लाइफ : अ बटरफ्लाई-मा कथा र जीवन

विज्ञापन

पठनअनुभूति

प्रेमबारे कथामा यसो भनिएको छ, प्रेम त आमाले पार्ने रक्सीजस्तो हो, पार्न जान्यो भने मिठो हुन्छ, जानेन भने अमिलो। रोएको ओठले मुस्कुराउनु प्रेम हो। प्रेम त हाम्रो घुरेनबारीमा फल्ने तितेकरेलाजस्तै हो, पकाउन जान्यो मिठो, जानेन तीतो।’


डीबी बर्तौला, हेटौंडा


नवीन शिल्प र कौशलको प्रयोग गरी कथा लेख्ने बलशाली कथाकार मनोज बोगटीको लाइफ: अ बटरफ्लाई कथा सङ्ग्रह नेपाली समकालीन कथा लेखनको उत्कृष्ट कृति हो। सुन्दर भाव र कलात्मक कथानकको बुनोट साथै पात्रहरू बीचको अनौठो संवादले कथाहरू साँच्चै रसमय बनेका छन्। जम्माजम्मी आठवटा कथा समावेश गरिएको यो सङ्ग्रह साङ्ग्रिला बुक्सले प्रकाशित गरेको हो। कथा लेखनको आफ्नै परम्परागत मान्यतालाई तोड्दै आफ्नै शैलीमा कलम चलाउन बोगटीको कथात्मक चेतनाको प्रशंसा गर्न सकिन्छ। कथा सङ्ग्रह हुँदाहुँदै पनि कहिले उपन्यासजस्तो लाग्ने यो कृति मलाई उत्कृष्ट लाग्यो।

सङ्ग्रहमा टाइल्समा नाङ्गो पशु, स्तन, काव्य, भित्रै थुनिएको कथा, पुतलीको पखेटामा बसेको पृथ्वी, मासु बिनाको मान्छे, च्यातिएको छायाफरक गरी आठ शीर्षकका कथाहरू छन्। कथाहरूभित्र मानिसका मानसिक द्वन्द्वहरू छन्। सरोकार छ। द्वन्द्व छ। ससाना कथानकभित्र गम्भीर प्रस्तुति दिन सक्नु कथाकारको सफलता हो।

उनका कथामा मानवीय संवेदना र मानवीय आचरणसमेतको कुशल प्रस्तुति छ। अल्लारे प्रेम र प्रेमले प्रेमको मान्यता तोड्दै स्वछन्द सम्बन्ध विस्तार गर्दै गर्भपतनसम्म पुग्दा समस्याबाट निस्कन बनेको पुरुषको मानिसिकता काव्य कथामा छर्लङ्ग छ। प्रेमको निसानी ठानेर आमा नीताको त्यागलाई सम्झँदै सङ्गीताले बच्चा जन्माउने निर्णय गर्छे। यो नारीको शसक्त कदम हो।

भित्रै थुनिएको कथा-मा मार्थाजस्ती शहरकी केटी र म पात्रबीच द्वन्द्व छ। कथाभित्र अन्य उपकथाहरू पनि छन्। प्रविधि, ग्याजेटले युवा पुस्ताको मन र चेतनालाई कुन हदको दासी बनाउनसक्छ र त्यसले सहरी र ग्रामीण चेतनामा कस्ता प्रभाव पार्छ भन्ने कुरा कथाले बताएको छ। कथामा प्रेम छ, यौन छ। शहरका फुक्का मानिसकता र ग्रामीण मानसिकताबीच द्वन्द्व छ।

पुँजीवादले मानिसका चेतनासित कसरी खेल्छ भन्ने कुरा पनि कथाले बताउँछ। प्रेमबारे कथामा यसो भनिएको छ, प्रेम त आमाले पार्ने रक्सीजस्तो हो, पार्न जान्यो भने मिठो हुन्छ, जानेन भने अमिलो। रोएको ओठले मुस्कुराउनु प्रेम हो। प्रेम त हाम्रो घुरेनबारीमा फल्ने तितेकरेलाजस्तै हो, पकाउन जान्यो मिठो, जानेन तीतो। (भित्रै थुनिएको कथा-पृष्ठ 62-63)

पुतलीको पखेटामा बसेको पृथ्वी-कथा प्रतिकात्मक र उत्कृष्ट कथा हो। यसमा मिसुजाले माकुरालाई शासक र पुतलीलाई जनताको विम्बमा हेरेकी छन्। जापानी नागरिक मिसुजाले च्याङ्बालाई उसकै देशको पहिचान र पुतली (जनताको सङ्घर्ष)-बारे सुनाएकी छन्।  गाउँका मानिसहरूका जीवन पुतलीजस्तै सुन्दर हुने तर राजनीतिले उनीहरूको त्यो सुन्दरतालाई खोस्दै लगेको मिसुजाले बताएकी छन्।

 च्याङ्बा भन्छन्, खै मेरो देशका गाउँहरू त यस्तै छन्, सरकारले खाली ग्रीन, रेड, यल्लो, पिङ्क सिटीको योजना बनाउँछ। मेरो गाउँमा त त्यही सयदिने रोजगार छ। आमाको रक्सी दोकान छ। नङपालिस नलगाएका आरतीका सुन्दर नङहरू छन्। (पुतलीको पखेटामा बसेको पृथ्वी-पृष्ठ-73)

कथामा शीर्षकको सार्थकतासमेतलाई पुष्टी गरिएको छ। पुतलीको चर्चा यस्तो छ,- संसारका सबभन्दा सुन्दर चित्रकला हेर्न मन लाग्यो भने पुतली हेर्दा हुन्छ(पृष्ठ-68)

मासु बिनाको मान्छे– कथामा लिङ्गपहिचान गरी चार छोरीको अबोर्सन गर्न सुनितालाई बाध्य पार्ने च्याङ्बा आफैले अन्त्यमा आफू हत्यारा भएको स्वीकारोक्ति गरेका छन्। छोरीहरू गर्भबाटै हिंसाको सिकार हुने र छोरीहरूले गर्भबाट नै त्यसको सामना गर्नुपर्ने यथार्थ यो कथामा छ। पात्र सुनिता छोरी जोगाउन च्याङ्बालाई छोडेर जान्छे। यही कथाको सम्बन्ध काव्य कथामा छ। जुन कथामा ‘आमाले भ्रुण हत्या गर्न बाबालाई सहयोग गरेकी भए म जन्मिने थिइनँ, त्यसैले म पनि मेरो बच्चा जन्माउँछु’ भन्ने चेतना सङ्गीतामा हुर्किन्छ।

फरक– उत्कृष्ट कथा हो। स्वतन्त्रता र प्रकृतिमय जीवनको कामना फरक कथाले गरेको छ। नाङ्गोपन आफैमा वेहद सुन्दर कला हो, (पृष्ठ-101), कथामा भनिएको छ। आवरणहीन, कपटहीन, बाधाहीन, छलछामहीन, सुबोध, निर्दोष, खुल्ला प्रकृतिमय जीवनको कामना कथामा गरिएको छ।

मानिसका आवरणबारे कथामा भनिएको छ, ‘सरल हुनु वेहद कठिन हुन्छ। मान्छे त सरल हुनै सक्तैन। यसकारण मानिसले आवरण लगाउँछ। चेतनाको, संस्कारको, धर्मको, राजनीतिको। त्यसपछि सधैँ छोपिएर बस्छ। लुकेरै बस्छ’ (पृष्ठ-101)

यसरी समग्र कथामा फरक स्वाद पस्कन सक्नु कथाकारको ठूलो प्राप्ति हो। उनका कथाले आजको समयको सामाजिक मुद्दा बोकेको छ। मानवको यथार्थ जीवनशैलीको रहस्योदघाटन गर्न सक्नु पनि कथाकारको सफलता हो। वास्तवमा नवीन शैलीको खोज गर्दै त्यसबाट मुद्दाका कुरा गर्नु कठिन कुरा हो। कथाकारले हरेक कथामा कुनै न कुनै मुद्दालाई कुनै न कुनै शैलीद्वारा व्यक्त गरेकै छन्। यी कथाहरूले जीवन र पुँजीवादको सम्बन्धलाई आफ्नै शैलीले केलाएको छ, जसलाई बुझ्न विशेष चेतनाको आग्रह गरिएको छ।

पढिञ्जेल बेग्लै आनन्द दिने यी कथाहरू कहीं न कहीं एकार्कामा गाँसिएकै छन्। पाठकलाई बाँधेर राख्ने जादुई शक्ति पनि छ। कथा पढिसक्दा कथाकार प्रगतिशील धारमा कलम चलाउने र नारीवादी चेतना बोक्ने हुन् भनेर चिनिन्छ।

कथामा नारी पात्रलाई बलियो, परिवर्तनकारी, क्रान्तिकारी र आफ्नै सामर्थमा जिउन सक्ने पात्रकोरूपमा अर्थ्याइएको छ भने पुरुषलाई लाचार, कमजोर, लुच्चा, स्वार्थी पात्रकोरूपमा उतारिएको छ। जस्तै मिसुजा, सुनिता, सङ्गीता र नीतालगायतका नारी पात्रमा दह्रिलो संवाद पाइन्छ भने पुरण, च्याङ्बालगायतका पुरुष पात्रलाई कमजोर चरित्रकोरुपमा देखाइएको छ।

पात्रहरूलाई परिवेशसित जोड्न सक्नु र चित्रात्मक परिवेशको वर्णनले पाठकलाई तान्छ। छोरीको भ्रुण पहिचान गरी गर्भमा नै हत्या गर्ने सन्दर्भले नारी हिंसा विरुद्ध आवाज उठाइएको इङ्गीत गर्छ। बन्धन विरुद्ध, स्वातन्त्रताका वकालत गरिएको पाइन्छ। पुरुषमा नै सही तर स्तन देखियो भने पुरुषले त्यसलाई पनि भोग्य वस्तु बनाउने ‘स्तन’ कथाले बताएको छ। पुतलीजस्ता सुन्दर तर कमजोर जनताको पक्षमा कथाको आवाज छ। समग्रमा लाइफ :  अ बटरफ्लाई जीवनको अन्तरविरोधहरूको कथा हो। विषयलाई बलियो बनाउन कथाकारले प्रयोग गरेको शैली र भाषाले पाठकलाई समातेर राख्न सक्छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया