बङ्गाल सरकारले चिया श्रमिकको घर बनाउन गऱ्यो 500 करोड़ अनुमोदन :  विनय तामाङले गरे पर्जापट्टाको माग

कालेबुङ, 10 फरवरी


पश्चिम बङ्गाल सरकारले चिया सुन्दरी योजनामार्फत् घरविहीन स्थायी चिया श्रमिकहरूलाई घर निर्माण गरिदिनहेतु 500 करोड़ अनुमोदन गरेको छ। यसलाई मुख्यमन्त्री ममता व्यानर्जीको दूरदर्शीपूर्ण कार्य भन्दै गोर्खा जनमुक्ति मोर्चाले आभार जनाएको छ।

दार्जीलिङ पहाडका 87 वटा चियाकमानका लगभग 67,000 चियाश्रमिकहरूको तर्फबाट पार्टीले व्यानर्जीप्रति आभार व्यक्त गरेको मोर्चा प्रमुख विनय तामाङले जनाएका छन्।

तामाङले योजनाले दार्जीलिङ पहाडका चियाश्रमिकहरू लाभान्वित हुने जनाएका छन्। ‘चियाश्रमिकहरू जो हाम्रो समाजको सबैभन्दा धेर परिश्रमी श्रमिहकहरू हुन् अनि उनीहरूको नै गाँस, बास र कपासको समस्याले सबैभन्दा धेर पीडित पनि छन्,’ तामाङले भनेका छन्, ‘तथापि  विगतमा राज्यमा सत्तासीन कुनै पनि सरकारले उनीहरूको समस्या अनि मर्का बुझेर उनीहरूको हित अनि विकासको काम गरिदिएनन्। तथापि माननीय मुख्यमन्त्री ममता व्यानर्जीको नेतृत्वमा वर्तमान राज्य सरकार चियाश्रमिकहरूको विकास अनि हित सोच्ने हितैषी अनि इमान्दार सरकार रहेको प्रमाणित भइरहेको छ।’

तामाङले योजनाको स्वागत गर्दै पहाडको चियाश्रमिकहरूको घड़ेरीको पर्जापट्टा पनि प्रदान गरी उनीहरूलाई आफ्नो घड़ेरीको मालिकाना अधिकार प्रदान गरिदियाजाओस् भन्ने माग पनि गरेका छन्। ‘हामीलाई विश्वास पनि छ कि पर्जापट्टा प्रदान गरिने दिशामा यो चिया सुन्दरी योजना पहिलो पाइला पनि हो,’ तामाङले भनेका छन्।

पश्चिम बंगाल सरकारले आगामी वित्तीय वर्ष 2020-21 अनि 2012-22 मा कृषि आय कर माफ गर्ने पनि प्रस्ताव ग्रहण गरेको छ। तामाङले यसले वर्तमान राज्य सरकार गरीब जनताको हितैषी सरकार रहेको प्रमाणित हुने जनाएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया