…त्यसरी मैले गाउँ छोडें तर हात मोलिन

स्मृतिको स्क्रिनमा

°

कमल सर बोल्न थाले, ‘हेर एसबी तिमीलाई थाह छ पाटीमा खट्ने केटाहरू पुरा छ। यो मान्छेले पाटीको लागि के गरेको छ? यो मान्छे त हाम्रो बिरोधी हो। थाह छैन तिमीलाई? पोहोर  रोङ्गोको पेमा र गोरूबथानको सोताङसँग मिलेर हाम्रो पाटीको विरोधमा गन्ती गन्तीमा गई भाषण गरेको? हामीले हुँदैन भन्दाभन्दै प्रसाद र हंशभूपलसँग मिलेर हाम्रै पाटीको खोइरो खन्ने सीके श्रेष्ठको नाटक ल्याएर देखाउने? तिमी अझै चाहन्छौ यस्तो केटाहरूलाई कामको लागि म सिफारिस दिऊँ? काम त होइन यस्तो केटाहरूलाई गाँउमै राख्नु पनि सोच्नुपर्छ।’


» कमल रेग्मी


शंखमणि राईको आँगनबाट यसरी फर्काइएँ म, जसरी फर्किन्छ एउटा असहाय समर्थहरूका सामुबाट।

‘तिमीलाई मैले पाटीमा कैले देखेको छुइनँ। पाटीमा खट्ने केटाहरू गाउँभरि छन्। तैपनि म कमल सरसँग कुरा गरिहेर्छु।’

कमल सरसँग कुरा गर्छु भन्दा अलिकति आशा त पलायो तैपनि मैले भनेँ, ‘होइन तपाईंकहाँ आउने जति सबैले तपाईँबाट रिकमेन्डेसन लिएर बुझाएका छन्। बस् मैले पनि त्यति चाहेको हुँ। नोकरी त जसले इन्टरभ्यू राम्रो गर्छ उसैले पाउने हो।’

भनिनसक्दै ‘ए तिमी मलाई सिकाउँछौ? दिन्नँ म दिँदै दिन्नँ जाऊ’ भनेर भित्र पसे। निरूत्तर फर्किनुबाहेक अर्को विकल्प थिएन मसित। भरखरै एम ए सिद्ध्याएर घर फर्केको थिएँ म। हातमा फर्स्ट डिभिजनको मार्कसीट थियो। रोङ्गो हाइस्कुलमा ठीक त्यहीबेला डीएस लकान्द्री  सर बित्नुभएर एउटा पद खाली थियो।

त्यस भेकमा उक्त पदको निम्ति त्यतिबेला एम ए गरिसक्ने उम्मेद्वार म मात्रै थिएँ। स्कूलका तत्कालीन। प्रधानाध्यापक स्व. रोमा सरले मेरो निवेदन र मार्कसिट हेरेर खुशी हुँदै ‘ठीक समयमा ठीक मान्छे आइपुग्यौ। जाऊ काउन्सिलरको रिकमन्डेसन लिएर आऊ। प्रोसेस त्यही हो। तिमीलाई देखेर खुशी हुनेछन् उनी।’

यसैले थिएँ उभिरहेको म शंखमणिको आँगनमा ।

एकपल्ट कमल सरकहाँ आफै जान्छु भन्ने सोचेपनि उनलाई सोझै फेस गर्ने साहस थिएन उतिखेर। उनको प्रतापिलो व्यक्तित्वको सामु उभिने हिम्मत पुग्दैनथ्यो। त्यसैले गएँ म मलाई असाध्यै माया गर्नुहुने सर एसबी गोलेको घर। वृतान्त बताएँ रोङ्गोदेखि झोलुङसम्मको घटना।

हाँस्दै सरले भन्नुभयो, ‘ए त्यो शंखेले त्यसो भन्यो? लु हिँड कमल सरकोमा, बूढोले कसरी उडाउँछ शंखेलाई। तिम्रो लागि म पनि बोलिदिन्छु। बूढोले मेरो कुरा खान्छ।’

केही बेरमा थियौ हामी कमल सरको  सिकुवामा। मेरो हातमा भएका एप्लिकेशन र सर्टिफिकेटहरू लिइसकेका थिए एसबी सरले आफ्नो हातमा। र भन्दैथिए कमल सरलाई कुराको गाँठो फुकाउँदै। एसबी सरले भनिनसक्दै कमल सर बोल्न थाले, ‘हेर एसबी तिमीलाई थाह छ पाटीमा खट्ने केटाहरू पुरा छ। यो मान्छेले पाटीको लागि के गरेको छ? यो मान्छे त हाम्रो बिरोधी हो। थाह छैन तिमीलाई? पोहोर  रोङ्गोको पेमा र गोरूबथानको सोताङसँग मिलेर हाम्रो पाटीको विरोधमा गन्ती गन्तीमा गई भाषण गरेको? हामीले हुँदैन भन्दाभन्दै प्रसाद र हंशभूपलसँग मिलेर हाम्रै पाटीको खोइरो खन्ने सीके श्रेष्ठको नाटक ल्याएर देखाउने? तिमी अझै चाहन्छौ यस्तो केटाहरूलाई कामको लागि म सिफारिस दिऊँ? काम त होइन यस्तो केटाहरूलाई गाँउमै राख्नु पनि सोच्नुपर्छ।’

त्यसपछि एसबी सर र कमल सरमाझ निकै बहस चल्यो। बिहान आँगनबाट अपमानित भएथेँ बेलुकी सिकुवाबाट। जाबो म सोझो गाउँले केटो तथाकथित पाटीको निम्ति पिलो भइसकेको कुरो क्रमशः उदाङ्गिँदै जान थाल्यो। रिसले जङ्गिएर हिँडेका एसबी सरका पछिपछि लुरूलुरू लागेँ म पनि।

बाटोमा सम्झाए सरले मलाई ‘तिमी चिन्ता नलेऊ। म फाइट गर्छु यिनीहरूसँग। म पनि यही पाटीको मान्छे हुँ। माथि कुरा गर्छु म। तिम्रो एप्लिकेशनहरू मसँगै होस्।’

त्यतिबेला लाग्यो मलाई गाउँ भनेको सत्ताले मातिएकाहरूका हैकम रहेछ। गाउँ गाउँ होइन रहेछ फोहोर राजनीतिको अड्डा रहेछ। गाउँ गुल्चे खेलाडीहरूका अनुशासनहीन मैदान रहेछ। त्यतिबेला यस्तरी रन्थनिएको थिएँ म तर कमल सरसँग एक वचन लागिनँ। उहाँ मेरो गुरू जो हुनुहुन्थ्यो। त्यतिबेला गोरूबथानको एउटा नीजि पाठशालामा काम गर्थें म। त्यहाँ विभिन्न साहित्यिक, साङ्गीतिक, सामाजिक, सांस्कृतिक,शैक्षिककार्यक्रमहरू गर्थ्यौँ हामी।

भोलिपल्ट बिहानै गोरूबथान फर्किएँ भारी मन लिएर। त्यतिबेला मलाई गाउँसँग वितृष्णा जाग्न थालेको थियो। गोरूबथानले दिएको माया जिम्मेवारी र भरोसाप्रति इमान्दारीपूर्वक लागिपरेँ। केही समयपछि दार्जीलिङमा नोकरी पाएर गएँ। सन्तुष्टि यतिमा छु कि कसैको सिफारिसबिना मैले दार्जीलिङमा नोकरी पाएँ।

आफ्नो भरोसामा जिउन पाएँ। अचेल गाउँले माया गर्छ। सम्झिन्छ। गाउँको माया हो मुटुभरी बल्झिन्छ। आफ्नो खुशी र सफलताको पहिलो भाग गाँउलाई लगाउँछु। सम्झिन्छु, उतिखेर शंखमणि र कमल सरको सामु हात मोलेर गाउँमै नोकरी गर्न पाएको भए आज मेरो शीर आत्मग्लानि र हीनतावोधले झुकेको हुन्थ्यो। आज म सगर्व आफ्नो गाउँलाई शीर मानेर बाँचेको छु। अहिले जब जब म शंखमणि र कमल सरलाई सम्झिन्छु उनीहरूप्रति हृदयबाटै नतमस्तक हुन्छु किनभने उनीहरू त्यहाँ थिए र नै म यहाँ छु।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया