फेरि बने डीबी चौहान भाजपा सिक्किमको अध्यक्ष

विज्ञापन

गान्तोक, 15 फरवरी। भारतीय जनता पार्टी (भाजपा)-सिक्किम एकाइको ध्यक्ष पदमा वर्तमान अध्यक्ष डीबी चौहान पुनः अध्यक्ष बनेका छन्। भाजपा राष्ट्रीय अध्यक्ष जेपी नड्डाले उनलाई आगामी 2023-सम्म तीन वर्षे कार्यकालको निम्ति अध्यक्ष नियुक्त गरेको छ। पार्टी अध्यक्ष नड्डाको नाममा सङ्गठनात्मक नियुक्ति पत्र राष्ट्रिय महासचिव एवं मुख्यालय प्रभारी अरुण सिंहले तत्काल प्रभावी हुनेगरी नियुक्ति पत्र जारी गरेको छ। अध्यक्ष चौहानको कार्यकाल 2023-सम्म रहनेछ।

अध्यक्ष चौहानले भनेका छन् – ‘भारतीय जनता पार्टी शीर्ष समितिले मेरो विगतको कार्यकाललाई मूल्याङ्कन गर्दै मलाई पुनः अध्यक्ष पदको दायित्व सुम्पिएको छ, त्यसको निम्ति म सर्वप्रथम पार्टीका राष्ट्रिय अध्यक्ष जेपी नड्डा साथै पार्टी शीर्ष समितिप्रति कृतज्ञता प्रकट गर्दै आगामी दिनमा भारतीय जनता पार्टीको संगठनलाई सिक्किमको तृणमूल स्तरसम्म पुऱ्याएर अझ मजबुत बनाउने अनि पार्टीलाई एउटा नयाँ उचाईमा पुऱ्याउने प्रतिबद्धता व्यक्त गर्दछु। प्रदेश अध्यक्षको चयन भइसकेपछि अब आगामी केही दिनभित्रमा पार्टीको राज्यस्तरीय कार्यकारिणी समिति गठन गरेर नयाँ जोस अनि उत्साहका साथ सबै पदाधिकारी, विधायकगण एवं कार्यकर्तागणलाई साथमा लिएर राज्यमा पार्टीलाई अघि बढ़ाइनेछ। भारतीय जनता पार्टी पूर्णरूपले सांगठनिक ढाँचामा सञ्चालन हुने राजनैतिक दल हो, यहाँ कुनै व्यक्तिकेन्द्रित नभएर संगठनको सर्वसम्मतिमा निर्णयहरू हुने गर्छन्।

यसै गरी देशमा भाजपा मात्र यस्तो दल हो जसमा प्रत्येक पार्टी कार्यकर्ताको योगदानको कदर हुने गर्दछ अनि भाजपामा मात्र कुनै साधारण कार्यकर्ताले आफ्नो योगदानको आधारमा प्रदेश अध्यक्ष, राष्ट्रिय अध्यक्ष, प्रधानमन्त्री जस्तो पदसम्म पुग्ने सपना देख्न सक्दछ। यसर्थ, म सम्पूर्ण कार्यकर्ताहरूलाई आगामी दिनमा सिक्किम राज्यमा पार्टीको सांगठनिक संरचनालाई मजबुत बनाउने दिशामा निस्वार्थ रूपमा योगदान दिन आह्वान गर्दछु। भारतीय जनता पार्टी अहिले सिक्किमको दोस्रो शक्तिशाली दल हो अनि पार्टीको यस ऐतिहासिक स्तरलाई कायम राख्न सबका साथ, सबका विकास, सबका विश्वासको नाराका साथ सबै स्तरका नेता-कार्यकर्ताहरूसँग उचित तालमेल राखेर पार्टीको सांगठनिक संरचनालाई अझ मजबुत बनाउनेतर्फ लाग्नेछौं।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया