तरकारी र कविताबिच उभिएको कवि

साभार/कविकथा


जसलाई फुर्छ कविता, सडकपेटीमा तरकारी बेच्दाबेच्दै । जो गजलका मतला, शेर, काफिया, रदिफ र बहर जन्माउँछन्, तरकारीको ठेलागाडा ठेल्दाठेल्दै । कवितामै उतार्छन्, स्वाभिमान । पेसाले सडकपेटीमा तरकारी बेच्ने उनी लेखनको पाटोबाट राष्ट्रिय कविहरूकै लाइनमा उभिने हैसियत बनाउँदै छन् । प्रायः विद्रोह नै बोल्छन्, उनका कविताले । प्रसंगमा आएका पात्र हुन्, कवि तथा गजलकार असीम सागर । उनले ०७३ को राष्ट्रिय कविता महोत्सवमा तृतीय पुरस्कार, जोगमाया गजल पुरस्कार ०७३, अनलाइन साहित्य पुरस्कार ०७३, मानशोभन स्मृति पुरस्कार ०७३, बसिबियाँलो सम्मान सन् २००७ (दार्जिलिङ), साझा साहित्य सम्मान २००८ (दार्जिलिङ कालिम्पोङ)लगायत सम्मान प्राप्त गरिसकेका छन् । सडकमा साग बेच्ने असीम सागरले कविता-गजलमा राष्ट्रिय उचाइ चुम्न कस्ता संघर्ष गरे ? नयाँ पत्रिकाकी सङ्गीता पनेरूले उनलाई भेटेर फिचर तयार पारेकी छिन्/जसलाई खबरम्यागजिनले साभार गरेको छ-


धनमाया स्कुस बेच्छिन्
इमान बेच्दिनन्
साग बेच्छिन्
स्वाभिमान बेच्दिनन्
आइसक्रिम बेच्छिन्
हिमाल बेच्दिनन्
देशको मानचित्र बेच्छिन्
देश बेच्दिनन्

सडकपेटीमा तरकारी फिँजाएर घरको पेटीमा बसेका असीम सागरले कवितांश भने । उनले कविताबाटै आफ्नो स्वाभिमान बोले । राष्ट्रिय स्तरका कविले कार्यक्रमहरूमा असीमको कविताको तारिफ गर्छन् । तर, उनी बहकिएका छैनन्, तारिफबाट । उछिट्टिएका छैनन्, आफ्नो मजबुरीबाट । एउटा धारमा निरन्तर छन्, उनी । लेखिरहेछन्, कविता र गजल, बेचिरहेछन्, भिँडी र परबल । गजल-कवितामा असीमको रहर छ, तरकारी व्यापारमा जीविकोपार्जन छ ।

सडकपेटीमा तरकारी बेच्नुहुन्छ, राष्ट्रिय मञ्चहरूमा कविता-गजल भन्न पनि पुग्नुहुन्छ, मान्छेहरू के भन्छन् ? तपाईं आफैँलाई कुन परिचय प्रिय ? प्रश्नमा असीम हल्का मुस्काए र दिए ओजिलो जवाफ, ‘मैले न त मेरो स्वाभिमान बेचेको छु, न त देश नै । केबल सुकिला–मुकिलाको घरमा साँझबिहान पाक्ने तरकारी बेचेको छु । कसले के भन्छ मतलब छैन । हो सडक पेटीमा तरकारी बेच्छु, सामान्य व्यापारी हुँ । कार्यक्रममा कविता-गजल सुनाउँछु, त्यहाँ स्रष्टा हुँ । मसँग म सन्तुष्ट छु ।’

०००
ललितपुरस्थित लगनखेलनजिकै सडकपेटीसम्म तरकारी ल्याउनुपर्छ, कालिमाटीबाट । असीमलाई यो काममा साथ दिन्छिन्, श्रीमतीले । बिहान सबेरै यो पेटीमा बस्न सुरु गरेका उनी १० बजेसम्म रहन्छन् । जब अर्को व्यापारको सटर खुल्छ, तब हट्नुपर्छ असीम । अनि उनी ठेलामा लोड गरेर निस्किन्छन्, सडक–सडकमा तरकारी व्यापार गर्दै ।

तपाईंको काम कस्तो प्रेरणादायी, युवाले सोच्नैपर्ने । उनका धेरैजसो रचना पढेकी मैले ठेलामा तरकारी व्यापार गर्ने काइदाको पनि प्रशंसा गरेँ । एकैछिन् अलमलिए, असीम । र, ठोके सानो व्यंग्य, ‘खोइ के भनौँ, हामी युवा यस्तो काम गर्न हिच्किचाउँछौँ । विदेश गएर जुठा भाँडा माझ्न र पोचा लगाउन तयार हुन्छौँ, तर देशमा कामको सम्मान गर्दैनौँ ।’ सायद, उनी यही पेसाका कारण कसैको नजरमा नीच ठहरिएका छन् । त्यसैले त उनले कामको सम्मान नभएको तितो पोखे ।

असीम सागरको भाव बुझेपछि मैले थप कोट्याएँ । जब पेसा थाहा पाउँछ, तब काठमाडौं सहरकै कुनै अर्को स्रस्टाले कुन नजरले हेर्छ ? ‘गाह्रो छ यो सहरमा, हामीजस्तालाई । यहाँ लेखनको सम्मानभन्दा बढ्ता गरिबीको मजाक उडाइन्छ । सुकिला कविहरू तरकारी बेच्ने मसँग बोल्नै नपरे हुन्थ्योजस्तो पनि गर्छन्,’ असीमले सुनाउँदै गए, ‘तर, मैले यस्ता व्यक्तिलाई चासो दिन छाडेँ । उनीहरूको मस्तिष्कले जे सोच्यो, त्यही गरे । ‘पसिनाको जुलुस’ कविता मैले यसै लेखेको होइन ।’

०००
अधिकांश मान्छेले गरिबीकै मजाक उडाउँछन् । तरकारी बेच्दै लेखन तिखार्ने, समाज सुचुचित गर्नेको गन्ती गर्न चाहँदैनन् । यस्तो व्यवहारले दुःख पनि लाग्छ, असीमलाई कहिलेकाहीँ । उनले आफ्नो नामको कथा जोड्दै भने, ‘म फत्तेमान श्रेष्ठ हुँ, तर साहित्य मोहले असीम सागर भएँ । आज बिस्तारै असीम सागरकै नाममा स्थापित हुँदै छु । जसले जे भनून्, संघर्षको सिँढी चढिरहेकै छु ।’

अब मलाई बुझ्न मन लाग्यो, असीमको कविता-गजल लेखनयात्रा । उनले बाल्यकालदेखिको दुःखद् कथा जोडेर प्रश्नको जवाफ दिँदै गए, ‘सामान्य परिवारको जेठो छोरो भएँ । बुबा भारतीय आर्मीमा हुनुहुन्थ्यो, स्वभाव असाध्यै कडा । बडो दुःखजिलो एसएलसी परीक्षासम्म दिएँ । तर, लगत्तै बुबाकै स्वभावका कारण घर छाडेर भारत जाने निर्णय गरेँ । आमाले खुसुक्क दिएको चार सय रुपैयाँ बोकेर भारतका लागि अर्घाखाँची छाडेँ ।’

जीवनकथाको सुरुवाती मोडमै असीम अड्किए । अप्ठ्यारो महसुस भयो, उनलाई । सायद, त्यो वेलाको पीडाले अहिले कुट्यो, उनको मन । ‘भारत पुगेर के गर्नुभयो त ?’ मैले ट्र्याकमा ल्याउन सोधिहालेँ । उनी बोले, ‘एउटा होटेलमा काम थालेँ । तर, न त कुकको काम जानेको थिएँ, न वेटरको । मासिक तीन सय रुपैयाँ तलबमा भाँडा माझ्न थालेँ । केही समयपछि गाजियाबाद गएँ, मामाका छोराहरू भएको ठाउँमा । आमाले खबर गरेपछि उहाँहरू खोज्दै लिन आउनुभएको थियो ।’

भनेपछि यो वेलासम्म गजल-कविता लेखनमा तपाईंको मोह थिएन ? ‘हो, गाजियाबाद गएपछि यो मोड सुरु हुन्छ । त्यहाँ धागो फ्याक्ट्रीमा काम गर्न थालेँ । कविता पनि लेख्न थालेँ । फुर्नेबित्तिकै काम गर्दागर्दै पनि लेखिहाल्थेँ । तर, जब मैले कविता लेख्ने गरेको मालिकले थाहा पाए, तब हेर्ने दृष्टिकोण बदले । कविता लेख्ने भए, काम छाड्न भन्दै मानसिक दबाब दिए । धागो फ्याक्ट्रीमै कविताको धागो चुँडिने भएपछि जागिर छाडिदिएँ ।’
झन्डै २० वर्षको त्यो उमेरमै असीमको स्वाभिमान कमजोर भएके थिएन । आफ्नो मन दबाएर जागिर खानुमा खुसी भेटेनन्, उनले । तर, त्यसपछि के गरे त ? जीविकासँगै कविता लेखनको रस कतातिर बग्यो ?

उनले कथा सुनाए, ‘यो बीचमा मेरो जीवनमा नराम्रो घटना निम्तियो । कामको खोजीमा दिल्लीबाट राजस्थान जाँदै थिएँ । रेलको टिकट काट्न काउन्टरनजिकै उभिँदा हातमा पाँचसय रुपैयाँ मात्र थियो । यति नै वेला भारतीय मूलकी एक बहिनी आइन् र पाँचसय रुपैयाँको खुला साट्ने छ ? भनेर सोधिन् । मैले आफ्नो पाँच सयको नोट देखाउँदै खुला नभएको बताएँ । तर, उनी त एक्कासि रुन पो थालिन् । तत्काल मान्छे जम्मा भए । मलाई चोर भन्दै कुटपिट र लछारपछार गरे । मेरो हातको पैसा ती बहिनीलाई दिए । साह्रै दुःख लाग्यो,’ असीमले यहीवेला लेखेका रहेछन् यो गीत :

सुन चाँदी हीरा मोती औँठी र हार भए
मै फलामको के काम हजुर तरबारको धार भए
असीमको यो गीतमा पछि रामकृष्ण ढकालले स्वर दिए । यो धेरैपछिको कुरा हो, तर गीत चर्चित बन्यो ।
०००
दिल्लीमा चोरको आरोपमा कुटपिट र लुटपाटपछि असीम अर्घाखाँची फर्किए । घर फर्किएपछि फेरि नयाँ मोड आयो । उनले बिहे गरे । तर, बिहेपछि फेरि दिल्ली नै हानिए । ‘दिल्लीको इन्दिरा गान्धी विमानस्थलका अफिसर भिके गर्गको घरमा काम गर्न थालेँ । उहाँले विमानस्थलमै काम लगाइदिने आश्वासन पनि दिनुभएको थियो,’ असीम थप कहानी सुनाउँदै गए, ‘उहाँको घरको काम गर्नु र उहा“का छोराछोरीलाई पेन्टिङ सिकाउनु मेरो काम थियो ।’

असीमले फेरि नयाँ कलाको कुरा गरेपछि प्रसंग कोट्याउनु जायज लाग्यो । तपाईं पेन्टिङ पनि गर्नुहुन्छ ? ‘हो सानैदेखि पेन्टिङमा पनि रुचि थियो । तर, अवसर नमिलेर काम गर्न सकेको थिइनँ । तर, अफिसरको घरमा मेरो पेन्टिङको तारिफ भएपछि अन्य घरको काम नै गर्न नपर्ने भयो । उनका छोराछोरीलाई पेन्टिङ सिकाए मात्रै हुने भयो ।’

०००
फेरि दिल्ली छाड्नुप¥यो, असीमले । आमा बिरामी भएपछि अर्घाखाँची फर्किए । पछि फर्किएर दिल्ली जाँदा अफिसरको सरुवा भइसकेछ । उनले भेट्न पनि पाएनन् । इन्दिरा गान्धी विमानस्थलमा जागिर खाने उनको धोको अपूरो रह्यो ।

तर, अब भने असीम घर फर्किएनन् । ‘दार्जिलिङ र भारतको सीमाछेवैमा रहेको टेलिफोन बुथमा काम गर्न थालेँ । त्यहाँनजिकै आर्मी क्याम्प थियो । आर्मीहरू त्यो बुथमा फोन गर्न आउँथे । दार्जिलिङ निवासी सहदेव धिताल पनि नियमित फोन गर्न त्यहाँ आउनुहुन्थ्यो । उहाँ इन्डिया सिआरपी हुनुहुन्थ्यो । मैले उहाँलाई कविता सुनाउन थालेँ ।’

धिताललाई कविता सुनाउनु असीमका लागि अर्को खुड्किलो सावित भयो, लेखनमा अगाडि बढ्ने । उनीसँगै दार्जिलिङको कालिम्पोङ पुगे । असीमको कविता यात्रामा दार्जिलिङ राम्रो ‘प्लेटफर्म’ हुन्छ भन्दै धितालले लगेका थिए । ‘त्यहाँ नियमित हुने साहित्यिक कार्यक्रममा भाग लिन थालेँ । जीवनमै सबैभन्दा पहिले साहित्यिक स्टेज पनि त्यहीँ पाएँ, माया र सम्मान पनि उत्तिकै,’ असीमले सुनाए ।

असीमलाई कालिम्पोङ आफ्नै अर्घाखाँचीजस्तै भयो । धितालको घरकै सदस्यझैँ बसे, काम गरे । रमाइलो पक्ष त उनी त्यहाँको धर्मोदय विहारको हेरचाह र पूजापाठ गर्ने जिम्मा पाए । त्यहाँका चर्चित व्यक्ति मनोज बोगटी, हीरा क्षेत्री सुवास श्रेष्ठ, अरुण चाम्पाङलगायतसँग भेट्ने र आत्मीयता बढाउने मौका पनि मिल्यो । त्यतिवेला गोर्खाल्यान्ड आन्दोलन चर्किएको थियो । असीमले सन् २००८ ताकाका ती दिन सम्झिँदै साहित्यिक संघर्ष सुनाए, ‘गोर्खाल्यान्ड आन्दोलनताका मेरा गजलका मतलाहरू ब्यानरमा लेखिए । एउटा गजल सुनाएर मैले त्यतिवेला ३० हजार आइसी पुरस्कार नै पाएको थिएँ । भारतीय–नेपाली गजल मञ्चको संयोजक पनि बनाइयो । मेरै पहलमा कालिम्पोङ आर्ट एसोसियन पनि गठन गरियो । सिक्किममा पेन्टिङको प्रदर्शन पनि गरियो ।’

असीमलाई खासमा गजल कविता लेखनमा खारिने मौका दार्जिलिङले नै दियो । हौसला र कमाइ पनि दियो । त्यहीँ बसेको बलियो जगमा टेकेर उनी नेपालमा कविता-गजलका घर बनाउँदै छन् । ‘सन् २००७ मा ‘जुन पोखिएको रात’ गजलसंग्रह ल्याए, आम्दानी पनि राम्रो भयो । गोर्खाल्यान्ड आन्दोलनमा लेखिएका गजलहरू समेटेर ‘अस्तित्वका आवाजहरू’ गजलसंग्रह ल्याएँ ।’

०००
दार्जिलिङबाट असीम नेपाल फर्किएको धेरै भएको छैन । उनी दार्जिलिङ छँदा श्रीमती र छोराछोरी भने काठमाडौंमा थिए । कालिमाटीमा तरकारी व्यापार गर्थे । ‘परिवारले गर्दै आएको व्यापारलाई नेपाल आएर मैले निरन्तरता दिएँ । ठाउँ मात्रै बदलेर ललितपुरमा व्यापार गर्दै आएको छु । बिहान–बेलुका तरकारी बेच्छु, दिउँसो कवि गोष्ठीमा उपस्थित हुन्छु,’ असीमले फेरि आफ्नो कामप्रति सम्मान गर्दै भने, ‘बरु मेरै देशमा फोहोर बटुल्छु, तर विदेशीको गुलामी गर्दिनँ ।’ अन्तिममा फेरि उनले कविता हाले :

हेर म यो देशलाई देश बनाउँछु
यही देशको सडकमा लसुन बेचेर ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया