म र इरफान खान बीचमा यस्तै सम्बन्ध थियो

विज्ञापन

सपना

तिमीलाई थाहा छ लिम्बू? गाउँ कला उम्रिने जमिन हो। गाउँमा उम्रिएको कला अर्गानिक हुन्छ। बजारमा सिन्थेटिक कला उम्रिने हो। विश्वलाई गाउँमै उम्रिएको कला मनपर्छ। थाह छ किन?’ म के जान्नु र हगी? त्यही लिम्बू पाराले ‘नाही’ भन्न टाउको हल्लाइदिएँ। ‘खासमा हरेक मानिसमा गाउँ हुन्छ। उ शहर पुगेर प्रिटेन गर्छ। नक्कली जिउँछ। नक्कली।’


आशिष लिम्बू


कोही कोही मान्छे नभेटी पनि यतिसारो प्रिय लाग्दा रहेछन्। उनले मलाई नचिने पनि हामी बीचमा जनम जनमको सम्बन्ध छ जस्तो लाग्ने। जसको नाम सुन्ने बित्तिकै आफ्नै हो जस्तो लाग्ने। यस्ता प्रिय मान्छेलाई भेट्न जहिले हुटहुटी लागिरहँदो रहेछ। जहिले सम्झनामा आइरहने रहेछ। कहाँ भेटौं, कहाँ भेटौं भइरहने रहेछ। यो प्रेमिल तिर्खा त कहिल्यै नमेट्दो रहेछ।

हो, म र इरफान खान बीचमा यस्तै सम्बन्ध थियो। उनले मेरो नाम सुनेका छैनन्। तर म उनको नम्बर वान फ्यान। हामी बीच चिनजान नभए पनि, व्यक्तिगत सम्बन्ध नभए पनि खान मेरा लागि कोही न कोही पक्कै हुन्।

खासमा मलाई उनको फिल्म हेरेपछि यस्तो भएको हो। कलाकारिताले उनको नजिक पुऱ्याएको हो मलाई । या त भनुम् मेरो नजिक उनी आफै आएका हुन्।

तर यो कस्तो आश्चर्य कि अब खान भाईले सधैँको लागि बिदा लिइसके यो दुनियाँबाट र अब हेर्नु पाउँदिन म उनका नयाँ नयाँ फिल्महरू।

कस्तो पत्याउनै नसक्ने कुराले बेस्सरी निमठ्यो मलाई। किन लेख्दैछन् खान भाईलाई आरआईपी?  यी मानिसहरु पागल त भएनन्? तर मानिसहरू पागल थिएनन्। बरू त्यो खबर साँचो थियो। साँचो थियो, गए खान। यो सोचेर म एकछिन सुनसान भएँ। रुन्चे भएँ। पिल्पिलाउँदो भएँ। भारी मनले बेस्सरी सम्झें, पान सिहं तोमर। र इरफानको अनुहार। सम्झें, हामी बीचको अन्जान सम्बन्धलाई र सम्झें जहिले उसलाई भेट्न मन लागिरहने त्यो प्रेमिल तिर्खालाई। र आत्तिएँ। अनि मैलै पनि हात कमाउँदै लेखें, हार्दिक श्रद्धाञ्जली माइ वेस्ट हिरो।

000

र सपनामा खान भाई र म

0

किन आज कालेबुङ बजार सुनसान छ? जोडतोडले चर्किएको छ घाम। ज्यादै गर्मी छ। तर बजार एकदम सुनसान छ। चकमन्न छ। गाडीको हर्न छैन। मानिसहरूको भिडभाड छैन। पसिनाले निथ्रुक्क भिजेको छ शरिर। तर कोकोकोला, प्याप्सी, तातो, चिसो पाउने कुनै कुनै दोकान खुल्ला छैनन्। तरै पनि म ढुक्कसँग उभेको छु डम्बर चोक बीचमा।

कोही आउँदैछ तलबाट। सानो ब्याग भिरेको छ। आखाँमा चस्मा छ। उ सिधै म तर्फ आइपुग्यो। एकदम छेउ आइपुग्यो। र मैले मजाले चिनें। अरे उ त इरफान खान पो हो, मेरो वेस्ट हिरो।

‘हलो लिम्बू भाई म इरफान खान,’  म एकोहोरो उनकै अनुहारमा हेरिरहेछु। टोलाई रहेछु, टोलाई रहेछु। ‘नमस्ते लिम्बू भाई म इरफान खान,’ उनी निरन्तर भनिरहेछन्।  मेरो सामु स्वंय खान भाई उभेको देखेर को अचम्भित हुँदैनन्?

म पनि भएँ। छक्क परेको अनुहार खानले देखे होलान् मेरो। लठुवाजस्तो उभ्भेको देखे होलान्।

‘मेरो नाम कसरी थाहा भयो खान भाईलाई? र कसरी बोलिरहेछन् उनी नेपाली भाषामा?’-यो कुराले झन् अचम्भित बनायो मलाई।

मैले झस्किँदै भनें, ‘नमस्ते खान भाई।’

‘यो बजार किन सुनसान छ लिम्बू भाई?’

 उनले पो पहिलो प्रश्न गरे। रुन्चे स्वरमा भनें, ‘आज तपाईं बित्नु भो रे। र यो शहरले शोक मनाइरहेको हो खान भाई।’

‘मलाई लाग्छ अब एकछिनमा पानी पनि पर्छ। हा हा हा,’ उनी त रेला पो गर्छन्। फेरि अनुहारमा आश्चर्य र गम्भीरताको भाव देखापर्छ उनको अनुहारमा।

‘यो देश, यो शहर, यो बजार बडो बेवकुफ छ लिम्बू भाई। हर जिउँदो मानिसलाई मरेको बनाउँछ। हर मरेको मानिसलाई जिउँदो बनाउँछ। यो मानिसको पुरानै आदत हो।’

खान मलाई सम्झाइरहेछन्।

‘तिमी पनि आत्तियौ हगी?’ मलाई सोधिरहेछन्।

‘अरे यार दुनियाँले आफैसित मजाक गर्छ।  उसलाई रुनको लागि दुःख चाहिन्छ र उ दुःखको खोजमा लाग्छ। उसलाई हाँस्नको सुख चाहिन्छ र सुखको खोजमा लाग्छ। पाउँछ त?’

मलाई खानको डायलग पूरा मनपर्छ। अहिले पनि मनपरिरहेको छ। हामी हिँड्दै आईपी पार्क पुगेका छौं। म लिम्बू स्टाइलमा टाउको हल्लाइरहेको छु। अर्थात खानको डालयग सुनिरहेछु।

‘लिम्बू, दुनियाँ जिन्दगीको हातमा निम्बु थमाउँछ। निचोर्नु कति साह्रो छ, निचोर्नेलाई थाहा छ,’ खान लगातार बोलिरहेका छन्, ‘जीवन र मृत्युबीच बेसी फासला छैन भन्छन् मानिसहरू। मलाई जीवनको अर्को अर्थ मृत्यु नै भन्ने लाग्छ। जीवनमा मृत्यु हुन्छ। मृत्युमा जीवन हुन्छ। एउटै त हो। बीचमा फासलाको कुरा कहाँबाट आयो? दुनियाँ रेला गर्छ लिम्बू भाई।’

खान भाई खासमा मलाई थम्थमाउन आएका होलान्। खान नै त हो मसम्म आउन सक्ने। खानमा न त नक्कलीपन छ न त घमण्ड। हाम्रै समाजका प्रतिनिधि त हुन् खान। खानलाई देखेपछि मजस्ता लिम्बूको सारा संकोच फुमन्तर हुन्छ। म आफैलाई जिन्दगीको फिलिम् खेलिरहेको छु भन्ने लाग्छ।

म खानसित फिदा छु।

‘तिमी त सिरेस् भयौ यार, गाउँको खबर के छ?,’ आफै सिरेस बनाउँछ आफै फेरि यस्तो प्रश्न गर्छ। खान भाईलाई मेरो गाउँबारे जान्ने केको खसखस?

‘जाने हाम्रो गाउँ?’ मैले सोधें।

‘किन नजाने र ? तिमीलाई थाहा छ लिम्बू? गाउँ कला उम्रिने जमिन हो। गाउँमा उम्रिएको कला अर्गानिक हुन्छ। बजारमा सिन्थेटिक कला उम्रिने हो। विश्वलाई गाउँमै उम्रिएको कला मनपर्छ। थाह छ किन?’

म के जान्नु र हगी? त्यही लिम्बू पाराले ‘नाही’ भन्न टाउको हल्लाइदिएँ।

‘खासमा हरेक मानिसमा गाउँ हुन्छ। उ शहर पुगेर प्रिटेन गर्छ। नक्कली जिउँछ। नक्कली।’

कुरा गर्दै हामी त तोक्सङ्ग डाँडाको चौतारीमा पो पुग्यौं।  ‘लिम्बू भाई तिम्रो महल त बबाल रहेछ,’ मेरो घरलाई औउलाउँदै खान भनिरहेछन्। म अचम्भित। बडे बडे बङ्गलामा बस्ने मान्छेले जाबो मेरो मामुली घरलाई महल भन्ने?

‘गाउँमा दुःख हुन्छ। अपुग हुन्छ। समस्या हुन्छ। यसैले गाउँले सपना देख्छ। गाउँको बाटो अपठ्यारो हुन्छ। र नै गाउँका मानिस सङ्घर्ष गर्न सक्छन्। हार्दैनन्। थाक्दैनन्,’ खान गफ लाइरहेकै छन्।

उसको व्यागको चेन खुल्लै छ। अरे के हो? यो समयमा पनि सिडी क्यासेट बोकेर हिँड्छ खान भाई?

मेल देखें, पान सिहं तोमरको सिडी क्यासेट। मैले उसको व्याग खोतलें र खानलाई हेरें। उ त छैन। कता हरायो खान भाई? मेरो हातमा व्याग छ। खान छैन।

यसरी अचानक जान्छु पनि नभनी जानु मिल्छ खान भाई?

0

म व्युँझिएँ। कस्तो मिठो सपना यार।

मिस् यु खान भाई।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया