सोनामको सुनाम

लिजेन्ड/ खबरम्यागजिन डेस्क


‘सोनाम सङगीतबाट अवकास लिएर कालेबुङ फर्किन्छु भन्थे,’ परिक्रमाका दिलिप रामचन्द्रन भावुक बने, ‘हेर्नुस् न, सोनाम कालेबुङ नै फर्किए।’ दिलिपले यसो भन्दैगर्दा सामु बसेका सुबिर मल्लिक र सौरभ चौधरीको अनुहार अँध्यारो भइसकेको थियो।

‘सोनाम परिक्रमाभन्दा धेरै माथि थिए,’ सुबिरले सुनाए। सौरभले पनि थपे, ‘सोनाम शरिरले गए कामले जिउँदा छन्।’ उनीहरू सोनामलाई बिदा गर्न कालेबुङ आइपुगेका थिए। भारतीय लोकप्रिय रक एन्ड रोल ब्यान्ड ‘परिक्रमा’- का प्रमुख गिटारिस्ट सोनाम शेर्पालाई उनकै होमटाउन कालेबुङमा अन्तिम बिदाइ गरियो।

डा. ग्राह्म्स होमस्थित हिब्रोन चर्चमा श्रद्धाञ्जली सभा थियो। ‘उ जे हुन चाहन्थ्यो, त्यो भयो, म खुशी छु कि उसले आफूलाई सक्दो बाँच्यो,’ शेर्पाका पत्नी दिना शेर्पाले आँशु थाम्दै भनिन्, ‘उ जहाँ छ, त्यसरी नै हुनेछ।’  छोरा नाथनले पनि सोनामलाई ‘मिस’ गरे।

दिलिप रामचन्द्रनले बुझेको सोनाम भनेकै गिटार थियो। सङ्गीत थियो। सोनामको सपना सङ्गीतभन्दा पर केही थिएन। ‘भारतीय सङ्गीत विश्वलाई चिनाउने काम गाह्रो हो, उ त्यही काममा थियो,’ दिलिप भन्छन्, ‘चिनाए पनि। उसको सङ्गीत नै फरक थियो। त्यो फरकपन उसले कालेबुङबाटै बोकेर ल्याएको हो।’

सुबीरले पछिल्ला दिनहरू सम्झिए। उनीहरूले सोनामलाई कहिल्यै दुःखी पाएनन्। ‘यहाँसम्म कि कुनै गम्भीर टपिकमा कुरा हुन अघि नै सोनाम केही न केही भेर हामीलाई हँसाइदिन्थे,’ सम्झन्छन् सुबीर, ‘हामीले काममा इन्जेय गर्न उसैको हाँसोबाट त सिकेका हौं।’

सौरभलाई लाग्छ, परिक्रमालाई आजको ठाउँमा ल्याउन सोनामकै ताकत धेर खर्च भएको हो। नयाँ गीत कम्पोज गरिरहने, नयाँ टेस्ट र आइडियाहरूको खोज गरिरहने सोनामको काम फरक देखिनुमा कालेबुङको हावापानी प्रमुख रहेको सौरभलाई लागेको रहेछ। ‘उसको कम्पोजमा नेपाली फिल हुन्थ्यो, शैली त्यसले पनि फरक पारिहाल्थ्यो,’ भन्छन् सौरभ।

खरसाङमा ‘ब्रोकन विङ्ग्स’ चलचित्रको सुटिङ चलिरहेको थियो। सेम्पेन खास्मारद्वारा निर्देशित यही चलचित्रको सङ्गीत निर्देशक थिए सोनाम शेर्पा। यही कामको लागि उनी आएका थिए।

खासमा सोनामको काम सकिएको थियो। ‘तर के मन लाग्यो कुन्नी आज एकदिन बस्छु भनेर बसेका थिए,’ सेम्पेन खास्मारले भने, ‘मैले उनलाई कोठामा नै अङ्गालो मारिराखेर छोडेको हुँ। हामी सुटिङतिर लाग्यौं, उनी रुममै थिए।’

48 वर्षिय शेर्पालाई त्यही रुममा कार्डिएक एरेस्ट भएको थियो। सबैलै उनलाई त्यही कोठामा नै मृत्त पाएका थिए। उनको निधनपछि अभिनेता फरहान अख्तर, सङ्गीतकार विशाल दिदलानी, भारतका चर्चित गिटारवादक इशान नुरानीजस्ता हस्तीहरूले समेत शोक प्रकट गरिसकेका छन्।

चर्चित गायक विपुल छेत्री पनि श्रद्धाञ्जली दिन कालेबुङ आइपुगेका थिए। विपुललाई लाग्थ्यो, कुनै नेपाली सङ्गीतकार छ, जसले विश्वलाई नै प्रतिनिधत्व गरिरहेका छन्। सोनामलाई सम्झने वित्तिकै उनको छाती गर्वले फुल्लिन्थे।

‘उनी जुन उचाइँमा पुगे, त्यहाँ धेरै कम मानिसहरू मात्र पुग्नसक्छन्,’ विपुलले सुनाए।

मन्त्र व्याण्डका गायक प्रज्ञा लामालाई परिक्रमाजस्तो व्यान्डमा सोनाम शेर्पा छ भन्ने कुराले नै मात्र पनि सङ्गीतमा चाह्यो भने धेरै काम गर्न सकिन्छ भन्ने उर्जा मिल्थ्यो रे। ‘सोनाम सबैका प्रेरणा र आइकन हुन्,’ भन्छन् प्रज्ञा।

सपना त घरै बसेर देख्ने हो, तर त्यही सपना पूरा गर्नु छ भने घरबाट बाहिर निस्किनैपर्छ। सोनाम शेर्पालाई पनि लागेको यस्तै थियो। उनी निस्किए र भरतीय लिजेन्ड गिटारिस्ट बने।

अभिनेता, गायक फरहान अख्तर भन्छन्, ‘सोनाम गिटारी क्षेत्रमा इश्वरीय बरदान पाएका कलाकार थिए, उनलाई भारतीय सङ्गीत क्षेत्रले भुल्ने छैनन्।’ विश्वमा उस्तै जनरका चकित पार्ने व्यान्ड आइरन म्याडेन-सित मञ्च सेयर गरिसकेको भारतको रक एण्ड रोड व्यान्ड परिक्रमा अहिले शोक सन्तप्त छ।

‘देशविदेश घुमें तर आफ्नै आँगन (कालेबुङको मेला ग्राउन्ड)मा उभिएर शो गर्ने धोका छ,’ भन्थे सोनाम। त्यो धोका पनि आफैसित बोकेर गए सोनाम।

किरोरी मल कलेजको आँगनमा सपना

एकदिन सोनाम दिल्लीको सिक्किम हाउसमा बसेर कलेजको रिजल्ट पर्खिरहेका थिए। साथीहरू भेला भए र त्यसै टहल्न  निस्किए। किरोरी मल कलेजको आँगनमा झुरुप्प युवा देखे। केही युवा गिटार बजाइरहेका थिए। सोनाम त्यतै लोभिए। भर्खरै तीन महिनाको उमेर टेकेको परिक्रमा व्यान्डका लागि कलाकार छान्ने अडिसन चलिरहेको रहेछ।

सोनाम पनि अडिसनमा बसे। धेरै युवकहरूले अडिसन दिए। सोनामको पनि पालो आयो। उनले गिटार बजाएपछि सबै चकमन्न भए। अडिसन लिनेहरू सुबिर मलिक, नितिन मलिक, प्रशान्त बहादुर, चिन्तन कारा र राहुल मल्होत्रा नै थिए। त्यसपछि परिक्रमाले घोषणा गऱ्यो, ‘हामीले लिड गिटारिस्ट पायौं।’त्यो लिड गिटारिस्ट सोनाम नै थिए।

त्यसपछि सोनामले त्यही कलेज पढे। सोनामलाई लागेको थियो, ‘तीनवर्ष कलेज पढिञ्जेलसम्म व्यान्डमा इन्जोय गर्छु।’तर त्यही व्यान्ड नै पो सोनामको करियर बन्यो।

‘परिक्रममाले देखेको सपना ठूलो थियो, मैले त्यही सपनामा विश्वास गरें। त्यसपछि जीवन र सङ्गीतकै परिक्रमा गरें,’ अन्तरवार्ताहरूमा भन्थे सोनाम।

350 रुपियाँको यात्रा

‘दार्जिलिङमा प्रतिभाहरू त सबै क्षेत्रमा छन्, त्यसलाई निखार्नको लागि दार्जिलिङ पर्याप्त भूगोल होइन,’ शरेदखि नै सोनाम यस्तो सोचका हुन्।  हड्डी दुख्ने रोग लागेको सोनामलाई आमाले एक दिन सङ्गीतमा लाग्ने लोभ देखाइन्। उनलाई लागेको थियो, छोरोले सङ्गीतको ध्वान्नमा दुखाइ भुल्ला। तर सोनाम थिए सङ्गीतको धुनलाई नै दुःख बनाउने। सङ्घर्ष बनाउने। सङ्गीतको भूत चढेको सोनाम आमाले देखाएको बाटोमा म्याराथन गरिरहेका थिए।

कतिसम्म भने सन्ट अगस्टिन स्कूलमा चौथो श्रेणीमा पढ्दै गर्दा नै मुनड्रप्स भन्ने व्यान्ड खोलेका थिए। 90 को दशकमा कालेबुङलाई ‘वेस्ट्रन म्युजिक’ सुनाउने त्यही व्यान्ड थियो। आमाले सोनामलाई मोठ 350 रुपियाँ दिएकी थिइन्। त्यही बोकेर कालेबुङ बजार निस्किए सोनाम। बसपार्क छेउको इन्ट्रुमेन्ट दोकानमा लुसुक्क छिरे। त्यसपछि पहिलोपल्ट आफ्नो गिटार समाते। त्यही गिटार बोकेर सोनाम सन्त अगस्टिनको आँगनमा उभिए।

चन्द्र मोहन घिसिङ उनको सङ्गीत शिक्षक। घिसिङ आफै पनि सङ्गीतप्रेमी। सङ्गीतकारसमेत। गिटार बोकेर उभिरहेको सोनामको आँखामा के थियो, तिनै घिसिङ सरले पहिलोपल्ट पढेका हुन्।

यसो त उनको श्रेणीमा बेन्जामिन प्रिटो, एड्रिन प्रधान, नितेन आले, सन्चमान तुलाधारजस्ता साथी विद्यार्थी त छँदै थिए, त्यसमा अब सोनाम पनि थपिएका थिए। उनीहरूले स्कूल कन्सर्टमा धुम मच्चाए। एड्रिन प्रधान नामचिन गायक हुन्। नेपालमा उनले धुम मच्चाइरहँदा भारतमा सोनामले मच्याइरहेका थिए।

शुरुमा त सोनामलाई आफू के बन्छु भन्ने कुरा थाहा थिएन। कालेबुङमा फुटबलको लहर चल्थ्यो, तिनलाई फुटबल मन पर्थ्यो, क्रिकेटको लहर चल्थ्यो, क्रिकेट मन पर्थ्यो। तर घिसिङ सरले उनको आँखा पढेदेखि फेरि फेरि भङ्गालिरहन परेन।

‘जतिखेर म भारतको कुनै स्टेजमा बजाइरहेको हुन्थें, सबैले मेरो शैली फरक रहेको सुनाउँथे। त्यो फरकपन खासमा पहाडीपन थियो। त्यो शैली मैले कालेबुङबाट नै टिपेर लगेको हुँ,’ सोनाम आफैले भनेका पनि छन्।

आइरन म्याडेन दर्शक

बेङ्गोलरमा विश्व चर्चित व्यान्ड आइरन मेडन व्यान्डसित मञ्च सेयर गर्नु थियो। तर आइरन म्याडेनका कलाकारहरूको अनुशासन नै थियो-बाहिर ननिस्किनु। 7 बजीको शो हेर्न बिहान 3 बजीदेखि दर्शक लाइनमा थिए। त्यो क्रेज जोड्नमा केवल आइरन म्याडेनको मात्र हात थिएन, परिक्रमाको पनि थियो।

जब परिक्रममाले शो शुरु गऱ्यो, सोनामको टीमलाई लागेको थिएन, ग्रीनरुममा थुनिएर बसेका आइरन म्याडेनका कलाकारहरूलाई तान्ला। तर अचम्म भयो, पहिलोपल्ट आइरन म्याडेनका कलाकारहरू ग्रीन रुम छोडेर शो हेरिरहेका थिए। ‘आइरन म्याडेनका कलाकारहरूलाई हामीले दर्शक बनाउन सकेका थियौं, परिक्रमाको शक्ति त्यही थियो,’ सोनामले कुनै अन्तरवार्तामा भनेका छन्।

त्यही सोपछि आइरन म्याडेनले परिक्रमालाई लन्डनमा बोलाएको थियो। परिक्रमाको विश्व परिक्रमाको दिन त्यहीँबाट शुरु भएको थियो।

लेसपल र ब्राण्ड एम्बासेडर

सोनामले शुरुमा थुप्रै ब्रान्डको गिटार बजाए। हेनरिक्स, यामाहा, इन्फेन्डर्स। तर हात बस्यो लेस पलमा। सोनाम भन्थे, ‘गिटार बजाउनु मात्र सङ्गीतकारको काम होइन। कुन गिटारबाट आफूले चाहेको धुन निस्कन्छ, त्यसको अनुसन्धान गर्ने चेतना पनि सङ्गीतकारमा हुनु पऱ्यो। मैरो शैलीलाई लेस पलले नै न्याय गऱ्यो।’

सोनामले त्यही लेसपल बोकेर विश्व परिक्रमा गरेका हुन्। एक दिन गिब्सनका मानिसहरू भारत आए। परिक्रमाका सोनाम शेर्पाको हातमा ब्रान्डेड लेसपल गिटार थमाए र घोषणा गरे, ‘अबदेखि सोनाम लेसपलको भारतीय अम्बासेडर।’ त्यसपछि त सोनामको हातमा लेसपल छुट्दै छुटेन।

यसो त परिक्रमा रक एण्ड रोल-को भारतीय रोलमोडल व्यान्ड त हो नै। यो जनरमा विश्वमा नै भारतीय स्वादको सङ्गीत पस्किने र फरक स्वादकै कारण चर्चित बन्ने सौभाग्य पनि परिक्रमालाई नै छ। सोनाम भने त्यही स्वाद नेपालीमा पनि दिने हो कि भनेर सोचिबस्ने सङ्गीतकार थिए।

स्टेजको लती

सपना खोज्न घर छोडेर निस्किएका सोनामले आफ्नो सपना त भेटे तर त्यसले  ‘गाउँ घरको याद’-को लती बनाए। विश्वको कुनै पनि मोडमा गाँउठाउँको कुनै पनि व्यक्ति भेट्टाइहाले पुग्यो, नोस्टाल्जियमा हराउन सोनामलाई काफ्फी।

घर छोडेर बाहिरिने र यस्तो नोस्टाजिअमा जिउनेहरूको लागि उनको दिदीले गीत लेखिन्, सोनामले सङ्गीत भरे, बस बनियो –यात्री। उनको यात्री गीत निक्कै सुनिएको नेपाली गीत हो। यहाँसम्म कि सोनामले त बोली नफुठेका आफ्नो बच्चाको तोते बोलीको समेत गीत बनाएका छन्। संसारभरका आमाबाबाले रुचाएको गीतमा त्यो पनि पर्छ।।

एक पत्रकारले सोनामलाई सोधेको थियो, ‘यत्रो फेमस परिक्रमाले एल्बम चैं किन ननिकालेको?’

‘एल्बम निकालेर गीत सुनाइयो भने दर्शकलाई मञ्चीय स्वादको लती कसरी बनाउने त?,’ सोनामको यस्तो उत्तर होला भनेर कसले सोच्ला त?

यस्ता थिए सोनाम।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया