भाजपा गठबन्धनमा अनबन भएपछि विनय तामाङको पहिलो प्रतिक्रिया, भने, ‘तमाशा गरेर हुँदैन, जनमतको कदर गर्नुपर्छ’

दार्जीलिङ, 29 फरवरी


भाजपासित गठबन्धित पहाडका दलहरूमाझ अनबन भएपछि गोजमुमो अध्यक्ष विनय तामाङले पहिलोपल्ट आफ्नो प्रतिक्रिया दिएका छन्। गोजमुमो विमल गुरुङपक्ष अनि गोरामुमोमाझ सार्वजनिक रूपमा अनबन भएको पाँच दिनपछि विनय तामाङबाट ‘झगडा नपर्ने’-सुझाउस्वरूप प्रतिक्रिया आएको छ।
‘जनताले जुन आशा र भरोसा राखेर तपाईँहरूलाई निर्वाचित गरेर पठाएको छन्, त्यो निर्वाचित भएपछि जनप्रतिनिधिको धर्म पनि निभाइदिनुहोस्’-विनय तामाङले भने, ‘झगडा गरेर, तमाशा गरेर हुँदैन, जनमतको कदर गर्नुपर्छ।’
दार्जीलिङ रेलिङ उच्चतर माध्यमिक विद्यालयमा शुक्रबार आयोजित एउटा कार्यक्रमपछि पत्रकारहरूलाई सम्बोधन गर्दै तामाङले गठबन्धित दलहरूले झगडा गर्नको सट्टा जनताको मूल मुद्दालाई सम्बोधन गरिदिन सुझाएका छन्।
‘गठबन्धनमाथि जनताले जुन विश्वास गरेर मत दिएको थियो त्यसको सम्मान गर्दै जनताले चाहेको विषयबस्तुलाई ल्याइदिनुहोस्’-तामाङले भने, ‘झगडा र बादविदाबको विषयलाई आजदेखि उसो दुवैपक्षले रोकिदिने अनुरोध गर्छु।’
भाजपा गठबन्धित दलहरूले स्थायी राजनैतिक समाधान भनिरहेको भएपनि उनीहरूभित्रै मुद्दालाई लिएर बिवाद भइरहेकोले जनता अन्योलमा रहेको कु तामाङले बताए।
‘कसैले छैटौँ अनुसूचि भन्दैछन्, कसैले गोर्खाल्याण्ड त कसैले युटी भन्दैछन्’ तामाङले भने, ‘उनीहरूको बीचमा फुट आइरहेको छ, उनीहरूले भनेको स्थायी समाधान के हो जनतालाई स्पष्ट राखिदिए राम्रो हुन्छ।’
स्वच्छ राजनैतिक परिवेश निर्माणका लागी दलहरूले झगडा नगरेर आ-आफ्नो जिम्मेवारी निर्वाह गर्न तामाङले सुझाएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया