कालेबुङ आइपुग्यो कोविड-19 : संक्रमित व्यक्ति चेन्नइबाट फर्किएकी थिइन्

विज्ञापन

कालेबुङ, 29 मार्च


छोरीलाई डाक्टर देखाएर चेन्नईबाट फर्किएकी एक महिला (44)लाई कोविड-19 संक्रमित भएको पुष्टि भएको छ। उनी चेन्नई गएकी थिइन्। फर्किएदेखि खोकी शुरु भएको थियो। कालेबुङ र सिलगढी दुवैठाउँ जँचाएपछि उनी उत्तरबङ्गाल मेडिकल कलेज एवं अस्पतालमा भर्ना भएका थिए। उनको रिपोर्ट पोजेटिभ आएको छ।

बताइएअनुसार 26 मार्चको दिन उनलाई उत्तरबङ्गाल मेडिकल कलेज एवं अस्पतालमा भर्ना गरिएको थियो। उनी 7 मार्चको दिन छोरीलाई डाक्टर देखाउन चेन्नई गएकी थिइन्। बागडोगरा हवाइस्थलबाट स्पाइजेटमार्फत उनीहरू चेन्नई गएका हुन्। उनीहरू 19 मार्चको दिन बागडुगरा हवाइस्थलबाट आफ्नै वाहनमा कालेबुङ फर्किएका थिए।

उनीहरूले आफ्नो वाहन ज्योतिनगरका एक आफन्तमा राखेका थिए। सोही आफन्तकोमा आधाघन्टा बसेपछि उनीहरू कालेबुङ फर्किएका थिए।

भोलिपल्टदेखि उनलाई सुक्खा खोकी शुरु भयो। उनले कालेबुङकै एक डाक्टरलाई जँचाएका थिए। खोकी निको नभएपछि उनले सिलगडीको आफन्तको सहयोगमा सिलगढीकै एक डायगोनस्टिक सेन्टरमा सिटीस्क्यान गराएका थिए। त्यसपछि उनी 26 तारिक उत्तरबङ्गाल मेडिकल कलेज एवं अस्पतालमा भर्ना भएका हुन्। बताइएअनुसार उनले सम्पर्क गरेका सबै व्यक्तिलाई आइसोलेसनमा राखिएको छ। उनका परिवारका सदस्यहरूबाट सबै जानकारी लिइएको छ।

शनिवार दुइजना संदिग्ध रोगीलाई भर्ना गरिएको छ। अहिलेसम्म 12 जनालाई आइसोलेसन वार्डमा राखिएको छ। सबैको रिपोर्ट सोमबार आउनेछ। कालेबुङमा संक्रमित भेटिएपछि प्रशासन सतर्क बसेको छ। सबैलाई घरभित्र बस्न आग्रह गरिएको छ। खाद्य सामग्रीसमेत प्रशासनले नै घरैमा पुऱ्याउने बन्दोबस्त गरेको छ। सामाजिक सञ्जालमार्फत हेल्पलाइन सम्पर्क र नम्बरहरू सार्वजनिक गरिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया