पालिवारा, परिभारा अनि सिद्दी जनजातिको मर्यादा : खै गोर्खाका 11 जातलाई जनजातिको मर्यादा दिने बील?

कालेबुङ, 12 फरवरी


गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विनय तामाङले लोकसभाको बजट सत्रको अन्ततिर जनजाति विषयक दोस्रो विधेयक (दोस्रो संशोधित) 2019 लाई अझ संशोधन गरी कर्णाटकको अन्य पालिवारा, परिभारा अनि सिद्दी समुदायलाई पनि समावेश गरिने प्रस्ताव पारित गरिरहँदा गोर्खाका 11 जातलाई जनजातिको मर्यादा दिनेबारे प्रस्ताव खै? भनेर सोधेका छन्।

मङ्गलबारको दिन लोकसभामा उक्त बील संशोधन प्रस्ताव पारित गरिएको छ। उक्त बीलमार्फत् परिभारा अनि तलवारा समुदायलाई सरकारले जनजातिमा समावेश गर्ने र आरक्षणलगायत् अन्य सुविधाहरू उपलब्ध गराउने भएको छ। यसबाहेक उत्तर कन्नडा जिल्लामा बसोबासो गर्ने अन्य समुदायसितै वेलागाभी अनि धरवाड क्षेत्रका सिद्दी समुदायलाई पनि जनजातिभित्र समावेश गरिने भएको छ।

यस सन्दर्भमा विनय तामाङले  भाजपा, विमल गुरूङ अनि गोरामुमोमाथि प्रश्न गरेका छन्।  ‘किन गोर्खा समुदायका 11 वटा जातगोष्ठीलाई जनजातिको मान्यता प्रदान गर्ने प्रस्ताव यसपल्ट पनि लोकसभामा पारित गरिएन?,’ तामाङले प्रश्न गरेका छन्, ‘ किन यसपल्ट पनि जनजातिको मुद्दा हावा मिठाई साबित गरियो?’

गोजमुमो विमल खेमाका प्रवक्ता बीपी बजगाईले चुनाउ बेला केन्द्रीय जनजाति मन्त्री जुअल ओरमको भीडियो जारी गरेर जनजातिको बील लोकसभामा पेश गर्न सकिने बताएको तर कर्णाटकको दुईवटा समुदायलाई जनजातिमा समावेश गर्दासमेत 11 जातगोष्ठीलाई हावा मिठाई खुवाएको तामाङको जिकिर छ।

‘किन गोर्खाहरूमाथि विश्वासघात गरियो? दार्जीलिङका सासंद राजु विष्ट र बीपी बजगाईँले पहाडवासीलाई जवाब दिनुपर्नेछ,’ तामाङले भनेका छन्,  ‘गोर्खाहरूलाई केन्द्र सरकारले किन सधैं सानी आमाको व्यवहार गर्दछ, राजु विष्ट  पहाडवासीप्रति जवाबदेही हुनुपर्छ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया