सौ सालको सम्झनामा जुम

विज्ञापन

स्मृतिको स्क्रिनमा

‘शिकारी देउतालाई पुजा गरेर धोएर खायो नि केटाहरूले,’ अमनसँग बुढाले भने अनि नजर लुकाएर बिस्तारै यसो पनि भने, ‘नैनसिंहहरूले त गाँड र अन्द्राभुँडी पनि धोइपखाली खायो पो।’ ‘नैनसिंहहरूले आन्द्राभुँडी खायो भनेपछि तपाईँले चोक्टा खानु भयो,’ बुढाको मुखबाट कबुल गराउन मैले भनें। तर बुढाले त्यसपछि उता मौन धारण गरे।


-खुसेन्द्र राई ।


लगभग सौ सालको वृतमा एकपल्ट हाम्रो जुम गाउँ भएर पनि महामारी गुज्रेको थिएछ। त्यो माहामारीमा धेरै मान्छे मरेको किस्साकहानी हामी पछिल्ला पुस्ताले सुन्दै आएका हौं। तर सालसंवत यकिनको साथ अत्तोपत्तो भएन । सानोमा बोज्युले घाँसदाउरा गर्नु जाँदा माथि गोलफेका जङ्गलमा दुईचारवटा घरका घडेरीका भग्नावशेष देखाएर कालो ज्वरोले मरेर निःस्तान भएकाहरूको निसानी भनेर चिनाउँथिन्। हामी कुखुरे वैंसमा नयाँबजार हिँडेर आउँदाजाँदा पनि तल खेतडाँडाको जङ्गलमा टट्टीपिसाब फेर्न पसेको बेला जङ्गलभित्र लामालामा ढुङ्गाका गह्राहरूका त्यस्तै भग्नावशेष देख्थ्यौं। त्यहाँ पनि मान्छे बस्थे जो कालो ज्वरोले मरेका भन्थे। अहिले समयको चक्रभित्र झारजङ्गलले त्यसको स्वर्णिम इतिहास छोपे पनि त्यहाँ सौ सालअघि खेतबारीमा जिन्दगी आवाद थियो भन्ने दसीको रूपमा त्यो ठाउँलाई हाम्रा पुर्खाले खेतडाँडा नामकरण गरिराखेर गएका छन्। अब त्यसको सही इतिहास सोधीखोजी गर्ने जिम्मा हाम्रो हो।

तर अब त ती किस्साकहानी भन्ने पनि सबै गुज्रेर गइसके। तर म अहिले त्यो किस्साकहानीकै सिलसिला लिएर अघि बढ्छु।

अहिलेको अवकाशको बेला म हावा खाँदै, गाउँ घुम्दै  हाम्रा गाँउका पुराना मान्छे सिबी सरको घरमा पुगें। यताउता भलाकुसारीको औपचारिक्तापछि म सरलाई त्यो माहामारीको इतिहास कोट्याउन सोध्छु – ‘सर कुन सालको कुरा पो हो त्यो माहामारी आएको चैं?’

जुमको विगतको इतिहास जसलाई पनि अलिकति भए पनि थाहा छ, अब सिबी सरलाई मात्र थाहा छ। तर उनी आफू बुढो भएको, एकानब्बे साल पुगेको, खुट्टाका गेंडी, पाङ्ग्रा दुखेर हिँड्डुल गर्न नसकेको गुनासो गर्छन्। यो बुढेसकालको बिमारी हो सबैलाई हुन्छ भनेर म आश्वस्त पार्न खोज्छु। उनी अझै, अब कति दिन बाँचिएला भनेर मृत्यु चिन्तन गर्छन्। बुढाले बल्लबल्ल कुराको सिलसिला समात्छन्– ‘मलाई त्यो काँ थाहा छ र हौ!’

तर तलको पात्ताले खोल्सादेखि उता सखुवाघारी जङ्गल देखाएर उनी भन्छ्न– ‘त्यो जङ्गलदेखि

पर चार फलैंचाको टर्निङ छेउसम्म कमाइखाने जमिन थियो। त्यो जङ्गल चिरेर नामरेकदेखि नयाँबजार जाने बाटोमा कुँआपानी तल लामो ढुङ्गाको गह्राहरू अझै छन्। त्यहाँ भक्तुको बोज्युको चिया दोकान थियो। तर त्यो म जन्मनुभन्दा धेरै अघिको कुरा है। त्यो कुँआपानीदेखि तल पात्ताले खोल्साको भित्ताको सोतोमा धोत्रेकपासेले कपास छर्थ्यो अरे। धोत्रे नाम चैं भालुले कोपारेर नाक धोत्रो पारेको रैछर अनि कपासे चैं कपास छर्ने भनेर – धोत्रेकपासे बसेको। त्याँ कुँआपानी तल शिकार खेल्न जाँदा धोत्रेकपासेहरूको घरको घडेडीहरू अझै भेटिन्छन्। हाम्रा बुढाहरू कति बलिया थिएछन् त्याँ हेर्नु जानुपर्छ। कसरी त्यत्रो ठूल्ठूलो ढुङ्गा उचालेर घरेडी लगायो होला।’ बुढा गम खान्छन्।

‘धोत्रेकपासेको सन्तान चैं कता गए त?’ सोध्छु।

‘कालो ज्वरोले सखाप पाऱ्यो भन्छ त। मान्छे मरेरे गएपछि त्याँ सखुवा पलाएर सखुवाघारी जङ्गल भाको।’  बुढा भन्छन्।

‘त्यसो भए त्यै समयमा गोलफेका अनि तल खेतडाँडाका मान्छेहरू पनि कालो ज्वरोले मरेका होलान्।’ -म भन्छु।

यो कुरामा दम पनि छ कारण गाउँको बाहिरी चक्र जङ्गल छेउछाउ बस्नेहरूलाई मच्छरले टोकेर कालो ज्वरो वा मलेरिया भएको हुनुपर्छ। त्यो समय कालो ज्वरो पनि महामारीनै थियो। दवाई बनिएको थिएन। बनिए पनि आइपुगेको थिएन होला।

‘खै ! त्यो त मलाई थाहा भएन,’ बुढा भन्छन्, ‘तर त्यो कालो ज्वरो फर्केर चैं फेरिआएको थियो। त्यतिबेला चारफलैंचामा सियो लाउन डाक्टर आएको थियो अरे। सप्पै गाउँलेलाई खालि पेट आउनु भनेको बाघसिंहको जेठी बुढी चैं जाँड खाएर गएको कारण मऱ्यो भन्छ।’

उनी फूल चार्जमा बोल्न थाल्छन्, ‘तर म तेरह चौदह सालको हुँदा चैं गाउँको सब् गाई, गोरू, बाख्रा, कुख्रा भुर्कुट मरेको। खालि मखने बुढोले गाईबस्तु जङ्गलमा लुकाएर बँचाउन सक्यो। अरू सब्को मऱ्यो। छमकटेको भुर्कुट भयो। जुमदेखि पारि नन्दुगाउँसम्म सप्पै मऱ्यो।’

उनको उमेरसँग हिसाबकिताब गर्दा त्यो समय सन् १९४३-४४ -तिर रहेछ। त्यो समय जुममा स्वाइन फ्लू आएको थिएछ अहिलेको मेडिकल भाषामा भन्ने हो भने।

त्यसपछि १९५० सालको भलपैह्रोको कुरा भयो। पचास सालको अविरल बर्षाले जुमपारि शयामपानीको पैह्रो गएको थियो। जुन पैह्रोले सिक्किम सिलगढीसँग जोड्ने चम्पा पूल बगाएर लगेको थियो। अनि, जुन भलपैह्रोको कारण अनिकाल लागेर खानिसिर्बोङ गाउँतिरका मगरहरूले जुमको गोलफेका जङ्गल गिट्ठा भ्यागुर खोज्दा बनेललेजस्तो उधिनेका थिए।

हामीले स्वाइन फ्लू आएको साल गन्ति गर्दा सिबी सर सन् १९२८-२९ मा जन्मेका रहेछन्। त्यसोस्ले जुममा त्यो प्लेग आएको समय सन् १९००-को वरपर हुनुपर्छ मैले अनुमान लगाएँ। यति त गुगलतिर, कुनै किताबमा पाइएला!

‘त्यो नयाँबजारमाथिको हर्कबीर ओडार चिन्छ हैन?’, उनी अर्को घटना याद गर्छन्।

‘त्यो ओडारमा १९९० सालतिर प्रवीण राई जुमेलीले एउटा मान्छे बस्छ भनेर उसको पेपर जोरथाङ भन्नेमा छापेको थियो, त्यो ओडार हो?’, म सोध्छु ।

‘अँ। बिजुवा पनि थियो अरे नि त्यो मान्छे !’ उनी भन्छन्।

उनले सौ वर्षअघिको घटना निफन्छन्। एकदिन मनुको बाजे वा एनबी सरको भूत बाजे जङ्गलमा गाई चराउन गएका थिए। उनले भक्तुको बोज्यूको चिया दोकानदेखि तल जङ्गलमा धूँवा आइरहेको देखे। के रहेछ भनेर मनुको बाजे तल गएर हेर्दा त त्यस समयको डरलाग्दो डाकु हर्कबीर कामीले पो चोरेको बाख्राको मासु आधा आगोमा सेकाइराखेर आधा खाँदैरहेछन्। मनुको बाजे पनि बलियो। डाकु हर्कबीर र मनुको बाजेको डरलाग्दो फाइट भएछ। घरि मनुको बाबुले हर्कबीरलाई ठेलेर माथि चार फलैंचा छेउमा पुऱ्याउँथ्यो अरे, घरि हर्कबीरले मनुको बाजेलाई ठेलेर तल राम्भाङ छेउमा पुऱ्याउँथ्यो अरे।

एक घण्टाभन्दा बेसी लाप्पा भइसक्दा पनि हारजीत हुँदैन। यस्तैमा कसो कसो गर्दा हर्कबीरको खुट्टा जिप्टेर कान्लामुनि झरेछ। त्यही मौकामा मनुको बाजेले कम्बरको पटुका खोलेर हर्कबीरको हातखुट्टा बाँधेछ। त्यसपछि उनले हर्कबीर डाकुलाई सिधै च्याखुङ अड्डामा पुऱ्याएछन्। त्यस समय च्याखुङ अड्डा पश्चिम सिक्किमको मूल अड्डा थियो। अड्डामा देवान साब बस्थे। अहिले भन्नु हो भने डिसी बस्थे। उनैले सबै मुद्दामामलाको छिनाफाना गर्थे। त्यहाँ जेल थियो। ठ्याङ्ग्रो थियो।

त्यसपछि गाउँको आर्थिक गतिविधिको कुरा हुन्छ। त्यससमय जुम चुम्बुङ गाउँको आर्थिक भार थेग्ने एकमात्र दार्जीलिङ बजार थियो। गाउँमा पाखुराको बलले उब्जाएको सागसब्जी सक्नेले बोकेर दार्जीलिङ बजार पुऱ्याएर बेचेर फर्किँदा सिङ्ला बजारबाट महिना दिनको लागि दाल चामल बोकेर फर्कन्थे। नसक्नेले गाउँका खरितेलाई कम्ती दाममा बेच्थे। सिबी सर पनि त्यो बेला स्थाई गरूबाबु हुनुअघि गाउँका सागसब्जी, निम्बु सुन्तला ठेकेर कुल्लीलाई बोकाएर आफू चैं गलामा क्यामेरा झुन्डाएर लाप्चे बस्ती, बर्नस्बेग, टकभर कमानका राईनीहरूका चिम्से आँखासँग आफनो चिम्से आँखा जुझाउँदै, फोटो खिच्दै झिल्के भएर दार्जीलिङ ओहोरदोहोर गर्थे।

त्यो समय जुमका राईहरूले आफ्ना छोराछोरीहरुलाई ‘पढिलेखी के काम, हलो जोती खायो माम’ भन्दै बारीमा जोत्दै अनि आधा वर्ष कुल पुजामा मातेर झगडा पर्दै बिताइरहेका बेला एकजना ओखरबोटेका छमकटे, देउराम, कुलुङ राईले भने आफ्ना चारजना छोराहरू जुमबाट दार्जीलिङ सागसब्जी बोकेर-लगेर-बेचेर दार्जीलिङमै कसैलाई टर्नबुल स्कुल, कसैलाई सरकारी महाविद्धालय पढाउँदै थिए।

उनले पूजाआजामा भेला भएका बेलामा पनि गाउँमा शिक्षाको ज्योति बलोस् भनेर आफ्नो राई दाज्युभाइहरूलाई छोराछोरीलाई पढाउनुपर्छ भन्थे अरे तर उनको कुरा काट्ने बहुसंख्यक राईहरू भने उनीसँग नै कुटामार गर्थे अरे। यो कुरा मेरो दिवंगत आमाले मलाई भनेकी हुन्। निसन्देह, छमकटे राई जुममा शिक्षाको दियो बाल्ने पायोनियर थिए। पछि गएर जुमजस्तो अभेग गाउँका उनका चारजनै छोराहरू सिक्किममा ठूल्ठूला अफिसर, इन्जिजियर भए।

काइँला छोरा भागेस्वर राई लेखक पनि थिए जसले दुई उपन्यासहरु – ज्वाला र खरानीहरूती फूलका गीतहरू लेखे। उनको एउटा कथा सङ्ग्रह तरंगहरू अनेक र एउटा कविता संग्रह बिएस राईका कविताहरू पनि प्रकाशित छन् । उनकै जेठा छोरा रामधोज राईको नातिनी अपराजिता राई हुन् जसले यूपिएस परिक्षा जेनेरल केटेगोरीबाट दुईपल्ट पास गरेर अहिले आइपिएस अफिसर भएकी छिन्। बद्रिनारायण प्रधानले पनि उनको अटोबायोग्राफी च्याखुङ डायरीमा जुम गाउँको छमकटे राईबारे लेखेका छन्।

त्यो समय अहिलेजस्तो अदुवाको व्यापार थिएन। जुमका राईहरूले आफ्नो कुलपूजा गर्नलाई मात्र अदुवा रोप्थे। जुमका सागसब्जी, सुन्तला दार्जीलिङ जान्थ्यो। सोरेङबाट रामेको बाबुले आलु, अलैंची घोडालाई बोकाएर नयाँबजार तपेश्वरकहाँ ल्याउँथे। तपश्वेरले ती समानहरू आफ्नो दशवटा घोडालाई बोकाएर मल्ली पुराउँथे। त्यहाँबाट सिलगढी, कलकत्ता जान्थ्यो होला- सिबी सरले गम खाएर भन्छन् ।

अब सिबीसरले शिकार खेलेको घटना वर्णन नगरी कुरा कहाँ टुङ्ग्याछन् र कुरा?

यो शिकार कथा सिबी सर १९६५ सालमा स्थायी गुरुबाबु भएपछिको हो। त्यस बेलासम्म सिक्किमभित्रै आर्थिक गतिविधि शुरू हुन थालेको थिय । दार्जीलिङ जाने जुम चुम्बुङका सुन्तला किन्न नयाँबजारका नन्दुमङ्गल, च्याखुङका पद्मे सरदार घरमै आउन थालेका थिए। तर गाडी थिएन। नेपालको पाँचथरबाट लिम्बु-लिम्बनीहरू, संखुवासभाबाट कुलुङ्गे राई-राईनीहरू हुलका हुल ढाकर र तोकमान बोकेर सुन्तला टिप्न आउँथे।

उनीहरूले खाजा सुन्तलाकै, लन्च सुन्तलाकै, डिनर सुन्तलाकै खान्थे। भनौं, उनीहरूले सुन्तला टिप्ने चार महिना कार्तिक, मङ्ग्सिर, पुष, माघ सिजनभरि सुन्तला खाएर नै पेट भर्थे। सुन्तलाको मन्डी जोरथाङ बजारमा थियो। उनीहरू जोरथाङ मन्डी पुग्न ढिलो भए कहिले पात्ताले खोल्सामा, कहिले चार फलैंचामा सुत्थे। अनि जहाँ सुत्यो त्यतैतिर सुन्तलैसुन्तलाको गुहू एकरास हगिराखेर जान्थे। उनीहरूले हगिराखेको ठाउँमा अर्को बर्ष सुन्तलाका बिरूवारू बुरूरू उम्रेका हुन्थे।

‘एकजना सुन्तला टिप्ने लिम्बु हाम्रो घरमा बसेको थियो। सुन्तला टिपिन्ज्याल सुन्तलाकै छाकमा बस्यो। हन तेसले, तीन महिनामा सुन्तलाको सिजन सकेपछि एउटा दश केजीको सुङ्गुरको पाठा किनेर डल्लै पकाएर एक भाँडा भातसँग एकैछाक पाऱ्यो हौ। हामी त छअअअ…क्क पऱ्यौं।‘ बुढोले त्यो पूरानो घटना आफ्नो पुरानो घरतिर हेर्दै सम्झे ।

त्यहाँबाट असली शिकारको कथा शुरू भयो ।

उनले शुरू गरे – ‘एक साँझ नैनसिंहले दाज्यू शिकार खेल्न जाउँ भन्न घरमै आयो । तल पात्ताले खोल्सामा मैले कालिज बास बसेको देखेको छु।’

‘ल न त भनेर बन्दुक बोकेर म रेडी भएँ,’ उनले थपे।

‘पात्ताले खोल्सा पुगेको साँच्चीनै कालिज बास बसिराको रैछ। मैले एसो ताकेर ड्याम्मै हानेको, मैले हानेपछि मिस हुने कुरै आएन। कालिज थपक्क भुँईमा झऱ्यो। झमक्क रात परेको थियो। मैले काँधमा बन्दुक बोकेर घर हिँडे। नैनसिंह कालिज काँधमा झुन्डाएर मेरो पछिपछि हिँड्यो। तर जति हिँड्यो उति जोड्जोड्ले गुहू गन्हाउँछ। ए बाबा, भनेर एता हेऱ्यो छैन, उता हेऱ्यो छैन। जुत्ताको सोलमा हेऱ्यो त्याँ पनि छैन।’

‘घरमा पुगेपछि पो थाहा भयो। हिज राति पात्ताले खोल्सामा सुन्तला बोक्ने लिम्बुहरू बास बसेका थिएछन्। सुन्तलाको लन्च, डिनर गरेर खोल्साकै वरपर सुन्तलैसुन्तला हगिराखेर मोरेका थिएछन बजियाहरू। त्यै सुन्तले गुहू खाएर गाँड फुलाएर कालिज बास बसेको थिएछ त्यहाँ रूखमा। नैनसिंहले कालिज उधोमन्टो झुन्डाएर बोक्दा गाँडबाट सुन्तलाको पहेंलैपहेंलो गुहू झरेर कमेसको गोजीदेखि तल घुँडासम्म पुगेको रैछ,’ बुढाले मुख नमीठो कुच्चाएर शिकार कथा टुङ्गाए।

‘अन्त कालिजको मासु खानु भयो?’ मैले कथा टुङ्ग्याउन दिइनँ।

हुन त, मलाई पनि पहेंलो सुन्तालकाको बिरैबिरा अनि गेडासरिको गुहू सम्झेर घिन लागेर नआएको होइन।

‘शिकारी देउतालाई पुजा गरेर धोएर खायो नि केटाहरूले,’ अमनसँग बुढाले भने अनि नजर लुकाएर बिस्तारै यसो पनि भने, ‘नैनसिंहहरूले त गाँड र अन्द्राभुँडी पनि धोइपखाली खायो पो।’

‘नैनसिंहहरूले आन्द्राभुँडी खायो भनेपछि तपाईँले चोक्टा खानु भयो,’ बुढाको मुखबाट कबुल गराउन मैले भनें।

तर बुढाले त्यसपछि उता मौन धारण गरे।

घर फर्केर त्यो रातको डिनर खान सकिएन। अर्को दिनको बिहानसम्म मेरो मुखमा कालिजको पहेंलो सुन्तले गुहू सम्झिँदा नमीठो अमिलो आइराखेको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया