अनित थापाले दिए मालिकहरूलाई अन्तिम चेतावनी

कालेबुङ, 25 मार्च


गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका अध्यक्ष अनित थापाले दार्जिलिङका 277 वटा चिया बगानका मालिकहरूलाई बगानहरू शीघ्र बन्द गर्न अन्तिम चेतावनी दिएका छन्। ‘चियाबगानका श्रमिकहरू हाम्रा मानिस हुन्, उनीहरूको हितको लागि म जुनै हद पनि जान तयार छु,’ उनले भनेका छन्, ‘यो विकट स्थितिमा मालिकहरूले श्रमिकको हितमा दायित्व पालन गरुन्।’

अर्कोतिर दार्जिलिङका सांसद राजु विष्टले देश लकडाउन हुँदासमेत दार्जिलिङका चिया बगान खुल्ला रहनु दुर्भाग्यपूर्ण बताएका छन्। उनले यसविषयमा हस्तक्षेप गर्न केन्द्र सरकारलाई पत्रसमेत लेखेका छन्।

यता दार्जिलिङका सांसद राजु विष्ट, जलपाइगढीका सांसद जोन बारला दुवैको मिलाएर 1 करोड अनि विधायक निरज जिम्बाले 25 लाख रुपियाँ सांसद अनि विधायक कोषबाट कोरोना भाइरस संक्रमण रोक्न खर्च गर्ने भएका छन्।

दार्जिलिङका चिया बगानहरूलाई कुनै पनि कम्पनीले बन्द गरेको छैन। दार्जिलिङका कुनै पनि दल र श्रमिक सङ्गठनहरूले पनि चिया कम्पनीहरूमा दवाब बनाउन सकेको छैन। बंगाल सरकार यो मामिलामा मौन देखिएको छ। यस्तोमा जिटिएले चिया श्रमिकहरूको निम्ति कोष निर्माण गरेको छ।  जिटिएका अध्यक्ष अनित थापाले लकडाउनको बेला श्रमिकहरूलाई पर्ने आर्थिक मर्का न्युन गर्न कोष गठन गरिएको जनाएका छन्।

उनले सबै ठेकेदार, व्यावसायी अनि हुनेखानेहरूलाई आर्थिक सहयोग गरिदिने अपिल गरेका छन्। आफुले जिटिएबाट पाउने 6 महिनाको तलबसमेत उक्त कोषलाई दिने भएका छन्।  ‘चिया बगान बन्द हुनुपर्छ तर  बन्दको समयमा श्रमिकलाई ज्याला दिइनुपर्छ, यसैको लागि जिटिएले यो पहल गरेको हो,’ थापाले भनेका छन्, ‘जिटिएले यस सम्बन्धमा मालिक र सरकार कुरा गरिरहेको छ। उचित निर्णय आइसकेको छैन।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया