फ्ल्यासब्याक : नोस्टाल्ज्य : लामागाउँ

विज्ञापन

स्मृतिको स्क्रिनमा

वर्तमान लामागाउँ तर अब आजका सुशिक्षित र चेतनशील युवाहरूको हो। प्रखर युवाकवि ज्ञानेन्द्र यक्सोको हो जसले आफ्नो काव्यकौशलमार्फत् गाउँलाई तथा सबैलाई दाहिने बाटो’’ देखाइदिएका छन्; आजको लामागाउँ यस पत्रिकाका सम्पादक योगेश ‘महिमा’-को हो जसले २०१२ मै आफ्नो सृजनक्षमताद्वारा ‘ढुङ्गा र माटाका आवाजहरू’ सुनाइसकेकाछन् हामीलाई; यो प्रगतिगामी लामागाउँ कविगोष्ठीतिर कविता वाचन गरेरै चर्चा पाइरहेका विनोद प्रधानको हो; सङ्गीत र खेलकुदमा सोत्साह लागेका ती युवाहरूको हो; फौजमा सेवारत् लाहुरेहरूको हो; व्यापार धन्दामा लागेका ती उद्योगी युवाहरूको हो; आफ्ना बाबुबाजेहरूले खनजोत गरेका खेतबारीमा खट्ने युवा कृषकहरूको हो; विभिन्न सामाजिक-सांस्कृतिक सङ्घ-संस्था खोलेर गाउँमा विविध कार्यक्रम आयोजन गर्ने ती सचेत युवाहरूको हो। हो, अब लामागाउँ यिनीहरूकै हो।


मनप्रसाद सुब्बा  


लामागाउँ शब्द मेरो कानमा मीठो बज्छ मेरी आमाको स्वरजस्तै। लामागाउँ मेरो स्मृतिको आँखामा मीठो हाँस्छ मेरी आमा मुस्कुराए जस्तै।

लामागाउँ शब्द मेरो निमित्त केवल यौटा बस्तीको नाम होइन। यो त मेरो स्मृतिको एक कुनामा झङ्कृत हुने यौटा सुमधुर लोकगीत हो अनि मेरो मनको एक छेउमा तरङ्गित भइरहने यौटा अलिखित कविता।

लामागाउँको सम्झना कसैले गराउनासाथ मेरी ती तरूनी आमाको चाँपको फूलजस्तो अनुहार आँखाभरि देख्छु अनि मेरो बाल्यकालका दुइचारवटा सम्झनाहरू टड्कारो भइउठ्छन्। शैशव अनि बाल्यकालमा म आमाबाबासित कतिपल्ट लामागाउँ पुगें थाह छैन। सम्झनामा जेजति अङ्कित छन् तिनैले पनि मलाई कुनै हदसम्म नोस्टाल्जिक बनाइदिन्छ।

लाग्छ -– लामागाउँप्रति म आजन्म ऋणी छु यसकारण कि लामागाउँले मलाई मेरी आमा दियो। यो लेकाली गाउँको काखमा उम्रेको ऐनाजस्तै सङ्लो खोल्सा बग्दैबग्दै मेरी आमा बिजनबारीको पूर्वी किनारालाई स्पर्श गर्दै बग्ने छोटा रङ्गीतमा मिसिन आइपुगिन्।

लाग्छ कि लामागाउँको माटोमा उम्रेर हुर्केकी मेरी आमाको कोखबाट जन्मेको उनको पहिलो सन्तान भएकोले मेरो देहान्तरलाई पनि आमाको माइत अर्थात् मेरो मावली गाउँको हावापानीले केही अंशमा अवश्यै सिन्चित गरिराखेकोछ। भनूँ कि त्यो ‘केही अंश’ मेरो अथाह अवचेतनको एक कुनामा सन्चित छ त्यसैले त लामागाउँ शब्दको स्पर्शमा मात्र पनि मेरो देह कताकता नजानिँदो किसिमले तरङ्गिन खोजेको महसुस गर्छु।

बिजनबारीदेखि आठ किलोमिटर उकालैउकालो कैंजलेसम्म घोडा हिँड्ने बाटो हिँडेपछि अनि त्यहाँबाट अझ चार किलोमिटर मास्तिर जङ्गल अनि बारीको पेटैपेट लर्खरिँदै, उक्लिँदै, कतै तेर्सिंदै गएको त्यो अबोध मौन गोरेटो पनि छ मेरो आँखाअघि यतिखेर जसले गैरागैरी र खोल्साखोल्सीहरू हुँदै डोऱ्याएर पुऱ्याउँथ्यो बाजेबोजुको दुइ तले गारोको घरमा — सिरूले छाएको, ठूलाहरू निहुरेर पस्नु-निस्कनुपर्ने होंचो दैलो, ससाना खिर्की, अघिल्तिर फराकिलो आँगन अनि आँगनदेखि मुन्तिर ओरालो परेको जमीनमा इस्कुसको चौडादार मचान वारपार। इस्कुसहरू तुर्लुङ्ग तुर्लुङ्ग झुन्डिराखेका छहारीदार मचानमन्तिर हिँड्नु कस्तो मज्जा आउँथ्यो! त्यहीँ बसिरहूँ लाग्ने। आँगनको एक छेउमा कुखुराको खोर, कुखुराहरू सललल। घरको पछिल्तिर बाख्राको टाटना, घरदेखि तल्लो गह्रामा गाईगोठ। कुनै एकजना मामाले गाईको दूध दुहेको, गाईको दुइ थुनबाट दूधको तीखो धारा च्वारच्वार गर्दै गबुवामा पस्थ्यो। अनि बिहान-बेलुकी पानी नहालेको त्यै खाँट्टी दूध बोजूले दिन्थिन् हामी मसिनाहरूलाई। ठूलाहरू त काँसको लुम्बा (डबका)-मा बिहानै कोदोको बाक्लो छनुवा जाँड तनतन पिएर आआफ्नो मेलोतिर लाग्थे।

बोजु अलिक सानो डालकी। उनको बान्की परेको सानो अनुहार जहिल्यै पनि मुस्कुराहटले उज्यालो। त्यो अनुहारको रूपलाई रिसले बेरूप पारेको कहिल्यै देखिनँ, न त औदास्यको अँध्यारो छायाँ परेको नै। पुग्नसाथ बाजेबोजुको खुट्टैमा निहुरेर ढोग गरेपछि ‘आम्बी ! आमेन्छा !’ (अमुई नि मेरो नाति!) भनेर मलाई उनको काखतिर तान्थिन्। बाजे ठूलो डालका, बाक्लो खाइलाग्दो जुँगा, मकैको खोसेलामा सुर्ती बेरेर धुवाँ उडाइरहने, हाँस्दा जिउडाल सुहाउँदो हाँस्ने। पछि केही बुझ्ने भएपछि थाह पाएँ – यी बाजे हाम्री बोजुका दोस्रो पति थिएछन्, पहिलो बाजे उमेर छँदै अर्थात् आमा र मामाहरू ससाना हुँदै बितेपछि बोजुले दोस्रो बिहे गरेकी। यी पछिल्ला बाजेपट्टिबाटका चारजना मामाहरूमध्ये अहिले दुइजना अझै छन्। कान्छा मामा मभन्दा डेड-दुइ वर्षमात्र जेठो भएकोले उनीसित इस्कुसको मचानमुन्तिर अनि खोल्सातिर खेल्न गएको दृश्य अझै झल्याकझुलुक हुने गर्छ स्मृतिको स्क्रिनमा। यी बाजे चाहिँ निकै जण्ड झाँक्री पनि थिए भन्ने चाखलाग्दो कथा तर धेरै पछि मात्र सुन्न पाएँ।

पहिलो बाजेपट्टिका मामाहरू निकै माथि अर्थात् माथिल्लो लामागाउँमा बस्थे। दशैँमा टीका लाउन जाँदा दुइ दिनजति बाजेबोजुकोमा बसेपछि माथिल्लो गाउँमा उक्लिन्थ्यों। घरमास्तिरको अग्लो डिल ढुङ्गाको साँघुरो सिंढीबाट उक्लेपछि बारीको गह्राबीचबाट गएको ठाडो गोरेटो स्याँस्याँ फ्याँफ्याँ हुँदै, ठाउँठाउँमा उभेर हाँस्दै काट्थ्यौँ। पातलो आवादी भएको त्यसबेलाको लामागाउँमा घरहरू प्रायः गारोको (ढुङ्गाको पर्खाल खडा गरेर माटोले लिपेको) नै हुने गर्थ्यो। घरको अघिल्लो भागमा गोबरले लिपेको अनि रातो माटोले बोर्डर हानेको सिकुवा जसको एक छेउमा जाँतो अनि अर्को छेउमा परालको गुन्द्री रोल गरेर खडा गरिराखेको। सिकुवा अघिल्तिर आँगनमा ओखली घोप्टो पारेर राखेको अनि मुस्ली घरको पेटीमा तेर्स्याइराखेको। हाम्रा साइँला मामा र कान्छा मामाका घरहरू यस्तै थिए। सोझै पूर्वपट्टि फर्केका यी घरमा बसेको दिन साँझमा अनि रातमा दार्जीलिङ सहर हज्जारौं बत्तीहरूमा झिलिलिली बलेको देख्दा सँधै त्यै गाउँमा बसिरहन पाए हुन्थ्यो लाग्थ्यो अनि सम्झन्थें हाम्रा बाबाले बेलाबेलामा गाउनुहुने गीत ‘दार्जेलिङ् सहर बत्तीको लहर बैकुण्ठ जस्तो छ’। आजको जस्तो आँखै बिगार्ने सेतो किसिमको उज्यालो बल्ने सी. एफ. एल. तथा एल. इ. डी. बल्ब नभएर पारम्परिक बल्बको उज्यालोमा दार्जीलिङ सहर साँझमा साँच्चै हेरिरहुँलाग्दो कुनै कल्पनालोकझैँ देखिन्थ्यो। (छोटा रङ्गीत उपत्यकामा अवस्थित बिजनबारी बजारको पूर्वपट्टि पलेंटी कसेर गजधम्म बसेको चुङ्थुङ् चियाकमानको लामो डाँडाले बिजनबारीवासीलाई दार्जीलिङ सहरको मनोहर दृश्यबाट वन्चित राखेको छ। यस्तो लाग्छ कि बिजनबारी चुङ्थुङ्को डाँडामा हुनुपर्थ्यो या त दार्जीलिङको भूगोलमा चुङ्थुङ् नै नहुनुपर्थ्यो! चुङ्थुङ्को डाँडा अल्पिदिनु नि या त पारि सिङ्ताम कमानपट्टि बालाबास खोलाको खोंच पुरेर तेर्सिदिनु नि जस्तो तिलस्मी कल्पना पनि उब्जिन्थ्यो बाल / किशोर हृदयमा; खेल्छ यस्तो कल्पना अहिले पनि कहिलेकाहीं यो प्रौढ मनमा।)

त्यसरी प्रत्येक साँझ दार्जीलिङ सहरको दिवाली आँखाभरि बोकेर निदाएपछि बिहानको छ्याङ्ग उज्यालोमा कन्चनजङ्घा हिमाल सारा खुशी र उत्साह आकाशतर्फ उचालेर हामीलाई हेरिरहेको हुन्थ्यो। लामागाउँमा हुनुको सबभन्दा ठूलो आनन्द मेरो निम्ति यही नै हुन्थ्यो।

हिउँदको समयमा भने साँझपख घरभित्र दैलो नथुनी बस्न नसकिने। हुँइहुँइ गरेर बहने चिसो सिरेटोले हानेर बसिनसक्नु हुन्थ्यो। दैलो-खिर्की थुनेर सबै घरभित्र। पाइखानाको निमित्त बाहिर निस्कनुपर्दा दैलो खोल्नसाथ अघिदेखि घुस्न बल गरिरहेको सिरेटो आफ्नो सारा शक्ति मुट्ठ्याएर अँटाइनअँटाई भित्र घुस्रिन खोज्थ्यो, मानौं त्यसलाई पनि घरभित्रको न्यानो चाहिएको छ।

गोबरले लिपेको भुइँमा गुन्द्रीमाथि राडी अर्थात् बुर्गासन ओछ्याएको आसनमा पलेंटी मारेर बसेका हुन्थ्यौं हामी। घरको माझमा धुरीखम्बा। धुरीखम्बाको दुइ तर्फ काठको ताक ठोकेर धिब्री बत्ती बालिएको। गारोको भित्तामा पनि कुपी राख्ने खोपी हुन्थ्यो। एक छेउमा माटोको चुल्हा, फलामको ओदान पनि साथमा भएको, मान्छेहरू ओछ्यानमा नजाउन्जेल आगो बलिरहने। चुल्हाको आगोले धिब्रीको उज्यालोलाई सघाउ पुऱ्याइरहेको हुन्थ्यो। चुल्हाको ठीक मास्तिर दाउराको भार अनि सरङ। धुवाँ र ध्वाँसोले मूल खम्बा, कचेटको सिलिङ, दैलोखिर्कीको भित्री पाटा कालो रङ्ग पोतेजस्तै देखिने। माथ्लो तला अर्थात् एटिकमा चढ्नलाई मोटो भालुबाँसको लिस्नु – बाँसको आँख्लाआँख्लामा ख्वापख्वाप काटेर पैताला राख्ने ठाउँ बनाइएको। यस्तो लिस्नुमा चढ्न अभ्यस्त उनीहरु कत्ति सहजै फटाफट चढ्थे, ओर्लिन्थे! कसैकसैले मात्र काठको भऱ्याङ हालेका हुन्थे।

लामागाउँको बान्की परेको, रमाइलो लाग्ने ल्यान्डस्केप हेरेरै दिन काट्न सक्थें म। पारि पूर्वोत्तरमा जति हेरे पनि धित नमर्ने हिमाल त हरदम उभिराखेकै थियो। धुपी र सल्लाका रूखहरू, परेङका झ्याङ्, अम्लिसोका बोटहरू र अरू कति मैले नाम नजानेको लेकाली रूख अनि बुच्काबुच्कीहरू आँखालाई पवित्र तुल्याउने थप थोकहरू। लामागाउँबाट फर्कने दिन फेरि एकपल्ट निकै गौर गरेर यी कुराहरू हेरिराख्थें, हिमाल हेर्थें एक टक लाएर, टाढाबाट देखिने दार्जीलिङ सहरको सौन्दर्यलाई हेर्थें। माथिबाट हिँड्दै तल कैंजले आइपुगिन्जेल हिमाल र सहरलाई हेर्दैहेर्दै, देखुन्जेल हेर्दै हिँड्थें। बिजनबारी घरमा आइपुगेपछि पनि केही दिनसम्म यी दृश्यका झझल्का आँखामा खेलिरहेका हुन्थे।

फर्किंदा स्वभावैले अनेक कोसेलीको भारी हुन्थ्यो। म अनि मेरो भाइसित आमा मात्र गएकी बेला यी कोसेलीका सामानहरू बोक्ने भरौटे पनि हाम्रो साथमा पठाइदिन्थे। बाबासित गएको बेला यस्ता कोसेलीको भारी बाबाले नै बोक्थे। एक दिन त्यसरी कोसेलीको भारीसित बाबा र म लामागाउँबाट फर्केको घटना मेरो स्मृतिमा कुनै पुरानो सपनाको अस्पष्ट चित्र जस्तो झल्याकझुलुक देखिरहेछु यस क्षण। यस अस्पष्ट चित्रमा पछिबाट आमाले भन्नुभएको कुरा पनि जोडिएको छ। बाजेबोजुको घरमा एक रात बसेर भोलिपल्ट माथिल्लो गाउँका दुइजना मामाहरूको मेजमानी खाएर साँझ खस्न लाग्दा त्यहाँबाट फर्केका रहेछौं। म चार वर्ष पूरा गरी पाँच टेक्दै थिएछु। उकालो जाँदा बाबाले आङमा बोकेर पुऱ्याएका थिए। तर फर्कंदा कोसेलीको गह्रौं भारीमाथि म अर्को भारी थपिएको थिएँ। दुइ घरको मेजमानी, छिप्पेको दुइ तोङ्बाले रन्थनिएका बाबा जति हिड्थे उति नै रन्थनिंदा रहेछन्। अँध्यारो हुँदै गएकोले अलिक छिट्छिटो पनि हिड्नुपर्ने भइराखेको। साँझ गहिरिंदै गइरहेको, आँखा तिर्मिराइरहेको, बस्तीको साँघुरो गोरेटो अनि कैजलेदेखि ओरालो घोडाको ढुङ्गे बाटो। होशियार हुन खोज्दाखोज्दै पनि यी गोरेटो र घोडे बाटोमा कोसेलीको भारी अनि भारीमाथिको मसहित उनी कतिपल्ट लडे गन्ती छैन। लड्दैपिच्छे फेरि भारी मिलाउँदै, भारीमाथि मलाई बसाउँदै बोकेर उठ्थे, कहिले उठ्न खोज्दै फेरि लड्थे। लड्दै उठेका, मलाई सुम्सुम्याएका, फेरि लर्खरिंदै हिँडेका धमिलो सम्झना, हो कि होइन जस्तो, मेरो मानसपटमा छ। यै घटनाबारे आमाले पछि हाँस्दै भनेकी कुरा भने आमाको हाँसिरहेको अनुहारसहित मेरो स्मृतिमा छयाप्प बसेको छ : ‘…घरमा आइपुग्दा त नानीको निधारभरि टुटुल्कै टुटुल्का !’ अनि चिम्से आँखा अझ चिम्स्याएर स्वाँइय्य हाँस्थिन् आमा। अनि थप्थिन्, ‘कसो भीरबाट लड़िझरेन रैछ नि ! दुइतीन दिनसम्म नुनपानीले सेकिबसें एसको निधार।’

विशेषतः दशैँको भोलिपल्ट या पर्सिपल्ट, आफन्तको बिहे-बटुल तथा मरौ कार्यमा नै लामागाउँ जाइन्थ्यो। बिहामा च्याब्रुङको त्राङ् धुम त्राङ्-ले पाखापखेरा ध्वनित् हुन्थ्यो भने लिम्बु युवायुवतीहरूको धाननाचले रात फर्लंङ्गै काट्थ्यो। बिहान घाम लागुन्जेलसम्म धाननाच छुटेको हुँदैनथ्यो। टिलिकटिलिक टल्कने झुम्का भएको रातो लाछाले बाटेको लामो केश, सुनको गहना –- नाकमा ढुङ्ग्री-मुन्द्री, कानमा ठूल्ठूला चेप्टे सुन, गलामा कण्ठ, चाँदीका सिक्काको आठाने-रूप्पे रेजी, हातमा सुन या चाँदीका बुट्टादार चुरा, खुट्टामा चाँदीकै काँडे बुट्टादार कल्ली, रातो-कलेजी-नीलो-हरियो पिलासको चौबन्दी चोली, बाह्र हाते गुन्यु, कम्मरमा पटुकी अनि उस्तै सुहाउँदिलो पोथाङ् (मजेत्रो) ओढेकी — यसरी सजिएर आएका लिम्बुनी स्त्रीहरूले बिहाघरको परिवेश त्यसैत्यसै जगमगाइरहेको लाग्थ्यो। साँझ गहिरिंदै गएपछि बाँसको पुल्ठो बनाई विशेष-विशेष ठाउँमा खडा गरेर बालिन्थे; केही पछि पेट्रोमेक्स आयो। (बस्ती पाखातिर विद्युतीकरण हुन केही दशक पर्खिनु नै थियो।) बिहा होस् या मरौको अन्त्येष्टि, निम्तेरीहरूलाई खुवाउने परम्परा एकै जस्तो थियो। घरछेउको बारीको ठूलो गह्राको वरिपरि पराल ओछ्याएको, त्यसमाथि गुन्द्री राखेर सबै निम्तेरीहरूलाई बसाइन्थे एक साथ लहरै। सबको अघि तोङ्बाको ढुङ्ग्रो –- हरियो बाँसको — ठड्याइन्थ्यो। तोङ्बाको माथिल्लो भाग एक टुक्रा केराको पत्ताले छोपेको, त्यसमाथि बाँसकै हरियो पिप्सिङ तेर्साइएको। यसरी तोङ्बा राख्ने काम युवकहरूले गरिसकेपछि युवतीहरू आउँथे तातो पानी भरिएको तामाको खड्कुँडा दुइतिर झुण्ड्याएर अनि एकएकवटा तोङ्बामा डाडुले पानी हालिदिंदै जान्थे। अनि अर्को जोडी युवतीहरू आउँथे सानो थुन्सेमा दुना र फिलिंगेको अचार राख्न। निकै बेरपछि फेरि बसेकै ठाउँमा ठुलो आकारको टपरी राखिन्थ्यो जसमाथि अब भात पस्किँदै जान्थे तरूनी-तन्नेरीका जोडीले। अर्को जोडीले राँगाको सुक्खा मासु भातमाथि राख्दै जाने अनि पछिल्लो जोडीले, मासुको झोलले भरिएको खड्कुँडा बोकेर आउँथे र डाडुले उघाउँदै भातमा हालिदिन्थे। कुनैकुनै अभागीलाई चुहुने टपरी पर्थ्यो अनि आधासरो चुहेर जाने। राँगाको मासु नखानेलाई फाक्सा राखिदिन्थे। बाहुन-छेत्री निम्तेरी भए भातसित दूध–घिउले टार्ने। यस्तो भोजभतेरमा सागसब्जीको परिकार बनेको मलाई थाह छैन। त्यसपछि आउँथे घरपक्षका निम्ति बोल्ने एक सज्जन आफ्ना सहयोगीसित अनि उनले हात जोडेर तरेबा (पाहुना)-हरूलाई ‘आसेवारो! आदाङ्बा-आदाङमासे ! आल्ल ग…’ (नमस्कार छ है हजुर महाशय महाशयाहरूमा! अब त..) भनेर सम्बोधन गर्दै लिम्बु भाषामा अरू पनि केके भन्दै खान शुरु गरिदिने आग्रह गर्थे। [यस्तो परम्परा लामागाउँमा मात्र होइन तर लिम्बुबहुल कुनै पनि गाउँबस्तीमा पच्चीस-तिस वर्षअघिसम्म देख्न पाइन्थ्यो।]

त्यस समयका लामागाउँवासीहरू ठूला-साना सबैको पहिलो भाषा लिम्बु भाषा, नेपाली दोस्रो भाषा, पछि सिकेर बोलिने। आमासित गएको बेला आफूले लिम्बु बोल्न नसकेकोमा छक्क परेर कोहीकोहीले नेपालीमा मलाई भन्थे-‘आम्बी! क्या भन्छ हाउ! याक्थुङबा भोएर आफ्नो पान बोल्नु चान्दिन भन्नु छक् पर्नु मेम्बी?’ हातको औंलामा गन्नसकिने त्यहाँका गैर लिम्बुहरू पनि लिम्बु भाषा बोल्नमा रिप्फु। प्राथमिक पाठशालाको शिक्षकको नियुक्ति पाएर बिजनबारी बजारबाट लामागाउँ गएका एक शिक्षक थिए गणपत ठाकुर जसको मातृभाषा भोजपुरी थियो भने शिक्षार्जन गरेका थिए नेपाली माध्यममा। चार-पाँच वर्षको बसाइमा उनी लिम्बु भाषा बोल्ने त भए नै साथै मेरा एकजना मामासँग मित लाएर उनी मेरी आमाका मितभाइ र मेरा मामा पनि भए। उनीसँगै अर्का एक शिक्षक, दिलबहादुर प्रधान, नागरीबाट लामागाउँ पसेपछि चाँडै नै त्यहाँको लिम्बु परिवेशमा यस्तरी भिजे कि तीन किलोमिटर तल्तिर कैंजलेका नेवार्नीहरूलाई पत्तै नदिई लामागाउँकी एक लिम्बुनीसित घरजम गरेर आफ्नो पुर्ख्यौली थलो नागरीलाई बिर्से। आफ्नी लिम्बुनी जीवनसाथीसित लिम्बु भाषामा फररर कुरा गर्ने मात्र होइन तर घरमा पनि लिम्बु रीतिथिति नै चल्थ्यो। उनको घरमा आयोजित सांस्कारिक अनुष्ठानमा फेदाङमाले मुन्धुम फलाक्थ्यो, येबा-येमा (बिजुवा-बिजुवानी) नाचेर प्रेतात्मालाई मन्साउने गर्थ्यो। उनका छोराछोरीहरू सब लिम्बुभाषी भए। यतिसम्म कि पछि ई. २००४–मा उनको देहावसान हुँदा उनलाई लिम्बु परम्परानुसार धरतीमाताको काखमा फेदाङमाले सिरूको पातसित यौटा सिक्का धरतीमा राखी मृतकको नाममा किनिदिएको जमीनमा बाकसमा सुताएर राखियो।

ती प्रधान शिक्षक बिजनबारीमा आउँदा हाम्रो घरमा निस्कन्थे, आमालाई ‘आन्ने’ (दिदी) भनेर कहिले लिम्बु भाषामै बात गर्थे। उनको जेठा छोरा तरूण प्रधानले बाबुकै बाटो पैल्याएर नोर बस्तीकी लिम्बुनी नै बिहे गरेका छन् भने उनकी बहिनी जो आफ्नो मातृभाषाकै रुपमा लिम्बु भाषा बोल्छिन्,-ले उनकै लिम्बु सोल्टीलाई बिहे गरेर उनी अझ बढी लिम्बुनी भएकी छिन्। लामागाउँलाई आफ्नो मूल थलो बनाएर लिम्बु संस्कृति ग्रहण गर्ने उनै दिलबहादुर प्रधानका नाति तथा तरुण प्रधानका छोरो विनोद प्रधान आज हामीमाझ एक चम्किलो युवा कविको रुपमा चिनिन्छन्।

यसरी लिम्बु सम्प्रदाय र लिम्बु भाषा-संस्कृतिले ढाकेको यो ठाउँको नाउँ चाहिँ किन र कसरी लामागाउँ भयो? यो प्रश्नको उत्तर म बाल्यकालदेखिनै खोजिरहेछु, तर आजसम्म चित्तबुझ्दो उत्तर कसैबाट पाउनसकिएको छैन। लिम्बुहरूमा पनि बहुसङ्ख्यक चाहिँ मेरा आमा-मामाहरूको थर सेत्लिङ छन् त्यस गाउँमा। लामागाउँको उच्च सिह्रानमा बसोबासो छ केही शेर्पाहरूको। तिनै शेर्पाहरूमध्ये कुनै एक लामा अघिदेखि बसिआएकोले उसैको नाममा लामागाउँ नाम बसेको भन्ने कसैकसैको भनाई पत्यारिलो लाग्दैन। अर्को किम्बदन्ती अनुसार तीन-चार सय वर्षअघि लिम्बुहरू त्यस ठाउँमा आउनभन्दा पहिले भोटेहरू थिए, उनीहरूको गुम्बाको निशानी ठानिने त्यहाँ एक ठाउँ कुनै ऐतिहासिक ध्वंशावशेष जस्तो देखिने ढुङ्गाको थुप्रो देखिन्छ। एक हूल लिम्बुहरू लिम्बुवानबाट पूर्वतिर बसाईं सर्दै आएर भोटे लामाहरूलाई त्यहाँबाट लखेटे भन्ने झीनो कथा छ। ती लामा बसेकैले ठाउँको नाम लामागाउँ भएको भन्ने लोकविश्वास छ। तर गाउँ शब्द लिम्बु शब्द होइन, न त तिब्बती शब्द नै। त्यसताक पृथ्वीनारायण शाहको गोर्खा राज्यमा बोलिने गोर्खा भाषा एक शब्द नबुझ्ने लिम्बुहरुले लामागाउँ नाम दिएको मान्न सकिन्न, अनि ती तिब्बती बासिन्दाहरूले त्यस ठाउँको नाम तिब्बती भाषामै केही राखेका थिए होलान्। शोधको विषय छ। यसरी शताब्दीयौंअघिदेखि यो लिम्बुगाउँले मिसनमर (Misnomer) पाएको छ लामागाउँ।

लामागाउँ, नोरबस्ती, सुम्बुक क्षेत्र लिम्बूहरूले कहिलेदेखिन् आवाद गरेका हुन्, किटेर भन्न सकिन्न। यहाँका ती कतिपय पुराना नागरिकहरूसित जमीनसम्बन्धी सत्रौं शताब्दीको दस्तावेज छ भन्ने पनि सुनिन्छ। त्यसो त, उन्नाइसौं शताब्दीको पूर्वार्द्धसम्म सिक्किमको अभिन्न अङ्ग रहेको यो क्षेत्रमा मात्र नभएर समग्र सिक्किमकै इतिहासमा लिम्बु र मगरको उपस्थिति तिब्बतीहरू सिक्किम पस्नुभन्दा शताब्दी अघिदेखिको प्रमाणित गर्ने तथ्यहरू इतिहासकारहरूले अघि सारेका छन्। यस भेकका भावी शोधार्थीहरूले खोज अघि बढाउने छन् एकदिन।

000

यो लेख लेखिरहेको बेला अहिले म ती बुज्रुग बैदार बाजेलाई पनि झल्झली देखिरहेछु। उनको नाम के हो थाह छैन। तर उनलाई सामान्यतः चिनिने नाम ‘बैदार’। होंचो कदको तर मोटो र खाइलाग्दो, सेतो सप्फा सुकिलो दौरा-सुरुवाल, कहिले सुरुवालमाथि कमिज, त्यसमाथि अस्कोट अनि चेक कोट, चिल्लिँदै गएको तालुमाथि बान्की पारेर छयाप्प राखिएको ढाका टोपीको हिमाली टाकुरा, पावरवाला चस्मा अलिक थेप्चो नाकको डाँडीमा। निकै व्यक्तित्ववान देखिने। नेपाली बोल्दा, लामागाउँका अधिकतर लिम्बुहरूले जस्तो लिम्बु लवज मिसाएर होइन तर एकदम प्रष्ट नेपाली बोल्थे। हप्तामा या डेढ-दुइ हप्तामा एक पल्ट दार्जीलिङ जाँदा-फर्कंदा हाम्रो घरमा एक रात बस्ने गर्थे। साँझमा कोदोको एक तोङ्बा, कहिले दुइ पनि, तान्थे। कोर्ट-कचहरीको कुरा गर्थे, त्यस्तै काम लिएर दार्जीलिङ धाउँथे सिङताम चियाकमानको उकालो हिँडेरै। हामी ठिटाहरू उनका कुरा आधासरो बुझ्दैनथ्यौँ। तर नबुझे तापनि कुन्नि किन उनको कुरा सुनिरहन मज्जा लाग्थ्यो मलाई। एक दिन यौटा निकै गम्भीर मुद्दाबारे उनी बोलिरहेका थिए। विषय थियो लामागाउँको सार्वजनिक चिहानघारी जो कैंजले भन्ज्याङदेखि केही मास्तिर पर्थ्यो। कैंजले भन्ज्याङकै एक दुइ गैरलिम्बु व्यक्तिहरूले कुनै अनैतिक उद्देश्यले प्रेरित भई धमाधम चिहान खनेर लिम्बूहरूको चिहानघारी ध्वस्त गरिरहेको घटनालाई लिई बैदार बाजेले लामागाउँका सारा लिम्बुहरूको पक्षमा कोर्टमा मुद्दा हालेका थिए। खेलमैदान निर्माणको निहुँ देखाएर अनधिकृत तौरमा त्यसरी कुनै एक सम्प्रदाय विशेषको चिहानघारी खन्नुको पछि वास्तविक उद्देश्य के थियो? सबैतिरबाट यौटै उत्तर आइरहेको थियो : लिम्बुनी स्त्रीको मृत्यु हुँदा उसले लाइराखेको सुनको गरगहना फुकालिँदैनथ्यो; ढुङ्ग्री-मुन्द्री, कानको मडवडी-कुन्डल, गलाको गहना, चुरा इत्यादिसितै दफन गर्ने चलन थियो। लोग्ने मान्छेकै पनि औंठी अर्थात् कसैकसैले दाँतमा मोहोरेको सुनको पत्ती आदि फुकाल्ने दस्तुर थिएन। तिनै सुनको निम्ति नै चिहानहरू खन्ने दुष्कृति ती व्यक्तिहरूले गरिरहेका थिए भन्ने आरोप लामागाउँवासीहरूले लगाइरहेका थिए अनि त्यसैलाई जिल्ला अदालतसम्म पुऱ्याउने काम गरेका थिए ती बैदार बाजेले। यस मुद्दाबारे उनी निकै जोशिएर राँकिएर बोल्थे। मुद्दा दायर भएपछि चिहानघारी खन्ने काम तुरुन्त रोकियो अनि केही महिनापछि थाह लाग्यो – लामागाउँवासीहरूले मुद्दा जिते। त्यस समयको लामागाउँमा बैदार बाजे जस्ता बाठा व्यक्ति पनि थिए।

त्यस्तै टड्कारो गरी स्मृतिमा बसेका अर्का एक व्यक्ति छन् बालधोज लिम्बु उर्फ पण्डित। विगत सत्तर-अस्सीको दशकमा लामागाउँमा टाढैबाट छर्लङ्ग देखिने व्यक्ति तिनी। शारीरिक तौरले अपाङ्ग भन्नपर्ने (कुखुरे छाती र कुम्ले ढाड अर्थात् हन्चब्याक), उँचाई पुगनपुग चार फिट मात्र, तर कुरा चाहिँ अग्लो गर्ने। निकै जानकार अनि इन्टेलीजेन्ट। त्यसैले होला लामागाउँमा उनलाई उपनाम दिइयो ‘पण्डित’! बोल्न नधकाउने, कहिले काहीं बठ्याईं नै पनि देखाइहाल्ने। मुन्धुमको कुरा होस् या राजनीतिको, लिम्बु संस्कृतिको कुरा होस् या सामाजिक मुद्दाका, उनी सँधै बात गर्न उत्सुक र उत्साही। खुलेर हाँस्ने पहेंलिएको चपरे दाँत वारपार देखाएर। शुक्रबारे हाटमा बिजनबारी झर्थे, हाम्रो घरमा आउँथे, आमालाई ‘नेन्ने’ (फुपू) भन्थे, तोङ्बा तान्थे अनि केटेटेटेटे..हाँस्दै गफ हाँक्थे।

१९८६-को अप्रेलदेखि थालिएको गोर्खाल्याण्ड आन्दोलनले उग्र रुप लिन थालेपछि लामागाउँकाहरू बिजनबारी झर्न छोडे। तिहीं तल्तिरको कैंजले भन्ज्याङसम्म ओर्लन पनि खतरा हुने भयो उनीहरूलाई। झेपी खोलाले छेकेको पूर्वी क्षेत्रदेखि तल छोटा रङ्गीत उपत्यकाको वारि अनि पारिपट्टिका साथै उत्तरमा सिङ्लासम्मका भूखण्ड गोर्खाल्याण्डविरोधी सि.पी.एम.-ले अँठ्याएर राखेकोले रेलिङ, लामागाउँ, सुम्बुकदेखि उँभोकाहरू बिजनबारी क्षेत्रदेखि झन्डै अढाई वर्षसम्म पूर्णतः विच्छिन्न रहे। सि.पी.एम.को कब्जामा रहेका ठाउँहरूमा पार्टीका जङ्गी काडरहरूका साथ सशस्त्र बङ्गाल पुलिस र सि.आर.पी.एफ.ले रातदिन गस्ती लाउँथे भने तिनीहरूले आन्दोलनकारी क्षेत्रमा पसेर आधाराततिर छापा मार्ने काम पनि हम्मेसी गरिरहन्थे। लामागाउँ पनि कतिपल्ट छापामारको मारमा पर्यो गन्ती छैन। त्यस्तै यौटा पुलिसी छापामारमा गाउँका समर्थ पुरुषहरू सब भागेर जङ्गलको पोथ्रापोथ्री तथा ओढारतिर लुक्न पसेछन्। विचरा ‘पण्डित’ भाग्न नसकेर घरको एक अँध्यारो कुनामा कुक्रुक्क परेर बसिरहे। सि.आर.पी.-का जवानहरू राइफल तेर्साएर घरको तलाशी लिँदै हेर्दै जाँदा देखे पण्डितलाई। टर्च लाएर हेरे अनि भनेछ एकजनाले आफ्नो साथीलाई – ‘एइ छोड दो, बच्चा है।‘ वस्तवमा उही ‘बच्चा’-ले लामागाउँमा गोर्खाल्याण्ड आन्दोलन सल्काउनमा अहम् भूमिका खेलिरहेको थियो भन्ने कुरा ती छापामार पुलिसहरूलाई के थाह त्यसबेला !

000

आज लामागाउँको परिवेश र जीवनशैली पहिलेको जस्तो छैन। ठूलै परिवर्तन आएको छ त्यहाँ। गाउँको छातीमा गुडिरहेका देखिन्छन् – पेसेन्जर बोक्ने स्पेसियो, ससाना कारहरू, इस्कुस अनि रासिन बोक्ने ट्रकहरू अनि मोटरबाइकहरू। बिचबिचमा कानमा थुर्रिन आउने गाडी र बाइकको घर्रर्र गुडुडुडुले त्यहाँको सौम्यता च्यातिरहेको, बिजुलीको रङ्गीचङ्गी झलमल्ल बिहाघरमा समसामयिक हिन्दी गीतले हल्ला कराइरहेको। ती अघिका तरूनीतन्नेरीहरूले धाननाचमा नाच्दानाच्दै कथेका पालामका मधुर धुनहरू सपनामा झैं मेरो स्मृतिको एक कुनामा तरङ्गित हुन्छ अनि फेरि एकपल्ट नोस्टाल्जिक हुन्छु। च्याब्रुङ त बज्छ अहिले पनि बिहेघरमा तर पहिलेको ठूलो आकारको च्याब्रुङले जस्तो मीठो त्राङ धुम त्राङ बोलेर टाढाटाढासम्म तरङ्ग्याउन सक्तैन।

घरहरू प्रायः सिमेन्टेड या त काठ अनि च्यादरको छाना ठोकेको आधुनिक बान्कीको। ती घर छन् वेल-फर्निश्ड, आधुनिक सुविधासम्पन्न। तीबाट पनि बलिउडका हिन्दी गीतहरु बाहिर निस्केर जताभावी कुदिरहेका। लिम्बु भाषामा बात मार्नेहरू फटाकफुटुक मात्र भेटिन्छन् अचेल। कहिले काहीं विशेष काम पर्दा कालो पक्की सडकमा गुडेर जब मलाई चार चक्के वाहनले लामागाउँभित्र पुऱ्याइरहेको हुन्छ त्यसबेला म ती अघिका शान्त र निर्दोष गोरेटाहरू मिस गरिरहेको हुन्छु। अनि मलाई यो बस्ती बस्तीजस्तो लाग्दैन। यसको बस्तीता मिस गर्छु अनि यसको ‘बस्तित्व’ अझ बढी मिस गर्छु। सहरे सासको गन्ध नाकमा पर्छ अचेल बस्तीको बासभरि। सहरे स्वरूप उभिन्छ अचेल बस्तीको आँखाअघि। सहरे भाका थुर्रिन्छ बस्तीको कर्णकुहरभरि। सहरे स्वादले समातिएको छ बस्तीको जिब्रो र नाक पनि। एटलान्टिक महासागरपारि र वारिका बहुराष्ट्रिय कम्पनीहरूसित बहँदै आएको भूमण्डलीकरणले धुमधाम पोतिरहेको सांस्कृतिक एकरूपीकरण (Cultural Homogenization)-को रङ्गरोगनबाट लामागाउँ कसरी अछुत रहन सक्ने र ! यतिबेला सायद मेरो कानभित्रको कानले सुन्न खोजिरहेको छ पात बजाएर मीठो लोक धुन सुनाउने तरूनी छेमाहरूको त्यो लामागाउँ, दौराको तुनामा उनेर छातीनेर झुन्ड्याइराखेको बिनायो बजाउने मेरा मामाहरूको त्यो लामागाउँ, ‘हुइ पक्कन्दी!’ भनेर माथि डाँडामा कुर्लिने त्यो तन्नेरी लामागाउँ, मरौघरमा अन्त्येष्टीको भोलिपल्ट अपरान्हतिर सिकुवामा गुन्द्रीमाथि बसेर हाक्पारे गाउने मुन्धुमविद् बुढाहरूको लामागाउँ!!!

000

वर्तमान लामागाउँ तर अब आजका सुशिक्षित र चेतनशील युवाहरूको हो। प्रखर युवाकवि ज्ञानेन्द्र यक्सोको हो जसले आफ्नो काव्यकौशलमार्फत् गाउँलाई तथा सबैलाई दाहिने बाटो’’ देखाइदिएका छन्; आजको लामागाउँ यस पत्रिकाका सम्पादक योगेश ‘महिमा’-को हो जसले २०१२ मै आफ्नो सृजनक्षमताद्वारा ‘ढुङ्गा र माटाका आवाजहरू’ सुनाइसकेकाछन् हामीलाई; यो प्रगतिगामी लामागाउँ कविगोष्ठीतिर कविता वाचन गरेरै चर्चा पाइरहेका विनोद प्रधानको हो; सङ्गीत र खेलकुदमा सोत्साह लागेका ती युवाहरूको हो; फौजमा सेवारत् लाहुरेहरूको हो; व्यापार धन्दामा लागेका ती उद्योगी युवाहरूको हो; आफ्ना बाबुबाजेहरूले खनजोत गरेका खेतबारीमा खट्ने युवा कृषकहरूको हो; विभिन्न सामाजिक-सांस्कृतिक सङ्घ-संस्था खोलेर गाउँमा विविध कार्यक्रम आयोजन गर्ने ती सचेत युवाहरूको हो। हो, अब लामागाउँ यिनीहरूकै हो। यिनीहरूकै मायामा यो मौलाउँछ, यिनीहरूकै निर्मायामा नुहुन्छ। युवा उत्साह र साचेत्यमा संरक्षित रहनेछ यो प्राचीन गाउँको अर्द्धआविष्कृत अतीत, युवाचेतले गुडाएर अग्रगति दिनेछ यो गाउँको वर्तमानलाई, सृजनशील युवादृष्टिमा खिँचिनेछ यो मेरो प्यारो मावली गाउँको भावी!!

ओम् तागेरा निङ्वाफुमा ! आसेवारो !!

_________________________

१९-२० ज्यान्वरी २०१८

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया