‘संसारमा पर्मनेन्ट भन्ने कुनै वस्तु नहुँदो रहेछ’

विज्ञापन

बसिबियाँलो



यति बेला विश्व नै लकडाउनमा छ। कोरोना अर्थात् कोविड 19 प्राणघातक भाइरसका कारण। सुनसान भएको छ पृथ्वी। छ त केवल सन्त्रास। सरकारले यो महामारीबाट सुरक्षित बस्न हरेक देशको हरेक नागरिकलाई घरभित्रै बसेर यो लकडाउनको जिम्मेवारीपूर्वक पालना गर्न अदेश जारी गरेको छ। यस्तो बेलामा कवि कलाकारहरु चाहिँ के गरिरहेका होलान्? यसै सन्दर्भमा विशाल नाल्बोले खबर म्यागजिनको निम्ति कुराकानी गरेका छन्।


पवित्रा लामा : -लकडाउनको घोषणा हुँदा अनि काम अत्यावश्यक नभएसम्म  सबैजना घरभित्र नै बस्नुपर्ने नियम जारी हुँदा सबैभन्दा पहिला त घर नहुनेहरूलाई सम्झिएँ, त्यसपछि दैनिक खटिखानेहरूलाई। मन विचलित भयो, यति ठूलो देश अनि एक सय तीस करोड मानिसहरूको प्राण जोगाउनु एउटा ठूलो चुनौती नै थियो। तर लकडाउन अनि महामारी दुवै वैश्विक भइसकेपछि अन्ततः नमानी धर भएन।

यसै त अरूबेला पढ्ने समय पनि पाउँदिन थिएँ तर हाल केही न केही अवश्य पढिरहेकै हुन्छु। तर यसघरि प्रेरणादायी किताबहरू नै धेर पढिरहेछु। नीलम कार्की निहारिकाको चीरहरण, नगरकोटीको ज्ञ, अमर न्यौपानेको करोडौं कस्तुरी पढेँ। इन्दिरा गोस्वामीकृत छिन्नमस्ता देवीको उपासक, उदय थुलुङको अक्षरेखा, नयनराज पाण्डेको घामकिरी अनि युवाल नोवा हरारीको होमो डेयस पढेँ। नियमित रूपमा इ-पत्रिकाहरू पढिरहेछु। इन्स्टाग्राममा केही मनपर्दा लेखकहरूलाई फलो गर्ने गर्छु, ती फीडहरू पनि पढिरहेछु। फेसबुकमा आफ्नो वरिपरिका कविहरूलाई पढिरहेछु। फ्रायड पनि पढिरहेछु बेला बेला रोमिला थापरलाई पनि पढ्ने गरेकी छु। अलकेमिस्ट पुनः पढें। श्रीमानले केही अघि केही दुर्लभ किताबहरूको पीडीएफ भर्जन डाउनलोड गरेर पेनड्राइभमा हालिदिएका थिए, ती पनि पढ्दैछु। कहीँ कतै के कमी छन्, कहाँ सुधार गर्नुपर्ने हो भनेर कोहीबेला आफ्नै किताबहरू पनि पल्टाएर पढिरहेकी छु।

केही कविताबाहेक लेखहरू लेखिरहेकी छु, तर कहाँ छपाउँ भन्ने पनि हाल एउटा दुविधामा छु। फ्री लेन्स लेखनको एउटा किताब चाँडै आउनेछ, यसघरि लेखिएका ती रचनाहरू सोझै त्यसमा समावेश गर्ने मनशाय छ। विगत केही महिनादेखि म एउटा ड्रीम प्रोजेक्टमा लागिपरेकी छु, सो सही समयमा साझा गर्नेछु।

अरूबेला मूवी हेर्न समय जुर्थेन। हाल लकडाउन अवधिमा विशेषगरी बेलुकी  टीभीमा दुईचार हिन्दी मूभी हेरेँ। राजीमा आलिया भट्टको अभिनय र पटकथा धेरै मनपऱ्यो, बदला अनि नाम शबाना हेरेर तापसी पन्नुको फ्यान भएँ, रक अन टू हेरेँ जसमा एउटा कलाकारको संवेदनशीलता कुन पराकाष्ठासम्म पुग्न सक्दो रहेछ भन्ने कुरा राम्ररी खुलाइएको रहेछ। त्यसबाहेक नेपालीमा म मह जोडीको डाइ हार्ड फ्यान हुँ- यिनको जोडीले अवसाद अनि विरक्ति कम गराउनमा धेरै मदत् गर्छन्।

संसारमा पर्मनेन्ट भन्ने कुनै वस्तु नहुँदो रहेछ।

जिल्लामा उप समाहर्ता अनि उप न्यायाधीश भएको हुनाले काम थुप्रै छन्। केही दिन अघिसम्म क्वारान्टाइन गरिएका चिकित्सकहरूको देखरेखको दायित्वमा थिएँ। उनीहरू निको भएर ड्युटीमा जोइन गरिसकेका छन्।  हाल चालीसजना डाक्टर, नर्स, टेक्निशियन जो कोभिड 19 ड्युटीमा कोलकाता अनि अन्य जिल्लाहरूबाट आएका छन्, आदिको देखरेख गरिरहेकी छु अनि आवास, भोजन, तथा सुविधा असुविधा हेरिरहेकी छु। बेला बेला सहकर्मी अनि सिनियरहरूसित मास्क बाँड्न, राहत बाँड्न अनि जनचेतना फैलाउँदै सुदूर गाउँहरूतिर पनि गइरहेकी छु।

मनलाई शान्त बनाउन प्रत्येक बिहान मेडिटेशनल म्युजिक सुन्ने गर्छु। मलाई कुनै पनि कर्णमधुर गीत सङ्गीत मनपर्छ। सुफी, सुगम सङ्गीत अनि फिल्मका  गीतहरू सबैप्रकारको गीत सङ्गीत सुनिरहेकी छु, मेरो पर्समा इयरफोन सधैंभरि हुन्छ।

मनप्रसाद सुब्बा : -लकडाउनअघि जसरी साहित्यका विभिन्न कुराहरु पढिन्थ्यो अहिले पनि त्यस्तै नै हो।

केही भूमिका लेख्ने काम गरियो / गरिँदैछ। कोविड-१९ सम्बन्धी दुइवटा कविता अँग्रेजीमा लेखियो जो फेसबुकमार्फत् तपाइँहरूले हेरिसक्नुभएको छ। ती कविताका बङ्गला र हिन्दी अनुवाद पनि सम्बन्धित अनुवादकहरूले फेसबुकमा अनि भिडियो वाचनमा सार्वजनिक गरिसकेका छन्।

केही लेख पनि लेखिरहेको छु एक विशेष योजनाअन्तर्गत।

टिभी कार्यक्रमहरू, विशेष अङ्ग्रेजी , हेर्छु। मुवी कहिलेकाहीँ। गीतहरू धेरजसो नयाँ नै नेपाली, हिन्दी, अङ्ग्रेजी  सुन्छु।‌ साँझपख प्रायजसो (दुइतीन दिन बिराउँदै) हार्मोनियममा गीतहरू गाउँछु। सोच्ने थोक चै थुप्रै छन् । ती सोचहरू कतिले रचनाकै रूप लिन खोज्छन् मनभरि, तर रचनानै चैँ अति थोरै मात्र बन्न पाउँछन्। समयको निकै अंश यो सामाजिक सञ्जालले पनि खर्च गरिदिन्छ। कहिले केही नगरी चुपचाप बसिरहन्छु, यसरी बस्ने समय पनि चाहिन्छ मलाई। तर समय मलाई सधैं थोरै नै हुन्छ।

मोहन ठकुरी : -पुस्तक-मोह त छँदैछ। लकडाउनले  पुस्तक पढ्ने सुअवसर दिएको छ मलाई। अस्तितिर छोडिएको पुस्तकहरू पढ्दैछु। कविता कसैले भन्नुबित्तिकै लेखिने कुरा होइन। तर लेख्ने जमर्को चाहिँ छ। कहिलेकाहीं प्रतिष्ठित गायिका बाणिका प्रधानको गीत सुन्छु । विशेष उनको गीत ” यति धेरै माया किन ‘ घरिघरि सुन्छु।

निमा शेर्पा : -म आजकल केही पुस्तकहरूको अनुवाद गर्ने काम गर्दै छु यो लकडाउनको समय। मुभी त हेर्ने टाइम पाएको छुइनँ। न्युज हेरेर चाहिँ स्तब्ध छु। सहर बजारमा खटी खानेहरूको हालत एकदम नाजुक भइरहेको छ। चिया श्रमिकहरूको हालत पनि उस्तै जटिल छ। नेताहरूले राजनीतिकदेखि माथि उठेर जनभावना लिएर काम गरे अतिउत्तम हुने थियो। पुस्तक अनुवाद बाहेक अर्को काम चाहिँ म बारीमा साग सब्जी रोप्दै छु। खासमा भन्ने हो भने चाहिँ यतिबेला म गुन्द्रुक बनाउँदै छु।

टिका भाइ : -लकडाउनमा प्राय नै म सुतेर सोचिबस्दैछु। पढन मन परेको छैन। भिडियो हेर्नलाई इन्टरनेट स्पीड छैन।

घरभित्र नै रहेर निकै आपातकालीन स्थिति आएर छर-छिमेक, समस्यामा परेका मानिसहरूलाई कसरी राहत पुराउन सकिएला भन्ने कुरा चर्चा गरिन्छ।

घर घरमा, गाउँ गाउँमा पनि स्वयंसेवी र personal protective equipment  हुनपर्ने हो।

युद्ध जस्तो स्थितिमा पढेर बस्नु, खेलेर बस्नु मात्र उपाय होइन, भारत जस्तो अति बढी जनसंख्या भएको देशमा स्वास्थ्य कर्मीहरूको भरमा मात्र यो युद्ध जितन सकिन्न। के गर्ने? यस्तै सवालहरूमा धेर दिमाग केन्द्रित छ।

छुदेन काबिमो :  गाउँमा छु। लाग्छ, संसारकै सुरक्षित ठाउँमा छु। यहाँ आइपुग्नअघि ल्यापटप सिलिगुडीमा छुट्यो, किताब कालेबुङमा छुट्यो। मसँग अहिले जम्मा दुईवटा किताब मात्र छन्। मेन विथाउट हुमेन अनि द काइट रनर। खासमा  मैले यी किताब पनि नेपालकी एक साथीको निम्ति कलकत्ताबाट फर्किँदा ल्याइदिएको थिएँ। किनकि उनी मलाई त्यहाँबाट विश्व साहित्यको अनुवादित किताब पठाइरहन्छिन्। अहिले म त्यही किताब पढ्ने कोशिष गरि रा’छु। 2007 देखि थन्किएको खलील जिब्रानको किताब घरको कुनामा फेला पारेको छु। अब त्यो पनि पढुँला!

लेख्ने काम गरेको छुइनँ। नयाँ किताबको काम केही च्याप्टरमा अल्झिएको छ। म अलि सुस्त मान्छे छु। लेख्दा होस् वा पढ्दा, इञ्जोय गर्न सकिनँ भने यतिकै छाडीदिन्छु। अहिलेको माहोल शायद त्यसको निम्ति उपयोगी पनि छैन कि? नयाँ फिल्म हेरेको छुइनँ। गाउँमा मसँग प्रकृतिले दिएको हरियाली चारैतिर छँदैछ। चराहरू छन्। सधै सुस्ताइ रहने घिसखोला छ। निर्दोष गाउँलेहरू वरिपरि छन्। जसको कथा सुन्न मलाई सधैं प्रिय लाग्छ।

यो दुनियाँ निकै व्यस्त छ। जसको पछि दगुर्दा दगुर्दै कहिले मान्छेले आफैसँग कुरा गर्न बिर्सिँदो रहेछ। यो अवसरमा  म सबै भन्दा धेर समय आफैसँग कुरा गर्दै बिताउने कोशिष गरिरहेछु।   हरेक दिनको केही घण्टा म घर छेऊको ठूलो चप्लेटी ढुङ्गामा उक्लन्छु। म्यूजिक खोलेर कानमा इयर फोन लगाँउछु। र एक्लै धुमधुम्ती टोहोलाइरहन्छु। अनि, मलाई यही समय सब भन्दा सुन्दर लाग्छ। म त्यही बेला नै कमसेकम डाइरीमा केही हरफ लेख्ने कोशिष गर्छु।

लेखनाथ छेत्री : -लकडाउनको शुरूवातमा अमर न्योपानेको गुलाबी उमेर पढेँ। यसचोटि अमर न्योपानेले ज्यादै निराश बनाए। उनको अघिल्लो किताबहरू पढेपछि उनीबाट ज्यादै अपेक्षा गरेछु कि जस्तो पनि लाग्यो।

खैर, अहिले चिनुवा अचेबेको उपन्यास थिङ्ग्स फल अपार्ट दोहोऱ्याएर पढिरहेछु। अचेबे मेरो प्रिय लेखकहरूको सूचिमा पर्छन्। उनलाई पढ्न जुनै परिस्थितिमा पनि सहज लाग्छ।

अँ, फिल्ममा भर्खरै ओस्कार अवार्डदेखि एकाएक चर्चित बनेको कोरियाली फिल्म प्यारासाइट हेरिसकेर मक्ख परिबसेको छु। हेर्छु भनेर राखेका अनेक फिल्महरू छन्। फुर्मास नगरी हेर्ने विचार छ।

प्रणेश राई :-लकडाउनको समय छ विश्व नै गतिहिन भएको अवस्था छ। म चाहीँ खेती किसानीमा व्यस्त छु। हुन त यो मेरो पुर्ख्याउली पेशाको निरन्तरता पनि हो। मेरो जीवन अडाउने ‘जब’ पनि पहिलेदेखि यही नै हो। यो लकडाउनले त अझ स्वनिर्भर बन्न सिकायो मलाई। अब व्यवसायिक फार्मिङ गर्नु नै मेरो विकल्प देख्दैछु। बारीको खेती बाली र गाई वस्तु स्यारसुसार मै व्यस्त छु। फिल्म नै हेरिरा’छु

राकेश ‘क्रान्तिकारी’ :-खासमा पढ्नु पर्ने धेरै किताबहरु थाक परेर बसेका छन् तर म पढ्न  सकिरहेको छुइन। यसो मोबाइलतिर विभिन्न  इ-पेपर हेर्दैछु। केही साहित्यिक लेख पढ्दैछु । साहित्यिक कार्यक्रम युट्युब र फेसबुक लाइभबाट हेरिरा’छु। लेख्नु त अरुबेला पनि ढिलै गरr लेख्ने मान्छे परियो, अहिले पनि त्यस्तै छ। सबैभन्दा बढी चैं अहिलेको अवस्थामा फिल्म नै हेरिरा’छु। फेसबुकमा विभिन्न महानुभावहरुले दिनुभएको फिल्मको लिङ्क कोट्याउदैछु। दिपक खरेल, नेपथ्यका गीतहरु दोहोराइ दोहोराइ सुनिरा’छु।

निर्दोषिका तामाङ : -लकडाउनको समय भएपनि आफू प्रेसमा संलग्न भएको कारण घरमा नै बसेर समाचार वाचन गरी दर्शकसम्म पुऱ्याउने कार्य गरिरहेकी छु। अनि अन्य समयहरू विभिन्न पुस्तकहरू पढेर व्यतित गरिरहेकी छु। समय अभावको कारणले पढ्ने उत्कट इच्छा हुँदा हुँदै पनि मैले धेरै साहित्यिक पुस्तकहरू पढ्ने मौका पाइरहेकी थिइनँ आज आफू बाँची अरूलाई पनि बचाउने अभियानमा घरभित्रै बसिरहेको कारण ती पुस्तकहरू पढेर समयको सदुपयोग गरिरहेकी छु।

एन बि घिमिरे : -अहिले विश्व नै महामारीको चपेटमा आएको छ। मानव जातिले अहिले एउटा ठूलो लडाइँ लडिरहेको छ। अहिले अवस्था कस्तो बनेको छ भने विश्वभरिका मानिसहरू एकझुट भएर कोभिड १९ को सामना गर्नुपर्ने स्थिति छ। तर यस्तो आपतकालीन स्थितिमा पनि धेरैजना आफ्नो व्यापार र फाइदा मात्रै हेरिरहेको देखिन्छ।

भाइरस संक्रमणको ‘चेन ब्रेक’ गर्न सरकारले अहिले देशव्यापी ‘लकडाउन’ घोषण गरेको छ। यो भाइरसबाट बाँच्ने एउटा तरिका त हो तर यो नै अन्तिम विकल्प हो भन्ने मलाई लाग्दैन। यसको निम्ति सार्वजनिक स्वस्थ (Public Health) क्षेत्रमा धेरै ध्यान दिनुपर्ने हुन्छ। वास्तवमा यो व्यवस्था भित्र विज्ञान, प्रविधि, मेडिकल साइन्स आदिको प्राथमिक उद्देश्य मानव सेवा नभएर अधिक नाफा कमाउनु भएको छ। यसैले ‘सार्वजनिक स्वस्थ’को क्षेत्रमा विकसित पुँजीवादी राष्ट्रहरू पनि पछाडि छन्। यसैले अहिले आफूसँग ठूलो ठूलो निजी स्वास्थ संस्थाहरू हुँदाहुँदै पनि केही विकसित देशहरूको कस्तो हालत भएको छ त्यो हामीले देखिरहेका छौं।

यो लकडाउनको समयलाई सिर्जनात्मक रूपमा प्रयोग गरौं भनेर अहिले म सार्वजनिक स्वस्थ (Public Health)- विषयमा लेख तयार पार्नको निम्ति अध्ययन गरिरहेको छु।

अहिले कुनै नयाँ पुस्तकहरू मसँग छैनन्। समयको अभावले गर्दा केही पुस्तकहरू नपढी राखेको निकै भएको थियो, ती पुस्तकहरू अध्ययन गर्नको निम्ति निकालेको छु। त्यसमा, इन्द्र सम्पूर्णको दुईवटा भाग छन्। अहिले झमक घिमिरेको पर्दा समय र मान्छेहरू पढ्दैछु। भूपि शेरचन र लेखनाथ पौड्यालका केही कविता किताबहरू पनि भर्खरै ल्याएको छु। यी छः सातवटा पुस्तक अध्ययन गरिसके र एकदुईवटा लेखहरू तयार पार्न सके भने यो लकडाउनको समयलाई उचित रूपमा प्रयोग गरेको महसुस गर्नेछु। यसरी नै विश्वविद्यालयका पाठ्यक्रम अन्तर्गत केही कामहरू पनि सक्नुपर्ने छ।

स्मिता सोताङ राई : -भागदौड हो जीवन- लाग्थ्यो। मान्छे भएको हैसियतले कामकुरोको लोभ लाग्नु स्वाभाविक हो। तर कोरोना भायरस-कोभिड १९ ले हामी मान्छेको  धेरै भ्रमहरुलाई तोडेको छ।

यस्तो महामारीको समय-  डाक्टर, नर्स साथै अरु धेरै व्यक्तित्वहरुले आ-आफ्नो क्षेत्रबाट, ज्यानको जोखिम उठाएरै, आफ्नो कर्तव्य निभाइरहेका छन्। फेरि- मान्छेले अट्टेरी गरेर, मूर्ख हुनुको प्रमाण पनि दिइरहेका छन्। यस्तो समयमा- हामी,  जिम्मेवार-नागरिक हुनुको परम कर्तव्य – आफूलाई सुरक्षित राख्नु हो।

कोरोना जस्तो भयानक भायरसलाई नेगेटिभ बनाउन, आफू पजेटिभ हुन पनि त्यत्तिकै जरुरी हुनेरैछ। त्यसैले यो लगडाउनको समय- घरभित्रै बसेर, आफूसँग भएको  किताबहरु पढ्दै- जत्तिसक्दो म सुरक्षित छु भन्ने सुनिश्चित गर्छु। हजुरहरु पनि यो केहिदिन लगडाउनको समयलाई सदुपयोग गर्नुहवस्। घरभित्र बसेरै पनि हामी जिम्मेवार नागरिक हुन सक्ने रहेछौं। त्यसैले, यो फुर्सदको समयलाई घरभित्रै बसेर गर्न सकिने कामहरुमा व्यस्त राखौं।

आफू बाँचौ!

परिवार, आफन्त, छर-छिमेक बचाऊँ!

गाँऊ बचाऊँ। त्यसपछि नै हो देश बाँच्ने।

आफूलाई सुरक्षित राख्नु- हामी जिम्मेवार नागरिक हुनुको प्रमाण पनि हो।

आशिष लिम्बु : -अब गर्नु त खासै केही पनि गरिएको छुइन घर बसेर। आफ्नो त गाउँ पऱ्यो। गाउँको  कामहरू त यस्तै हो बारीमा गयो दौरा काट्यो गाईगोठ हिँड्यो यस्तै यस्तै छ। खोइ घरदेखि बाहिर  ननिक्लनु भन्ने छ मान्नै पऱ्यो आखिरमा हाम्रै लागि भनेको हो।

किताब चैं पढ्दैछु दुईचारवटा घर बसेर। अँ…. कविताको किताब बिसे नगर्चीको बयान ,हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे अनि पृथ्वीको अविष्कार पढें। कथाको किताब चै दुईटा पढे हिमफेदीका कथाहरू र आठौं रङको लाछा अनि अब योगमाया पढ्ने बिचार छ र फेरि पनि दोहोराएर हेच्चाकोप्पा र लाइफ अ: बटरफ्लाई पढ्नु पऱ्यो सोचेको छु। अनि अरू पनि थुप्रै थुप्रै नयाँ-नयाँ राम्रा राम्रा किताबहरू छन् समय निकालेर पढ्नु पर्ने ।

तर फिल्म चै त उत्ना ज्यादा हेरेको छुइन भनौं। अब चै गजबकै फिल्म हेर्नु पर्ला टाइम पनि बित्ने नयाँ नयाँ कुरा बुझ्नु पनि पाइन्ने। साथीहरूले पुथ्रै अप्सनहरू पठाएका छन फेसबुकको माध्यमबाट।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया