अविच्युरी : सोनाम सेर्पा भन्थे- ‘गितार बजाएर कालेबुङलाई सुनाउने मेरो ठुलो धोको छ’

विज्ञापन

विश्वले चिनेका : पहाडले नचिनेका कलाकार

सङ्गीतलाई समाजमुखी बनाउने गितारवादक सोनाम सेर्पाप्रति शब्दका धुनहरू, मनभित्रका रागहरूबाट

पुष्पन, विपुलका गीतहरू सुनौँ – समाज त्यहाँ चित्रित छ। त्यहाँ हस्तक्षेप पाइन्छ। समाजलाई होसियारी गराइएका गीतहरू गाउँछन् आजका युवाहरू। कविता-कथा त्यस्तै लेख्छन्। समाजमा यस्तै हस्तक्षेप गर्ने सङ्गीतकार, साहित्यकार, पत्रकार, लेखकहरूको सङ्ख्या दिनोदिन बढ़्नुपर्छ। मेरो धर्म त देखाउनु मात्रै हो, मेरो दायित्व त यति लेख्नु मात्रै हो, भन्नु मात्रै हो, सुनाउनु मात्रै हो भनेर दोकान चलाएजस्तो पेसा धान्नु जिम्मावारीदेखि पलायन हुनु हो जसको पूर्ण क्षति समाजले बेहोर्नुपर्छ। आजका युवाहरू आँधीका सन्तान हुन् जो समाजमुखरित छन्, हस्तक्षेपी छन्। यस्तै थिए सोनाम पनि।


हीरा छेत्री, मुम्बई


कालेबुङ टेलिभिजनका नरेन्द्र भाइले एकदिन आएर भने, ‘दाजु, दिल्लीबाट सोनाम सेर्पा आएका रहेछन्। मसित बात भएको छ। उहाँले हाम्रा यहाँका युवाहरूलाई दुइचार घन्टाको एउटा वर्कसप गरेर गितार वादन सिकाउने भन्दैछन्। भोलि किङ थाईमा। तपाईँलाई कस्तो लाग्यो? भन्नुहोस् अनि अलिक आइडिया पनि दिनुहोस् न। एउटा इन्टरभ्यु पनि गरूँ भनेको।’

नर्मल्ली हामी कस्ता हुन्छौँ भने नजाने बाटो पनि गइपठाउँछौँ। कतिलाई करले त्यो बाटो हिँड़्नैपर्छ, कतिलाई खुप रहर हुन्छ। सप्पै काम आफुले मात्रै जानेको छु भन्ने ढोल पिट्नमा हामी धेरैजना खुब सिद्धहस्त छौँ। अब कहाँका गितार वादनमा संसार थर्काइरहेका सिद्धहस्त सोनाम सेर्पा अनि कहाँका नरेन्द्र भाइ जसले गाउँघरको पुजापाठ र स्कुलको कार्यक्रमतिर मात्रै होलान् गितार छुएको। तर उनको सोच ठुलो। उनी चाहन्थे सोनाम जस्ता होनहार प्रतिभाका धनी जो कालेबुङमै जन्मेर, हुर्केर, पढ़ेर सारा संसारका ध्यानाकर्षण बनेका छन्, जो भारतका टप टेन गिटारिस्टहरूमा गनिन्छन् उनको अनुभवलाई, उनको ज्ञानलाई अनि उनको सङ्गीतप्रतिको चासोलाई समाजका लागि हितकारी बनाऊँ भन्ने। हाम्रा युवाहरूले सोनामलाई चिनून् अनि भोलिको दिनमा अझ लछेप्रै सोनामहरू कालेबुङले उत्पादन गरोस् भन्ने। यसका लागि आफै पाखुरी सुर्क्याएर, अघि आएर आफ्ना संसाधानहरूको उपयोग गर्न थालिहाले भाइ नरेन्द्रले। गर्नुपर्ने त सङ्गीतका जानकारहरूले थियो। सम्बन्धितहरूले थियो।

अनि उनले भने, ‘तपाईँको चरित्र प्रकाशनको सेतो बोर्ड चाहिन्छ होला वर्कसपमा त्यो दिनुहोस् है।’

मैले त्यतिखेरै यो मौकाबाट फाइदा पाओस् भनेर सन्जु भाइलाई फोन गरेर भनेँ, ‘भाइ, भोलि किङ थाईमा यस्तो कार्यक्रम छ। तपाईँले हाम्रो चरित्रबाट सेतो बोर्ड लगेर पुऱ्याइदिनु होस् है अन्त त्यहाँ गितार वादनमा सोनाम सेर्पाले कर्मशाला गर्ने अरे तपाईँ पनि एटेन्ड गर्नुहोस् है।’

सन्जु भाइ को हुन् भने जसले आफ्नो कलिलो उमेरमै त्यो कर्मशालाको पच्चीस दिनपछि कालेबुङको भलपैरोमा प्राण गुमाएर सबैलाई सन्न बनाइदिएका थिए। सन्जु भाइ पनि एक होनहार गितारवादक अनि गायक थिए।

दोस्रो दिन, कालेबुङको किङ थाई होटलमा सोनाम भाइले कर्मशाला आयोजना गरे। लगभग 20 -जना युवा भाइ-बहिनीहरू उहाँका एक दिने छात्र वा प्रशंसकका रुपमा हाजिर थिए। गितार भनेपछि मेरो पनि प्रिय विषय हुनाले मलाई पनि त्यहाँ पुग्ने इच्छा जाग्यो। यसैले म त्यहाँ केही अबेर गरी भए पनि पुगेँ।

सोनाम भाइले कलिला वा सिकौरे कालेबुङका गिटारिस्टहरूलाई सजिलोसँग मौलिक कर्डहरू कसरी सिक्ने त्यसबारे बताइरहेका थिए। डो-रे-मि-फा-सो-ला-टि-डो -देखि लिएर रिलेटिभ कर्ड, अल्टरनेटिभ कर्ड, एक्सिडेन्टल कर्डहरू कस्ता हुन्छन् अनि गितार सिक्दा कुन-कुन नोट मुख्य हुन्छन् त्यो सबै उनले बोर्डमा चित्र कोरीकोरी बताइरहेका थिए। म पनि छात्रजस्तै बसेँ। उनले साथमा भएको गितारमा समयसमयमा हात लगाउँदै निशुल्क प्रशिक्षण दिइरहेका थिए। सोनामका ती हातहरू गितारको बारमा सल्बलाएको दृश्य हेरेर त्यसबाट उब्जिएको झन्कार सुन्नलाई संसारका सङ्गीतप्रेमीहरू टिकट काटेर पुग्नुपर्छ तर कालेबुङका प्रतिभाशाली युवाहरूले निशुल्क अनि आँखाअघि जीवन्त रुपमा यो सुबिधा अनि सिक्ने मौका पाइरहेका थिए। यति मात्रै होइन, ती युवाहरूले अन्तर्क्रियामा सोनाम भाइलाई आधुनिक अनि उत्तराधुनिक सङ्गीतको प्रवाहमाथि समकालीन प्रश्नहरू पनि तेर्स्याइरहेका थिए।

समाज कसरी बाँच्छ? समाज सबै विधाहरूको सदुपयोगले बाँच्छ। उसै पनि समाज बाँचिरहन्छ तर बाँच्नु मात्रै जिउँदो हुनु होइन। सास फेर्नु मात्रै समाजको जीवन होइन। समाजमा उपकारी प्राणीहरू पनि बास गर्ने गर्छन् यसैले त्यो समाज बाचूँ-बाचूँ लाग्दो हुन्छ। कालेबुङ पूर्वाधारहरूमा खुबै कमजोर एक महकुमा हो – त्यतिखेर महकुमै थियो। तरै पनि कालेबुङेहरूलाई आफ्नो ठाउँ किन प्रिय लाग्छ भन्दा यहाँ आनन्दै आनन्द छ। महान्-महान् व्यक्तिहरूको बास छ कालेबुङमा। संसार थर्काउने थुप्रै मानिसहरू कालेबुङमा बस्छन्। तर जीवनचर्या कस्तो छ भने उनीहरू अमेरिकामा बसून्, अस्ट्रेलियामा बसून् वा भारतका नामी सहरहरूमा बसून् कालेबुङ आफ्नो मातृभूमि पुगेपछि हातमा लाबर बोकेर बिहानै सड़क किनारा वा झोड़ानालामा पानीको पाइप बाँद्धै गरेका हुन्छन्। ग्यासको लाइनमा कुरिरहेका हुन्छन्। बत्तीको बिल बेसी आयो भनेर पावर हाउसमा गनगन गरिरहेका हुन्छन्। नाक थुनेर सहर घुमिरहेका हुन्छन्। र पनि हामीलाई कालेबुङ नै प्यारो लाग्छ। समाज भनेको यही हो। यहाँ सुगन्ध पनि लिन पाइन्छ, दुर्गन्ध पनि। सोनाम पनि यसै समाजमा हुर्केका युवा हुन्। संसारभरि उहाँको परिक्रमा हुन्छ। घुमिहिँड़्छन् गितार बजाउँदै, प्रशंसकहरूको मन जित्दै तर विदेशमा हेभी मेटल बजाइरहेका सोनामलाई एकदिन अचानक याद आउँछ आफ्नो गाउँघरको अनि टुप्लुक्कै कालेबुङको मेन रोडमा बराल्लिरहेका भेटिन्छन् उनी। यहाँ आएपछि उनी आफ्ना साथीभाइहरूसित कति झ्याम्मिन्छन् भने आफैलाई थाहा हुँदैन उनी विश्वको प्रसिद्ध सङ्गीत समूह परिक्रमाका संस्थापक अनि लिड गिटारिस्ट हुन् जसले फरहान अख्तरजस्ता गिटारिस्टलाई पहिलोपल्ट मञ्चमा उतारेका थिए। (हेर्नुहोस् सोनामको देहान्तपछि फरहानको ट्विट)।

उनी समाजमुखी सङ्गीतकार थिए। केवल आफ्नो घरमा बाजागाजा सजाएर राख्ने, आफ्नो ज्ञान आफैभित्र सीमित राख्ने होइनन्। अभिनन्दन पत्र र प्रशस्ति पत्रहरू सिटिङ रुमभरि सजाउने होइनन् तर एकै दिनका लागि कालेबुङ आएका छन् भने पनि सङ्गीतानुरागी दौँतरीसित भेटघाट गरेर सङ्गीतका नयाँ आयामहरू, विश्वबजारमा हाम्रा लोककलाका मूल्यहरू कस्ता छन् त्यसमाथि बहस गर्ने सचेत युवा थिए।

समाजको उत्थान हुनु हो भने, विकास हुनु हो भने, यसलाई सुग्घर र स्वच्छ राख्नु हो भने सबै विधाका, सबै पेसाका ज्ञानीहरू, सचेतहरू समाजमुखी हुनुपर्छ। धर्म पनि कर्म पनि, गीत पनि सङ्गीत पनि, शिक्षा पनि दीक्षा पनि सबैसबै समाजोपयोगी हुनुपर्छ। साहित्य समाजको दर्पण हो भनेर समाजमा भएका चित्रहरू नङ्ग्याउनु मात्रै सिर्जनधर्मीहरूको कर्म होइन। साहित्यलाई समाजको अभिभावक बनाउनुपर्छ। दर्पणले समाजमा हस्तक्षेप गर्दैन, साहित्यले गर्नुपर्छ। सङ्गीतले गर्नुपर्छ। कुनै सङ्गीतले आफ्नो समकालीन समाजलाई बोक्दैन भने त्यो विडम्बना हुन्छ। पुष्पन, विपुलका गीतहरू सुनौँ – समाज त्यहाँ चित्रित छ। त्यहाँ हस्तक्षेप पाइन्छ। समाजलाई होसियारी गराइएका गीतहरू गाउँछन् आजका युवाहरू। कविता-कथा त्यस्तै लेख्छन्। समाजमा यस्तै हस्तक्षेप गर्ने सङ्गीतकार, साहित्यकार, पत्रकार, लेखकहरूको सङ्ख्या दिनोदिन बढ़्नुपर्छ। मेरो धर्म त देखाउनु मात्रै हो, मेरो दायित्व त यति लेख्नु मात्रै हो, भन्नु मात्रै हो, सुनाउनु मात्रै हो भनेर दोकान चलाएजस्तो पेसा धान्नु जिम्मावारीदेखि पलायन हुनु हो जसको पूर्ण क्षति समाजले बेहोर्नुपर्छ। आजका युवाहरू आँधीका सन्तान हुन् जो समाजमुखरित छन्, हस्तक्षेपी छन्। यस्तै थिए सोनाम पनि।

सोनामको काम पनि त कालेबुङको नाम विश्वमा पुऱ्याइदिने थियो। पुऱ्याइदिए। भैगो त। न उनलाई कालेबुङले कुनै दिन समाजका रत्न भनेर अभिनन्दन गऱ्यो, न उनलाई कसैले कालेबुङको छोरो भनेरै फुर्क्यायो। न उनलाई यस्ता सबै आडम्बरहरूसित मोह पनि थियो।

आज भारतको कुनै पनि ठाउँमा पुग्नुहोस् र आफु कालेबुङ-दार्जीलिङको हुँ भनेर परिचय दिनुहोस् त तपाईँको अघि गितार ठ्याक्कै राखिदिन्छन् अरू जातिका मानिसहरू। नर्थइस्ट भन्नेबित्तिकै हामीले आफ्नो परिचय सङ्गीतका साधक, गितारिस्त वा खेलाड़ी भनेर पाउँछौँ। सोनाम जस्ता प्रतिभाहरूले यो चिनारी कायम गरिदिएका हुनाले हो।

त्यस दिनको कर्मशालामा सोनाम भाइलाई मञ्चमै चढ़ेर हाम्रा सन्जु भाइले काम सघाइदिएका थिए। सन्जु पनि छक्कै परेका थिए सोनामजस्ता कलाकार कालेबुङमा रहेछन् भन्ने थाहा पाएर। मलाई राती घरमा आएर खुसी व्यक्त गर्दै भनेका थिए, ‘दाजु आज थुप्रै कुरा जान्ने मौका पाएँ। तपाईँलाई धन्यबाद छ।’

केही महिनापछि मैले जब सोनामलाई मेनरोडमा साथीहरूसित घुम्दै गरेको भेटेर भनेँ, ‘भाइ, त्यो सन्जु भाइ त अस्तिको ठुलो पैरोमा परेर बित्यो नि’ तब उनी तिनछक्क परे। एकछिन् त उनलाई सन्जु चिन्न कठिन पऱ्यो तर मैले त्यस दिनको कर्मशालाको सानो रमाइलो घटना बताएपछि चिने। उनी खुबै दुखी बनेका थिए त्यो सुनेर किनभने सन्जुले साँच्चै खुबै चासो लिएर त्यो दिनको कर्मशालामा अंशग्रहण गरेको थियो। यो थियो 2015-को जून 6 तारिखको कार्यशालाको कुरा।

सन्जुको दुखद कुरो सुनेर सोनामले भनेका थिए, ‘सङ्गीतको मुहान हो कालेबुङ दाजु। हामीले बुझेका छैनौँ।’

त्यस राती कर्मशाला सिद्धिएपछि मैले सोनामको वास्तविक परिचय (मैले जानेको) सन्जुलाई यसरी दिएको थिएँ –

कुनै समय कालेबुङमा वाद्यवादन प्रतियोगिताको आयोजना हुनेगर्थ्यो। नेपाली साहित्य अध्ययन समितिका तत्कालीन पदाधिकारी अनि कार्यकर्ताहरूले साहित्यइतर विधामा पनि हस्तक्षेप गर्थे। ‘साहित्यको अध्ययन गर्नलाई पनि समिति चाहिन्छ र?’ भन्ने खालको अपजसे टिप्पणी स्व. रामकृष्ण शर्माबाट सुन्नुपरेका व्यक्तिहरूले सङ्गीतकलाप्रति पनि चासो देखाएर आफ्नो ट्र्याकदेखि अलग हट्दै यस्ता कार्यक्रमहरू आयोजना गर्ने गर्थे। त्यसै प्रतियोगितामा हामी भाग लिने गर्थ्यौँ। सोनाम भाइले एसयुएमआई -को जिम हलमा सूनचाँदी भन्दा महँगो यो ज्यानलाई भन्ने गीतको धुन बजाएर पहिलो पुरस्कार हत्याएको प्रतियोगितामा उनलाई प्रतिस्पर्धा गर्न आफु उत्रिएको घटना आज पनि आँखा अघि झल्झली छ।

कालेबुङका परिचित ठिकादार कितेन्दु सेर्पाका छोराछोरीहरूमा सोनाम एक हुन्। परिवारका अन्य दाजुभाइ, दिदीबैनीहरू कोही पुलिसतिर कोही कतै भए पनि सोनामले सानैदेखिको आफ्नो रुचीको विषय गितार वादनलाई नै जीविकाको साधन बनाएका हुन्। कालेबुङका युवाहरूलाई सङ्गीत सिकाउने एक प्रतिभाशाली व्यक्ति थिए – चन्द्रमान घिसिङ। सन्त अगस्तिन स्कुलका सङ्गीत प्रशिक्षक चन्द्रमान घिसिङले आफ्नो सङ्गीतको कारखानाबाट तयार गरेका धेरैधेरै औजारहरूमा एक थिए सोनाम सेर्पा। 1974 -का एड्रिन प्रधान पनि हुन्, ड्रम वादक बेन्जामिन ब्रिट्टो पनि हुन् अन्य पनि धेरै छन्। चन्द्रमान सरले पनि कालेबुङलाई अवाक् पारेर आफ्नो प्राण गुमाएका थिए। उनको देहान्तले सङ्गीत संसारमा धेरै ठुलो क्षति पुगेको थियो। त्यो खतिबाट क्षत्-विक्षत् भई उनका अनुयायी शिष्यहरूले रचेको अजम्मरी गीत हो – ‘सम्बोधन तिमीलाई गर्दैछु म, सिकेका ती सबै धुनहरूले, समर्पण गीत यो गर्दैछु म, तिम्रै ती मिठा रागहरूले, छाड़ी गयौ हामीलाई, जीवनको यो मोड़मा, सम्झना भई बिलायौ, हावासँगै उड़िगयौ…….. ’

केवल नौ सालको कलिलो उमेरदेखि मञ्चमा एक्कल गितार वादन प्रस्तुत गर्ने प्रतिभाका धनी सोनाम सेर्पाले सन् 1991-को जून 17 तारिख आफैले स्थापना गरेको परिक्रमा ब्यान्डमार्फत् दिल्लीमा पहिलो प्रस्तुति दिएका हुन्। बट इट रेन्ड, एम आई ड्रिमिङ अनि टियर्स अफ द विजार्ड जस्ता सिर्जनाहरूका निर्माता परिक्रमा ब्यान्डका अर्का संस्थापक तथा अर्गेन वादक सुबिर मल्लिकले सोनामको मृत्युको समाचार सुनेर आफ्नै सुद्धि गुमाएजस्तो भएको बताए। सङ्गीतकार विशाल ददलानीले पनि आफ्नो शोक प्रकट गर्दै भने, ‘हामीले अझ धेरै समय सँगसँगै बजाउनु, घुम्नु र रमाइलो गर्नुपर्नेथ्यो। सोनामको यो मृत्युको खबरले अचम्मित बनेको छु अनि उनको परिवारले बेहोर्नुपरेको खती म अनुभव गरिरहेको छु।’ उनले सोनामलाई एक साँचो भारतीय प्रतिभा भनेर बताए। विशालले आफ्नो पेन्टागन ब्यान्ड स्थापित हुनुमा परिक्रमाको प्रेरणा रहेको पनि स्विकार गरे। उनको मृत्युमा शोक व्यक्त गर्ने देशका प्रसिद्ध कलाकारहरू छन् – इसान नुरानी, मयाङ च्याङ, नितिन मल्लिक, चिन्तन कलरा, अमित किलाम, प्रशान्त बहादुर, राहुल मल्होत्रा, फिल्म निर्माता सेनपेन खिमसार आदि। यति मात्रै होइन देशका प्रमुख राष्ट्रिय अखबारहरूले सोनामको देहान्तको दुखद समाचारलाई लिड बनाए भने टिभी च्यानलहरूले पनि उनलाई श्रद्धाञ्जली अर्पण गर्दै विशेष कार्यक्रम प्रस्तुत गरे। सन् 2008 -मा आफुले सोनाम सेर्पासँगै प्रस्तुति दिन पाएको घटनालाई उल्लेखनीय मान्दै बलिउडका नायक सैफ अली खानले भनेका छन्, ‘सोनाम एकदमै युवा हृदयी अनि प्रतिभाशाली कलाकार थिए। म स्तब्ध बनेको छु उनको देहान्तको खबरले।’

बलिउडका फिल्महरूमा पनि सङ्गीत दिएका सोनामले दिल्लीको हाउज खालमा सङ्गीतको स्कुल सुरू गरेर त्यहीँ रहन थालेका थिए।  8 अक्टुबर, 1971 -मा जन्मेका सोनामले कालेबुङको सन्त अगस्तिन स्कुल अनि दिल्लीको किरोड़ीमल कलेजबाट शिक्षा ग्रहण गरेका थिए। बीबीसी लन्दनले पनि उनको प्रतिभामाथि रोकुमेन्ट्री बनाएको थियो। कालेबुङमा पढ़्दापढ़्दै नै उनले आफ्ना साथीहरू बेन्जामिन ब्रिट्टो, नित्यन आले, सन्चमान तुलाधरहरूसित मिलेर मुन ड्रप्स नाम गरेर एउटा ब्यान्ड निर्माण गरेका थिए। चार क्लासका ससाना फुच्चेहरूले सुरू गरेको यो ब्यान्डलाई त्यतिखेरका सङ्गीतप्रेमीहरूले खुबै मन पराएका थिए। सङ्गीतगुरू चन्द्रमान सरले उनीहरूलाई कालेबुङको मेन रोडमा पहिलोपल्ट खुला आकासमुनि वेस्टर्न म्युजिक पर्फर्म गर्नमा दोहोऱ्याएका थिए।

सोनाम भाइ भन्थे, ‘धेरै ठाउँ घुमेँ, पर्फर्म गरेँ। तर आफ्नो घरको बरन्डाअघि मेलाटारमा गितार बजाएर कालेबुङलाई सुनाउने मेरो ठुलो धोको छ।’

नभन्दै दीर्घ दिनपछि उनको सपना पुरा हुने समय आयो। कार्यक्रमको पूर्ण तयारी चल्नथाल्यो। सङ्गीतप्रेमीहरू कालेबुङ, दार्जीलिङ, सिलगड़ी, डुअर्स, सिक्किम, नेपाल अनि भुटानबाट थुप्रिन थाले आफ्ना प्रिय गितारवादकलाई आँखाअघि हेर्न र उनको कला सुन्न। सोनाम पनि खुबै उत्सुकताका साथ त्यो पल अनि क्षणको उल्टागिन्ती गर्नलागे। त्यो सपना पुरा हुनलाई 24 घन्टाको पनि समय हातमा थिएन अचानक हड़तालको आह्वान् भयो। भोलिदेखि हुने भनेर डाकिएको हड़ताललाई आज साँझदेखि नै पालन गर्नमा हत्तार गरे पार्टीका कार्यकर्ताहरूले। भक्कानो फुटाएर रुए सोनाम भाइ। आँखाअघि आफ्नो सपनाको महल चकनाचुर भइरहेको थियो।   आयोजकहरूले अनुरोध पनि गरे अरे त्यो हड़ताललाई एकदिनका लागि टारिदिने। तर हाम्रो समाजमा अचाहिँदो हस्तक्षेप धेर हुन्छ। बातबातमा हड़ताल गरेर टुङ्गामा कहिल्यै नपुगेको लज्जास्पद इतिहासको क्रूर साक्षी बनेको पहाड़ यसैले पछौटे छ। धन्य हाम्रा प्रतिभाहरू संसारभरि, भारतभरि फैलिएका छन् जसले कालेबुङको नाउँसुवास छरेर यहाँको परिचय दिइरहेका छन्। गर्वानुभव गराइरहेका छन् कालेबुङको कोही पनि आम मानिसलाई आफु त्यस ठाउँको भनेर चिनाउनुमा। हड़तालकर्मीहरूले त बदनाम मात्र गराएका छन्। कालेबुङलाई संसारमा जतिले पनि चिन्छन् – कि त हड़ताल धेर हुने ठाउँ भनेर कि चाहिँ सोनाम सेर्पाको सहर भनेर चिन्छन्।

अब कसरी चिनाउनुपर्ने दायित्व आजको युवा पुस्ताको हातमा छ। सर्जकहरूले हस्तक्षेप नगरी बस्ने हो भने भोलिको दिनमा फेरि अर्को सोनामको सपना मर्नेछ।

सबै मिलेर सोनामलाई बचाऊँ। सोनामप्रति हार्दिक श्रद्धाञ्जलीका शब्दहरू यति नै।


(यो श्रद्धाञ्जली लेखौट तयार गर्नका लागि मलाई सहयोग गर्नुहुने कालेबुङका पत्रकारहरू सुमन गुरुङ, नरेन्द्र तामाङ अनि मणि तामाङ, व्यङ्ग्य चित्रकार श्री गौतम लामा अनि दाजु विष्णु कोइरालाप्रति हार्दिक आभार व्यक्त गर्दछु।)

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया