चर्चित बेलावादक गणेश शर्मा रहेनन्

खबरम्यागजिन प्रतिनिधि

दार्जीलिङ, 26 मई 2017


नारायण गोपाल, अरूणा लामा, अम्बर गुरूङ, शान्ति ठटालझैँ सदाबाहर गायकहरूका चर्चित गीतहरूमा बेलाको धुन दिएर पनि आफू सधैँ पार्श्वमा रहने दार्जीलिङका चर्चित बेला वादक गणेश शर्मा अब रहेनन्।

सिलगढीको एक अस्पतालमा किड्नीको रोगसित लड़िरहेका शर्माको निधनले नेपाली सङ्गीत संसारमा शोकको लहर छाएको छ। शर्मा आफू 8 वर्षको हुँदैदेखि सङ्गीत र नाटककलासित आवद्ध थिए। उनी केवल बेलावादक मात्र थिएनन्, कुशल अभिनेता र नाटक कलाकार पनि थिए।

पहिलो नेपाली चलचित्र परालको आगोमा पनि उनको अभिनय देख्न पाइन्छ। 8 वर्षको उमेरमा दार्जीलिङमा मञ्चन भएको हरिशचन्द्र नाटकमा अभिनयगरे यता धेरै मञ्चमा उनलाई दार्जीलिङका दर्शकले नाट्यकलाकारकोरूपमा देखेका छन्। पर्सनल डायरी नाटकमा उनले अभिनय गरेका थिए, यसैलाई ‘अभिनय’ फिल्ममा उतारिएको थियो, फिल्ममा पनि शर्माले अभिनय गरेका थिए।

तासको घर, कलाकार, गीताङ्गे डाँडा, जङ्गलको राजाजस्ता चर्चित नाटकहरूमा पनि उनले काम गरेका हुन्।

‘हाँस्य कलाकारकोरूपमा चिनिने शर्मा जस्तो रिललाइफमा देखिन्थे, रियल लाइफमा पनि उस्तै थिए,’ शर्मालाई सम्झँदै वरिष्ठ सङ्गीतकार, गायक दुर्गा खरेल भन्छन्, ‘उनी सबैसित मिल्ने, मिलनसार र रमाइलो मिजासका थिए, उनको मृत्युपछि नेपाली कलाक्षेत्रले ठूलो हानी बेहर्नु परेको छ।’

सङ्गीतकार जीवनप्रकाश प्रधान उनको निधनको क्षतिपूर्ति कहिल्यै नहुने बताउँछन्। ‘उनी झैँ बेलावादक र नाट्य कलाकार अब सायदै पाउँलान् दार्जीलिङले,’ प्रधानले भने, ‘ नयाँ कलाकारहरूको पथप्रदर्शक थिए उनी, हामीसबैको ‘पापा’ अर्थात अभिभावक थिए।’

1956 देखि उनले बेलाबादककोरूपमा ख्याती कमाएका हुन्। गोर्खा दुःख निवारक सम्मेलनसित उनको सम्बन्ध पुरानो थियो। यही सम्मेलन 2016 मा 50 वर्ष पुगेको अवसरमा शर्मालाई 55 औं नेपाली सङ्गीत प्रतियोगिता कार्यक्रमबिच इन्द्रकला प्रधानले प्रायोजना गरेको गोदुनिस सङ्गीत पुरस्कार प्रदान गरिएको थियो।

शर्माले अनेकौं पुरस्कार र सम्मान प्राप्त गरिसकेका हुन्। नेपाल, भुटान लगायत भारतको तीनचौथाई क्षेत्रमा आफ्नो कला प्रस्तुत गरिसकेका थिए।

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनले 2014 मा उनलाई भानुभक्त पुरस्कारले सम्मानित गरिसकेको हो।

उनको देह सालबारीबाट आज खरसाङ लगिएको अनि भोलि दाहसंस्कार हुने वरिष्ठ सह्गीतकार मणिकमल छेत्रीले जानकारी दिएका छन्।


फोटो फिचर

°°°

सम्झनामा गणेश शर्मा 


सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन