‘स्थायी राजनैतिक के हो बताओस्, समाधान गर्ने ग्यारेन्टी दिओस्, म राज्य सरकारलाई त्रिपक्षीय वार्ताको निम्ति अनुरोध गर्नेछु’

विज्ञापन

कालेबुङ, 14 फरवरी


स्वामीको ट्वीटप्रति राजु विष्ट किन मौन?

8 फरवरीको दिन भाजपाका शीर्ष नेता सुब्रमणियन स्वामीले भाजपाले गोर्खाहरूलाई दिएको वाचा पूरा गर्नुपर्ने समय आएको छ भन्दै वाचा गरेअनुसार गोर्खाल्याण्डलाई केन्द्र शासित प्रदेश दिइनुपर्छ भनेका छन्। हालसम्ममा उक्त ट्वीटलाई 4434 पल्ट विभिन्न मानिसहरूद्वारा रिट्वीट गरिएको छ।

ट्वीट मीडिया अनि सोसियल मीडियाहरूमा पनि आकर्षणको केन्द्र बनिँदै गइरहेको छ, जसले राजनैतिक समूहमा पनि नयाँ माहौल तयार गरिरहेको छ। यहाँसम्म कि सिक्किमका सासंद इन्द्रहाङ सुब्बालेसमेत रिट्वीट गर्दै गोर्खाहरूको स्थायी राजनैतिक समाधानको निम्ति आफ्नोतर्फबाट पनि सहयोग प्रदान गर्न तत्पर रहेको बताएका छन्। तर मौन छन्, दार्जीलिङका सांसद राजु विष्ट।

गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विनय तामाङले विष्टको त्यही मौनतामाथि प्रश्न उठाएका छन्। ‘उक्त ट्वीटलाई आज 6 दिनसम्म मैले समीक्षा गरिरहेको छु। सिक्किमका सांसद इन्द्रहाङ सुब्बासमेत सकरात्मक छन्। तर गोर्खाल्याण्ड ल्याउँछु भनेर महाकाल बाबाको सामुन्ने जनतासामु कसम खाएर गोर्खाहरूको भोटले सासंद बनेका राजु विष्ट भने यस विषयमा अहिलेसम्म मौन छन्,’ तामाङले भनेका छन्, ‘सासंद महोदयको फेसबुक अनि ट्वीटर सक्रिय रहेको छ भने हरेक दिन उनी दुवै साइटमा एक्टिभ  छन्। तथापि सुब्रमणियन स्वामीको उक्त पोस्ट उनले न त रिट्वीट गरेका छन् न त उक्त ट्वीटबारे एक शब्द नै लेखेका या बोलेका छन्।’

विष्टभन्दा स्वामी नै इमान्दार

तामाङले स्वामीको ट्वीटलाई स्वागत जनाउँदै स्वामीप्रति आभारसमेत प्रकट गरेका छन्। तामाङले स्वामीले  गोर्खाहरूको पक्षमा स्वामीले 2015 देखि हालसम्ममा 6 पल्ट यस्तो बयान दिइसकेको पनि जनाएका छन्।

सांसद विष्टको मौनताले उनी गोर्खाहरूलाई लिएर कति गम्भीर छन् भन्ने स्पष्ट हुने जिकिर गर्दै तामाङले भनेका छन्, ‘सासंद राजु विष्ट भन्दा बरू सुब्रमणियन स्वामी नै गोर्खाहरूको मुद्दामा इमान्दार रहेको बुझिन्छ।’

तामाङले सुब्रमणियन स्वामीको उक्त पोस्टले भाजपा सरकार अनि भाजपा सांसदको इमान्दारिता गोर्खाहरूप्रति कति छ भन्ने बुझाउँने बताउँदै भनेका छन्, ‘यदि सासंद विष्ट इमान्दार छन् भने उक्त ट्वीटलाई रिट्वीट गरून् अनि सुब्रमणियन स्वामीले जस्तो स्पष्ट अडान सरकारसामु राखुन्।’

वार्ताको लागि केन्द्रले 2017 मा दिएको बचन खै पुरा गरेको?

राजु विष्टले यही साता द्विपक्षीय अनि त्रिपक्षीय वार्ताको कुरा गरिरहेका छन्। त्रिपक्षीय वार्ताकै सन्दर्भ कोट्याउँदै तामाङले विष्टलाई पुरानो कुरा सम्झाएका छन्। ‘2017 मा 105 दिनको बन्द फिर्ता लिने आग्रह गर्दै केन्द्रीय गृह मन्त्रालयले सेप्टेम्बर 2017 मा नै त्रिपक्षीय बैठक गरिने आश्वासन दिएको होइन्?,’ तामाङले भनेका छन्, ‘आज 3 वर्ष पुग्नै लाग्दा पनि किन वार्ता नगरिएको हो?’

वार्ताको एजेन्डा के हुन्छ?

राजु विष्टलाई तामाङले त्रिपक्षीय वार्ताको एजेण्डा स्पष्ट गर्ने अनुरोध पनि गरेका छन्। ‘गोजमुमो  गोर्खाहरूको स्थायी राजनैतिक समाधान केवल गोर्खाल्याण्ड हो भन्ने कुरामा विश्वास राख्दछ। तर चुनाउमा गोर्खाल्याण्ड भनेर भोट माग्न गोरामुमोले फेरि भाका फेर्दै छैटौं अनुसूचीको माग गर्न थालेको छ। यता सुव्रमणियन् स्वामीले युनियन टेरिटोरीको मुद्दा उठाएका छन्,’ तामाङले सोधेका छन्, ‘त्यसो हो भने वार्ताको एजेन्डा के हुन्छ?’

भाजपा अनि भाजपालाई सघाउने पहाडका राजनैतिक दललगायत विमल गुरुङ समुहले भन्दै आइरहेको स्थायी राजनैतिक समाधान के हो, स्पष्ट पार्नुपर्ने तामाङको माग छ। तामाङअनुसार जनताअघि समाधानबारे उनीहरूले यसकारण पनि अडान स्पष्ट पार्नुपर्ने किन भने विगतका सुवास घिसिङ अनि विमल गुरूङले जस्तो दागोपाप अनि जीटीएजस्तो व्यवस्थाहरूमा भाजपाले नझुकाओस्।

स्थायी राजनैतिक समाधान गर्ने ग्यारेन्टी होस्

‘गोरामुमो अनि पहाडका कतिपय भगौडे नेताहरूलाई म प्रश्न गर्न चाहन्छु कि तपाईंहरूले बजट सत्रमा केही राम्रो खबर आउने दावी गर्नुभएको थियो। खेदको कुरा गत 12 फरवरी 2020 भित्रनै  बजेट सत्रमा गोर्खाहरूकोलागि ठुलो उपलब्धि केन्द्र सरकारले दिनेछ भनेर हुँकार गर्ने विमल गुरूङ समुह र गोरामुमो समुहको  डेट लाइन  समाप्त भयो तर गोर्खाहरूलाई यसपल्ट पनि अपमानित गरिदै कर्णाटकको दुईवटा समुदायलाई जनजातिको मान्यता प्रदान गरियो। गोर्खाहरूलाई यो सत्रमा पनि हावा मिठाई मात्रै दिइयो,’ तामाङले भनेका छन्, ‘यदि राजु विष्टले पहाडको स्थायी राजनैतिक समाधानमाथि स्पष्ट बोल्छन् भने अनि उक्त स्थायी समाधानमाथि पहाडवासीले स्वीकार गर्छन् भने म स्वयं राज्य सरकारलाई त्रिपक्षीय वार्ताको निम्ति अनुरोध गर्नेछु। तर राजु विष्ट अनि उनका सहयोगीहरूले स्थायी राजनैतिक समाधान भनेको के हो त्यो जनतासामु नलुकाई अनि कुरा नघुमाई स्पष्ट गरून्। जनतासामु उनीहरू इमान्दार छन् भने यो चुनौती उनीहरूले स्वीकारून् अनि जनतासामु साँचो कुरा राखुन्।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया