गोर्खा ध्वनि पोर्टलका सम्पादकलाई विमल गुरुङले मानहानीको मुद्दा लगाउने

विज्ञापन

सिलगढी, 6 मार्च


सम्पादकको नाम वा पोर्टलका अधिकारीबारे विवरण लुकाइएको असमको ‘गोर्खा ध्वनि’ http://gorkhadhwani.com/ नामक अनलाइन न्युज पोर्टलका समाप्दकलाई गोर्खा जनमुक्ति मोर्चा-1 का अध्यक्ष विमल गुरुङले मानहानीको मुद्दा लगाउने भएका छन्।

यो पोर्टलले एउटा समाचार सार्वजनिक गर्दै विमल गुरुङ अनि रोशन गिरीले आफूहरूको भाजपाबाट भरोसा उठेको भन्दै ममता व्यानर्जीसित सम्पर्क गरिरहेको वा राज्य सरकारसित सम्झौता गर्न तयारी गरिरहेको लेखेको थियो।

पोर्टलले आफूसित तथ्य हात परेको र त्यही तथ्यअनुसार रोशन गिरीले तृणमूल काङ्ग्रेसका नेता पार्थ च्याटर्जीसित सम्झौताको लागि सम्पर्क गरेको खुलाएको थियो। सोसल डोमेनमा सेयर गर्न नमिल्ने तर इन्बक्समा लिङ्क सेयर गर्न मिल्ने प्रविधिमा सञ्चालित उक्त पोर्टलले यस्तो समाचार सार्वजनिक गरेलगत्तै मोर्चा खेमामा खेलाबैला मच्चिएको थियो।

यसै सम्बन्धमा विमल गुरुङले एक विज्ञप्ति जारी गर्दै पोर्टलले भ्रामक समाचार प्रकाशित गरेर आफू र रोशन गिरीको छवि धुमिल्याएको बताएका छन्। गुरुङले यस समाचारलाई षडयन्त्रसमेत भनेका छन्। समाचारप्रति भर्त्सना जनाउँदै गुरुङले भनेका छन्, ‘भाजपासँग हाम्रो जुन गठबन्धन छ र यो गठबन्धनको माध्यमद्वारा हाम्रो जातिको मुद्दा फत्ते हुनै लागेको बेला यो कतिपय जाति विरोधी तत्वहरुले खेलेको चाल हो।’

आफूले आफ्नो सबैकुरा जातिको निम्ति गुमाइसकेको भन्दै गुरुङले अझ भनेका छन्,  ‘मेरो आफ्नो भन्ने अहिले के नै पो रहेको छ र? जातिको निम्ति मैले आफ्नो सर्वस्व गुमाइसकेको छु। यसर्थ जातिलाई गद्दार गर्नेहरु र जातिको निम्ति षड़यन्त्र गर्नेहरुसँग म कहिल्यै सम्झौता गर्न सक्तिन। कसैले यस्तो सोच्नु र भ्रामक प्रचार गर्नुलाई म एकदमै निन्दनीय ठान्दछु।’

गुरुङले यसपरकारको समाचारले आफूहरूलाई ठेस पुगेको भन्दै ‘गोर्खा ध्वनि’ पोर्टलका सञ्चालक- सम्पादकलाई माफी माग्ने सुझाव दिएका छन्।

‘‘गोर्खा ध्वनि’ पोर्टलका सञ्चालक- सम्पादकले यस विषयमा २४ घण्टाभित्र माफी नमागे हामी उनलाई मानहानीको मुद्दा लगाउन बाध्य हुनेछौं,’ गुरुङले भनेका छन्।

गोर्खा ध्वनि एमकेएस भवन, केबीबी पथ, पल्टनबजार गुहाटीबाट सञ्चालित पोर्टल हो।  यसका सम्पादक को हुन, त्यसबारे खुलाइएको छैन। यसै नाममा युट्युब च्यानल र फेसबुक पेजसमेत रहेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया