गतिरोधव्याप्त डङ्कन्स चियाबारी : खोलिने र बन्द हुने क्रममा पिसिँदै श्रमिकहरू

खबरम्यागजिन प्रतिनिधि

डुवर्स, 26 मई 2017


डुवर्समा स्थापित चियाबारीहरूमध्ये डङ्कन्स कम्पनी अन्तर्गत चियाबारीहरू पछिल्लो डेढ दशक अघिसम्म व्यवस्थित मानिन्थ्यो। तर हालमा यही कम्पनी अधीनस्थ चियाबारीहरूमा आश्रित मानिसहरूको स्थिति बेहाल बन्दै गएको देखिन्छ। एक समय सात हजार पाँचसय वर्ग हेक्टरमा फैलिएको डङ्कन्स चियाबारीहरूमध्ये आज अधिकाङ्श बन्द छन्।त्यसमा पनि डुवर्सको अलिपुरद्वार जिल्ला अन्तर्गत रहिआएका सबैजसो चियाबारीहरूनै बन्दको स्थितिमा छन्।

यस जिल्लाका यस कम्पनी अधीनस्थ चियाबारीहरू बन्द रहनुको प्रमुख कारण हो-पछिल्लो विधानसभा चुनावको मुखमा आएर केन्द्रले अधिग्रहणको पासो फ्याँक्नु। केन्द्रको सम्बन्धित मन्त्रालयबाट राज्यको टी बोर्डलाई अधिग्रहण गर्ने सर्कुलेशन जारी गरे पनि टी बोर्डले अधिग्रहण गर्न नसक्ने असमर्थता जनाएपछि यो मामिला पेचिलो बन्यो। आखिरमा यो मामिला उच्च न्यायालयमा पुगेको छ। छिनोफानो हुन कति वर्ष लाग्ने हो आजसम्म स्पष्ट भएको छैन। जसले गर्दा ती चियाबारीहरूमा आश्रित मानिसहरूको सामाजिक र आर्थिक जीवनमाथि आइपरेको असुरक्षा कतिञ्जेल रहिरहने हो अनिश्चितनै छ।

बीरपाडा, दुम्सीपाडा, गर्गण्डा, डिमडिमा, तुलसीपाडा, हण्टापाडा, लङ्कापाडा डङ्कन्स अधीनस्थ वचियाबारीहरूलाई अधिग्रहण गर्न केन्द्रको वाणिज्य तथा उद्योग मन्त्रालयले टी बोर्डलाई निर्देश दिइएको थियो।यी चियाबारीहरूमा लगभग २० हजार स्थायी श्रमिकहरू संलग्न रहेको बताइन्छ। तर यतिका स्थायी श्रमिकपरिवार आश्रित रहिआएका चियाबारीको स्थिति पेचिलो बन्दै गएको छ। अर्कातिर डङ्कन्सले केही चियाबारी पाक्षिक तलब दिइने व्यवस्था अन्तर्गत खोलेको छ।जुन चियाबारीहरू अहिले पाक्षिक तलबको अनियमितताको कारण श्रमिकहरू आर्थिक मारमा पर्नथालेका छन्। पाक्षिक तलब नियमित नगरिएको यही समूह अधीनस्थ बाग्राकोट चियाबारीमा केही दिन अघि मात्रै धारावाहिक विक्षोभ प्रदर्शन गरिएको थियो भने उत्पादित चियालाई समेत निर्यातको निम्ति गोदाम परिसरदेखि बाहिर जान नदिएर ट्रकलाई केही घण्टा अवरोध गरिएको थियो।

पश्चिम डुवर्सका डङ्कन्स अधीनस्थ हाल पाक्षिक तलब दिइने व्यवस्था अन्तर्गत सञ्चालित देखिन्छ। तर पाक्षिक तलबमा अनियमितता देखिँदैआएको छ। यो मौसम चिया उत्पादनको लागि अनुकूल मौसम हो। तर यही मौसममा धरि पाक्षिक तलब नियमित नगरिएकोले आश्रित मानिसहरू चिन्तित छन्। प्रतिकूल मौसम शुरु हुन नपाई चियाबारी बन्दको चपेटमा आउने त होइन भन्ने चिन्ता आश्रित मानिसहरू व्यक्त गर्न थालेको सुनिन्छ। बाग्राकोट चियाबारीमा स्थायी श्रमिकको रुपमा काम गर्दै आएकी गीता तामाङ यस चालले चियाबारी धेर दिन नचल्ने आशङ्का व्यक्त गर्छिन्। यही चियाबारीकै सुकुनी उराँउलाई पनि यस्तै चिन्ता व्यक्त गर्छिन्।

कर्मचारी इन्द्र भुजेल पनि यसरी तलबमै अनियमितता चले त्यसको मार उत्पादनमा परी चियाबारी बन्द हुनसक्ने जनाउँछन्। एकातिर सुसञ्चालित चियाबारीको स्थितिमा सुधार आउन सकेको छैन भने अर्कोतिर डङ्कन्सले डुवर्सको बन्द रहिआएको विजयपाडा चियाबारी खोलेको छ।जसले गर्दा कतै कम्पनीले सुधारको पहल व्यवस्थित ढङ्गमा अघि बढाउने हो कि भन्ने आशा आश्रित मानिहरूमा बढाएको छ। तर वास्तविकता के छ भने धेरै अघिदेखि सञ्चालित चियाबारीको स्थितिमा सुधार ल्याउने कुरोतिर भने मालिक उदासीन देखिन्छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन