गाउँ नोस्टाल्जिअ : साहित्य नोस्टाल्जिअ

विज्ञापन

स्मृतिको स्क्रिनमा

मनोज बोगटी, अनिल तेलैजा, छिरिङ दीन, जय क्याक्टस, कमल रेग्मी, रमेश थापा, उज्ज्वल बमजनहरूको वरिपरि घमेको गाउँको याद। अधिवक्ताको बालापन। त्यसबेलाको रोङ्गो र साहित्यिक गतिविधि। सुदास राईको स्मृतिको स्क्रिनमा।


सुदास राई


१९९०-९१ तिर हुनपर्छ, रोङ्गोमा हाम्रो रोचक साहित्यिक बालापन बितेको थियो। टुसाउँदै गरेका छुकछुकेहरूको साहित्यिक छुकछुक अहिले सम्झन्छु। हामी साना फुच्चेहरू थियौं।  सातौं कि आठौं श्रेणीका विद्यार्थी। फुच्चा रहर पालेका फुच्चे साहित्यिकहरू। त्यतिखेरैदेखि हो हाम्रो साहित्यिक रकरक।

आज म ती नै स्मृतितिर जान्छु। तपाईँहरूलाई पनि त्यही लान्छु।

  रोङ्गो भन्दा राम्रोसितले चिन्नुहुन्छ कि हुन्न थाहा छैन। चिन्नुहुन्न भने बताइदिउँ,  बङ्गालको उत्तरतिरको भुटान सिमान्तको अन्तिम गाउँ, जहाँ हामी कालेबुङ, दार्जीलिङ भन्दा नि पहिले भुटानको गोला बजार चिन्छौं,(चिन्थयौ?)। रोङ्गोभित्र सिन्कोना खेतीको सुबिधाको लागि तीनवटा गाउँ बनाइएको छ। रोङ्गो, दलगाउँ, गैरीबास। सबैलाई एकसाथ बुझ्दा रोङ्गो हुन्छ। अर्थात रोङ्गो सिन्कोना बगान।

हो, त्यही रोङ्गोका फुच्चा साहित्यिक कर्मीहरूको कुरा गरिरहेको छु। यहाँ हामीले केही गर्न खोजेका थियौं।

हामी भनेको मनोज बोगटी, अनिल तेलैजा, छिरिङ्ग दीन, म र केही साथीहरू।

कुलैनको तितो झोल हाम्रो रगतमा बग्थ्यो। त्यही रगतका हामी रोङ्गोको भिन्नभिनै गाउँमा बसेका अनि भिन्नभिनै स्कुलमा पढेका। अलगअलग बस्ने र पढ्ने भए पनि हाम्रो लक्ष्य र उद्देश्य एउटै थियो। सम्बन्ध एउटै थियो। त्यो हो-साहित्य।

हामी साहित्यमा रुची राख्थ्यौं। घघडान गफ हाँक्थ्यौं। लाग्थ्यो, हामी महान लेखकहरू हौं। हामीलाई साहित्यको सुर्ता छ। साहित्यको लागि केही गर्नुपर्छ। हाम्रो चिनजान र भेटघाटको पुल भनेकै साहित्य थियो।

साहित्यमा रुची राख्ने फुच्चेहरू भेटेपछि जुन गफ हाँक्थ्यौं नि, लाग्थ्यो हामी महान योद्धाहरू हौं। हाम्रो जीवनको लक्ष्य छ। सपना छ। उद्देश्य छ। यी लक्ष्य, सपना र उद्देश्यले हामीलाई जोडेर राख्थ्यो।

घरमा आपाले हिमालचुली पत्रिका ल्याउनु हुन्थ्यो। चौथो कि पाचौं क्लास पढ्दा हो, मलाई थाहा छ, पत्रिकामा फेन्टमको कार्टूनको सिक्युअल आउँथ्यो। त्यही हेर्दाहेर्दै कथा, कविता पढ्ने चासो बढ्यो। साहित्यमा चासो जगाउने त्यही पत्रिका थियो मेरो लागि।

 साई समितिले बेलुकी ट्युसन क्लास राख्थ्यो। एक दिन मनोज त्यहीँ पढ्न आयो। पहिलोपल्ट मैले मनोजलाई त्यहीँ देखें। त्यो पनि पढ्नमा राम्रो थियो। त्यसबेला को राम्रो विद्यार्थी भन्ने कुरामा प्रतिस्पर्धा हुन्थ्यो। हामी ट्युसने साथी भयौं। त्यही बेलादेखि हामीबीच तँ तँ भन्ने बानी भयो। त्यसबेला तँ तँ भन्ने साथी भनेको आन्द्रा गाँसेका साथीहरू हुन्थे। हामी त्यस्तै थियौं। त्यस्तै छौं अहिले पनि।

पछि बुझ्दै जाँदा त्यसलाई पनि साहित्यमा चासो रहेछ। हाम्रो कुरा पढाईबाट विस्तारै साहित्यमा सऱ्यो। त्यो विस्तारै लेखनमा जण्डा बन्दै गएको रहेछ। अहिले नि त्यो उस्तै छ।

‘मलाई कोठामा थुनेर हप्तौ राखे नि म लेखिबस्छु, पढिबस्छु,’ त्यो भन्थ्यो। लेख्थ्यो पनि। त्यसले कति साह्रो लेख्थेछ भन्ने कुरा पछि सिलगढी पुगेर थाहा पाएँ।

सगरमाथा भन्ने साप्ताहिक पत्रिका निस्किन्थ्यो। म उत्तरबङ्गाल महाविद्यालयमा कानून पढ्दै थिएँ। सगरमाथा पत्रिकामा काम गर्ने दाजु, साथीहरूसित सम्बन्ध बनिसकेको थियो। एक दिन सगरमाथाका साहित्यिक पातो हेर्ने दिल श्रेष्ठ दाजुले एउटा पोका देखाए।

‘मनोज बोगटीले पठाएको कविताहरू है भाइ यी सब,’ दिल दाजुले भने। हेरें एक बोरा कविता। वाफरे। हेर्नुस् त, त्यसको जुनुन्। छाप्नको लागि एक बोरा कविता त्यसरी त्यसले नपठाएको भए र सम्पादकहरूले त्यसको साहित्यिप्रतिको जुनुन नचिनेको भए, हामीले मनोज बोगटी पाउँथ्यौं त?

पछि आजभोलि दैनिकमा मामा भानिजको पत्र स्तम्भ शुरु भयो। त्यस स्तम्भमा अनिल तेलैजा भानिज र मनोज बोगटी मामा थिए। मामा मनोजको पत्रको जवाब भनिज अनिलले दिन्थ्यो। पत्रका विषय हुन्थ्यो विविध। दुइभाइमा हानाहान पनि हुने। भनाभन पनि। अब मामाको प्रश्नको उत्तर भानिजले के देला? अब भानिजको प्रश्नको उत्तर मामाले कसरी देला भनेर झुकझुक बनाउने। चिउँ चिउँ बनाउने।

त्यसपछि त पत्रिका खोजीखोजी नपढी धरै पाइएन। वास्तवमा उनीहरूको मामाभानिज त एउटा चरित्र मात्र थियो। त्यो हाम्रै समाजका प्रतिनिधि पात्र। जसले राजनीति, समाज, संस्कृति, जीवन र समयसन्दर्भलाई उजागार गर्थे। हामीलाई कहिले मामाको पक्ष बलियो लाग्थ्यो, कहिले भानिजको। जे होस्, रोङ्गोबाट त्यो उमेरमा एउटा नामचिन पत्रिकामा स्तम्भ लेख्न सक्ने लेखकहरू मेरा साथी थिए। मेरो हर्क त त्यसैमा थियो।

पछि हामी दलगाउँका दाजु, साथीहरू विशेष सञ्जय थापा, जोगेश गुरूङहरू मिलेर ‘समय’ पत्रिकाको दोश्रो संस्करण निकाल्ने भयौं। खगेन्द्र शर्मा, दावा पाखरिनहरूले पहिलो संस्करण निकालेका थिए। दलगाउँको साहित्यिक इतिहास निर्माण गर्ने यही पत्रिकाको दोस्रो संस्करणमा मनोजको ‘नीलो मफलर’ शीर्षकको कथा छापियो।

यो कथा त्यतिखेरका टिनेजर (हामी) माझ यति साह्रो हिट भयो कि त्यही कथादेखि मनोज विशेष गरेर केटीहरूको जब्बर चहेता लेखक बने। हुन पनि प्रेमको त्यो कथामा केटाकेटी दुवैले आफूलाई पात्रकोरूपमा पाए होलान्। केटीपात्रको पीडाले केटीहरूलाई ताने होलान्, केटापात्रको पीडाले केटाहरूलाई। कथा हिट। मलाई थाहा छ, मनोजको फ्यान चाँही धेरै केटीहरू नै। अहिले के कसो छ कुन्नी? यसको लेख्ने सिप त्यतिखेरैदेखि तिखो बनेको हो।

अनिल तेलैजालाई चाहीँ आपामार्फत चिनें। अनिलको बाबा र मेरो आपा एउटै बगानमा काम गर्ने। बेलुकी भएपछि जाँड खाने साथी रहेछन् उनीहरू। मजाको कुरा के भने अनिल र मैले बाबाहरूको नियम फलो गरेनौं। किन भने दुवैका बाबाहरूले जाँड खान छोडिसकेपछि हाम्रो चिनजान भयो।

दलगाउँ सकेर म आठौं श्रेणी पढ्न रोङ्गो हाइस्कूल पुगें। त्यो समयको रोङ्गोको एचजे मेसी मेमोरियल रूरल लाइब्रेरीमा सबभन्दा बेसी किताब पढ्ने कोही थियो भने त्यो हामी नै थियौं। अर्थात अनिल र म।  सायद अहिलेसम्म लाइब्रेरीको रेकर्ड बूक हेरियो भने हामीलाई नै सबैभन्दा बेसी किताब पढ्नेको सूचीमा फेला पार्ला।

अनिल बोल्न पनि सिपालु। लेख्न पनि सिपालु। मिल्न पनि सिपालु। हाम्रो जोडी हिट थियो किन भने किताब पढ्ने पनि हामी दुई। डिबेटमा थर्काउने पनि हामी दुई। जहिल्यै हामी दुवैको हाउसले फाइनलमा ठाउँ पाउने। मलाई लाग्छ, रोङ्गोको पहिलो र अन्तिम क्वीज जित्ने साथीहरू हामी नै थियौं।    पछि कालेबुङ महकुमा स्तरीय डिबेट प्रतियोगिताको फाइनल पनि अन्य साथीहरूसित मिलेर अनिल र मैले नै जितेका थियौं। स्कूलको लागि।

विभिन्न पत्रपत्रिकामा केही न केही लेखिरहने अनिल उद्घोषककोरूपमा पनि चर्चित। कविकोरूपमा पनि। तार्किकता वा ह्युमर भरमार। उ अहिलेसम्म पनि उस्तै छ। पछि पत्रकार पनि खुङ्खार नै बने। नेताहरूको सातोपुत्लो उडाउने। हिमालय दर्पणमा उसको स्तम्भ ‘अफ द रेकर्ड’-का फ्यानहरू त को पो नहोलान् र।

मलाई चित्त नबुझेको कुरा एउटै हो, किताब। अनिलले किताब निकालोस् भन्ने सपना देखेको। त्यो कहिले पूरा हुने हो। अनिलको अफ द रेकर्ड किताबमा चाँढै आवोस्। सुमनले पनि घचघचाउन्। मनोज, छिरिङले पनि कान मोलुन्। तर किताब निकालुन्।

अँ, छिरिङ दीन र म त झन् रोङ्गोमा  काठको गाडी खेल्दादेखिको लङ्गोटिया। दलगाउँ बसाई सर्दा नि झन्डै झन्डै सँगसँगै। छिरिङका मुक्तक खुब चल्थ्यो। म पनि केही न केही लेखिरहन्थें। मेरो भाइ सुरज पनि लेख्थे। लेख्नेहरू निक्कै थियौं तर हामीबीचबाट पहिलो किताब प्रकाशित गर्ने चाँही छिरिङ नै। त्यो 1994-95 तिरको कुरा हो। उसको मुक्तक सङ्ग्रह प्रकाशित भयो, ‘घडेरी बिनाका घरहरू’। त्यसमा मनोजको भूमिका छ। मनोजको जीवनको सबैभन्दा पहिलो भूमिका पनि त्यही हो। छिरिङ युग्मक, मुक्तक लेख्न खप्पिस्। क्रान्तिकारी खाले। उ आफै पनि विद्रोही स्वाभावका छन्। अहिलेसम्म उस्तै छ त्यो स्वाभाव।

अहिले पनि हाम्रो निकटता उस्तै छ। प्यारो। मिलनसार। पेसाले उ सिक्किममा छ, मनले रोङ्गोमा नै। उ सानाका कुराहरू बोकेर नोस्टाल्जिक भइबस्छ। रोङ्गोमा केही गरौं भन्ने भावना उस्तै जिउँदो छ। यो मान्छे हामी भन्दा बेसी भावुक पनि छन्। प्र्याक्टिकल छ। गर्छु भनेपछि गर्नै पर्ने। आज नि त्यस्तै छ। भर्खरै रोङ्गोमा अगमसिहँ गिरीको सालिग निर्माण भयो। त्यो छिरिङकै त्यो जुनुनको कारण हो। सालिग स्थापनामा उसैको महत भूमिका छ। सालिगको खर्च उसैको हो। हामी त महत कार्य सम्पादन गर्ने निमित्त मात्र। सबैको सपनालाई पूरा गर्न लागिपरेका। मूल नाइके त छिरिङ नै हो।

रोङ्गोको इतिहासमा यस्तो ऐतिहासित काम गर्ने छिरिङको साथी हुँ भन्दा त्यसै त्यसै गर्व लागेर आउँछ।

 1992-93 को समय तिर होला, दैनिक पत्रिकामा हाम्रो रचना छापिन थालेको थियो। बेसी मनोज र अनिलको आउँथ्यो। यही समयमा मैले रोङ्गो कुलेनबारीका साहित्यिक गतिविधि भनेर कलिलो बुद्धिले एउटा कलिलो लेख छापें। त्यो समय हामीले नाम मात्र सुनेका श्रद्धेय दाजु जय क्याक्टस। रोङ्गो भेगमा नै दाजुको पहिलो कविता संग्रह ‘युग कविता र मान्छे’ प्रकाशित भइसकेको थियो।

दाजुको किताब त्यो समय बुझी नबुझी पढेको थिएँ। दाजुलाई व्यक्तिगत रूपमा भेट्नु अघि दाजुको किताबसित परिचित म। त्यो समय मेरो बिचारमा दाजु नेपालतिर शिक्षण पेशामा हुनुहुन्थ्यो कि?

 त्यो समय साहित्यिक वाद बारेमा केही नजाने पनि संक्रमण लेखनमा जय दाजु पनि हुनुहुन्छ भनेर सुनेको हामीले। हाम्रो निम्ति दाजु शिखर पुरूष।  हाम्रो निम्ति वहाँ साहित्यको डल्लै संसार  हुनुहुन्थ्यो। भनौं न हामी एकलब्यजस्ता थियौं। हाम्रो गुरु जय क्याक्टस नै थिए।  अहिले त झन् हाम्रा सहित्यिक अभिभावक हुनुहुन्छ।

उनले त्यो समय मेरो लेखको प्रतिक्रिया दिनुभएको थियो। त्यही दैनिक पत्रिकामार्फत। जुन मेरो लागि सातौं आश्चर्यको कुरा थियो। मलाई लागेको थियो, हाम्रा लेख त्यस्ता ठूला व्यक्तिले पनि पढ्दारहेछन्। मेरो लेखैमा प्रतिक्रिया गर्दा त मेरो खुट्टा भुइँमा थिएन। त्यो मेरो जीवनको अहोभाग्य। पछि उनलाई उज्ज्वल बमजनमार्फत भेटें।

त्यतिबेलासम्म रोङ्गोले स्मारिका, गैरीबासले स्पर्श (कालुसिंह रनपहेंलीको सम्पादनमा) दलगाउँले समय पत्रिका निकालिसकेको थियो। हामीमाझ पनि केही गरूँ भन्ने भुटभुटी भइरहने। पत्रिका छाप्न पैसा नहुने। तर केही गर्न मन चाँही लाग्ने। हामी सबैलाई आइडिया फुऱ्यो।

रोङ्गोबाट अनिलले त्यो समय भर्खर ‘तेलैजा’ लेख्नु शुरू गरेको थियो। अनिलले ‘कोपिला’ भित्ते पत्रिका निकाल्थ्यो। जहाँ हाम्रा रचनाहरू छापिन्थे। मैले पनि ‘साई पुष्प’ नामक भित्ते पत्रिका निकालें। मनोजले ‘दीयो’ नामको भित्ते पत्रिका निकाल्थ्यो।   पछिपछि अरु भाइबहिनीले पनि निकाले। अहिले सम्झन्छु, ती भित्ते पत्रिकाहरूले रोङ्गोमा साहित्यको बिजन रोपेको थिएछ।

हाम्रो हेन्डराइटिङको खुला प्रदर्शन पनि त थिए ती भित्ते पत्रिका।

१९९६-९७ तिर कालेबुङ पढ्दा सञ्जय दाजु र म रूम पार्ट्नर थियौं। दाजुले नेपाली अनर्स गर्दै थिए। म क्लास एलेभेनमा। त्यो समय समसामयिक पत्रिका निकाल्ने एउटा लहर नै चलेको थियो। त्यो समय ‘रेलीवारी रेलीपारी’ भन्ने पत्रिका निस्कन्थ्यो। यसमा रमेश थापा दाजुको लेख बराबर आउँथ्यो। रमेश दाजु नि त्यो समय कालेबुङ कलेजका नेपाली अनर्सका विद्यार्थी थिए। हाम्रो दलगाउँ, रोङ्गोबाट नि निकालुम् एउटा पत्रिका भन्ने सल्लाह भयो। सञ्जय दाजु र मैले सल्लाह गऱ्यौं। ‘समय’ पत्रिकाको योजना त्यही रुममा बनेको हो। प्रेसमा एकएकवटा लेटर मिलाएर छपिन्थ्यो। धेरै मेहनत गरेर श्रीजल प्रेस कालेबुङमा समयको दोस्रो अङ्क छापेका थियौं।

रमेश थापाको एउटा कविता सङ्ग्रह ‘वसन्त बिद्रोह’ प्रकाशित भइसकेको छ। अब पालो कथाको हो किजस्तो लागेको छ। किन भने उनका कथाहरू उतिखेर पनि विछट्टै सुन्दर। घतपर्दा हुन्थे। अहिले पनि उस्तै लेख्छन्। शीघ्र नै रमेश थापालाई कथाकारकोरुपमा पुस्तकमा हेर्ने पाउनेछौं।

 1996-97 कै समयमा नै ‘रोजा’ कविता सङ्ग्रह निकाले दाजु उज्जल बम्जनले। उनको ‘शहरले आगो डढेछ’ भन्ने कविताले खुब चर्चा बटुलेको थियो। उज्ज्वल बमजन पनि सञ्जय दाजुसित नै अनर्सका विद्यार्थी थिए। पछि उनले एउटा पत्रिका विखबारी सम्पादन गरेका थिए। त्यही पत्रिकामा भगिरथ रावतको ‘मार हान्नुपर्छ मार हान्ने प्रथालाई’ भन्ने लेख प्रकाशित थियो। त्यो लेखले व्यापक विवाद मच्चाएको थियो। पत्रिका व्यान भयो। लेखक र सम्पादक एक राजनैतिक दलको तार्गेटमा परेका थिए।

यही समयदेखि कवि बमजनसित घनिष्ठ सम्बन्ध गाँसिएको हो। त्यो समय एनबियु पढ्दा दाजु र म एउटै रूम पार्ट्नर थियौँ। यही समयमा दाजुले एनबियुको नेपाली विभागबाट निकालिने पत्रिका ‘पहाड’-को स्म्पादन गरेका थिए। मैले चाँही कानुन विभागका नेपाली विद्यार्थीहरूले निकालेको प्रथम अङ्क ‘अस्तित्व’ सम्पादन गरेको थिएँ।

कालेबुङ टाउन हलमा सूचना अनि प्रसारण विभागले विभिन्न दैनिक पत्रिका राख्थ्यो। हामी त्यहीँ पढ्न जान्थ्यौं। कमल रेग्मीलाई मैले त्यहीँ चिनेको हुँ। पछि साई समितिमार्फत अझ दाजुलाई चिन्ने मौका पाएँ।  आफू उतर बङ्गाल विश्व विद्यालयमा कानुनका विद्यार्थी हुँदा दाजुलाई झन् नजिकबाट चिन्ने मौका पाएँ। कमल रेग्मीले संकल्प नामक पत्रिका निकाले। कालेबुङबाट प्रकाशित विभिन्न पत्रिकातिर उनलाई पढ्न पाइन्थ्यो। दैनिकतिर पनि उस्तै भटिन्थे। उनी अहिलेसम्म लेखनमा सक्रिय छ। गीत लेखनमा नाम कमाएका छन्। धेरैवटा पुस्तक प्रकाशित गरिसकेका छन्।

साहित्य अकादमीले शुरु गरेको साहित्य अकादमी युवा पुरस्कार पाउने पहिलो युवा कवि। मज्जको कुरा के छ भने 2011 मा यो पुरस्कार कमल रेग्मीले पाए, 2012 मा मनोज बोगटीले। दुइवर्ष रोङ्गोले पालैपिलो यो पुरस्कार पाउँदा हाम्रो हर्क तेब्बर बनेको थियो।

सबैको शुरुवात कस्तो थियो कुन्नी, हाम्रा भेगका लेखकहरूका, साथीहरूको चाँही यस्तो थियो। म गाउँलाई माया गर्छु, किन भने त्यहीँ मेरा जिग्री साथीहरू छन्। जुन साथीहरूले अहिले साहित्यमा नाम कमाएका छन्। क्षेत्रको सुनाम बढेको छ। भारतीय नेपाली साहित्यलाई प्रतिनिधित्व गर्ने स्तम्भहरू त्यही गाउँले प्रदान गरेको हो। मलाई साहित्य सिकाउने, जीवन सिकाउने दुनियाँ सिकाउने गाउँ यसरी सम्झनामा जिउँदो छ। पेसाले गाउँ बाहिर बस्नुपर्ने हामी सबैको बाध्यता छन्, तर सबैको मनमा त त्यही रोङ्गो छ। आइ लभ यु रोङ्गो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया