‘हामी अब झगडा गर्दैनौं, हामी मिल्यौं’

‘यदि युटी दियो भने त्यो युटी विथ एसेम्ब्ली हुनु पऱ्यो तर त्यसमा पनि छैटौं अनुसूचीको आत्मा हुनुपऱ्यो,’ जिम्बाले भनेका छन्, ‘यदि केन्द्र सरकारले युटी दिन सकेन भने छैटौं अनुसूची भन्दा मुनिको व्यवस्था नदियोस्। छैटौं अनुसूचीमा पनि लेजिसलेटिभ प्रावधान छ।’


कालेबुङ, 20 फरवरी


स्थायी राजनैतिक समाधान माग्न स्टेयरिङ कमिटी

भारतीय जनता पार्टीको गठबन्धित दलहरूसित सिलगढीमा दार्जिलिङका सांसद राजु विष्टले बैठक गरेका छन्। बैठकमा  विष्टलगायत भाजपाका विधायक निरज जिम्बा, गोर्खा राष्ट्रीय मुक्ति मोर्चा, गोर्खा जनमुक्ति मोर्चा-1, गोर्खालिग, गोरानिमो, क्रामाकपा, सुमेटी मुक्ति मोर्चालगायतका दलनेतृत्व उपस्थित थिए।

उनीहरूले धेरैदिनदेखि चलिरहेको आपसी झगडा मिलाएका छन्। अबोप्रान्त एक भएर स्थायी राजनैतिक समाधानको लागि दिल्लीका केन्द्रिय नेतृत्वमाथि दवाब बनाउने भएका छन्। यसको निम्ति सांसद विष्टको संयोजनमा 23 फरवरीको दिन फेरि बैठक गरेर स्येटरिङ कमिटी बनाउने भएको छ।

यही कमिटीले उप्रान्त दिल्लीमा स्थायी राजनैतिक समाधानको लागि सामुहिक पहल गर्ने भएको छ।

विष्टले भाजपा स्थायी राजनैतिक समाधानबारे प्रतिबद्ध रहेको जनाएका छन्। ‘तर समाधान के र कस्तो हुन्छ, त्यो भविष्यले बताउँछ,’ विष्टले भनेका छन्। चुनाउबारे पहाडमा पार्टीले तयारी गरिरहेको र गठबन्धित दलले मिलेर नै नगरपालिका, कर्पोरेसन वा विधानसभा चुनाउ लड्ने पनि जनाएका छन्।

‘पहाडको कुनै पनि चुनाउमा गठबन्धित दल मिलेर नै लड्नेछ,’ विष्टले भनेका छन्।

जे पनि हुन्छ, त्यसमा छैटौं अनुसूचीको कवच हुनुपर्छ

बैठकपछि दल नेतृत्वहरूले आआफ्ना पक्ष राखे। त्यसमा भाजपाका विधायक निरज जिम्बा अनि गोरामुमोका नेता वाई लामाले स्थायी राजनैतिक समाधानकोरूपमा केन्द्रले जे पनि दिन्छ, त्यसमा छैटौं अनुसूचीको कवच हुनुपर्ने र संवैधानिक हुनुपर्ने आफ्नो दलीय अडान राखे। उनले बङ्गालदेखि छुटानाम हुने मुद्दामा दलहरू केन्द्रिकृत रहेको भन्दै अहिले नै त्यसको रणनीति नबताउने बताए।

‘घरभित्रै दुश्मनको भएकोले रणनीति लुकाइएको हो,’ जिम्बाले भने। आफू गोर्खाल्याण्डको निम्ति प्रतिबद्ध भए पनि केन्द्रले दिने व्यवस्थामा छैटौं अनुसूचीको कवच हुनुपर्ने बुँदामा जिम्बा र वाइ लामालाई अडिग देखियो।

‘यदि युटी दियो भने त्यो युटी विथ एसेम्ब्ली हुनु पऱ्यो तर त्यसमा पनि छैटौं अनुसूचीको आत्मा हुनुपऱ्यो,’ जिम्बाले भनेका छन्, ‘यदि केन्द्र सरकारले युटी दिन सकेन भने छैटौं अनुसूची भन्दा मुनिको व्यवस्था नदियोस्। छैटौं अनुसूचीमा पनि लेजिसलेटिभ प्रावधान छ।’

वाई लामाले स्टेयरिङ कमिटीले दिल्लीका केन्द्रिय मन्त्रीहरूमा चाप बनाउने अनि अब भाजपा वा केन्द्र सरकारले स्थायी राजनैतिक समाधानबारे डायलग ओपन गर्नुपर्ने जनाएका छन्। आफूहरू अहिलेलाई ‘वान पोइन्ट एजेन्डा’-मा केन्द्रित हुने तर यसको लागि सांसद विष्टमा धेरै जिम्मेवारी रहेको पनि बताएका छन्।

‘गोरामुमो चाहन्छ, सरकारले युटी दियो भने त्यसमा छैटौं अनुसूची पनि हुनुपर्छ,’ उनले भनेका छन्।

यता जिम्बाले गोरामुमोले उठाउरहेको छैटौं अनुसूचीलाई ‘रोडम्याप’ बताएका छन्। गोरामुमोअनुसार त्यसैको माध्यमबाट छुट्टै राज्य गोर्खाल्याण्डमा पुग्न सकिन्छ।

मिल्नलाई झगडा

गोरामुमोले छैटौं अनुसूचीको मुद्दा उठाएपछि गठबन्धित दलहरूबीच वाक युद्ध चलिरहेको थियो। जिम्बाले त्यसलाई ‘मिल्नको निम्ति परेको झगडा’ बताएका छन्। जिम्बाले घरि मिल्नको निम्ति आफूहरू झगडा परेको पनि बताइरहेका थिए घरि पत्रकारहरूले आफूहरूलाई झगडा पारेको भन्दै पत्रकारहरूमाथि पनि कटाक्ष गरिरहेका थिए। जिम्बा आफैलाई थाहा थिएन, खासमा झगडा आफै परेको हो कि पत्रकारले पारिदिएको हो। ‘पहिले हामी मिलेकोजस्तो गऱ्थ्यौं लड्नुको निम्ति,’ जिम्बाको डायलग थियो, ‘अहिले बाझेकोजस्तो गरेका हौं मिल्नको निम्ति। आजदेखि हामी मिल्यौं, अब झगडा गर्दैनौं।’

उनले  गठबन्धित दलहरूमा केही समस्या रहेको तर बैठकमा चित्तमाझामाझ गरिएको पनि बताइरहेका थिए अनि झगडा पर्नु ‘खेला’ रहेको पनि बताइरहेका थिए।

‘हामीबीच केही समस्या थियो, समाधान भयो। हामी त देखाउनुको लागि पनि झगडा गर्छौं। यो त खेला हो। कुटनीति हो,’ जिम्बाले भनेका छन्।

पत्रकारहरूले विश्लेषण गर्नु हुँदैन

जिम्बा विश्लेषण, आलोचना गर्ने पत्रकारहरूमाथि निक्कै खनिए। कुनै प्रमाणपेश नगरी पत्रकारहरूले पैसा थापेर विश्लेषण गरेर जनतामा भ्रम फैलाएको पनि बताए।

पत्रकारहरूलाई संविधानबारे ज्ञान नै नरहेको र ज्ञान बिना नै विश्लेषण गरेर जनतामा भ्रम फैलाएको जिम्बाको आरोप हो।

‘अब यस्तो विश्लेषण गर्न रोक्नुपर्छ। जसलाई संविधान थाह छैन उसले विश्लेषण गर्नु हुँदैन,’ जिम्बाले भने, ‘विश्लेषण त विवेकशीलले गर्छ। पार्टीहरूलाई झगडा पार्ने काम पत्रकारले गर्नु हुँदैन।’

गोरामुमोले छैटौं अनसूचीको मुद्दा उठाउने वित्तिकै खबरम्यागजिन र खोजखबरले गठबन्धित दलको धर्ममाथि प्रश्न उठाएको थियो। दुइ पोर्टलले भाजपामाथि आलोचनात्मक दृष्टि राख्दै गोरामुमोलाई छैटौं अनुसूचीको मुद्दाको लागि स्पेस दिएको र गठबन्धित दलहरूको मौनतामाथि प्रश्न उठाउँदै शीघ्र नै गठबन्धित दलको बैठक गरेर सुझबुझ नबनाए जनमुद्दामा चोट पर्ने सन्देह व्यक्त गरेको थियो।

(यो तलको लिङ् पढ्न सक्नुहुन्छ)

सासंद राजु विष्ट किन छैनन् त गम्भीर?

फेरि थन्कियो छैटौं अनुसूची

दल नेतृत्वहरूले 23 फरवरीमा बनिने भनेको स्टेयरिङ कमिटीमा पार्टीहरूले प्रतिनिधिको नाम नपठाएकोले नै आज कमिटी नबनिएको पनि जनाएका छन्। उनीहरूअनुसार अहिलेसम्म सुमेटीले दुइ जना प्रतिनिधिको नाम पठाइसकेको छ। सिपिआरएम, गोर्खालिग, मोर्चाले 23 फरवरीसम्ममा नाम पठाउने छ। कमिटी बनिएपछि  कसरी काम गर्ने भन्नेबारे निर्णय गर्नेछ।

कमिटी बनिएपछि यी दलहरूले आआफ्नो मुद्दा थन्काएर वान पोइन्ट एजेन्डामा केन्द्रिकृत हुने जनाएको छ। यही बैठकपछि छैटौं अनुसूचीको माग गोरामुमोले नउठाउनेसमेत भएको छ।

स्थ्यायी राजनैतिक समाधानको नाम नभन्नु रणनीति हो

मौजुदा राजनैतिक परिस्थितिमाथि सोसल मिडियामा व्यक्तिगत पोष्टको नाममा पार्टीकै कुटनैतिक वयान राख्दै आइरहेका गोजमुमो-1 का प्रवक्ता बीपी बजगाईँले अहिलेसम्म भाजपा वा गठबन्धित दलले स्थायी राजनैतिक समाधानको नाम नभन्नु आफूहरूको रणनीति रहेको जनाएका छन्।

‘अहिलेसम्म हामीले रणनीति उदाङ्गो पारेकोले नै काम बिग्रिँदैछ,’ उनले भनेका छन्, ‘दलहरूबीचको  आरोप प्रत्यारोप आजदेखि मेटियो। अब मिलेर काम गर्नेछौं। स्थायी राजनैतिक समाधानको नाम नभन्नु पनि रणनीति हो। त्यसैले नाम नबताएका हौं। सुब्रमण्यम स्वामीको कुराले हाम्रो बाटो अझ सजिलो बनाइदिएको छ।’

उनी घरि अब दलहरू वान पोइन्ट एजेन्डामा केन्द्रिकृत हुने पनि बताइरहेका थिए, अर्कोतिर दलहरूको आआफ्नै एजेन्डा हुन सक्ने पनि बताइरहेका थिए। ‘हामी स्थायी राजनैतिक समाधानको लागि गठबन्धित हौं। त्यसबाहेक दलहरूको आआफ्नै एजेन्डा हुन सक्छ, जसलाई हामी एकार्काले ध्यान दिँदैनौं,’ उनले भनेका छन्, ‘मूल मुद्दामा हामी एक ठाउँ छौं। सीएएबारे गोरामुमोको बुझाई आफ्नै हो। गठबन्धित दलहरूले यस्तो कुरा, जुन कुराले बङ्गाल सरकारको पृष्ठपोषण गर्छ, त्यसलाई स्वीकार्दैन।’

गोर्खालिगका प्रताप खातीले 2019 को 15 अगस्तदेखि पहिलोपल्ट आज नै गठबन्धित दलहरूको बैठक भएको र यही ‘ग्याप’-को कारण स्थिति बिग्रिएको जनाए। ‘अब त्यस्तो हुने छैन। अब हामी भेटिरहने छौं,’ खातीले भने, र विमर्श गरिरहने छौं’, उनले भने।

क्रामाकपाका  गोबिन्द छेत्रीले बैठकमा खुलेर एकार्काको आलोचना भएको र चित्त माझामाझ भएको भन्दै उप्रान्त दलहरू मूल मुद्दामा एकिकृत हुने भएको जनाए। ‘अब दलहरूले आ-आफ्नो मुद्दा थन्काएर स्थायी राजनैतिक समाधनको लागि केन्द्रितकृत हुनेछन्,’ उनले भने, ‘स्थायी समाधान फत्ते गर्न काम गर्नेछौं।’

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया