जीटीए अध्यक्ष एवं मुख्यमन्त्रीमाझ भेटवार्ता : विभिन्न मुद्दामा छलफल

विज्ञापन

फाइलफोटो

दार्जीलिङ, 7 मार्च


जीटीए अध्यक्ष अनित थापा अनि जीटीएका मुख्य सचिव सुरेन्द्र गुप्त (IAS) ले राज्यका मुख्यमन्त्री ममता व्यानर्जीिसित हिजो कलकत्ताको नवान्नमा भेटवार्ता गरी दार्जीलिङ पहाडको विभिन्न मुद्दाहरूमाथि बातचित गरेका छन्। उक्त भेटवार्तामा विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरसको रोकथामलगायत अन्य विभिन्न मुद्दाहरूमाथि कुराकानी गरियो।

नेपालमा कोरोना भाइरसको संक्रमण पाइएको समाचारलाई केन्द्र गर्दै कलकत्ता स्वास्थ्य भवनबाट सबै बीएमओच, सुप्रिण्टेण्डेन्टहरूलाई प्रत्येक जिल्लामा कोरोना भाइरसको रोकथाम गर्न सतर्कता अप्नाउने निर्देश दिइएको उक्त भेटवार्तामा जनाइयो भने दार्जीलिङ पहाडका विभिन्न ठाउँहरूमा स्वास्थ्य भवनका अधिकारीहरूसितै जीटीएको एक टोलीले पनि निरीक्षण गरिने पनि निर्णय लिइयो।

यसबाहेक मुख्यमन्त्री ममता व्यानर्जीसित जीटीए अध्यक्ष अनित थापाले दार्जीलिङ युनिभर्सिटीको विषयमा पनि कुराकानी गरे। यसको निम्ति प्रशासनिक तौरमा कार्यहरू चलिरहेको मुख्यमन्त्री ममता व्यानर्जीले जनाइन्। यसरी नै सिन्कोना बगानको पदोन्नति, बदली केस, पर्जापट्टा आदिको विषयमा पनि मुख्यमनत्रीसित जीटीए अध्यक्षले कुरा राखे। यसबारेमा सम्बन्धित विभागका अधिकारीहरूसित सोधखोज गरेर आवश्यक कार्य अघि बडाइने मुख्यमन्त्री ममता व्यानर्जीले आश्वासन दिएकी छिन्।

यसको लगत्तैपछि जीटीए अध्यक्ष अनित थापाले पश्चिम बंगालका मुख्य सचिव राजीव सिह्नासित पनि भेटवार्ता गरी सिन्कोना विभागको विभिन्न समस्याहरूबारे कुराकानी गरे। उक्त भेटवार्ताको क्रममा मुख्य सचिवले सिन्कोनाका पदोन्नति, बदली काम, रोजवृद्धि आदि समस्याहरू गहनरूपमा सुनेपछि केही दिनमा आफू सिलगढ़ी भ्रमणमा आउने र सोही बेला जीटीएका मुख्य सचिवसित सिन्कोनाका विभिन्न समस्याहरूबारे बातचीत गरेर समाधान गरिने आश्वासन दिए।

यसपछि श्रम मन्त्रीसित पनि भेटवार्ता गरी पर्जापट्टालगायत श्रमिकहरूको अन्य समस्याहरूमाथि पनि कुराकानी गरे। समग्रमा दार्जीलिङ पहाडको राजनैतिक, सामाजिक दुवै क्षेत्रको लागि हिजोको भेटवार्ता फलप्रद मान्न सकिन्छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया