बबिता मादेन-को ‘प्रश्नको कठघरामा भागोप’ –माथि प्रश्न

विज्ञापन

खण्डन

भागोप अध्यक्ष सुखमन मोक्तान ज्यू भन्नेगर्नुहुन्छ ‘भागोप भनेको गोवर्धन पर्वत हो। जसरी श्रीकृष्णले औंलामा गोवर्धन पर्वत उठाएर मथुरा, गोकुल र वृन्दावन वासीहरूलाई जलवृष्टिबाट बचाउनु भएको थियो त्यसरी नै हामीले पनि भागोपलाई काधमा उठाएर गोर्खा जातिलाई बचाउनु पर्छ। नत्र मर्ने बेलामा हाम्रो सास जाँदैन, रोकिन्छ । जनता जनार्दन भनेको देवी-देउता हो। हामीले जनतालाई फर्मान जारी गर्ने होइन, जनताको फर्मान हामीले सुनेको हुनु पर्छ।’ अध्यक्षका यीनै कुराले बबिता ज्यूको.. ‘ स्वतन्त्र, निष्पक्ष राष्ट्रिय स्तरको सङ्गठनहरुको अकाल हुनु गोर्खाहरुको निम्ति अर्को दुर्भाग्यपूर्ण कुरा पनि हो’ भन्ने कुराको खण्डन गर्छ।


ओम प्रकाश बस्नेत


‘खबर म्यागजिन’मा छापिएको बबिता मादेन ज्यूको ‘प्रश्नको कठघरामा भागोप’ शिर्षक लेखमाथि भागोपको पक्षबाट केही कुरा राख्न चाहान्छु। कुनैपनि सङ्घ-संस्था तथा व्यक्ति विशेषले गरेको काम औँ उसको भविष्य कार्यप्रणाली बारेमा जिज्ञासा राख्ने अथवा प्रश्न गर्ने अधिकार सबैको हुन्छ।

किनभने भारतवर्ष एउटा लोकातान्त्रिक देश हो र यहाँ सबैले आफ्नो आफ्नो विचार व्यक्त गर्ने अधिकार पाएका छन्। भागोप एउटा सामाजिक संस्था हो तसर्थ समाजका प्रत्येक व्यक्तिको कुरा सुन्ने यसको उत्तरदायित्व पनि हो। मादेनज्यूले भागोपलाई तेर्साएका प्रश्नहरूलाई भागोपले सकारात्मक ढङ्गले लिएको छ र यसैको आधारमा आत्मचिन्तन पनि गर्ने छ ।

सकारात्मक समालोचना (constructive criticism)-लाई भागोपले सँधै मागदर्शनको रूपमा लिएको हुन्छ, त्यसैले भागोपको विषय सञ्चार माध्यममा उठान गरिदिएकोमा मादेनज्यूलाई भागोपको तर्फबाट धन्यवाद पनि दिन चाहन्छौँ। साथै वहाँले भनेको “उसो त वर्तमानमा सर्वभारतीय स्तरमा गोर्खा समुदायलाई प्रतिनिधित्व गर्ने सङ्गठन भनेको भारतीय गोर्खा परिसङ्घ नै हो।” भन्ने कुराको सराहना पनि गर्दछौँ।  किनभने आजको तारिकमा ‘हामी गोर्खाहरूको राष्ट्र स्तरको सङ्गठन हौं’ भन्ने धेरै संस्था-सङ्गठन हुँदाहुँदै पनि भागोपलाई नै सर्वभारतीय स्तरको संस्था मान्नु भनेको भागोपप्रति गोर्खा समुदायको आस्था भएको कुरा नै दर्शाउछ।

विशेषगरी वहाँको लेखमा भर्खरै असमको गुवाहाटीमा सम्पन्न भएको ‘भारतीय गोर्खा परिसङ्घ’को २० औं राष्ट्रिय परिषद् सभामा पारित भएका सात बुँदे घोषणापत्रभित्र समेटिएका बुँदाहरुमाथि समीक्षात्मक तरिकाले प्रस्तुत गरिएको भए तापनि धरैठाउँमा साधारण तवरमा भागोपमाथि नै प्रश्न तेर्साएको पाइन्छ।

यो दुइटा कारणबाट उत्पन्न भएको हो भन्न सकिन्छ, पहिलो कारण भागोपको बारेमा वहाँको पूर्ण जानकारीको अभाव र दोस्रो साधारण लेखन शैलीको प्रयोग। वहाँ एकठाउँमा लेख्नुहुन्छ ‘भारतमा ढेड करोड गोर्खा छौँ भन्दै हल्ला गर्ने हामीभित्र बलियो, मजबुत, स्वतन्त्र, निष्पक्ष राष्ट्रिय स्तरको सङ्गठनहरुको अकाल हुनु गोर्खाहरूको निम्ति अर्को दुर्भाग्यपूर्ण कुरा पनि हो ।’ यहाँनेर बबिताज्यूलाई भन्न चाहन्छु कि वहाँले कल्पना गरेजस्तो बलियो र मजबुत नभए तापनि ‘भारतीय गोर्खा परिसङ्घ’ एउटा स्वतन्त्र र निष्पक्ष सङ्गठन चाँहि अवश्य पनि हो र मजबुत र बलियो बन्नका लागि यसले काम शुरु गर्दै आफ्नै संविधानको ढाँचा भित्र ‘भारतीय गोर्खा (महिला) परिसङ्घ’,  ‘भारतीय गोर्खा (युवा) परिसङ्घ’, ‘भारतीय गोर्खा (सांस्कृतिक) परिसङ्घ’, ‘भारतीय गोर्खा(कानुनी) परिसङ्घ’, जस्ता प्रकोष्ठहरू गठन गरेर काम शुरु गरिसकेको छ।

आउने दिनहरूमा ‘साहित्यिक प्रकोष्ठ’, ‘खेलकुद प्रकोष्ठ‌’, ‘बुद्धिजीवि प्रकोष्ठ’,  आदि गठन गरेर भारतेली गोर्खाहरूको सर्वाङ्गीण विकासका लागि काम गर्ने संकल्प लिएको छ।

‘च्याँ देखि चिहानसम्मको साथी, तिम्रो आफ्नो जाति’ भन्ने कुरालाई अहोवाक्य मानी समाजका हर वर्गका व्यक्तिहरूको अभिभावक सङ्गठनका रूपमा काम गर्ने अठोट लिएको छ ‘भारतीय गोर्खा परिसङ्घ’ले। २००१ वमा मिजोरामको आइजोलमा गठन भएको ‘भारतीय गोर्खा परिसङ्घ’ आज २० वर्षीय तरूण अवस्थामा पुगेको छ।

तीन तीन चोटी,पूर्व सांसद तथा भाषा सङ्ग्रामी श्रद्धेय दिलकुमारी भण्डारीज्यूको सभापतित्वमा रहेको ‘भारतीय गोर्खा परिसङ्घ’ले भारतीय गोर्खाहरूको लागि केहीपनि गरेको छैन भन्ने कुराचाहिँ सरासर गलत हो। किनभने आफ्नो जन्मलग्नदेखि नै जब-जब भरतमा गोर्खा जाति अप्ठ्यारोमा परेको छ तब तब भागोपले आफ्नो तरिकाले केही न केही गरेकै छ।

त्यो चाहे भारतमा गोर्खा अस्तित्व रक्षाको सङ्ग्राम होस् अथवा गोर्खाल्याण्ड आन्दोलनको जुलुस, असमको एनआरसी, डी भोटर्स र भूमि अधिकारको समस्या होस् या उच्चतम न्यायालयमा मुद्दा हाली कानुनी सहायताको वकालत, मणिपुरमा ‘मणिपुर पिपुल्स बिल होस् या अरूणाचलमा चलेको ओबीसी समस्या, त्रिपुरा, मेघालय,  नागालेण्ड, उत्तराखण्ड अदिमा आइपरेका गोर्खाहरूको समस्या समाधानका लागि पनि काम गरिनै रहेको छ भारतीय गोर्खा परिसङ्घले।

भारतको संसद परिसरमा मेजर दुर्गा मल्लको सालिक खडा गर्नु पनि भारतीय गोर्खा परिसङ्घको एक महत्त्वपूर्ण उपलब्धिको रूपमा गनिएको छ। बबिताज्यूले आशा गरे जस्तो नहोला हो, तर भारतीय गोर्खा परिसङ्घले आफ्नै ढाँचामा भारतीय गोर्खाहरूको लागि निरन्तर काम गरिनै रहेको छ। हजुरहरू जस्ता सक्षम र दायित्वशील पत्रकारहरूको साथ-सहयोग पाए यो मुहिमले अझ रफ्तार पक्रिने थियो भन्नेमा आश्वस्त छ भारतीय गोर्खा परिसङ्घ।

बबिताज्यू लेख्नु हुन्छ..’गोर्खा जातिले आज जुन विपत्तिको सामना गर्नु परिरहेको छ त्यो कहीँ न कहीँ मात्रामा आफ्नै मिल्न नसकेको विचारको प्रतिफल हो ।….यसरी टुक्रा टुक्रामा विभाजित छरपस्ट परेको जातिलाई एक सुत्रमा बाँध्ने पहल गर्नु भागोप जस्तो अविभावक सङ्गठनको दायित्य हुदैन र?’ यही समस्याको समाधान खोज्न ‘भारतीय गोर्खा (सांस्कृतिक) परिसङ्घ’ले धेरै कार्यक्रमहरू हातमा लिएको छ।

गोर्खा महाजातिभित्र भएका स-साना जनगोष्ठीहरूलाई सांस्कृतिक रूपमा एकशुत्रमा बाँधी राख्नलाई “भारतीय गोर्खा परिसङ्घ’ले आउने दिनहरूमा “राष्ट्रिय गोर्खा महोत्सव”, ‘अन्तर्राष्ट्रिय गोर्खा सांस्कृतिक सम्मेलन’, आदि कार्यक्रमहरू अनुष्ठित गर्ने जमर्को कसेको छ। युवा परिसङ्घले देशभरिकै युवालाई जोडेर राष्ट्रस्तमा सेमिनार, वर्कसप आदि गर्ने पनि अठोट लिएको छ। त्यसरी नै महिला परिसङ्घले देशभरिकै गोर्खा महिलाहरूलाई सबल र सक्रिय बनाउन विभिन्न प्रकारले आफ्ना कार्य गर आएका छन्।

बबिताज्यूको लेखको शीर्षक ‘प्रश्नको कठघरामा भागोप’ भए तापनि वहाँको लेखले धेरजसो ठाउँ गोर्खा समाजमा पन्पिएका विभिन्न समस्या र त्यसको लागि हामीले चलाउनु पर्ने कदमबारे कुराहरूलाई लिएर नै ओगटेका छन्। कलमको शक्ति अपार हुन्छ, र वहाँहरूको यस्तो प्रगतिशील कलमले गोर्खा समाजमा परिवर्तन निश्चित रूपमा ल्याउँछ भन्ने आशा गर्न सकिन्छ।

बबिताज्यूको यो कुराले वहाँको भागोपप्रति रहेको आस्था नै  प्रकट हुन्छ। वहाँ लेख्नुहुन्छ.. ‘भारतीय गोर्खाहरुको धेरै लामो राजनीति, सामाजिक इतिहासमा हालसम्म विभिन्न राजनैतिक दलहरुलाई टक्कर दिन सक्ने कुनै सङ्गठन जन्मन सकेन या त जन्मेर पनि हुर्कन सकेन जसको कारण जातिको प्रत्येक क्रियाकलापमाथि राजनीति नै हावी भइरह्यो अनि गोर्खा समुदायले आफ्नो समस्या उन्मुलन हेतु सदैव राजनीति कै अनुहार ताकिरहनु पर्ने बाध्यता पनि बनिरह्यो, बनिरहेको छ । यस दृष्टिले दुबो बनी भागोपले आफुलाई निरन्तरता दिइरहेको छ भलै आफ्नो सक्रियताले अरुको ध्यानाकर्षित गरोस्-नगरोस्।

यो पनि सत्य हो, टाढाबाट हेरेर अरुको गल्ती खुट्यानु अथवा निर्देश दिइरहनु सजिलो हुन्छ तर जो मैदानमा छ उसलाई नै थाह हुन्छ कि मैदानमा उत्रिएर अभ्यास गर्नु कति पसिना बगाउनु पर्छ ।’

भागोपका वर्तमान सभापति सुखमन मोक्तान बडा अफसोचका साथ भन्नेगर्नुहुन्छ…..’गोर्खा जातिले अभिसाप पाएको छ। त्यसैले यो जाति कहिले एक भएर लड्न जानेन। आफ्नो यत्रो बलियो इतिहास हुँदाहुँदै पनि गोर्खाहरूले आज चिन्हारी समस्यामा जुझिरहनु परेको छ।’

भारतमा आफैलाई गोर्खाहरूको एकमात्र राष्ट्र स्तरको संस्था हो भन्ने स-साना संस्था धेरै भए तापनि आजको तारिकमा भागोप मात्रै यस्तो एउटा संस्था हो जसले काम गरेरै राष्ट्र स्तरको संस्थाको प्रतिष्ठा पाएको छ। भारत वर्षको २२ वटा राज्यमा समिति भएको भागोपले आफ्ना सबै कार्यक्रमहरू सफलता पूर्वक निर्धारित समयमै गरिआएको छ।

‘आजसम्मको अधकल्चो मुद्दाहरु, जातिभित्र अन्योलताको स्थिति, जातिमा एकाग्रता हिनता, मुल मुद्दालाई प्रभावशाली ढङ्गमा सरकार समक्ष प्रस्तुत गर्न नसक्नु यी सबै सठिक नेतृत्वको अभावको नतिजा हुन् ।’ बबिताज्यूको यो कुरमा हामी एकमत छैनौँ। किनभने भागोपमा आज सठिक नेतृत्वको अभाव छैन। अरू सङ्गठनहरूको बारेमा हामीलाई केहीपनि भन्नु छैन तर भागोप आज सही र सठिक नेतृत्वको साथ अघि बढिरहेको छ।

भागोप अध्यक्ष सुखमन मोक्तान ज्यू भन्नेगर्नुहुन्छ ‘भागोप भनेको गोवर्धन पर्वत हो। जसरी श्रीकृष्णले औंलामा गोवर्धन पर्वत उठाएर मथुरा, गोकुल र वृन्दावन वासीहरूलाई जलवृष्टिबाट बचाउनु भएको थियो त्यसरी नै हामीले पनि भागोपलाई काधमा उठाएर गोर्खा जातिलाई बचाउनु पर्छ। नत्र मर्ने बेलामा हाम्रो सास जाँदैन, रोकिन्छ । जनता जनार्दन भनेको देवी-देउता हो। हामीले जनतालाई फर्मान जारी गर्ने होइन, जनताको फर्मान हामीले सुनेको हुनु पर्छ।’

अध्यक्षका यीनै कुराले बबिता ज्यूको.. ‘ स्वतन्त्र, निष्पक्ष राष्ट्रिय स्तरको सङ्गठनहरुको अकाल हुनु गोर्खाहरुको निम्ति अर्को दुर्भाग्यपूर्ण कुरा पनि हो’ भन्ने कुराको खण्डन गर्छ।


लेखक भारतीय गोर्खा (सांस्कृतिक) परिसङ्घको राष्ट्रिय संयोजक हुनुहुन्छ

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया