बोडोल्याण्डमा राज्यपाल शासन : विमल खेमालाई जिटिएमा आपत्ति

विज्ञापन

‘जिटिए क्षेत्रका नेतृत्व पनि चौकी – पद र शक्तिको प्रलोभनमा नपरेको भए आज हाम्रो स्थिति बेग्लै हुनेथियो,’ लामाले भनेका छन्,  ‘जिटिएको मियाद घरि घरि बढ़ाएर राज्य सरकार एवं जिटिएको चौकीमा बस्ने नेतृत्ववृन्दले दार्जीलिङको जनाआकांक्षालाई पाइतालाले कुल्चेको छ।’


कालेबुङ, 28 अप्रेल


गोजमुमो-1-का कार्यकारी अध्यक्ष लोपसाङ लामाले बङ्गाल सरकारले जिटिएको मियाद बढाउँदै गोजमुमो-2 का नेताहरूलाई पदमा मनोनित गर्दै राखेकोमा आपत्ति जाहेर गरेका छन्। हिजोदेखि बोडोल्याण्ड टेरिटोरियल एरिया डिस्ट्रिक्समा राज्यपाल शासन लागू भएको सन्दर्भ तानेर लामाले यस्तो आपत्ति जाहेर गरेका हुन्।

बोडोल्याण्डमा ‘जनाकांक्षा सर्वोपरि’ भन्ने उक्तिलाई चरितार्थ तुल्याएको भन्दै राज्यपाल शासनको निम्ति बधाईसमेत व्यक्त गर्दै लामाले जिटिएमा भने बङ्गाल सरकारको भाँडभैलो निहित रहेको जनाएका छन्। बोडोल्याण्ड टेरिटोरियल काउन्सिलको नयाँ सम्झौताअनुसार 4 अप्रेलमा चुनाउ हुने निश्चित थियो। कोविड-19-को महामारीबीच चुनाउ सम्भव रहेन। 27 अप्रेल काउन्सिलको मियाद सक्ने वित्तिकै त्यहाँ राज्यपाल शासन लागू गरिएको छ।

काउन्सिलको मियाद बढाउन सक्ने प्रावधान पनि छ। तर नेतृत्व र जनताको आकांक्षाअनुरुप बोडोल्याण्डमा राज्यपाल शासन लागू गरिएलगत्तै लोपसाङ लामाले बोडोल्याण्ड टेरिटोरियल काउन्सिल र गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिष्ट्रेसन बीचको फरक खुट्याउँदै आपत्ति जाहेर गरेका छन्।

‘जिटिए क्षेत्रका नेतृत्व पनि चौकी – पद र शक्तिको प्रलोभनमा नपरेको भए आज हाम्रो स्थिति बेग्लै हुनेथियो,’ लामाले भनेका छन्,  ‘जिटिएको मियाद घरि घरि बढ़ाएर राज्य सरकार एवं जिटिएको चौकीमा बस्ने नेतृत्ववृन्दले दार्जीलिङको जनाआकांक्षालाई पाइतालाले कुल्चेको छ।’

लामाअनुसार २०१७ को जनआन्दोलनकालमा नै जनताले जिटिएको सम्झौता पत्र जलाएका हुन्।  तर बङ्गाल सरकारले ‘स्वार्थी तत्व’-हरुलाई हातमा लिएर बारम्बार मियाद बढ़ाएर गणतन्त्रको हत्या गरेको छ।  ‘मियाद बढाउनु भनेको जन आकांक्षासँग खेलवाड़ गर्नु हो,’ लामा भन्छन्,  ‘राज्य सरकारले यस विषयलाई चाँड़ै बुझुन् अनि जिटिएको चौकीमा बस्ने नेतृत्वले पनि यस विषयमा चिन्तन मनन् गरुन् । जनताको आकांक्षालाई कुल्चेर मनोनित पदमा कतिदिन पो बस्ने र?’

केन्द्र सरकारले जिटिएको लागि बारम्बार वार्ता डाक्न खोजे पनि राज्य सरकारले सकरात्मक नलिएको भन्दै लामाले राज्य सरकारले वार्तालाई सकारात्मक लिइदिने अपीलसमेत गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया