लिजेन्ड गिटारिस्टको अन्तिम बिदाई : ‘सोनामको सपना ‘परिक्रमा’-भन्दा माथि थियो’

कालेबुङ, 17 फरवरी


‘सोनामको सपना ‘परिक्रमा’-भन्दा ठूलो थियो। उसको सपना भनेको समग्र सङ्गीतको लागि थियो। उसको सपना थियो, भारतीय सङ्गीतलाई विश्वमा देखाउनु।’

आफ्नो व्याण्डको लिड गिटारिस्टलाई अन्तिम श्रद्धाञ्जली दिन दिल्लीबाट कालेबुङ आएका परिक्रमा व्याण्डका सदस्यहरूले भने, ‘हाम्रो लागी सोनाम गएका छैनन्, हामी सँधै उसलाई सम्झिनेछौँ।’

भारतीय लोकप्रिय रक एन्ड रोल ब्यान्ड ‘परिक्रमा’- का प्रमुख गिटारिस्ट सोनाम शेर्पालाई हिजो उनकै होमटाउन कालेबुङमा अन्तिम बिदाइ दिइयो। मेलाग्राउण्डस्थित आफ्नो घरबाट दिँउसो 1 बजीतिर शवयात्रा निकालिएको थियो। उनको पार्थिव शरिरलाई डा. ग्राह्म्स होमस्थित हिब्रोन चर्चमा पुऱ्याएपछि श्रद्धाञ्जली अर्पण गरिएको थियो।

शेर्पाका पत्नी, छोरा, परिवारका अन्य सदस्यहरू, स्थानीय स्थापित सङ्गीतकर्मीहरू, व्यक्तिविशेषसितै परिक्रमा व्याण्डका सदस्यहरू श्रद्धाञ्जली कार्यक्रममा सहभागी थिए। उनलाई ख्रिष्ट्रिय धर्म परम्परा अनुसार होम्स परिसरमा नै दफन गरियो।

‘सोनाम ब्याण्डको लागि एकदमै प्रमुख व्यक्ति थिए, 1991 मा सुबिरसित मिलेर उसैले व्याण्ड बनाएको थियो’, ब्याण्डका सदस्य दिलिप रामचन्द्रमले सुनाए, ‘हाम्रो जतिपनि चर्चित गीतहरू र लाइभ कन्सर्टहरू हुन्थ्यो त्यसमा उसको प्रमुख भूमिका हुन्थ्यो अनि रहनेछ।’

सोनामलाई श्रद्धाञ्जली दिन परिक्रमा व्याण्डबाट सुबिर मल्लिक, दिलिप रामाचन्द्रम अनि सौरभ चौधरी कालेबुङ आएका थिए।

‘सोनामले नयाँ-नयाँ गीतहरू कम्पोज गरिरहन्थे, नयाँ आइडियाहरू निकाल्थे’-व्याण्डका अर्का सदस्य सौरभ चौधरीले सुनाए, ‘उसको कम्पोजिनमा नेपाली फिल आउँथ्यो।’

दिल्लीबाट खरसाङमा चलचित्रको गीत रेकर्ड गर्न आएको समय कार्डियक एरेस्टको कारण गत शुक्रबार उनको निधन भएको थियो। 48 वर्षिय शेर्पाको निधनपछि अभिनेता फरहान अख्तर, सङ्गीतकार विशाल दिदलानी, भारतका चर्चित गिटारवादक इशान नुरानी जस्ता हस्तीहरूले समेत शोक प्रकट गरिसकेका छन्।

‘उनी एकदमै खुशी बस्ने, ठट्टा गर्ने अनि जीवनलाई सकारात्मक रूपमा हेर्ने मानिस थिए’-सोनामबारे गायक विपुल छेत्रीले पनि भने, ‘उनी हाम्रो लागी प्रेरणा थिए, उनी जुन उचाइमा पुगे, त्यहाँ धेरै कम मानिसहरू मात्र पुग्नसक्छन्।’

सानैदेखि सोनाम शेर्पाको सङ्गीतबाट प्रभावित भएको बताउने चर्चित मन्त्र व्याण्डका गायक प्रज्ञा लामाले पनि भने, ‘दिल्ली जस्तो ठाउँमा अनि परिक्रमा जस्तो चर्चित व्याण्डमा हाम्रो मान्छे छ भनेर हामी गर्व गर्थ्यौँ। उनी सङ्गीतको क्षेत्रमा एकजना इन्सपिरेसन, आइकन नै हुनुहुन्छ।’

एक समय रोलिङ स्टोन्स पत्रिकाले भारतका शीर्ष-10 गिटारिस्टको सूची सार्वजनिक गर्दा त्यसमा पनि नाम परेका सोनाम अब सशरीर रहेनन्। उनी बितेर गएपनि साङ्गीतिक क्षेत्रमा उनको योगदान सँधै स्मरणीय बन्नेछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया