रेलमार्ग निर्माणको काममा कमिसन नमिलेपछि पार्षदले चलाए गोली : दुइ घाइते

विज्ञापन

मल्ली, 10 मार्च


चलिरहेको सेभोक-रम्फु रेलमार्ग निर्माण कार्यबाट कमिसनबारे झगडा हुँदा कालेबुङ नगरपालिका वार्ड न. 1 का पार्षद कुणाल प्रधानले मल्लीमा अन्धाधुन्ध गोली चलाएको खबर प्राप्त भएको छ। गोली लागेर दुइजना घाइते बनेका छन्। जानकारी पाइएअनुसार आज रेलवेको कामबारे   नारी मोर्चासित बैठक गर्न प्रधान कालेबुङबाट दुइगाडी समर्थक लिएर मल्ली( पश्चिम बङ्गाल) पुगेका थिए।
कम्युनिटीहलमा एउटा बैठक पनि भएको थियो। बैठकमा स्थानीय डम्बर भूजेललगायत अन्यसित कुणाल प्रधानको भनाभन भयो। विस्तारै कुरा हातापाईसम्म पुग्यो। बताइअनुसार कुणाल प्रधानले रेलवेको हरेक कामबाट कमिशनको दाबी गरिरहेका थिए। धेरै महिनादेखि मल्लीमा स्थानीय र कुणालबीच कमिसनबारे यसप्रकारको मनमुटाउ चलिरहेको थियो।
जनवरीमा पनि कुणाल प्रधान र उनका समर्थकहरूले टिस्टा पुलमा गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विनय तामाङकै अघि झगडा गरेका थिए। त्यो झगडा पनि कमिसनसितै जोडिएको थियो। स्थानीयअनुसार केही समयदेखि कुणाल प्रधानले स्थानीय रेलवे योजनाको कामबाट कमिसनको दाबी गर्दै तनाव गरिरहेका थिए। बताइएअनुसार प्रधानले सानो पेटीको कामबाटसमेत 7 प्रतिशत कमिसनको माग गर्ने गर्थे।
आजको गोली काण्ड पनि त्यही कमिसनकै झमेलाबाट शुरु भएको बताइएको छ। स्थानीयसित प्रधानले आफ्नो पक्ष राखिरहेका थिए तर स्थानीयले त्यसको विरोध गऱ्यो। यसैबीच स्थानीयसित हातापाई भयो (कोकोसित हातापाई भयो, प्रधानसित को को थिए र बैठक कोकोसित भएको थियो, त्यसबारे अहिलेसम्म जानकारी पाइएको छैन)। तनाव बढ्दै गएपछि गोली चल्यो र भागरेभाग मच्चियो।
स्थानीयको दाबी छ, गोली कुणाल प्रधानले नै चलाएका हुन्। गोली चलाएको भनिए पनि पिस्तोल कुणालको बोलेरोमा नै पाइएको छ। पिस्तोल र गाडी छोडेर प्रधान फरार भएको आशङ्का गरिएको छ। पुलिसले कुणाल प्रधानका तीन समर्थकलाई पक्राउ गरेको बताइएको छ।
पुलिसले घटनाको छानबिन गरिरहेको छ।  बैठकमा कोको थिए, कसले बैठक किन बोलाएका हुन्, कुन विषयमा तर्कातर्की भयो, हातापाईको स्थिति कसरी उपार्जन भयो, कसले कति कमिसनको दाबी गरेको थियो, यसबारे पुष्ट खबर भने पाइएको छैन।
सोसल मिडियामा पनि गोली चलेको र गोली चलाउने कुणाल प्रधान रहेको भिडियो मात्र भाइरल छ। यद्यपि, झगडाको कारण र गोली चलाउनुको खास कारण खुलेको छैन। गोली लागेर मल्ली निवासी पुरण मगर अनि पेम्पा तामाङलाई भुँडी र खुट्टामा गोली लागेको छ। घाइते पुरण मगरलाई सिलगढी अस्पताल अनि पेम्पालाई कालेबुङ अस्पताल ल्याइएको छ।
पुलिसले घटनास्थलबाट कुणाल प्रधानको बोलेरो गाडी र पेस्तोल जफत गरेको बताइएको छ। गाडी तोडफोड गरिएको छ। घटनापछि मल्लीवासी आक्रोसित बनेका थिए। उनीहरूले शीघ्र नै कुणाल प्रधान अनि उनका सहयोगीहरूको पक्राउको माग गर्दै मल्लीमा चक्का जामसमेत गरेका थिए। साँझमा बन्द खोलाइयो।
यता कुणाल प्रधानलाई पार्टीबाट आजीवनकालको निम्ति निष्कासन गरिएको छ। मोर्चा प्रमुख विनय तामाङले जनवरीको घटनापछि कुणाल प्रधान र उनका समर्थकहरूलाई तीन महिनाको अनुशासनात्मक कार्वाही गरेका थिए। उनले यसअधि कुणाल प्रधानबाट कुनै पनि घटना भए त्यसको जिम्मेवारी पार्टीले नलिनेसमेत बताएका थिए।
मल्लीको गोली काण्डपछि प्रधान र उनका समर्थकहरूलाई पार्टीबाट सँधैको लागि निकालिएको विनय तामाङले जनाएका छन्।

तामाङले कुणाल प्रधानलगायत उनका सहयोगीहरुलाई शीघ्र पक्राउ गर्नुपर्ने माग गरेका छन्। यसबारे पुलिस अधिकारीहरुसित कुराकानी गरेको पनि जनाएका छन्। घाइतेहरुलाई गोजमुमोले सहयोग गर्ने पनि जनाएका छन्।

सिलगढीको एक अस्पतालमा उपचार चलिरहेको घाइते पुरण मगरको ज्यान बचेको बताइएको छ भने पेम्पा तामाङको स्थिति पनि खतराबाहिर नै रहेको थाहा लागेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया