त्यो गाउँ, यो याद

गाउँको वरिपरि

बालबिकास क्लास नै हो मलाई जीवनमा अध्यात्मिकता भनेको धुप, दियो बालेर भजन गाउनु र प्रार्थना गर्नु मात्र होइन भनेर सिकाउने। अध्यात्मिकता त मान्छेलाई मान्छेको आवश्यक पर्दा काममा आउनु पो हो। मन्दिरको चार दिवारदेखि बाहिर आएर मान्छेको दु:ख देख्नु पो हो


सुदास राई


दलगाउँ प्राइमेरी स्कुल, क्लास टु। भुँईमा बसेर पढ्नु पर्ने। मेरो भुँई पार्टनर अरुण थापा। रोङ्गोकै धाप गाउँबाट दलगाउँ भर्खर भर्खर सरेको। सराईसँगसँगै स्कुल नि बद्लेको। नयाँ स्कुलमा नयाँ साथी अरुण। उसले एकदिन भन्यो, ‘आइतबार साई मन्दिरमा आइज न 1 बजी।’

घरदेखि निकै पर थियो तेतिबेलाको सानो साई मन्दिर। आइतबार खेल्नु बोलाको होला, नयाँ गाउँमा नयाँ साथीले भनेर सोचें र मन्दिर गएँ।

मलाई के थाहा, त्यहाँ त बालबिकास भन्ने क्लास पो हुँदो रहेछ। 15/20 जना हामी। अरुण र म जस्तै ससाना केटा केटी। बालबिकास पढाउने शिक्षक चैं स्कुलकै टिचर खगेन्द्र सर। अब भागुम् भने नि सरले पिट्ने। पऱ्यो फसाद। स्कुलकै सर बालबिकासमा देखेपछि छुलछुल।

मेरो घरको देवल घडीको हल्लिरहने पेन्डुलममा आपाले एउटा डल्लो स्टिकर टाल्नुभाथ्यो। त्यो स्टिकरमा ठूलो केशराशी र रातो लुगा लाएर ‘हेल्लो’ भने झैं एक हात उठाइरहेका मानिस थिए। त्यसबेला उनको नाम थाहा थिएन।

अरुणले बोलाको मन्दिरमा उही मानिसको ठूलो फ्रेमको नक्सा थियो। दियो, धुप र फूल चढाएर राखेको।

त्यतिबेला मैले अरुणलाई कानमा खुस्सुक्क भनें, ‘यो मान्छेको नक्सा त हाम्रो घडीमा पनि छ त।’

त्यसले सरले सुन्छ भनेर डरसरी मेरो कानमा खुसुक्क भन्यो, ‘हेत, केभाको यो। भगवान बाबा पो त।’

खगेन्द्र सरले भन्नुभो, ‘ तिम्रो नाम बालबिकास क्लासमा लेखिदिएको छु। अब प्रत्येक आइतबार आउनु है।’ अब नआई धर? स्कुलको सरले त्यसो भनेपछि डरैले जान थालेँ आइतबारदेखि।

यो कुरा हो 1987-88 तिरको। हाम्रोतिर शायद भर्खर साई समिति र साई बाबाको वचनहरु शुरु हुँदै थिएछ। हाम्रो तिर भन्नुको मतलब रोङ्गो तिर हो। हामी साना केटाकेटी। क्लास 2/3 तिर गाउँकै प्राइमेरीमा थियौं।

एउटा रोचक घट्ना भन्छु ल?

गाउँवस्ती, कमानका मानिस प्राय दिनभरि कमान, घाँसपात, दाउरा जङ्गल र बारीतिर दिउँसोको समयमा व्यस्त हुने। साई समितिको प्रत्येक कार्यक्रम नै 6 बजी बेलुकिदेखि हुने। यही बेला रहेछ कि क्या हो मनोज बोगटी नि साई समितिमा आउँथ्यो।

एकदिन बेलुकी भजनमा साथीहरुसित आउँदा एक्लै मन्दिरमा थुना परेछ। मनोज त कार्यक्रम हुँदाहुँदै  दैलो कुनामा गएर बोरामा निदाएछ पो। त्यो समय मन्दिरमा पलैंटी कसेर बस्नुलाई जुट्को बोरा उपयोग हुन्थ्यो। अघि सँगै आएका साथीहरुले पनि बिर्सिएछन्। त्यसै पनि त्यो गहुँगोरो वर्णको थियो, त्यहीँमाथि अँध्यारो कुनामा। कसैले देखेनछन्।

सबै घरघर गए। मनोज मात्र कुनामा सुतिरहेका रहेछन्। पछि त्यसको सोधीखोजी भएछ। र आधारातमा मन्दिर खोलेर त्यसलाई खोजिएछ। त्यसलाई कुनामा नै घुरिरहेकै भेटियो। त्यसपछि घर लगियो।

त्यस्तो अँध्यारोमा एक्लै मन्दिरभित्र। साथीहरूले मनोजलाई सोधेछन्, ‘ओइ डर लागेन तँलाई यस्तो अँध्यारोमा?’

त्यसले भन्यो अरे, ‘भगवान बाबा हुँदाहुँदै के को डर हौ।’

जब पनि मन्दिर जान्छु, म यही घटना सम्झिन्छु।

मेरो बालबिकास जाने निरन्तरता खगेन्द्र सरकै डरबाट भएको हो।  हरेक हप्ता बालबिकास जान थालें। बुझ्न थालें। त्यो रातो लुगा र कालो केशराशी भएका व्यक्तिलाई। उनी त विश्व अध्यात्मिक गुरु श्री सत्य साई बाबा पो रहेछन्। अब भने विस्तारै बालबिकास क्लासमा मज्जा आउन थाल्यो। विस्तारै बुझ्न थालें नैतिकताका कुरा। अनि त पूरा बालबिकास क्लासको कोर्स नै पूरा गरें- 1994 सालमा।

सरको डरले बालबिकास जाने म अब साई समिति स्वस्फुर्त जाने भइसकेको थिएँ। यही बिचमा समितिले सिकाएको हो- गाउँको सेवा गर्नु। धेरै साथी र दाजुहरुसित मिलि गाउँमा थुप्रै थुप्रै सेवामूलक काम त्यही समय गरियो।

हो, यही बालबिकास क्लास नै हो मलाई जीवनमा अध्यात्मिकता भनेको धुप, दियो बालेर भजन गाउनु र प्रार्थना गर्नु मात्र होइन भनेर सिकाउने। अध्यात्मिकता त मान्छेलाई मान्छेको आवश्यक पर्दा काममा आउनु पो हो। मन्दिरको चार दिवारदेखि बाहिर आएर मान्छेको दु:ख देख्नु पो हो भन्ने कुरा मलाई सिकायो।

आफ्नो कर्मले साई बाबा साधारण मानिसदेखि माथी उठेर एक दैविक व्यक्तित्वमा लीन भएर एक दैविक पुरुष बनेको यहीँ जान्न पाएँ। त्यसैले अरुणले मात्र होइन सबै साई अनुयायीहरुले उनलाई ‘भगवान बाबा’ भनेका हुन्।

साई भन्छ्न्, ‘मेरो जीवन नै मेरो सन्देश हो।’ अर्थात साईले आफ्नो जीवन कसरी मानव कल्याणको निम्ति समर्पित गरे, त्यही प्रकारले जसले आफुलाई साई अनुयायी भन्छन्, उसले मात्र होइन सबैले आफ्नो जीवन समर्पित गर्नु पर्छ भनी उनी सबैलाई स्पष्टता साथ भन्थे।

मलाई साई समितिमा सबै भन्दा बेसी मन पर्ने साईको कुरा चाहीँ ‘प्रार्थना गर्ने ओठहरु भन्दा सेवा गर्ने हातहरु नै महान हुन्’ भन्ने हो। सायद आज सम्पूर्ण विश्व नै यसैको आधारमा अडेको छ। अनि सम्पूर्ण अध्यात्मिकता यही भनाईमा उभिएको छ।

कुलेनबारीको जीवन। दिनभरि काम गर बेलुकी टाईम पास चैं जाड रक्सी अनि तास। रोङ्गोमात्र होइन, हामी नेपाली बसेका हरेक गाउँवस्ती शायद यस्तै होलान् र त गान्धिजी दर्जीलिङ आउँदा ‘बेसी रक्सी नखानु’ भन्दासमेत ‘हामी रक्सी खान्छौं’ भन्दै उफ्रेका थिए रे।

यस्तै बेलामा हाम्रो गाउँमा चैं खगेन्द्र सरको अगुवाईमा साई समितिको माध्यमबाट एउटा अभियान नै चलेको थियो, गाउँलाई जाँड, रक्सी, तास मुक्त बनाउने। गाउँलाई सुन्दर बनाउने।

मलाई याद छ, दलगाउँमा ओल्लो गाउँदेखि पल्लो गाउँसम्म त्यो बेला हामी केही साई समितिका सक्रिय सदस्य अनि  बालबिकासका विद्यार्थीहरु माईकमा नारा लाउँदै हिड्थ्यौं। बोल्थ्यौं, जाँड रक्सी र तासको विरोधमा।

अरुतिर त म भन्न सक्दिन तर यो अभियानले दलगाउँमा मोटामोटी प्रत्येक पगदन्डी र सडक किनाराहरु फुलै फुलले भरिएका हुन्थे। प्रत्येक मरौ घरमा जुवा तास र रक्सीको प्रथा बन्द भएको थियो।

सायद अहिले सरकारबाट थुप्रै अनुदानहरु आइरहेको छ, गाउँ सुन्दरीकरणको लागि। तर त्यो बेला साँची नै हाम्रो गाउँ सर सफाईदेखि लिएर प्रत्येक कुरामा आदर्श गाउँ थियो। दार्जीलिङ जिल्लाभरि गाउँको सुनाम फैलिएको थियो। मैले यहाँ भूतकाल प्रयोग गरें किनकी दलगाउँले यो परम्परा लगातार राख्न सकेन। किन कि खगेन्द्र सर अहिले बिरामी हुनुहुन्छ। उनलाई साथ दिने पेमा लामा, पासाङ तामाङ, सन्त तामाङ दाजुहरु म सम्झी बस्छु। फेरि हामी त्यो दलगाउँ पाउछौं होला खगेन्द्र सरलाई तपाईँहरुको जरुरत छ, गाउँलाई तपाईंहरुको जरुरत छ।

एक व्यक्ति खगेन्द्र शर्माको कोसिसले गाउँ यति परिवर्तित हुन सकेको थियो। हुन सक्यो। गाउँ हामी सबैको हो। के  हामी सबै मिलि फेरि गाउँलाई एउटा आदर्श गाउँ  बनाउन सक्तैनौं र? यति प्रश्न गरें, अहिलेका युवा पिँढीलाई। अहिलेका गाउँलाई माया गर्ने भाइ बहिनीहरुलाई।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया