देश लकडाउन, चियाबगान ओपन : ‘चियाको फर्स्ट फ्लस टिपाईको लालचमा हामी श्रमिकको स्वास्थ्यसँग खेलवाड गर्न सक्दैनौं’

विज्ञापन

कालेबुङ, 25 मार्च


देशका प्रधानमन्त्री नरेन्द्र मोदीको अपीललाई दार्जिलिङका चिया बगानका मालिकहरूले पूर्णरूपमा अवमानना गरेका छन्। प्रधानमन्त्रीले कोरोना भाइरस संक्रमणको चेन टुटाउन देश लकडाउन गरेका छन्, तर लकडाउनको पहिलो दिन नै दार्जिलिङका चिया बगानहरू भने खुल्लै छन्।  केन्द्रका श्रम तथा रोजगार मन्त्रालयले सबै किसिमका सार्वजनिक र निजी रोजगारदाता कम्पनीहरुलाई अस्थायी र स्थायी दुवै श्रमिकहरूलाई जागिरबाट ननिकाल्न ‘एडभाइजरी’ समेत जारी गरेको छ । लकडाउनका कारण व्यापार व्यवसाय ठप्प हुँदा श्रमिकहरूको ज्यालसमेत नघटाउन भनिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले देशभरिका चियाबगानसमेत बन्द गर्न र श्रमिकहरूलाई ज्यालासहितको छुट्टि दिन भनिसकेका छन्। तर लकडाउनको पहिलो दिन दार्जिलिङका विभिन्न चियाबगानमा श्रमिकहरूलाई भने बगान गइरहेको देखियो।

कुनै श्रमिक काममा नगए उसको ज्याला नकाट्न कम्पनीहरूलाई सरकारको निर्देश त छ, तर बंगाल सरकारले यसबारे कुनै अधिसूचना जारी गरेको छैन। अधिसूचना नआएकैले दार्जिलिङ जिल्ला शासकले कुनै निर्णय गर्न सकेका छैनन्। दार्जिलिङका चिया बगानका प्रबन्धकहरूले श्रमिकहरूलाई आफ्नै जोखिममा बगान आउन निर्देश दिएको श्रमिकहरूले बताइरहेका छन्।

रोहिणी चियाबगानका श्रमिक अमिना खवासले बिहान बगान प्रबन्धकलाई फोन गरिन्। प्रवबन्धकले जिल्ला शासकबाट बगान बन्द गर्ने निर्देश नदिएको भन्दै श्रमिकहरूलाई काम गर्न बोलाए। ‘केही बगान त बन्द भइसक्यो, हामीलाई चाहीँ जबरजस्ती काम आउनु भन्छन्,’ अमिनाले सुनाइन्, ‘म्यानेजरहरू मास्क लगाएर काम हेर्न आउँछन्, हामीलाई त मास्क पनि दिँदैन, स्यानिटाइजर पनि छैन। काममा जानै पर्छ भन्छन्। मालिक आफ्नो मुनाफा मात्र हेर्छन्, हाम्रो जीवन नै जोखिममा छ।’

दार्जिलिङमा अमिनाजस्ता हजारौं श्रमिकहरूलाई यसरी नै काम गर्न बोलाइएको छ। श्रमिकहरूले प्रबन्धकहरूलाई आफूहरू काममा नआउने बताउँदा पनि धर पाएका छैनन्। ‘काममा नआए हजिरा पाउँदैन भन्छन्,’ सुनाइन्, ‘त्यसै पनि न्युनतम् वेतनसमेत पाउँदैनौं। काममा गएनौं भने कसरी जीवन चलाउनु। हामीलाई केही भइहाले बगान मालिक नै दायी हुनुपर्छ।’

श्रमिकहरूको भनाइ छ, अहिले फर्स्ट फ्लसको मौसम छ। जसको अन्ताराष्ट्रीय मूल्य धेरै छ। यो मौसममा पत्ति टिपाई भएन भने कम्पनीहरूलाई करोडौंको नोक्सानी हुनसक्छ। ‘कम्पनीले आफ्नो फाइदा मात्र हेरेर हुन्न,’ टिस्टाभ्याल्ली चियाबगानका श्रमिक दिपा छेत्रीले पनि सुनाइन्, ‘न त युनियनहरूले हाम्रो चिन्ता गरेको छ, न त नेताहरूले, न त कम्पनीले नै। हामीलाई ज्यालासहित छुट्टि दिनुपर्ने हो। हामीलाई पनि ज्यानको चिन्ता छ। गुनासो राख्ने ठाउँसमेत छैन।’

मकैबारी चियाबगानका प्रबन्धक सञ्जय दासले कुनै श्रमिकलाई जबरजस्ती बगान नबोलाएको जनाए। ‘हामी त कसैलाई काममा नआइज पनि भन्न सक्दैनौं। आइज पनि भन्न सक्दैनौं,’ उनले भने। सोही बगानका श्रमिक निरु छेत्रीले भने 2017 मा छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनकालमा 105 दिन बगान बन्द हुँदाको रोज नपाएकोले पनि श्रमिक आतङ्कित बनेको बताइन्। ‘हाम्रो  दैनिक रोज 170 रुपियाँ छ। महिनादिनसम्म बगान नजाँदा घर चलाउन गाह्रो पर्छ,’ निरुले भनिन्, ‘बगान बन्द नै भयो भने पनि रोज दिएन भने त हामी दोहोरो मारमा पर्छौं। त्यसैले पनि बगान जानैपर्ने बाध्यता छ।’

कोरोना संक्रमण रोक्न सरकारले सामाजिक दुरत्व बनाउन अपिल गरिरहेको छ तर बगानमा भने झुण्डझुण्ड बनेर श्रमिकहरू काम गरिरहेका छन्। जिल्ला शासकहरूसमेत सरकारको कुनै आधिकारिक निर्देश नआएकोले बगान बन्द गर्न नसकिएको र निर्देश आउने वित्तिकै गर्नुपर्ने पहल गर्ने जनाइरहेका छन्।

दार्जिलिङमा 277 वटा चिया बगान छन्। जसमा 4 लाखभन्दा धेरै श्रमिक छन्। यी बगानमध्ये केही बगानमा श्रमिक आफै काममा गएनन्। केही बगान भने अत्याधिक अन्योलताको कारण आफै बन्द छन्। टिस्टाभ्याल्ली चियाबगानका प्रबन्धक विरेन्द्र छेत्रीअनुसार यस्तो अन्योलता सरकारको ठोस निर्णय नआएकैले बनेको हो। ‘सरकारले बगान बन्द गर्ने अधिसूचना जारी गरेको छैन। स्थिति जटिल बनेको खण्डमा जिल्ला शासकलाई नै बगान बन्द गर्ने वा खोल्ने निर्णय गर्ने अधिकार छ। जिल्ला शासकबाट पनि कुनै निर्देश छैन,’ उनले भने, ‘श्रमिकहरू आफै बुझेर निर्णय गर्नुपर्ने स्थिति छ। मालिक र सरकारले बगान बन्द गर्नेबारे कुनै आधिकारिक निर्णय गरेको छैन।’

गोर्खा जनमुक्ति मोर्चाका प्रवक्ता बीपी बजगाईँले चिया कम्पनी र बंगाल सरकारले श्रमिकहरूको जीवनसित खेलवाड गरिरहेको जनाएका छन्। ‘वर्षैभरि मुनाफा कमाउन मालिसहरूलाई महिनादिनको ज्यालासहित श्रमिकलाई छुट्टि दिएर यो महामारीबाट बचाउनु पर्ने हो,’ उनले भने, सांसद राजु विष्टले सरकारलाई यसबारे पदक्षेप लिन पत्राचार गरेक छन्। सरकार संवेदनशील बन्ने आशा छ।’

२१ दिने लकडाउनमा अत्यावश्यक उत्पाद बाहेकका सबै उत्पाद र कारखानाहरू  बन्द गरिनु अनिवार्य रहेको र यस्तो स्थितिमा पनि दार्जिलिङमा चिया बगान खुल्लै हुनु दुर्भाग्यपूर्ण रहेको बजगाईँले जनाएका छन्।  बजगाईँअनुसार २१ दिनको लकडाउनमा श्रमिकले आफ्नो हाजिरा पूर्ण रूपमा पाएको हुनुपर्छ अनि उनीहरूलाई काममा जानबाट प्रशासनले अविलम्ब रोक्नुपर्छ।

‘चियाको फर्स्ट फ्लस टिपाईको लालचमा हामी श्रमिकको स्वास्थ्यसँग खेलवाड गर्न सक्दैनौं,’ उनले भनेका छन्, ‘चिया बगान र सिन्कोना बगानका गरीब श्रमिकहरूको घरमा आवश्यक खाद्य सामग्री प्राथमिकतामा राखेर सर्वराह गरिनुपर्छ। प्रधानमन्त्रीलाई आग्रह गर्दछु कि यस विषयमा उचित पहल होस् ताकी उनीहरू २१ दिन काममा जान नपरोस्।’

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया