पल्लव सिङ्घकका पाँच प्रेम कविता : कर्ण विरह अनि सञ्जीव राईको पठनअनुभूति

विज्ञापन

  कविता र पठनअनुभूति

कवि पल्लव सिङ्घकको पाँच प्रेम कविता यहाँ राखेका छौं। आजका पुस्ताका उत्कृष्ट ‘प्रेम कविता’ लेख्न सफल पल्लवका कवितामाथि दार्जिलिङ र नेपालका एकएक कविका पठन अनुभूति पनि राखेका छौं। दार्जिलिङका प्रख्यात कवि कर्ण विरहले पल्लवका कवितालाई उत्कृष्ट प्रेम कविता बताएका छन्। ‘मलाई धेरै मनपर्ने केही प्रेमिल कविताहरूमा यो कविता एउटा उत्कृष्ट प्रेम कविता हो,’ पल्लवका कविताबारे कवि विरह भन्छन्,  ‘तर कविले यस कवितामा प्रेमका प्रसङ्हरूसितै समाज सरोकारका र संस्कृतका कुराहरू पनि अतिशुक्ष्मरूपमा भित्र्याएका छन्। प्रकृति र कवि एकदमै नजिक छन् कविताभरि। समग्रहमा कविताले छोइरहेको छ अझैपनि मलाई।’ कवि कर्ण आफै पनि सुन्दर प्रेम कविता लेख्ने कवि हुन्।

नेपालका प्रेम कविताका पुस्तक नै प्रकाशित गरिसकेका कवि सञ्जीव राई पनि पल्लवका कवितामाथि आफ्नो पठनअनुभूति सुनाएका छन्। ‘ओइ लाटी-मा पल्लवले सफल प्रेमकथाको वर्णन गरेका छन्। सललल बगेका छन् भाषा। बेजोडका छन् विम्बहरू,’ कवि सञ्जीव राईले भनेका छन्, ‘प्रकृतिलाई मानवीयकरण गर्ने जुन ढाँचा छ यसमा त्यो कविताको सबैभन्दा बलियो पक्ष हो। हुन त दार्जिलिङका प्राय सबै प्रतिष्ठित कविहरू यो विशेषताले सुसज्जित छन् नै।’

शुरुमा कर्ण विरहको पठनअनुभूति राखेका छौं। त्यसपछि पल्लवका पाँचवटा प्रेम कविता राखेका छौं। त्यसपछि फेरि कवि सञ्जीव राईका पठनअनुभूति राखेका छौं। पाठकले पनि पढिसकेर आफ्ना पठनअनुभूति राख्न सक्नेछन्। जसलाई हामी आगामी अङ्कमा प्रकाशित गर्नेछौं-सम्पादक


 

उत्कृष्ट प्रेम कविता

कर्ण विरह, दार्जिलिङ


कवि पल्लब सिङ्घक-को ओइ लाटी (शृङ्खला  कविता) पृथक शैलीमा लेखिएको पृथक अनुभूति दिने सुन्दर कविता लाग्यो मलाई।

कविताको शिर्षक ओइ लाटी शब्द बिपर्यास अर्थबोधक शब्द कि त स्यामव्यङ्ग्यजस्तै लाग्ने भए तापनि यसले बोकेको मिठासपूर्ण प्रस्तुतिका कारणले भने प्रेमिल सम्बोधन साबित भएको महसुस गरेँ।

लाटी यहाँ बोल्न नसक्ने लाटी होइन। अल्पबुद्धि भएकी लाटी पनि होइन। यो लाटी शब्द प्रेमीले आफ्नी प्रेमिकालाई असाध्यै प्रेम गरेर सम्बोधन गरिएको शब्द हो।

केही स्वच्छन्दतावादी प्रवृतिसितै रतिरागात्मक एवं शृङ्गारिक प्रस्तुति भएको कवितामा प्रयुक्त प्रेमिल बिम्बहरू मनलाई छोएर जाने किसिमका छन्। बिम्ब विधानको क्रममा कविले जुन स्वैकाल्पनाको यात्रातिर आफूलाई केन्द्रित गरेका छन् त्यो नै कविताको आकर्षण बनेको छ।

कविले कवितामा लाटी (सम्बोधित पात्रा) को न त शारिरिक वर्णन गरेका छन् न त चारित्रिक वर्णन नै। तर पनि कवितामा लाटी एउटी अति नै सुन्दर नारी पात्र पाठकलाई बोध हुनु कविताको शक्ति लाग्यो। यस्तै सौन्दर्यशक्ति मैले पल्पसा क्याफे बढ़्दा पल्पसाको सुन्दरतामा अनुभूति गरेको थिएँ।

कविताको शैलीमा जुन लयात्मकता छ त्यो अति प्रखररूपमा परिलक्षित भएको छ ओइ लाटी-४ मा आएर। तथापि पाँचैवटा कविताका शैली समसामयिक ढाँचाका छन्। सरलता र सहजता कविताको शैलीले बोकेका विषेशताहरू हुन्। र बिम्बहरू कविताका प्राण। मलाई धेरै मनपर्ने केही प्रेमिल कविताहरूमा यो कविता एउटा उत्कृष्ट प्रेम कविता हो। तर कविले यस कवितामा प्रेमका प्रसङ्हरूसितै समाज सरोकारका र संस्कृतका कुराहरू पनि अतिशुक्ष्मरूपमा भित्र्याएका छन्। प्रकृति र कवि एकदमै नजिक छन् कविताभरि। समग्रहमा कविताले छोइरहेको छ अझैपनि मलाई।


पल्लव सिङ्घकका पाँच प्रेम कविता

 

ओइ लाटी-1

0

ओठँको कुनामा सिरानी लगाएर

सुतिरा’छ एउटा मिठो मुस्कान

त्यो मुस्कान मेरै लागि साँचेर

निदायो अघि नै मेरो एउटा मान्छे ।

 

धारा, देवराली, धुप्पीका फेद/हरू हुँदै

दौड़ीरा’छन् एक हुल बतास

फुर्र…उस्को कपाल मुसारेर

उसलाइ मेरो गीत सुनाई दिन।

 

र मैले गीतमा भनेको छु-

‘ओई लाटी,

तेरो झ्यालको अलिकति माथि नि?

सानो टुक्रा मात्र छ आज जून

अनि उब्रेको जम्मै जुनेली

तेरै अनुहारभरि टाँसिएको छ।’


 

ओइ लाटी-2

0

जम्मै जम्मै ताराहरूलाई

हिराको शिरबन्दी दिएको छु।

तेरो आँखामा नबिझोस् तिनेरको उजेली

मैले सिसाको आकाश किनेको छु।

 

 

ओई लाटी

मैले ब्राह्मण्डमा

लाखौँको लगानी गरेको छु।


 

ओइ लाटी-3

0

तेरो स्ट्राइप गलबन्दी

सेतो-कालो,

मेरो कान छोप्ने टोपी

रास्टाफारि !!!

चिसो हावा

धुप्पीको फेद,

हातमा तेन्दुलकरको फोटो भएको खाता।

 

अनि डेड़ सेकेण्डको तेरो गालामा पप्पी

मलाइ हजार-हजार जुनी जस्तै लाग्यो ।

 

ओइ लाटी

याद छ??

एक दिन हामी ट्युसन  भाग्यौँ।


 

ओइ लाटी-4

0

एक बारको जुनी, मरेरै जानु

दुइ जोड़ी गमबूट किनीदिम्

रातो तँ लगा, हरियो म लाउँछु

दश घुम्ती जीवन हिनीदिम्।

 

जोरथाङ्गैको त्यो माघे मेला

भालेनै नबासी पुगीदिम्

रोटेपिङ खेलुम्, तरुल खाम्

साँझै सम्म रूँगीदिम्।

 

काले र भुन्टे घरमै बसोस्

तँ र म खाली जाम् ल ?

क्या मिठो हाम्रो पिरती सम्झी

दुइ दुइ ट्वाक पनि खाम् ल ?

 

मनको मिठास मनकै माया

मनैको मायालु मात,

मनको साँझ मनैको मिलन

मनकै मिठो साथ ।

 

ओइ लाटी…

अब झसङ्गै भई तँ मलाई भन्नु

छोरोहरू घरमा भोकै छ,

कपाल तेरो मुसार्दै भन्छु

छोरीको त अझै धोकै छ।

 

फेरि तँ मलाई रिसाउँदै भन्नु

अझै एउटा हुर्काउने दम छ?

जुङ्गा कनाउँदै म पनि भन्छु

मेरो माया पनि के….’सम्झना’ फिलिम भन्दा कम छ ?


 

ओइ लाटी-5

0

अलिकति मेरो घाम

तेरो गालाको एक पाटामा

अलिकति तेरो छाया

मेरो काखैमा

अलिकति म

अलिकति तँ

अलिकति !!

 

अनि मुस्कान अलिकति

लाज अलिकति

रहर अलिकति

डर अलिकति।

अलिकति धेरै मन परेको तँलाइ म

अलिकति थोरै कहाँ मन परेको हो र मलाइ पनि तँ ?

 

बाटो अलिकति

पाइला अलिकति

हामी चुपचाप अलिकति

अलिकति।

अलिकति तेरो आँखामा

अलिकति कहिले काँही

डुब्ने मेरो अलिकति आँखा

त्यसपछि अलिकति हामी !!!

 

अलिकति अक्षर

भीड़ अलिकति,

अलिकति रमाइलो

देउरलीको त्यो मेला अलिकति…

त्यहाँ अलिकति अक्षरहरुले

मेरो नाम अलिकति खोपेको तेरो -कि-चेन !!

तेरो नाम अलिकति खोपेको मेरो -कि-चेन !!

अब अलिकति जतन

“जुनी-जुनी”-लाई पो अरे त्यो चिनो अलिकति

अलिकति त्यो बाचा

पागल हामी अलिकति!

ओइ लाटी,

हामी पिरती पनि अलिकति मात्र परेको भा हुन्थेछ नि ?

000


सफल प्रेमकथा

सञ्जीव राई, नेपाल


आफ्नी प्रियसीलाई मायाले लाटी सम्बोधन गरेर पाँच भागसम्म शृङ्खलाबद्ध गरि लेखिएको यस कवितामा प्रेमको सुरुवाती अवस्था अर्थात आकर्षण तथा आशक्तिको कुरा बहुत सुन्दर, बहुत कलात्मक ढङ्गले गरिएको छ ।

0

ओँठको कुनामा सिरानी लगाएर

सुतिराछ एउटा मुस्कान

जम्मै जुनेली तेरै अनुहारभरि टाँसिएको छ/ ( लाटी -१)

 

0

सिसाको आकाश

मैले ब्रम्हाण्डमा लाखौँको लगानी गरेको छु/ लाटी -२)

0

आशक्ति र आकर्षणपछि प्रेमले अरू एक पाइला अघि बढाउँछ र दुई प्रेमीको भेट हुन्छ। र त्यो प्रथम भेटमा के के कस्ता कस्ता लुगा लगाएका थिए? त्यसबेला मौसम कस्तो थियो? वातावरण कस्तो थियो त्यो सब याद छ प्रेमीलाई अझै। र पहिलो पटक ट्यूसनबाट भागेर कतै रमाइलो गर्न गएको पनि सम्झना छ प्रेमीलाई।

शृङ्खलाको चौथो भागमा ती दुई प्रेमीहरुको प्रेम बिवाहमा परिणत भइसकेका छन्। उनीहरु एक अर्काको मायालु साथ पाएर बहुत खुशी छन्। एकदम उमङ्गकासाथ उनीहरुका दिनहरु बितिरहेछ। र उनीहरुले यसैबिचमा दुईटा छोराहरु पनि सन्तानका रुपमा पाइसकेका छन्। र प्रेमीले अझै एउटा छोरी पनि जन्माउन पाए कति राम्रो हुनेयियो भनेर आफ्नी श्रीमतीलाई जिस्काउछन्।

0

एकबारको जुनी मरेरै जानू

दुई जोडी गमबुट किनीदिम्

रातो तँ लगा हरियो म लाउँछु

दस घुम्ती जीवन हिनीदिम्/ ( लाटी -४)

 

र.. शृङ्खलाको अन्तिम भागमा,  ती दुई दम्पतीहरुले जीवनमा आइपर्ने सुखदुखहरुलाई दुवै मिलेर सामना गर्ने प्रण गरेका छन्।

0

अलिकति मेरो घाम

तेरो गालाको एक पाटोमा

अलिकति तेरो छाया

मेरो काखैमा

0

यसरी कवि पल्लबले जम्माजम्मि पाँच भागसम्मको लाटी शिर्षकको यस शृङ्खलाबद्ध कवितामा एउटा सुन्दर र सफल प्रेमकथाको वर्णन गरेका छन्। सललल बगेका छन् भाषा । बेजोडका छन् विम्बहरू । प्रकृतिलाई मानवीयकरण गर्ने जुन ढाँचा छ यसमा त्यो कविताको सबैभन्दा बलियो पक्ष हो। हुन त दार्जिलिङका प्राय सबै प्रतिष्ठित कविहरू यो विशेषताले सुसज्जित छन् नै । युवा कवि पल्लव सिङ्घकज्यूलाई धेरै धेरै बधाई तथा आगामी दिनहरुमा पनि यस्तै सुन्दर कविताहरू तपाईँबाट पाठकले पढ्न पावोस मेरो हार्दिक शुभकामना !

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया