श्रमिक दिवस घोषणा :  चेयरम्यान रिलिफ फण्डको जमा रकममा जीटीएबाट थपेर श्रमिकहरूको व्याङ्क खातामा सोझै हालिनेछ

विज्ञापन

श्रमिक दिवस घोषणा

जीटीए चेयरम्यान रिलिफ फण्ड-मा लगभग 2 करोड सहयोग राशि प्राप्त भएको छ| आज अन्तर्राष्ट्रिय श्रमिक दिवसको यो पावन अवसरमा म समग्र चियाबगानका श्रमिकहरूसमक्ष अति हर्षको साथमा यो घोषणा गर्न चाहन्छु कि जीटीए चेयरम्यान रिलिफ फण्डमा हालसम्ममा जोगाड़ भएको रकममा जीटीएबाट पनि रकम थपेर र सबै चियाबगानका सबै श्रमिकहरूको व्याङ्क एकाउण्टमा सोझै जमा गरिदिनेछौं। कसैलाई पक्षपात गर्नेछैनौं, सबैलाई बराबर भाग लगाइदिनेछौं। एकैजना पनि चियाश्रमिकहरूलाई नछोड़ियोस् भन्ने हाम्रो उद्देश्य छ।


अनित थापा


कोरोना संक्रमणको यो आपद समाप्त हुनेसाथ हामी मिनिमम् वेजेस एक्ट र पर्जापट्टाको निम्ति फेरि लागिपर्नेछौं। हामीले आफ्नो वचनलाई कार्य संस्कार बनाएर अघि बढ्ने प्रतिवद्धता बिर्सिएका छैनौं।

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस (मई दिवस)-को अवसरमा म दार्जीलिङ पहाड़का चियाबगान, सिन्कोनाबगानलगायत समग्र क्षेत्रका श्रमिकहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछु। आफ्नो पाखुरी अनि पसिनामा बाँच्ने पौरखी श्रमिकहरूलाई आज यो ऐतिहासिक अवसरमा नमन पनि गर्दछु।

हुन त समाज अनि राष्ट्रको विकासमा प्रत्य़क्ष योगदान पुऱ्याउने श्रमिकहरूलाई आजको दिनमात्र नमन गरेर उनीहरूको योगदानको मूल्याङ्कन हुँदैन। हरेक दिन नै श्रमिकहरूको पसिना अनि पौरखको मूल्याङ्कन गरिनुपर्छ।

यही भावना लिएर हामी पार्टीगत अनि प्रशासनिक दुवै क्षेत्रबाट दार्जीलिङ पहाड़का चियाबगान अनि सिन्कोना बगानका श्रमिकहरूको निम्ति काम गरिरहेका छौं। उनीहरूको पौरख अनि पाखुरीको सही मोल अनि मूल्याङ्कन होस् भन्ने उद्देश्यले उनीहरूको हक-अधिकारको निम्ति हामी सङ्घर्षरत् छौं।

कोरोना संक्रमणको यो आपद समाप्त हुनेसाथ हामी मिनिमम् वेजेस एक्ट र पर्जापट्टाको निम्ति फेरि लागिपर्नेछौं। हामीले आफ्नो वचनलाई कार्य संस्कार बनाएर अघि बढ्ने प्रतिवद्धता बिर्सिएका छैनौं। यसैले लकडाउनपछि हामी फेरि मिनिमम् वेजेस एक्ट, पर्जापट्टालगायत अन्य मुद्दाहरू लिएर काम गर्न शुरू गर्ने पनि आजको यो महत दिनमा घोषणा गर्न चाहन्छौं।

मुख्यरूपले हालमा देशव्यापी चलिरहेको लकडाउनले दार्जीलिङ पहाड़का चियाश्रमिकहरूको जनजीवन प्रभावित बनेको छ। यो कुरासँग हामी राम्रोसित अवगत छौं। लकडाउनले चियाश्रमिकहरूमाथि यस्तो प्रभाव पर्नेछ भन्ने मैले लकडाउन शुरू हुने साथ अनुभव गरेको थिएँ। यसैले नै चियाश्रमिकहरूलाई समस्या परेको समय केही राहत हुन सकोस् भनेर जीटीए चेयरम्यान रिलिफ फण्ड शुरू गरेको थिएँ। चेयरम्यान रिलिफ फण्डको मुख्य उद्देश्य नै चियाश्रमिकहरूलाई सङ्कटको समयमा सहयोग पुऱ्याउनु रहेको छ।

हालमा जीटीए चेयरम्यान रिलिफ फण्ड-को विषयमा विभिन्न प्रकारको नकरात्मक मन्तव्यहरू हामीले सुन्न पाइरहेका छौं। यी मन्तव्यहरू सुनियोजित रूपमा राजनैतिक स्वार्थसिद्ध गर्न कतिपय नेतृत्वहरूले अह्राएर गरिएका मन्तव्यहरू हुन्। यसैले यसमाथि मलाई कुनै टिप्पणी गर्नु छैन। मलाई पहाड़का चियाश्रमिकहरूको आँखाबाट दुःखको आँशु पुछ्नु छ, यसैले यस्ता टीका-टिप्पणीहरूले मलाई मेरो उद्देश्यदेखि रत्तिभर विचलित बनाउनेछैन।

आज अन्तर्राष्ट्रिय श्रमिक दिवसको यो पावन अवसरमा म समग्र चियाबगानका श्रमिकहरूसमक्ष अति हर्षको साथमा यो घोषणा गर्न चाहन्छु कि जीटीए चेयरम्यान रिलिफ फण्डमा हालसम्ममा जोगाड़ भएको रकममा जीटीएबाट पनि रकम थपेर र सबै चियाबगानका सबै श्रमिकहरूको व्याङ्क एकाउण्टमा सोझै जमा गरिदिनेछौं। कसैलाई पक्षपात गर्नेछैनौं, सबैलाई बराबर भाग लगाइदिनेछौं। एकैजना पनि चियाश्रमिकहरूलाई नछोड़ियोस् भन्ने हाम्रो उद्देश्य छ।

जीटीए चेयरम्यान रिलिफ फण्डमा जमा भएको पैसा अहिलेसम्म कतै प्रयोग गरिएको छैन। किनभने यो पैसा पहाड़लाई अनि पहाड़को चियाबगान, चियाश्रमिकहरूलाई साँचो ह्रदयले माया गर्ने मानिसहरूले स्वेच्छाले जुटाएको पैसा हो। हालसम्ममा व्यक्तिगत एवं सङ्घ-संस्था गरेर कूल 11 हजार जनाले स्वेच्छाले जीटीए चेयरम्यान रिलिफ फण्डमा आर्थिक सहयोग प्रदान गरेका छन्। उक्त सबै महानुभावहरूलाई हामी हार्दिक आभार व्यक्त गर्न चाहन्छौं। पहाड़लाई माया गर्ने मानिसहरूको खाँचो छ, तपाईँहरूको यस्तै सहयोगले सुन्दर पहाड़ निर्माण गर्न सक्छौं।   

हामीमाथि विश्वास गरेर पहाड़ अनि चियाबगानहरूको भविष्य बचाउन मानिसहरूले हामीप्रति देखाएको विश्वासको प्रतीक हो। यसैले यो रकमको एक पैसा पनि दुरूपयोग गरिएको छैन। पहाड़लाई माया गर्ने मानिसहरूले स्वेच्छाले जुटाएको उक्त रकमले हामी चियाश्रमिकहरूको जीवनबाट सङ्कटको बादल हटाउने काम गर्नेछौं।

हाम्रो आह्वानलाई सकरात्मक रूपमा लिएर विभिन्न सङ्घ संस्था, शिक्षा संस्था अनि जिम्मेवार व्यक्तित्वहरूले उदार ह्रदयले आर्थिक सहयोग जुटाइदिए। ‘लिनु मात्र होइन पहाडले दिनु पनि जानेको छ’ यो हाम्रो पहाडको संस्कार अनि संस्कृति हो। यही संस्कार हाम्रो पहाडको पहिचान हो।

चियाश्रमिकहरू हाम्रा परिवारका सदस्यहरू हुन् । जसरी चियाबगान बिना दार्जीलिङ पहाड़को इतिहास अधुरो छ त्यसरी नै चियाश्रमिकहरू बिना हाम्रो परिवार अधुरो छ। यो वास्तविकतालाई पहाडले राम्ररी बुझेको छ। यसैले पहाड़वासीलाई  आफ्नो परिवारका सदस्यहरूको दुःखमा सामेल हुन, परिआएको खण्डमा सहयोग गर्न कसैले आदेश दिनु पर्दैन, न त जोड जबरदस्ती नै गर्नु पर्छ। यो संस्कार पहाड़वासीलाई स्वतः आउँछ। दार्जीलिङ पहाडकी रानी, विश्व कै मानचित्रमा आउने सुन्दर ठाउँ मात्र नभएर उदार ह्रदय अनि संस्कारी मानसिकता भएको मानिसहरूको गाउँ हो।

हालमा जीटीए चेयरम्यान रिलिफ फण्ड-मा लगभग 2 करोड सहयोग राशि प्राप्त भएको छ| यो हामीमाथि विश्वास गरेर पहाड़ अनि चियाबगानहरूको भविष्य बचाउन मानिसहरूले हामीप्रति देखाएको विश्वासको प्रतीक हो। यसैले यो रकमको एक पैसा पनि यसलाई अहिले सम्म प्रयोग गरिएको छैन। पहाड़लाई माया गर्ने मानिसहरूले स्वेच्छाले जुटाएको उक्त रकमले हामी चियाश्रमिकहरूको जीवनबाट सङ्कटको बादल हटाउने काम गर्नेछौं। हामी सबै सहयोगकर्ताहरुप्रति आभारी छौं। हजुरहरुको हामीमाथिको विश्वासमा कुठाराघात हुनु कदापि दिने छैनौं।

अन्तमा, अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा समग्र श्रमिकवर्गप्रति हार्दिक शुभकामना टक्राउन चाहन्छु। हामी तपाईँहरूको पसिनाको मूल्याङ्कन सही प्रकारले गर्ने उद्देश्य लिएर सङ्घर्ष गरिरहेका छौं। तपाईँहरूले पनि पहाड़को विकास अनि व्यवस्थापनमा योगदान प्रदान गरिदिनुहोस्।


लेखक गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका अध्यक्ष हुन्

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया