लागि छैटौं अनुसूची दिनुपर्ने कुरा गरेका हुन्। छैटौं अनुसूची भयो भने, छैटौं अनुसूची क्षेत्रमा बङ्गलादेश, पाकिस्तान र अफगान्तिनबाट ल्याइने नागरिकलाई राख्न नमिल्ने र गोर्खा अल्पसंख्यक हुनुबाट बाँच्ने अनि गोर्खासित नागरिक सावित गर्ने पर्याप्त कागज नभएकोले एनआरसीबाट पनि बाँच्ने गोरामुमोको दाबी हो।

11 जनवरी देखि शुरु गरेको छैटौं अनुसूचीको दाबीका कार्यक्रमलाई गोरामुमो तीब्र गरिरहेको छ। आज खरसाङमा पनि गोरामुमोले ऱ्यालीसितै छैटौं अनुसूची बुझाउन जनसभा गरेको छ। जहाँ मन घिसिङ आफै उपस्थित थिए। मञ्चबाट मन घिसिङले बोडो सम्झौतालाई स्वागत जनाउँदै  बोडोहरूलाई जस्तै सुरक्षा गोर्खा जातिका लागि  गरिनुपर्ने माग केन्द्रसमक्ष माग गरे।

घिसिङको कुरा स्पष्ट छ, दार्जीलिङ पहाड़लाई सुरक्षा गर्न र बाहिरी अनुप्रवेशको कारण गोर्खाहरूलाई अल्पसङ्ख्यक बन्नबाट जोगाउनका केन्द्र सरकारले झट्टभन्दा झट्ट छैटौं अनुसूची लागू गर्नुपर्छ।

‘बोड़ो सम्झौताअनुसार, अब त्यहाँ बाहिरबाट अनुप्रवेशकारीहरू आउने छैनन्। यसो भए उनीहरू सुरक्षित रहनेछन्’, मन घिसिङले खरसाङबाट भने, ‘यसैले गोर्खा जातिको सुरक्षालाई ध्यानमा राखेर दार्जीलिङका लागि पनि संशोधित अनि सशक्त छैटौं अनुसूची लागू गर्नुपर्छ।’

घिसिङले केन्द्र सरकारले पूर्वोत्तरका लागि संविधानको छैटौं अनुसूचीमा अझै संशोधन ल्याउने योजना बनाएको खुलासासमेत गरे।

उनको विचारमा केन्द्र सरकारले छैटौं अनुसूचीलाई अझै शक्तिशाली बनाउने भएको छ। यसैले दार्जीलिङका लागि पनि छैटौं अनुसूची लागू भएको उचित हुनेछ।

अमित शाहले अघिबाटै सीएए (नागरिकता संशोधन कानून) छैटौं अनुसूची लागू भएको स्थानमा नलाग्ने कुरा दोहोऱ्याउँदै आफ्नो दाबी राखे।

सुबास घिसिङलाई त्यतिबेला पहाडले नबुझेको तर अब जनताले छैटौं अनुसूची बुझ्नुपर्ने उनको दाबी हो। उनलाई लाग्छ, 2007 मा छैटौं अनुसूचीको अनावश्यक विरोध भयो यसैले अहिले दार्जीलिङ पहाड़वासीले दुःख पाएको हो। जनतालाई दुःख नहोस् भेरै अहिले छैटौं अनुसूचीको दाबी गरिएको उनको ठहर छ।

उनको घोषणाअनुसार अब छैटौं अनुसूचीको दाबीमा  दार्जीलिङ पहाड़भरि कार्यक्रम तीब्र हुनेछ।

शुरुमा नै छैटौं अनुसूचीको विरोध चुलिएको पनि घिसिङले सम्झिए। तर उनी भन्छन्, ‘जाति र माटोको हितमा यस्तो विरोध गर्नका सट्टा गोलबद्ध हुनुपर्छ।’ उनको सङ्केत स्पष्ट छ, सबै दलले दाबी गऱ्यो भने यसपल्ट छैटौं अनुसूची छिर्छ।

गोलबद्ध हुनुपर्ने त मन घिसिङले भने तर मैदानमा भने आफै एक्लै छन्। न त गोरामुमोले विमल खेमा मोर्चासित, न त आरबी राई, न त प्रताप खाती न त झिनामसिना दल, कसैसित छैटौं अनुसूचीको निम्ति गोलबद्ध हुने आह्वान गरेका छैनन्। छैटौं अनुसूचीको विरोधमा न विमल गुरुङले, न आरबी राई कसैले उस्तो तीब्र बिरोध गरेकै छैनन्, यसैले मन घिसिङले उनीहरूप्रति कटाक्ष गरेनन्। तर विनय तामाङ खेमा मोर्चाप्रति भने उनी खनिए। भने, ‘चौकीमा बस्नेहरूले छैटौं अनुसूचीको विरोध नगरून्। उनीहरूले सरकारले दिएको आफ्नो काम गरून्।’

मन घिसिङले राजु विष्टलाई पनि विझाएनन्। बरु विष्टले सही काम गरिरहेको बताए। भने, ‘विष्टजीले संसदमा गोर्खा जातिका लागि धेरैपल्ट आवाज उठाइसकेका छन्।’

मन घिसिङ स्पष्ट छन्, स्टेयरिङ कमिटीले बैठक गरेर नै गोरामुमोले छैटौं अनुसूचीको माग गरेका हुन्। गोरामुमो स्थायी राजनैतिक सामाधानको विरोधमा पनि छैन, तर तत्कालीन अवस्थामा सुहाउँदो व्यवस्था छैटौं अनुसूची नै हो।

गोरामुमो भाजपाको गठबन्धित दल हो। क्रामाकपा, गोर्खालिग, सुमेटीलगायत विमल खेमा मोर्चा पनि यो गठबन्धनमा छ। तर तीमध्ये गोरामुमोले मात्र छैटौं अनुसूचीको मुद्दाबारे प्रचार गरिरहेको छ।

हावा नचली पात हल्लन्न भन्ने उक्ति नै छ। भाजपा स्थायी राजनैतिक सामाधानको नाम भन्न हिच्किचाई रहेको छ। विमल गुरुङ मौन छन्, यस्तोमा गोरामुमो छैटौं अनसूचीको मुद्दा बोकेर अघि बढिरहेको छ।

गोरामुमोले छैटौं अनुसूचीको मुद्दा उठाउने वित्तिकै क्रामाकपाले सानो स्वरमा विरोध गर्दैथ्यो, त्यो पनि अहिले बन्द छ। रोचक के छ भने गोरामुमोभित्रै छैटौं अनुसूचीले वाकयुद्ध शुरु गरेको छ। गोरामुमोले पूर्व प्रवक्ता एवं भाजपा विधायक निरज जिम्बालाई छैटौं अनुसूचीको सबै कार्यक्रमबाट बाहिर राखेको छ।

आज खरसाङमा पनि जिम्बालाई देखिएन। जिम्बा छैटौं अनुसूचीको प्रचारमा निस्किएको पनि देखिएको छैन।

गोरामुमोमा फाटो आइसकेको स्पष्ट देखिँदैछ। यसबारे आज मन घिसिङले आफ्नो नेताहरू ‘कन्फ्युजन’ मा रहेको जनाएका छन्। आफै पनि ‘कन्फ्युज’ रहेको स्वीकारेका छन्। मन घिसिङलाई लाग्छ, जिम्बा र महेन्द्र छेत्रीबीचको वाक युद्धलाई आफैलाई कन्फ्युज बनाउने कुरा हो।

गोरामुमोभित्र नै यस्तो द्वन्द्व छ, जो स्पष्ट देखिएको छ। त्यो द्वन्द्व निक्कै गम्भीर नै हो कि भन्ने कुरा जिम्बाका टिप्पणीबाट पनि बुझ्न सकिन्छ।

यता खरसाङमा गोरामुमोले छैटौं अनुसूचीको कार्यक्रम गऱ्यो उता निरज जिम्बाले भने आफ्नो फेसबुक प्रोफाइल अपडेट गरेका छन्-

जिम्बाले सुबास घिसिङको कविता पोष्ट गरेका छन्,- फलाम सब फलाम कहाँ हुन्छ, आगोमा डडीडडीकन नै फलाम फलाम हुन्छ, छोरा सब छोरा कहाँ हुन्छ, आँधी तुफानमा परिपरिकन नै छोरा छोरा हुन्छ।

कविता त बुझिन्छ, तर त्यसले मन घिसिङ (घिसिङको छोरा) र निरज जिम्बा (राजनैतिक छोरा) बीचको ‘छोरापन’-कै व्याख्या गरेको होकि भन्ने बुझिन्छ। कविताको अर्थले कतातिर तीर हानेको हो, बुझ्न निक्कै गाह्रो छ।

चुनाउ लड्दा सारा गोर्खाको पहिचान बनाउने स्थायी राजनैतिक सामाधान र 11 जातलाई जनजातिको नाममा भोट माग्ने गोरामुमो छैटौं अनुसूचीको मागमा देखिनु निक्कै सोच्नुपर्ने कुरा त बनेकै छ। सोच्नु पर्ने कुरा यो पनि छ, कि गोरामुमोले छैटौं अनुसूचीको कार्यक्रम तीब्र पारिरहँदा, न आरबी राई बोलेका छन्, न भाजपा नेतृत्व बोलेका छन्, न विमल गुरुङ बोलेका छन्। गठबन्धित दल नितान्तै मौन छन्।

यो मौनताले ‘स्थायी राजनैतिक समाधान’-को नाम नै ‘छैटौं अनुसूची’ हो त भनिरहेको छैन?

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया