मोदी राम, ममता सिता र दार्जीलिङ लङ्का : कठपुतलीहरू नाचिरहेछन्

विज्ञापन

विचार

दार्जीलिङदेखि दिल्लीसम्म ,कालेबुङदेखि कोलकत्तासम्म नै स्वामीभक्त दार्जीलिङे हनुमान राम,सिता ,लक्ष्मणहरु काँधमा बोकेर उडिहिँडेको छ । अथाह क्षार समुद्रमा आफ्नै बलबर्कत तुहाएर आफ्नो मालिकको नामले सेतु बुन्ने हनुमान इतिहासदेखि निखोज छ । हिज पनि । आज पनि भिन्न छैन् । रामको नामको महिमा र इतिहासलाई बाँचीबर्कत राँख्न् हनुमानहरु सदैव इतिहास बनेका छन् । आज रामकै नाममा यो देशमा राजनीतिक संस्कृति धान्न पनि बेनामी हनुमानहरुको भूमिका र योगदान अतुल्य नै छ । रामायण राजनीतिसम्म सिमित भइसकेको अवस्था छ । धर्म र संस्कृतिले राजनीतिको बाटो हुँदै देशको संसदसम्म ठाउँ पाएको छ । तर स्वामीभक्त हनुमानहरु जहिल्यै राजनीतिको व्याख्या र अध्ययनदेखि टाढा छन् ।


विशाल राई टिस्टा


तिर्खामाथि राजनीति

धेरै वर्ष अघि प्राथमिक पाठशाला घोक्ने क्रममा  गोर्खे जीपको कथा पढेको, आज सम्झना चल्छ । दार्जीलिङमा पानी बोकेर गुडाउने काठे हाते गाढीलाई गोर्खे जिप भनिन्थ्यो । आज पनि दार्जीलिङमा पानीको बिगबिगी उस्तै छ । गोर्खे जीपको स्थान आधुनिक आइसर र पिकअपले लिएको छ । पानीको राजनीति र अर्थनीतिको कथा उही पुरानो छ । शहर र मुखमा प्रशस्ती पानी नभए पनि दलहरुको चुनाव घोषणा- पत्र र भाषणहरुमा जल देवता रमाएकै छन् । पार्टी र नेतृत्व आधुनिक आइसर र पिकअप झैँ परिवर्तन छ । झोडा र खोल्चामै मुख गाडेर तिर्खा मेटाउनु पर्ने उही पुरानो बाध्यता छँदैछ । तिर्खामाथि राजनीति चल्छ । राजनीतिले तिर्खालाई संचय गर्छ । घर जस्केलोमा टिस्टा ,बालासन बोकेर दार्जीलिङ सँधै काकाकुल छ । गोर्खाहरुको विडम्बना कस्तो राजनीति पनि तिर्खाको नयाँ नयाँ शिलन्यास गर्ने भइदियो ।

हनुमान अवतार

आजको प्रसंग गोर्खे हनुमानको हो । स्वामीभक्त र आरध्य भक्तिको प्रसङ्ग उठ्नासाथ हिन्दु धर्ममा पवनपुत्र हनुमानको ख्याती पहिलो दर्जामा आउनेगर्छ । हनुमानको यो स्ट्याटसलाई अहिलेसम्म कुनै पात्रले पेल्न सकेको छैन । यतिबेला दार्जीलिङ पाहाडको अवस्था हनुमानको नाकसोझो छ । केन्द्रमा रामको सरकार छ । जानी नजानी कसैले पुच्छरमा फुकिदिएको आगो बोकेर हनुमानले मुद्दाको लङ्का बाल्दै उडिहिँडेको छ -अहिले । केन्द्रमा रामको सत्ता (सिता)फर्काइ ल्याउन उही पुरानो कार्यक्रम छ हनुमानसित।

अचेल दार्जीलिङदेखि दिल्लीसम्म ,कालेबुङदेखि कोलकत्तासम्म नै स्वामीभक्त दार्जीलिङे हनुमान राम,सिता ,लक्ष्मणहरु काँधमा बोकेर उडिहिँडेको छ । अथाह क्षार समुद्रमा आफ्नै बलबर्कत तुहाएर आफ्नो मालिकको नामले सेतु बुन्ने हनुमान इतिहासदेखि निखोज छ । हिज पनि । आज पनि भिन्न छैन् । रामको नामको महिमा र इतिहासलाई बाँचीबर्कत राँख्न् हनुमानहरु सदैव इतिहास बनेका छन् । आज रामकै नाममा यो देशमा राजनीतिक संस्कृति धान्न पनि बेनामी हनुमानहरुको भूमिका र योगदान अतुल्य नै छ । रामायण राजनीतिसम्म सिमित भइसकेको अवस्था छ । धर्म र संस्कृतिले राजनीतिको बाटो हुँदै देशको संसदसम्म ठाउँ पाएको छ । तर स्वामीभक्त हनुमानहरु जहिल्यै राजनीतिको व्याख्या र अध्ययनदेखि टाढा छन् । धर्म र संस्कृति राजनीतिको विषय होइन भन्नेहरु आधुनिक विश्वविध्यालयका हिप्पोक्रेट हुन् । अर्थनीति र जनताका बुनियादी विकासका प्रश्नहरु लगभग धर्मका सेलेबस बनिसकेका छन् । यसलाई राजनीतिको अधिकार क्षेत्रभित्र देख्नेहरु देशविरोधीका कित्तामा उभिएका छन् । वर्तमान भारतको नाकनक्शा विश्व परिवेशमा यस्तै दरिएको छ । राम काँधको धनु फ्याकेर देशको संसदभरि भरमार पसिसकेका छन् । यता निर्धा हनुमानहरु पुच्छरमा आगो बोकेर रावण र लङ्का खोजिहिँडेका छन् । 

तिमी त यहाँ नचिनिने भइसकेछौं

नेपालमा केही वर्ष अघि एउटा चलचित्रले निकै ख्ताति पिट्यो । पशुपति प्रसाद । काठमाडौंको बाग्मती नदी किनारको मन्दिरघाटमा पर्यटकहरुलाई मनोरन्जन दिएर पैसा जोहो गर्ने गर्दथे हनुमान । अन्तमा अभिनय गर्दै गर्दा लाश पोल्ने घाटमा मानिसको जीवनको वास्तविक दु:खजिलो भेटेपछि अभिनय छाडेर वास्तविक संसारमा फर्किन्छन् – हनुमान । आँखाभरि आँशुको ढिक्का फोडेर हनुमान घाटदेखि शहर पसेको देख्दा दार्जीलिङले पुच्छर फ्याँकेर डढेको अनुहार छाम्दै रोएको कल्पना गरेको छु ।

जातीय कवि अगमसिंह गिरीले भनेर गएका अहिले सम्झिरहेको छु – तिमी त यहाँ नचिनिने भइसकेछौं । आज दार्जीलिङले गिरीलाई औषधीभन्दा पनि चेताउनी मान्नुपर्ने आवश्यक्ता यसै कारण पनि महत छ । नत्र गिरीलाई पनि हामीले हाम्रो भागको निर्धा राजनीतिको लुले हनुमान बनाउँने तर्खरमा छौं । गल्छेडी र पाखाभित्तामा गिरीको सालिग ठड्याएर सञ्जीवनी कुरेर हामीले गिरीकै चेतना र चेताउनीलाई चिहान  खन्ने काम गरिरहेका छौं ।

थरीथरीका हुनुमान

वर्तमान दार्जीलिङ पाहाडको राजनीति भनेको दुइवटा सरल कित्तामा विभाजित छन् । दुइथरिका गोर्खे हनुमानहरु छन् -दार्जीलिङमा । एकथरी कोलकत्तामा किल्ला गाडेका छन् । अर्काथरी दिल्लीको रामभरोसामा छन् । एउटा कोलकताको बोझले निरिह छन् । अर्का दिल्लीको दयाको आशमा लुब्ध छन् ।  यी दुइ गुटमा कोलकत्ता र दिल्लीमाझ बाँडफाड राजनीतिक महत्वाकांक्षा र अवस्था छ – गोर्खे हनुमानहरुको । कसैले दिल्ली बोकेका छन् । कसैले कोलकत्ता बोकेका छन् । कसैले ममतालाई सिता मानेका छन् । कसैले मोदीलाई राम । दार्जीलिङ लङ्का बनेको स्थिति छ ।

दिल्लीको आफ्नै राजनीतिक एजेण्डा छ । कोलकत्ताको आफ्नै राजनीतिक महत्वाकांक्षा । दिल्ली र कोलकत्ताको आफ्नै राजनैतिक सङ्घर्ष छ । दिल्ली र कोलकताको  निम्ति दार्जीलिङ हनुमान बनेको छ । भारतमा छुट्टै राज्य गोर्खाल्याण्डको माग अल्पसंख्यक गोर्खा जातिको संवैधानिक हकदावी हुन् । त्यही राजनैतिक माग हासिल गर्न ८० को दशकदेखि लगातर विभिन्न कालखण्डमा विभिन्न राजनैतिक दल र नेतृत्ववर्गको अगुवाइमा जनान्दोलन हुँदै आएको हो । अलग राज्य गोर्खाल्याण्डको माग पश्चिम बङ्गालको राजनैतिक ,प्रशासनिक आदि सिमाबाट बाहिरिने माग पनि हो । दार्जीलिङ पहाड ,तराई , डुवर्स  गोर्खाल्याण्डको हकदावी क्षेत्रमाथि बङ्गाल राज्य ,अधिकांश बङ्गाली समुदाय , बङ्गालवादी राजनैतिक दल र नेतृत्ववर्गको भौगोलिक , आर्थिक , राजनीतिक स्वार्थ छ । गोर्खाल्याण्डको मागमा उठेको जस्तै जनान्दोलनलाई कि त पुलिस प्रशासनिक तन्त्र कि त दागोपाप , जीटीए जस्ता नाम मात्रको स्वायत्ता (कानून्, वित्तिय , प्रशासनिक , राजनैतिक नीति निर्माण र निर्णयको अधिकारदेखि वञ्चित ) व्यवस्था प्रदान गरेर राज्यले कुँजे गर्दै आइरहेका छन् । कि त आन्दोलनकारी समुह वा दलमाझ पैसा , पद ,पावरको अत्तर छर्किएर आपसी फुट ल्याएर आन्दोलनलाई राज्यको पक्षमा ल्याइने पुरानो चलनचल्ती छँदैछ ।

गठबन्धन र गोप्य खेल

८० को दशकमा गोरामुमो र सुवास घिसिङदेखि लिएर २००७ ,२०१३ ,२०१७ -मा विमल गुरुङ र गोजमुमोको आन्दोलनको अवस्था त्यहीँ हो । कोलकत्ताको राजनैतिक एजेण्डा भनेको अलग राज्य गोर्खाल्याण्डको मागमा उठ्ने हरेक आवाज र जनान्दोलनलाई किन्नु कि त बेच्नु हो । पद, पैसा , पावर खर्चिएर किन्नु । राज्यमुन्तिरको नीति निर्माण र निर्णयबिनाको ,संवैधानिक सुरक्षा , मान्यताबिनाका व्यवस्थाहरु दिएर । आन्दोलनकारी समुहसँग गठबन्धन कसेर गोप्य रुपमा दार्जीलिङको आगो सल्काउँदै निभाउँदै राज्यमा राजनैतिक फाइदा सेक्नु हो । ८० -को दशकमा  केन्द्रमा काङ्ग्रेस सरकारको मिलोमतोमा बङ्गालमा माकपा फोड्ने अभियान कै उपजको रुपमा सुवास घिसिङ र उनको आन्दोलनलाई धेरैले शङ्का रोपेका छन् ।

पछिबाट केन्द्र सरकारको राजनैतिक हस्तक्षेपमा दागोपापको त्रिपक्षीय सम्झौतामा पसिसकेपछि बङ्गालको राजनैतिक एजेण्डालाई सुबास घिसिङ र गोरामुमोले २ दशकसम्म काँधमा बोकेका हुन् । दागोपापलाई गोर्खाल्याण्डको भऱ्याङ घोषणा गर्ने सुबास घिसिङले २० वर्षसम्म राज्यको एजेण्डामा शासन गरे । गोर्खाल्याण्ड राज्य सङ्घर्षको निम्ति कुनै राजनैतिक मार्ग अख्तियार गरेनन् । अपितु दार्जीलिङबाट उठ्ने प्रतिपक्षहरुको राज्यको विरोधको धारलाई भुत्ते पार्ने राज्यको काम नै गरे । क्षेत्रीय शासन र राजनैतिक अधिकारको मार्गमा राज्य सरकारको सहमतिमा २००६ मा जातिय विभाजनकारी छैटौं अनुसूचिलाई उठ्दो राज्यको भावना र दागोपापप्रतिको वैराग्यलाई थान्को मार्ने काम गरे । २००७ सालमा गोरामुमो र सुबास घिसिङको प्रतिपक्षमा उठेको गोजमुमो र विमल गुरुङलाई राज्य सरकारकै उपज मान्छन् । राज्य सरकारले दार्जीलिङ पाहाडमा सुबास घिसिङ र दागोपापप्रति उठेको विरोधी स्वरलाई सुबास घिसिङलाई च्युत पार्ने विमल गुरुङलाई स्पेस दिएको मानिन्छ। विमल गुरुङसम्मलाई सुबास घिसिङको प्रतिपक्ष प्रशस्तै राजनैतिक र प्रशासनिक स्पेस दिएको अघिल्ला घटनाहरुले प्रष्ट देखिन्छ ।

दार्जीलिङको विरोधी जनभावनालाई घिसिङले राज्यको पक्षमा थेग्न नसक्ने खतरा देखेपछि विमल गुरुङको मार्ग प्रशस्ती राज्य सरकारले गरेको देखिन्छ । विमल गुरुङलाई दार्जीलिङको राजनीतिक मैदानमा स्थापत्य गरेर अलग राज्यको भावनालाई जीटीएमा परावर्तन गर्ने अवस्थासम्म राज्यकै उपज हुन् । सुबास घिसिङ र गोरामुमो जस्तै विमल गुरुङ र गोजमुमोले दार्जीलिङ पाहाडको जनाक्रोशलाई भरथेक गर्न नसक्दा सम्झौताको छोटो समयमा आपसी कलहको निर्माण भएको हो । सुबास घिसिङलाई लिएर माकपा राज्य सरकार जति नरम देखिए तत्काल केन्द्रको काङ्ग्रेस मौन देखिए । तर बिमल गुरुङलाई लिएर तृणमूल राज्य सरकार बढी अनम्य देखिए । माकपा जस्ता लचिलो देखिएनन । फलस्वरुप राज्य सरकारको हस्तक्षेपी हेजिमोनिक कडा अख्तियारले गर्दा विमल गुरुङको भाजपा नेतृत्वको केन्द्रतिर सम्बन्ध विस्तार भयो ।

दुइ दुइपल्ट दार्जीलिङबाट खुरुखुरु दुइजना भाजपा सांसद संसद छिराउने विमल गुरुङ भाजपा केन्द्र सरकारको काँध  बनेपछि राज्य सरकारसँग दुरी बढ्दै गएको हो । केन्द्रतिर बढी झुकाव बढेकाले राज्य सरकारले विमल गुरुङलाई लिएर दार्जीलिङ पाहाडमा आफ्नो राजनैतिक महत्वाकांक्षा खतरामा देखेपछि आन्दोलनकै आगोमा पानी हालेर विनय तामाङको विकल्प निर्माण गरे । विमल गुरुङले भाजपा र केन्द्र सरकारको दर्बिलो राजनैतिक सहकारिता नपाएको मौका हात पारेर दार्जीलिङको राजनीतिबाट पलायन पारे । अहिले बिनय तामाङ र वर्तमान जीटीएले बोकेको एजेण्डा भनेकै राज्य सरकारको दार्जीलिङलाई लिएर शुरुदेखि राजनैतिक महत्वाकांक्षा नै हुन् । विनय तामाङ र जीटीएको वर्तमान केन्द्र सरकार सरकारसँगको पौठेजोरी पनि राज्यसँगको अन्तरसम्बन्ध कै परिणाम त हुन् । विनय तामाङ र जीटीएको भविष्य पनि राज्य सरकारको पोलिटिकल एजेण्डालाई काँध हालिदिएको दिनसम्म मात्र मान्नसकिन्छ ।

सुबास घिसिङका विरोधमा जस्ता राजनैतिक जनविरोध उर्लेका खण्डमा उनको सत्तालाई राज्यले ढाल्न स्पेस तयार गर्ने हुन् । कि त राज्य विरोधी शक्तिसँगको चलखेल विमल गुरुङले गरे जस्ता गरे प्रशासनिक तन्त्रले घेराबन्दी पारेर पलायन पार्ने हुन् । यो निश्चित छ । जे होस् सुबास घिसिङदेखि लिएर बिमल गुरुङ हुँदै विभिन्न समयमा राज्यकै हनुमान हुने राजनैतिक चलन विनय तामाङसम्म यथावत छ । राज्यकै बलवर्कत र राजनैतिक अनुग्रहमा नाम मात्रको स्वायत्ताको  क्षेत्रीय शासन सत्ता भरथेग गर्नु नै यस्ता राज्यमुखी दलहरु र नेतृत्ववर्गको राजनैतिक अभ्यास देखिएको छ । हिज घिसिङको अनुहार पछिल्लो समय विमल गुरुङ थियो । हिजको विमल गुरुङको अनुहार आज विनय तामाङले भिरेका छन् । राज्य सरकारको चरित्र र नीतिमा हिज र आज आंशिक फरक देखिन्छ । तर दार्जीलिङ पाहाडलाई लिएर राज्यको पोलिटिकल एजेण्डा त्यहीँ छ । हिज माकपाले सुबास घिसिङको हिंसात्मक आन्दोलनलाई राज्यको पुलिस तन्त्र ,केन्द्रको सीआरपीएफ, इन्टेलिजेन्स आफ्नो भागको राजनीति प्रयोग गरेर प्रतिरोध गरे । राष्ट्रीय परिदृश्यमा गोर्खाल्याण्ड आन्दोलनलाई राष्ट्रविरोधीको पहिचान दिने राजनैतिक कुकृत्य रचना गरे ।  दार्जीलिङ पाहाडभित्रै एउटै जातिसत्ताबीच माकपा र गोरामुमोको राजनैतिक विभाजन कोरेर आन्दोलनलाई दुर्बल पार्ने राजनैतिक दावपेच कसे ।

कठपुतलीहरू 

कठपुतली-1 : दार्जीलिङ गोर्खा पार्वत्य परिषदमा गोर्खाल्याण्डको हिंसात्मक आन्दोलनलाई थान्को लगाएपछि सुबास घिसिङलाई दार्जीलिङ पाहाडी तीन थुम्काको अघोषित राजा तुल्याए । सुबास घिसिङ र गोरामुमोलाई दागोपापको मालिक दराए । दागोपापको सम्झौता अनुरुप चुनाव गराएनन । दार्जीलिङ पाहाडमा पञ्चायत चुनावको ढोका बन्द गरिदिए । सुबास घिसिङले चुनाव चाहेनन् । प्रशासकको मियाद थप्दै सुबास घिसिङलाई दागोपापको चौकीमा राखे । चुनावको बाटो भएर अन्य राजनैतिक दल र नेतृत्वहरु दागोपाप उक्लन वञ्चित भए । विपक्षी राजनैतिक दलका नेतृत्वहरु साथै गोरामुमोका विद्रोही नेताहरुको हत्याको राज्य सरकारले खोजबीन गरेनन् । २० वर्षसम्म त्रिपक्षीय सम्झौता अनुरुप गठन गरिएको दागोपापको हरहिसाब गरेनन् । दार्जीलिङ पाहाडमा गोर्खाल्याण्डको जनभावनालाई कुल्चिएर राज्य सरकारको पोलिटिकल एजेण्डा बोके सुबास घिसिङले । दागोपापलाई राज्य सरकारले राजनैतिक हस्तक्षेपबाहिर पारेर सुबास घिसिङलाई प्रशस्त राजनैतिक स्पेस दिएका हुन् ।  पछिल्लो कालमा पनि जातीय विभाजनकारी , राजनैतिक वंशवादलाई प्रशय दिने छैटौं अनुसूचिको खेस्रामा हस्ताक्षर गरेर राज्य अन्तर्गतकै व्यवस्थालाई बोक्ने प्रयास गरे – सुबास घिसिङले ।

कठपुतली-2 : सुबास घिसिङकै राजनैतिक पाठशालाका उपज हुन – विमल गुरुङ । उनकै राजनैतिक कापबाट उम्रिएका हुन् – विमल गुरुङ । राज्य माकपाकै सुबास घिसिङप्रतिको राजनैतिक रोषका उपज विमल गुरुङ हुन् भन्ने धेरैको ठम्याइ छ । सुबास घिसिङलाई प्रतिपक्षका राजनैतिक नेतृत्वहरुले चुनौती दिने लायक दार्जीलिङ पाहाडमा नदेखिएकै हो । पार्टीभित्र सुबास घिसिङका दाहिने मानिने विमल गुरुङ माकपाको निम्ति उत्तम विकल्प थियो । विमल गुरुङले पनि गोर्खाल्याण्डको नाममा जनाधार सङ्ग्रह गरेर ,आन्दोलनको बाटो भएर जीटीएको सम्झौतामा राज्य सरकारसँग हस्ताक्षर गरे ।

त्यसपछि जीटीएको चुनाव जितेर राज्यभित्रको जीटीए व्यवस्था सञ्चालनमा बसे । यही बेला हो – विमल गुरुङले राज्य मुख्यमन्त्री ममता ब्यानर्जीलाई आमा भने । तर सुबास घिसिङ र माकपा राज्य सरकार जस्तो विमल गुरुङ र तृणमूल राज्य सरकारको राजनैतिक सम्बन्ध सुमधुर चल्न सकेन । राज्य सरकारको रफ् एण्ड टफ् नीति र विमल गुरुङको आक्रोशको राजनीति । माकपा र सुबास घिसिङको शालीनता र दुरदर्शिताको अन्तरावलम्बन राजनैतिक सम्बन्ध उल्टो विमल गुरुङ र तृणमूल राज्य सरकारको सम्बन्ध घम्साघम्सीमै बित्यो । त्रिपक्षीय सम्झौतामा पसेर राज्यभित्रको दागोपापमा बसेपछि सुबास घिसिङ राज्य सरकारसँग कहिले सोझो झडपमा गएनन् । राज्यलाई नै करबल विन्ती गरिरहे । छैटौं अनुसूचीको सम्झौतामा पस्दा पनि सुबास घिसिङले राज्य सरकारलाई अप्रोच गरिरहे । राज्यले पनि दागोपापको प्रशासनिक सिमा नाघेनन् ।

दार्जीलिङको राजनीतिमा सोझो हात हालेनन् । यो अन्योन्याश्रमको कुटनैतिक राजनैतिक बाटो थियो । यता जीटीए सम्झौताको छोटो अवधिमा जीटीएमा राज्य सरकारको हस्तक्षेप साथै दार्जीलिङ पाहाडमा राज्यको राजनीति विस्तारले गर्दा सम्बन्ध सामन्य रहेन । विमल गुरुङले राज्यभित्रकै जीटीए व्यवस्था जनताको विकासको निम्ति ग्रहण गरेपछि राज्यसँगको कुटनैतिक सम्बन्ध स्थापित गर्न पछि परे। तृणमूल राज्य सरकारले माकपा सरकारको उल्टो दार्जीलिङ पाहाडमा चाहेभन्दा बढी राजनीतिक हस्तक्षेप गर्ने हुँदा स्थिति प्रतिकूल बनेको हो । नत्र विमल गुरुङ र गोजमुमोले अलग राज्यको जनभावनालाई मासेर राज्यकै अधिन व्यवस्था बोकेर राजनीति गरेकै हो । राज्य सत्ताले पनि विमल गुरुङ र गोजमुमोको आन्दोलनलाई पुलिस तंत्र , राजनैतिक प्रपन्च , कानूनी दावपेच उधिनेर चिसो बस्तामा हुलेकै हो । त्यसपछि दागोपापको तुलनामा बढी पद,पैसा,पावर,प्रशासनको अधिकार चुली देखाएर आफ्नो स्वार्थ बोकाएकै हो । जीटीए सम्झौतापछि विमल गुरुङ र राज्य सरकारको राजनैतिक सम्बन्ध केन्द्रमा भाजपा नेतृत्वको सरकार गठनपछि झनै पात्लिएर गएको हो । राज्यमा भाजपाको राजनैतिक प्रभाव विस्तार र सत्ता मोहले दार्जीलिङ पाहाडलाई लिएर भाजपाको चासो लुर्कुना लागेको हो ।

कठपुतली-3 : साल २०१७ -को विमल गुरुङको आवेश र आवेगको आन्दोलनको परिणाम हुन् – विनय तामाङ । भारतीय जनता पार्टीको उक्साइमा परेर राज्यसँग सोझो राजनैतिक घम्साघम्सीमा सडकमा ओर्लिएको विमल गुरुङ उहीं भाजपाको साँप देख्दा बाहिर हातको नीतिले दार्जीलिङको राजनीतिबाट पलायन बन्नु पऱ्यो । भाषाको अतिक्रमणको विरोधको अन्तर्यमा वास्त्वमा जीटीएमा हस्तक्षेप र पहाडमा बढ्दो विपक्षी धाराको राजनीति नै आन्दोलनको मूल थियो । जीटीएको चुनावको तलवार पनि एउटा कारण थियो । विमल गुरुङको पलायनसँगै प्रशासनको बलप्रयोगमा आन्दोलन चिसो बनेपछि विमल गुरुङकै पार्टी पहिलो पंक्तिका नेतृत्व एक विनय तामाङले राज्यसँग मिलोमतो गरेर जीटीए हात पारे । राज्यकै राजनैतिक इच्छा र सहमतिमा आन्दोलनको कानूनी प्रपन्चमा परेर जीटीए बोकेको विनय तामाङहरु राज्य सरकारकै हनुमान हुन् । आन्दोलन र जनचाहना विपरित विनय तामाङले जीटीए बोके । यसैले विनय तामाङसँग जनाधार छैन । दुइ दुइपल्ट जनमत परिक्षामा चुनाव हारेका छन् । राज्य सरकारकै गोटी मान्छन् उनलाई दार्जीलिङ पाहाडका जनता । हुन पनि राज्यकै हुर्मतमा उनले विकासको राजनीति बोकेर हिँडेका छन् । कोलकत्तासँग जति उनी नजीक छन् ,दिल्लीदेखि बाह्र हात टाढा । उनको हाइकमाण्ड सोझो कोलकत्ता हुन् । राज्यसँग मिलेर दार्जीलिङ पाहाडमा विकास गर्ने उनको सिङ्गल एजेण्डा हुन् । वर्तमान राज्य सरकारको अनुग्रहमा उनले जनताले झारेको जीटीएको लिस्नु उक्लेका छन् ।

राज्य सरकारको इच्छाबाहिर उनले कुनै राजनीतिक कार्यक्रम गर्न सक्तैनन् । राज्यकै राजनीतिक सिमाभित्र उनले चलखेल गर्नपर्छ । त्यहाँदेखि बाहिर राजनीतिक चलखेल गर्ने सहास र स्पेस उनलाई छैन।

कठपुतलीका मालिक

१९८०- को दशकमा सुबास घिसिङ र गोरामुमोको राजनीतिक उदयपछि केन्द्रको काङ्ग्रेस सरकारको भूमिकालाई नकार्न मिल्दैन । बङ्गालमा कम्युनिष्टहरुको बढ्दो राजनीतिक विस्तार र चाप  केन्द्रको काङ्ग्रेसको कपाल दुखाइ थियो नै । रोयको अवसनपछि राज्यमा जनमत पात्लो बन्दै गरेको केन्द्रको काङ्ग्रेसी सरकारको निम्ति चिन्ताको कारण थियो । सर्वहारा आमजनतामा किलो गाढदै गरेको कम्युनिष्ट पार्टीलाई च्युत गर्न जनताको विश्वास हराउन थालेको काङ्ग्रेसको निम्ति अवसर पातलो हुँदै गरेको अवस्था नै थियो । यस्तोमा बङ्गालदेखि छुट्टै अलग राज्य गोर्खाल्याण्डको आन्दोलन भर्खरै राज्य सत्तामा उक्लिएको माकपा राज्य सरकारको राजनैतिक चिन्ताको विषय थियो ।

केन्द्रमा काङ्ग्रेस नेतृत्वको निम्ति अवसर । कम्युनिष्टहरुको निम्ति बङ्गाल राज्य सरकारको राजनैतिक समस्या बाल्ने गोरामुमो र घिसिङ तत्काल काङ्ग्रेसको निम्ति हतियार थिए । तत्काल काङ्ग्रेसी र कम्युनिष्टहरुको राज्य सत्ताको निम्ति राजनीतिक सङ्घर्षको बाटोमा काङ्ग्रेसीहरुको निम्ति दार्जीलिङ पाहाडको आन्दोलन राज्य सरकारलाई कमजोर पार्ने अवसर थियो । आन्दोलनकालमा दिल्ली र दार्जीलिङको सामिप्यता , केन्द्र सरकारको राज्यलाई मिचेर राजनीतिक हस्तक्षेपले यसलाई पुष्टि गर्दछ । पछिबाट केन्द्रको काङ्ग्रेसी सरकारले दार्जीलिङ पाहाडको निम्ति यूटी समेतको प्रस्ताव राख्दा मुख्यमन्त्री ज्योती बसुले बङ्गालमा ग्रेटर बङ्ग्लादेशको माग उठ्न सक्ने घुमाउरो सङ्केत गरेर विरोध गरेको पनि उल्लेख पाइन्छ । केन्द्रको काङ्ग्रेसले दार्जीलिङ पाहाडको आन्दोलनलाई विशेष चासोमा राखेको थियो । पछिबाट दागोपाप गठनपछि घिसिङ र गोरामुमोलाई राजनीतिक स्पेस त्यही राज्य सरकारले प्रदान गऱ्यो ।

केन्द्र सरकार , राज्य सरकार , गोजमुमोको आपसी राजनीतिक सहमतिमा जीटीएको गठनपछि विमल गुरुङ र गोजमुमोले राज्य सरकारबाट त्यो राजनीतिक स्पेस नपाएको हो । राज्य सरकारको दार्जीलिङको राजनीति र जीटीएमा निरन्तर हस्तक्षेपको फलस्वरुप दिल्लीले दार्जीलिङको आगोलाई निभ्न नदिएको हो । केन्द्रको भाजपा सरकारले अघिको काङ्ग्रेसीहरु जस्तै राज्य सरकारको विरुद्ध दार्जीलिङमा विशेष चासो राखेको हो । अघि जस्तै केन्द्रको भाजपा सरकारले बङ्गालको किल्ला भेद्ने अवसर र औजार दार्जीलिङ पाहाडलाई देख्यो । यसरी दिल्ली र दार्जीलिङको भूगोल कोलकत्ताभन्दा टाढा रहे पनि राजनैतिक सिमा सम्बन्ध नजिकिएर गयो । राज्य सरकार र जीटीए नेतृत्वको आपसी कलहले राजनैतिक दुरी तन्किएर गयो ।

केन्द्रमा भाजपा नेतृत्वको सरकार गठन भएयता दार्जीलिङको आगोलाई बालेर राज्यको तृणमूल सरकार विरुद्ध उग्र पार्दै लगेको हो । दार्जीलिङ पाहाडमा सल्किएको आन्दोलनको आगोलाई बालेर राजनीतिक ताप सेक्ने केन्द्रको भाजपा सरकार  दोहोरो फाइदामा देखिन्छ । दशकौं उमेरको भारतीय गोर्खा जातिको जनभावना र राजनीतिक मागलाई  समाधानको बाटो प्रशस्त गर्ने इमान्दार प्रयास केन्द्र सरकारको होइन । राज्य सरकारले बलजफ्ती प्रशासन र राजनीतिक बल प्रयोग गरेर थिचिराखेको भारतीय गोर्खा जनाकांक्षालाई केन्द्र सरकारले भुइँबाट टिपेर आफ्नै राजनीतिक फाइदाका निम्ति तृणमूल राज्य सरकारको विरुद्ध हालसम्म प्रयोग गर्दै आइरहेको अवस्था छ । जुन अभियानमा केन्द्र सरकार सफल छन् । विमल गुरुङ र गोजमुमो यस अभियानमा केन्द्रको अवसर र औजार बने । विमल गुरुङको राज्य सरकारसँगको दुरी नै केन्द्रको भाजपाको निम्ति दार्जीलिङ पाहाडमा चासोको विन्दु बन्यो । भाजपा केन्द्रकै आढबलमा राज्यको मुख्यमन्त्री दार्जीलिङमा हुँदा सडक आन्दोलन गर्ने विमल गुरुङले मानेको अक्सिजन भाजपा नै थियो ।

राज्यको तन्त्र र बलमिचाइमा परेर राजनीतिक पलायन खपेको विमल गुरुङले लास्ट रिसोर्ट मानेर सम्हाउने हाँगा पनि भाजपा रहयो । भाजपाको निम्ति विमल गुरुङ विकल्प थियो । पछिबाट भाजपा , विमल गुरुङको राजनीतिक बाध्यता बन्यो । भाजपा बाहेक विमल गुरुङको विकल्प छैन अहिले । विमल गुरुङ  दार्जीलिङबाट राजनीतिक पलायन भए पनि केन्द्रको भाजपालाई कुनै टुट्टा छैन  । विमल गुरुङको नाममा केन्द्रको भाजपाले अहिलेसम्म दार्जीलिङ पाहाडमा राज्य सरकारलाई मात दिइरहेको छ । दार्जीलिङ लोकसभा र विधानसभा उपचुनावका परिणाम यसका दृष्टान्त हुन् ।  विमल गुरुङ अघि भाजपाको निम्ति अवसर थिए । अहिले राज्यको तृणमूल सरकार विरुद्धको जनभावना उकास्ने गोटी बनेका छन् । भाजपाको राजनीतिक संरक्षणमा पुगेका विमल गुरुङ भाजपाले कोरेको सिमा र चलखेलदेखि बाहिर उफ्रन सक्तैनन् । अहिले दार्जीलिङलाई लिएर भाजपाको मुद्दा  र कार्यक्रम जे छ , त्यही नै /त्यती  नै विमल गुरुङको राजनीति हो । भाजपाको राजनीतिदेखि बाहिर विमल गुरुङको राजनीति केही छैन । वास्तवमा भाजपाले चाहेको नै यति हो ।

र फेरि चलखेल

यसघडी दार्जीलिङ पाहाडमा गोर्खा राजनीति छैन । जे जसो छ ; केन्द्र र राज्यको चलखेल छ । केन्द्र र राज्यको राजनीतिलाई काँध हाल्ने दलहरु छन् । यी दुइ दलहरुमाझको जुझाइ छ । मिचाइमा दार्जीलिङ र गोर्खा छन् । दार्जीलिङ पाहाड र गोर्खाहरु दिल्ली र कोलकत्तामा विभाजित छन् । दलहरु हाइकमाण्ड दिल्ली र कोलकत्ता ताकेर उधिरहेका छन् । अन्धधुन्ध कुदिरहेका छन् । अण्टसण्ट बोलिरहेका छन् । गोर्खा राजनीति र दशकौं पुरानो चिन्हारी र अस्मिताको माग वास्तवमा यसघडी मझधारमा छ । केन्द्रको पोलिटिकल एजेण्डालाई बोक्नेहरु एकातिर छन् । राज्यको विकासको राजनीतिलाई काँध हाल्नेहरु अर्कातिर छन् । जनताको चाहना र एजेण्डा बोक्ने राजनीति र दलको अभाव नै देखिन्छ । केन्द्रको राजनीति बोकेर राज्यलाई घेर्ने एकातिर चलखेल छन् । अर्कातिर राज्यको एजेण्डा बोकेर केन्द्रलाई बाटो छेकथुन गर्ने राजनीति छन् । यसघडी दार्जीलिङ पाहाड केन्द्र र राज्यको राजनीतिक टुँढीखेल बनेको स्थिति छ । यस राजनीतिक सङ्घर्षमा दार्जीलिङ र गोर्खा राजनीतिको युद्ध कहीं छैन । जीत कुनै पक्षको भए पनि दार्जीलिङ पाहाड र गोर्खाको जसभाग छैन । हार कुनै पक्षको होस्, आफ्नो नामको युद्ध छैन । अभ्यास छैन ।

खै त दिशा निर्देश?

यसघडी स्पष्ट दिशा निर्देशको अभाव छ । राज्य मुख्यमन्त्रीले भनेका गोर्खा परिचय सङ्कटको समाधान के हो ? भित्ताभरि मुख्यमन्त्रीलाई धन्यवाद लेखेर पोस्टर टाँस्ने राज्यमुखी गोर्खा राजनीतिक दल नेतृत्वहरुलाई थाहा छैन । केन्द्र सरकारको पर्मानेण्ट पोलिटिकल सल्युशन -को घोषणा के हो ?   राज्यभित्र कि बाहिर हो ? – खाँट्टी भूमिपुत्र गोर्खेहरु प्रश्न गर्न आवश्यक मान्दैनन् । खोलाको दुइकिनारामा उभिएर ढुंगा हानाहान र घम्साघम्सी गर्नलाई राजनीति मान्नेहरु जनचाहनाको तिर्खाको हिसाब गर्दैनन् । बरु पानीलाई धमिलो पारेर जनताको राजनीतिक स्वास्थ्य हरण गरिरहेका छन् । वास्तवमा कोलकत्ता र दिल्लीको होइन तर गोर्खे राजनीतिक महत्वाकांक्षालाई समवेत गरि काँध हाल्ने हनुमानको आवश्यक्ता छ ।

नामचीन हिन्दी कवि दुष्यन्त कुमार भन्छन् –  

“रहनुमाओ कि अदाओ पे

फिदा है  दुनियाँ                                                                   

इस बहेकते हुए दुनियाँ को

सम्हालो यारो  

कैसे आकाश मे

सुराख हो नही सक्ता

एक पत्थर तो तबियत से

उछालो यारो ।

यति नै अहिलेलाई कामना आवश्यक देखेको छु ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया