पत्रकारहरूबाट ठूलो आशा नगर्नुहोस्

विज्ञापन

जो दैनिक 15 हजार छापिने दैनिक पत्रिका छ, त्यसको फ्रन्टपेजमा लाखौंको विज्ञापन आउँछ। जो दैनिक लाखौंले हेर्ने, पढ्ने सोसल साइटहरू छन्, त्यसमा के आउँछ? जो हरेक दिन समाजलाई चलायमान गरिरहेका पोर्टल, साइट, च्यानलहरू छन्, उनीहरूलाई जिउँदो राख्ने जिम्मेवारी कसैको छैन? केन्द्र सरकार, राज्य सरकारले त अनलाइन मिडियालाई प्राथमिकतामा राख्दैन नै तर क्षेत्रीय सरकारले पनि नराख्ने हो त? समाज निर्माणमा न्युएज मिडियाले ठूलो भूमिका निर्वाह गर्नैसक्छ, यसको सम्वर्धनमा क्षेत्रीय सरकारले नसोच्ने हो भने कसले सोच्छ त? वैकल्पिक मिडिया निर्माणको लागि हामीले नेपाली भाषामा शुरु गरेको समाचारमूलक वेबसाइट हो खबरम्यागजिन। यसपछि अनेकौं साइटहरू आएका छन् नेपालीमा। अङ्ग्रेजीमा छ, छँदैछन्। युट्युब च्यानलहरू त अझ धेर छन्। सबैले आफ्नो हिस्साका काम गरिरहेका छन्। पक्का हो, हाम्रो पत्रकारिता कमजोर छ। हामी स्वीकार्छौं। नितान्तै कमजोर छ। बलियो त तब हुन्छ, जब तपाईँले यसलाई साथ दिनुहुन्छ। कुनै पनि पक्षको सहयोग नै नदिई बलियो पत्रकारिता होस् भन्ने चाहनुहुन्छ? त्यसो हो भने पत्रकारहरूबाट ठूलो आशा गर्न छोड्नुहोस्। उसलाई उसकै हालमा छोडिदिनुहोस्।


खबरम्यागजिन सम्पादक


वरिष्ठ पत्रकार रवीश कुमार भन्छन्, ‘टिभी नहेर्नुहोस्, किन भने टिभीले पत्रकारको ठाउँमा एङ्कर राख्न थालेदेखि ग्राउन्ड जिरोबाट यथार्थ टिपेर ल्याउने संस्कृति हरायो। न्युजरुममा बसेर एङ्कर जब काल्पनिक कथा हाल्न थाल्छन्, भिवर्स सही सूचना र जानकारीबाट टाडा बन्छन्। अहिले हिंसा भड्काउने सबैभन्दा ठूलो हतियार नै गोदी मिडिया बनेका छन्। आफै ठगिन किन टिभी हेर्नु र?’

राष्ट्रीय मिडियाको अवस्था कहाँ पुगिसकेको छ, त्यो गम्भीर दर्शक, पाठक वा स्रोतालाई थाहा छ। कुनै न कुनै मिडिया हाउस कुनै न कुनै राजनैतिक दलको छत्रछायामा बस्नै पर्ने परम्परा शुरु भएको छ। नेताहरू मिडिया हाउस खोलेर बसेका छन्। त्यो हाउसले आफ्नै राजनैतिक कमजोरीमाथि प्रहार गर्ने प्रश्नै उठ्दैन। यस्तोमा कुन खबर तथ्य र सत्यमा आधारित हो, कुन मनगढन्ते खबर हो, त्यसको भेद छुट्याउन सक्ने मानसिकता सबैसित रहँदैन।

दर्शक, पाठक वा स्रोताको यही कमजोरीको फाइदा उठाएर उनीहरूको दिमागमा कुन कुरा हाल्ने र त्यसलाई आफ्नो राजनैतिक फाइदाको लागि कसरी प्रयोग गर्ने भन्ने नै हाउसको मुख्य लक्ष्य बनिसकेको छ। यस्तोमा मिडियामाथि ठूलो आशा राख्नु नितान्तै हानिकारक हुँदैन त?

यद्यपि, यस्ता मिडिया हाउस र पत्रकारहरू पनि छन्, जसले आफ्नो धर्मलाई बँचाउन अनेकौं सङ्घर्ष गरिरहेका छन्। उनीहरू केहीले धानेको भरमा बाँचेको पत्रकारिताबाट तपाईँ कति आशा राख्नुहुन्छ?

000

केही हिन्दी, केही अङ्ग्रेजी र केही नेपाली दैनिकबाहेक केही क्षेत्रीय टिभी च्यानलमा दार्जिलिङका केही पत्रकारहरू काम गर्छन्। हिन्दी र अङ्ग्रेजीको हाउसको पोलिसी जे हो, त्यसैले पत्रकारहरू बाँधिन्छन्। त्यसै पनि यी भाषाका दैनिकका कार्यालयहरू कि त कोलकाता, कित सिलगढीमा छन्।

यी दैनिकहरूले नेपाली भाषी गोर्खाका समस्या, मुद्दा र सरोकारलाई त्यसरी गम्भीरसित लिँदैनन् जसरी लिनुपर्ने हो। हाउस कुनै न कुनै दल वा सत्तासित निकट रहने गरेको देखिन्छ। उनीहरू सत्तासित निकट रहेर विज्ञापनहरू निकाल्ने र अरू सुविधा भोग्ने दाउमा निष्पक्ष बन्न सक्तैनन्। केही हाउसले केही हदसम्म सही जानकारी र सूचना दिन खोजे पनि सम्पादन कक्षमा त्यसका प्रभाव र हानी नाप्ने कलम वा किबोर्ड राखिएकै हुन्छ।

पत्रकारहरू इमान्दार होलान्, तर हाउसले उसको फाइदाको लागि उनीहरूको हात बाँधिदिन्छन्।

000

अरू भाषी दैनिक पत्रिका त भइगयो, नेपाली भाषाकै पत्रिकाहरू पनि सत्ताका कमजोरी र असंवेदनशीलता खोतल्नमा बारम्बार चुकेकै छन्। गोर्खा समाजका समस्या खोतल्ने र त्यसका कारणहरूमाथि प्रश्न गर्ने संस्कार यस्ता पत्रिकाहरूमा कमै मात्र देख्न सकिन्छ। अन्तरवार्ता बिनै, नियुक्ति पत्र बिनै र थोरै वेतनमा काम गरिरहेका पत्रकारहरूले यसै पनि प्रश्न गर्नु भनेको हुँदाहुँदैको कामबाट हात धुनु हो। मैसित यस्ता अनेकौं घटनाहरू छन्, जसलाई पछिल्तिर फर्किएर हेर्दा वितृष्णा मात्रै जन्मन्छ।

क्षेत्रीय पत्रकारिताको आफ्नै सिमा र क्षमता हुन्छन्। ऐन र प्रावधानहरूको दायरमा बसेर क्षेत्रीय पत्रकारितालाई धान्नु निक्कै जोखिमको काम हो। तरै पनि केही युवाहरू नेपाली पत्रकारिता धानिरहेकै छन्। आफ्नो जिम्मेवारी पूरा गरिरहेकै छन्। त्यो पर्याप्त नहोला तर उसले जानेजति र सकेजति उत्तरदायित्व पूरा गरिरहेकै छ।

अहिले केही दैनिक बाहेक केही फेसबुक पेज, केही पोर्टल, केही लोकल टिभी, केही युट्युब, केही वेबसाइटहरूले पत्रकारिता गर्ने कोसिस गरिरहेको छ।

न्युज एज मिडिया यसो त विश्वभरि नै नयाँ शक्ति र सम्भावनासहित अघि बढिरहेको छ। सोसल प्लेटफर्मलाई आय आर्जनको घडेरी बनाउने र मिडियाकोरुपमा स्थापित गर्नेहरू विश्वभरि छन्। धेरै सफल छन् कति, कतिले सङ्घर्ष गरिरहेकै छन्। त्यही ट्रेण्ड पहाडमा पनि चलिरहेको छ। केही फेसबुक पेजसञ्चालक बाहेक अरूले सोसल प्लेटफर्मबाट आयआर्जन गर्दैन।

हाम्रोतिर चलेको भनेको फेसबुक नै हो। बिहानदेखि बेलुकीसम्मै फेसबुक केलाउनु भयो भने थाहा हुन्छ, सबैले त्यही भिडियो, त्यही टेस्क्ट, त्यही विज्ञप्ती, त्यही भोइज चलाइरहेको देखिन्छ। किन त्यसो हुन्छ? कसैले प्रश्न गर्दैनन्। भिवर्सलाई यसबारे टाउको दुखाइरहनु पनि छैन। तर यसले एउटा कुरा बताउँछ, सोसल मिडियामा चल्ने त्यो एउटै थोक आउने निश्चित स्रोत छन्।

त्यो स्रोत हो, विभिन्न दलहरूको मिडिया सेल। अचेल पत्रकारसम्मेलन त्यसले मात्र गर्छ, जोसित मिडियासेल छैन। नत्र मिडियासेलले ‘सेल’-मा राखेकै ‘प्रोडक्ट’ मिडिया हाउसले देखाउने हो। विज्ञप्ती, भिडियो, भोइज सबै मिडियासेलले नै मिडिया हाउसमा बाँड्ने हो। यसो हुँदा पत्रकारहरूलाई पनि सजिलो भयो। न सोध्ने झिञ्जेट, न लेख्ने झिञ्झेट। मुखैमा आहार आइहाल्यो, काम टरिहाल्यो।

तर के यो संस्कृतिले ‘काउन्टर’ प्रश्नको स्पेस मारिरहेको छैन त?

000

दलहरूले आफूलाई भन्न मन लागेको कुरा मात्र भन्न पाउने भयो। उनीहरूको कुरा त सबैले सुन्ने भयो, तर त्यसबारे प्रश्न गर्ने ठाउँ बाँकी रहेन। भारतीय जनता पार्टी होस् वा काङ्ग्रेस, तृणमूल काङ्ग्रेस होस् वा गोरामुमो, अधिकांश दलहरूले खर्च गरेरै मिडिया सेल बनाएकै छन्।

आफ्नो कुरा भन्न र जनतामा कुरा राख्न दलहरूको लागि सहज बनेको मिडियासेलले तर विभिन्न हाउसका पत्रकारहरूको ‘प्रश्न गर्ने अधिकार’-माथि नै प्रहार गरिरहेको छैन त?

यो प्रश्नको उत्तर कसले खोज्ने होला?

त्यसो त पत्रकारहरू नै मात्र चौथो स्तम्भका खम्बा होइनन्। खम्बा त तब बलियो हुन्छ, तब त्यो गाडिने भूँइ बलियो हुन्छ। पत्रकारजस्ता चौथो स्तम्भलाई दह्रो बनाउने हो पाठक, स्रोता, दर्शक वा जनताले। जनतासित त्यस्तो शक्ति हुन्छ, जसले कमजोर खम्बालाई तत्कालै ढाल्न पनि सक्छ, बलियोगरी उभ्याउन पनि सक्छ।

पहाडको पत्रकारितालाई दह्रो पार्ने भूईँ नै छ के त?

000

खबरम्यागजिनले केही अघि शिक्षक नियुक्तिको धाँधली खोतल्ने एउटा अभियान चलायो। यही अभियान अर्को पोर्टलले पनि गरेको थियो। हामीलाई लागेको थियो, यो जनतालाई बिझेको कुरा हो। हाम्रो अभियानलाई बलियो तोक्चे जनताले नै दिनेछ। यसैले धेरै जोखिम मोलेर यो अभियान शुरु भयो। तर तोक्चे दिनु त परको कुरा नागरिक समाजले त्यसलाई खुलेर अघि बढाउने हिम्मतसमेत नै गरेन।

हाम्रो काम आवाज उठाउनको लागि स्पेस बनाइदिने हो, त्यो स्पेसमा उभिएर भ्रष्टाचारलाई उदाङ्गो पार्ने कर्तव्य त नागरिक समाजकै हो नि। आधा काम मिडियाले गरने हो, त्यसलाई पुष्टि गर्ने, निचोडमा पुऱ्याउने, निष्कर्षमा लैजाने दायित्व त नागरिक समाजको पनि हो। नागरिक समाजले आवाज उठायो भने त्यो आवाजलाई  बलियो पार्ने मिडियाको कर्तव्य हो। तर यो अभियानलाई आफ्नो काँधमा बोकेर हिँड्ने नागरिक समाज कतै भेटिएन।

कसैले यसलाई आन्दोलनको रुप दिएन। के त्यो जिम्मेवारी मिडियाको मात्रै थियो त?

000

एक युवकले मलाई सोध्यो, ‘खै त आवाज उठाउनु भयो, फेरि हरायो त। पैसा थाप्नु भयो कि क्या हो?’

मैले भनें, ‘तिमीले पैसा थाप्दा हुने मैले पैसा थाप्दा नहुने?’

आफूमाथि पैसा थापेको आरोप लागेपछि उ बिच्कियो, ‘मैले पैसा थापेको प्रमाण छ?’

‘मैले यही प्रश्न तिमीलाई गरें भनें?’

त्यसपछि उ मौन बन्यो। र मैले भनें, ‘मानौं, मैले पैसा थापेर मौन बसें रे, तिमीले त पैसा थापेको छैनौं नि, तर तिमीले त यसबारे कतै आवाज उठाएको सुनिनँ। जब कि तिमीले नागरिक समाजलाई जागरुक गर्न सक्थ्यौ। यस किसिमको भ्रष्टाचार, धाँधलीको विरुद्धमा नागरिक समाजलाई प्रोत्साहित गर्न सक्थ्यौ। गऱ्यौ केही? गरेनौं। कसकोबाट पैसा खायौ र नगरेको त?’

त्यसपछि उसले कुरा बुझ्यो। क्षमा पनि माग्यो।

एउटा पोर्टलको सम्पादकले नीजि जोखिम मोलेर कति काम गर्न सक्छ? यसले राम्रो काम गऱ्यो भनेर त्यो कामलाई बल पुऱ्याउने जोखिम के नागरिक समाजले पनि लिनुपर्दैन त? खबरम्यागजिनले जति सक्छ, त्यति गर्ने हो। र जति गरिरहेको छ, त्यो इमान्दारीसित गरिरहेको छ।

शिक्षक नियुक्तिमा भाँडभैलो हुँदा नागरिक समाज किन मौन बस्यो? के पत्रकार एक्लैले यो समाजमा जोखिम मोल्नुपर्ने हो त?

जसजसले पनि मलाई यसप्रकारका प्रश्न गरेका छन्, म उसलाई त्यही दायित्वबोधको कुरा सुनाउने गर्छु। धेरैलाई सुनाइसकं, तर कसैले आवाज उठाएनन्। तर मैले आवाज नउठाउने ती सबैलाई ‘पैसा थापेर आवाज नउठाएको?’ भनेर आरोप लगाउने गरेको छैन।

खबरम्यागजिन सिमित लगानीमा चलिरहेको र हरेकदिन घाटामा चल्ने न्युज पोर्टल हो। यसले तलब राखेर न कतै पत्रकार नियुक्त गर्न सकेको छ, न त यसले सम्पादन टोलीलाई मात्र पुग्ने आय आर्जन गर्न सकेको छ। यो पत्रकारितामा चलिरहेको पहेंलोपनको विरुद्ध शुरु गरिएको वैकल्पिक पोर्टल हो। यसमा दुइ तीनजना पत्रकारहरूले आफ्नो निजि प्रयासमा सही कुरा अघि राख्ने कोसिस गरिरहेको छ। नेता, लेखक, सरोकारवाला, एक्टिभिष्ट सबैलाई लेख्ने, बहस गर्ने र समाजलाई वैचारिकरूपले डोहोऱ्याउन निरन्तर आग्रह गरेको छ।

हामीलाई धेरै राम्रा लेखकहरूले निशुल्करूपमा गहकिला लेखहरू दिएर सहयोग गरेका छन्। केही पत्रकारहरूले सूचना र जानकारी दिएर सहयोग गरेका छन्। केही महानुभवहरूले विज्ञापनहरू दिएर सहयोग गरेका छन्। जतिले सहयोग गरेका छन्, निस्वार्थरुपले गरेका छन्। हामी उनीहरूसित आभारी छौं।

तर जति छ, त्यो पर्याप्त छैन।

भारत सरकारले अन्लाइन न्युज पोर्टलहरूलाई मिडियाको दर्जामा राखेर न त कानून नै बनाएको छ, न त सरकारी विज्ञापनहरूको दायरामा नै राखेको छ। यसका आफ्नै स्वायत्ताहरू छन्। सिमाहरू छन्। क्षमताहरू छन्। त्यसैको दायरामा बसेर काम गरेका छौं।

यसो त दैनिकरूपमा लाखौं करोडौं कमाउने मिडिया हाउसहरू पनि छन्। किन उनीहरूले जन सरोकारका कुराहरू अघि राख्दैनन्? किन उनीहरूले विशृङ्खलता र विसङ्गतिमाथि प्रश्न गरेको छैन? के उनीहरूलाई प्रश्न गरिनुपर्ने होइन र? किन प्रश्न गरिन्न?

हामीले यसरी प्रश्न गरेर उनीहरू गलत, हामी सही पनि भनेका छैनौं। हामी यति नै भन्न चाहनछौं, जो आफ्नै बलबुतामा रातदिन घाटामा चलिरहेको पोर्टल हो, जो आफै धर्मरमा चलिरहेको मिडिया हो, उसबाट तपाईँ कति आशा राख्नुहुन्छ?
पत्रकारहरूबाट ठूलो आशा नराख्नुहोस्।

भर्खर मात्र युट्युब प्लेटफार्ममा आलोचनात्मक दृष्टिकोण राख्ने, प्रश्न उठाउने, सन्देह गर्ने, जन सरोकारका मुद्दाहरू उठाउने काम थालेका छौं। अरु साथीहरूले पनि बुँताले भ्याएसम्म पत्रकारितालाई भरोसालाग्दो बनाउने कोसिस गरिरहेका छन्। न त कमाई छ, न पत्रकारहरू राख्न सकिएको छ, न त प्राविधिक सुविधा छ न त, सुरक्षा छ। हरेक दिन जोखिम नै जोखिम काँधमा बोकेर कही गर्न खोजिरहेका यी पत्रकारहरू के बहुला होइनन् त?

यस्ता पत्रकारहरूबाट ठूलो आशा नराख्नुहोस्।

केही सिमित लगानीमा चल्ने क्षेत्रीय टिभी हाउसहरू छन्। आफैमा गरिब सोसल साइटहरू छन्। बलियो व्याकअप बिनै चलिरहेका युट्युब च्यानलहरू छन्। सिमित विज्ञापन उठेको भरमा पत्रकारहरू राखेका छन्। ती नै पत्रकारहरू हुन्, जो अहिले मौजुदा स्थितिमाथि बारम्बार प्रश्नहरू तेर्साइरहेका छन्। जुनै पनि दल होस्, उसले जानेको जति प्रश्नहरू गरिरहेकै छन्। घरबाट निस्केदेखि घरपस्दासम्म उ तपाईँहरूलाई जानकारी दिन, सूचना दिन, घटनाबारे सचेत गराउन नै व्यस्त छन्।

12 घन्टा खटेर उसले पाउने भनेको के हो त?

असुरक्षा।

न त उ आर्थिकरुपले सुरक्षित छ, न त सामरिकरूपले। न त मानसिकरुपले सुरक्षित छ, न त शारिरिकरुपले। जहिल्यै पनि गुन्डा लाग्न सक्छ। जहिल्यै पनि नेताको गाली खान सक्छ। जहिल्यै पुलिसको भाटा खान सक्छ। जहिल्यै उसको घरको सिसा फुट्न सक्छ। उसलाई जतिखेर जे पनि हुन सक्छ।

अरु नोकरी गरेर पार्ट टाइम पत्रकारितामा इन्जोय गरिरहेकाहरू त यस्तै होला, जो रातदिन सिमित वेतनमा जोखिम लिइरहेका छन्, उनीहरूको भविष्य के हुन्छ त? यति निरिह कमजोर पत्रकारले जोखिम उठाउन सकेन भने त्यो कुन अपराध हो?

नागरिक समाजले दार्जिलिङजस्तो सानो क्षेत्रका पत्रकारहरूको आवाजलाई काँधमा हालेन भनेर कहिल्यै गुनासो गरेको छ र? उसले त आफ्नो हिस्साको जिम्मेवारी पूरा गरेकै छ, तपाईँको हिस्साको जिम्मेवारी पनि उसैले पूरा गर्नु पर्ने हो त?

000

जो दैनिक 15 हजार छापिने दैनिक पत्रिका छ, त्यसको फ्रन्टपेजमा लाखौंको विज्ञापन आउँछ। जो दैनिक लाखौंले हेर्ने, पढ्ने सोसल साइटहरू छन्, त्यसमा के आउँछ? जो हरेक दिन समाजलाई चलायमान गरिरहेका पोर्टल, साइट, च्यानलहरू छन्, उनीहरूलाई जिउँदो राख्ने जिम्मेवारी कसैको छैन? केन्द्र सरकार, राज्य सरकारले त अनलाइन मिडियालाई प्राथमिकतामा राख्दैन नै तर क्षेत्रीय सरकारले पनि नराख्ने हो त? समाज निर्माणमा न्युएज मिडियाले ठूलो भूमिका निर्वाह गर्नैसक्छ, यसको सम्वर्धनमा क्षेत्रीय सरकारले नसोच्ने हो भने कसले सोच्छ त?

वैकल्पिक मिडिया निर्माणको लागि हामीले नेपाली भाषामा शुरु गरेको समाचारमूलक वेबसाइट हो खबरम्यागजिन। यसपछि अनेकौं साइटहरू आएका छन् नेपालीमा। अङ्ग्रेजीमा छ, छँदैछन्। युट्युब च्यानलहरू त अझ धेर छन्। सबैले आफ्नो हिस्साका काम गरिरहेका छन्।

पक्का हो, हाम्रो पत्रकारिता कमजोर छ।

हामी स्वीकार्छौं। नितान्तै कमजोर छ। बलियो त तब हुन्छ, जब तपाईँले यसलाई साथ दिनुहुन्छ।

कुनै पनि पक्षको सहयोग नै नदिई बलियो पत्रकारिता होस् भन्ने चाहनुहुन्छ?

त्यसो हो भने पत्रकारहरूबाट ठूलो आशा गर्न छोड्नुहोस्। उसलाई उसकै हालमा छोडिदिनुहोस्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया