अब नेपाली पाठकलाई किताबको संख्या होइन, किताब नै दिने कोशिश गर्नेछु-छुदेन काविमो

प्रश्नउत्तर

मान्छे भएर हुँदैन, नाम हुनुपर्छ/ गणतन्त्रमा सबैको दाम हुनुपर्छ

पहिलो कृति केही घाउ, केही मलम गजल सङ्ग्रहमा यसो भन्ने आख्यानकार छुदेन काविमोले दाम कति कमाए थाहा छैन तर नाम काफी कमाएका छन्। पिरतीका झिनामसिना अल्लारे भावना गजलमा लेख्दालेख्दै उनको हात आख्यानतिर पनि सऱ्यो। उनको दुइतीन कथाबाहेक अरू जम्मै उस्तै अल्लारे प्रेम र धोकाका प्रसङ्गहरूले भरिएको कथा सङ्ग्रह 1986 आयो। सङ्ग्रहका कन्टेन्टले भन्दा पनि लेखनशैलीले पाठकलाई खुब तानेको थियो। काविमो राजनारायण प्रधानजस्तै मटक मर्ने शैलीमा आफ्ना कुरा लेख्ने लेखक हुन्। जे पनि लेखोस् उनको भाषा नितान्तै पलिस गरिएका हुन्छन्। उनका कतिपय कथामा सामान्य मानिसले पनि नितान्तै पलिस गरिएको भाषामा संवाद गरेको पाइन्छन्। शैलीका जादुगर काविमोको पहिलो उपन्यास फातसुङ खुबै चलेको पुस्तक हो।  गोर्खाल्याण्ड आन्दोलन भनेर सत्ताको गोर्खा र गोर्खाल्याण्डविरोधी न्याराटिभ स्थापित गरेको भन्ने आलोचना पनि फातसुङले खप्न परेको थियो। लेखक छुदेन काविमोसित उनको लेखनकै सेरोफेरोमा रहेर संवाद गरेको छु, जसको सम्पादित अंश प्रकाशित गरेका छौं-विशाल नाल्बो


विशाल नाल्बो


तपाईँको प्रारम्भिक लेखनको अवस्था कस्तो थियो, स्मरण गर्नुस् न

2007 तिरको कुरा हो। जतिबेला म बाग्राकोट हाईस्कूलमा पढ्थें। स्कूलमा गजबको महोल थियो। हामी आफै भित्ते पत्रिका निकाल्थ्यौं। त्यो सुनचरीको जमाना थियो।

एकदिन सुनचरी पढ्दै गर्दा साथी लीलाबहादुर छेत्रीले भने, ‘चित्र कविताको निम्ति कस्तो राम्रो नक्सा दिएको रहेछ। तिमी त प्रेम लेख्ने मान्छे हौं। लेख्ने कोशिश गरिहेरन ?’

मैले नक्सा हेरेँ। समुन्द्रको किनारमा एक युवा र युवती उभिएको तस्वीर थियो त्यो। म रोमाञ्चित भइहालेँ।

उतिबेला म डाइरीमा लुक्दै गजल लेख्थेँ। त्यो कुरा लीलाबाहेक अरूलाई थाह थिएन।  त्यो नक्सा देखेपछि मभित्र गजलको तीन शेर फुरिहाल्यो। मैले कविताको नाममा त्यही पोस्ट गरिदिएँ।

अच्चम्भ भो, चित्र कविताको प्रतियोगिता त्यही गजलले जितेछ। पुरस्कार स्कूलमा नै आइपुग्यो। त्यसपछि त मैले  लगातार गजल लेख्न थालेँ।

कुनै राम्री केटी मन पऱ्यो, गजल लेखिहाल्ने। कसैबाट धोका पायो, नयाँ शेर फुरिहाल्ने। दिनमा सातवटासम्म गजल लेख्थेँ त्यो बेला म। अहिले सम्झिँदा लाज लाग्छ।

यस्तो बेला अचानक एकदिन मैले लामो कथा लेखेँ। त्यो कथा हिमालय दर्पणमा छापिएको थियो। छापिएको कथालाई सागर सरले क्लासमा नै पढेर सुनाइदिनु भयो। अनि, भावुक बनेर अन्तिम लाइन जोड़िदिनु भयो, ‘यति सुन्दर कथा मैले जीवनमा पढेकै थिइनँ।’

अनि त म दङ्ग परेँ। र, कथा लेख्न थालें।

तपाईँ त अब प्यूर लेखक भइसक्नु भएको छ। समाजले सोध्ने, माग्ने, आशा गर्ने लेखक। तपाईँ आफूलाई चाहिँ आफूले लेखिरहेको सिर्जना मार्फत् समाजको निम्ति कतिको उपयोगी चीज दिइरहेछु जस्तो लाग्छ?

पहिलो कुरो, लेखकलाई प्योर र इम्प्योरमा क्याटोगराइज नगरेको ठिक होला कि?

दोस्रो कुरो, समाज बिनाको साहित्य कस्तो होला ? यो त म सोच्नै सक्दिनँ।

यो समय त भारतेली नेपाली साहित्य पहिले भन्दा अझ धेर समाजमुखी बनिरेहेको अनुभव म गर्छु। अब रक्सी खाएर साहित्य लेखिन्छ वा चुरोट तान्दै कोठामा बसेर साहित्य गरिन्छ भन्ने भ्रम कसैले नराखे हुन्छ। साहित्य अब रिसर्चमा निर्भर पर्ने थोक पनि भइसक्यो। त्यसैले साहित्यमा अब समाज नै धेर आउने हो।

यस्तो बेला  मेरो कोशिश भनेको समाजको तल्लो वर्गको कथा पनि भन्नसक्नुपर्छ भन्ने हो। हाम्रो समाज भनेको महाश्वेता देवीले हजार चौरासीकी मा-मा देखाएको कथा जस्तै छ। माथिबाट हेर्दा सबै ठीकठाक देखिन्छ। तर, भित्र भित्रै धेरै कुरा नमिलेको छ। त्यही नमिलेका थोकहरूलाई देखाउने कोशिश पनि म आफ्नो लेखनमा गरिरहेको हुन्छु। 

भारतमा नेपालीहरूलाई पहिचानको सङ्कट छ कि छैन? छ भने त्यसलाई साहित्यले सम्बोधन गर्नुपर्छ कि पर्दैन?

भारतेली नेपाली साहित्यको मूल स्वर नै पहिचानको मुद्दा हो। जसको निम्ति हरेक पुस्ताका लेखकले आफ्नै ढङ्गले काम गरिरहेकै छन्।  तर, पहिचान भनेको डाइनोमिक कुरा हो। हामीले पहिचान भन्नसाथ राष्ट्रिय पहिचानको कुरालाई  धेरै फोकस गरिरहेका छौं। जबकि, यसका धरातलहरूलाई साइडलाइन गरिरहेका छौं।

कहिलेकहीं  राजनीतिले सिकाएको नारा नै पहिचानको नाममा हामीले साहित्यमा लेखिरहेका हुँदा रहेछौं। राजनीतिले गर्ने काम नै हामीले पनि दोहोऱ्याउने हो भने साहित्यको अलग महत्व के रह्यो र ? साहित्यले त नारा कम अनि थोरै विचार  दिनसक्नु पऱ्यो नि, होइन ?

कहिलेकहीं त्यही अभाव नेपाली साहित्यमा खटकिएको हो कि, भन्ने  अनुभव म गर्छु। जस्तो कि,  राष्ट्रिय स्तरको गोर्खे पहिचानको धरातललाई निर्माण गर्ने साना साना पहिचानका अन्य मुद्दाहरू छन्। यी मुद्दाहरू पनि त नेपाली साहित्यको आवाज बन्नु पऱ्यो नि!

जस्तो कि, म नेपाली भाषी गोर्खासँगै एकजना जनजाति पनि हुँ। मेरा केही गोर्खा साथी दलित पनि छन्। जनजाति र दलित पनि त हाम्रो पहिचान हो। फेरि आर्थिक वर्गीकरणले पनि मान्छेको पहिचान तय गर्छ। मसँग कविता गर्न रूचाउने  गोर्खे श्रमिक र मजदूर साथीहरू पनि त छन्। यीबाहेक  महिलाहरूको पहिचानको डिस्कोर्स पनि त अलगै  छ।  यी सब जोड़िएर नै त राष्ट्रिय स्तरमा गोर्खा पहिचान बन्ने हो नि, होइन र ? त्यसो भए, उनीहरूको मुद्दालाई पनि त नेपाली साहित्यले सम्बोधन गर्नसक्नु पऱ्यो नि। किनकि, यी  मुद्दा बलियो बन्नु भनेको नै त  राष्ट्रिय पहिचानको सवाल पनि बलियो बन्नु हो। यसैले नेपाली  साहित्यमा यी मुद्दाहरूलाई टड़कारोसँगले अझै धेर ल्याउनुपर्ला कि ? कहिलेकहीं मलाई यस्तो नि लाग्छ।

तपाईँको पछिल्लो समयमा प्रकाशित भएका पुस्तक फातसुङले पाठकको माया बटुल्न गजबले सफल भए। तर, त्यही पुस्तकलाई केही आलोचकले चर्कोरूपमा आलोचना पनि गरे। तपाईलाई केही आलोचकहरूले दार्जीलिङमा भएका नेपालीहरूको दुःख ठीकसँगले लेख्न सकेनन् भन्ने आरोप पनि लगाए। तपाईँको निजी मत चैं के छ? एउटै पुस्तकले यति धेरै पाठकहरूको माया पाउनु र आलोचकहरूको गाली खानुमा ?

फातसुङ आउन अघि मैले सोचेकै थिइनँ, यो पुस्तकले यति धेरै पाठकको प्रेम पाउनेछन्। यसको निम्ति म हरेक पाठकलाई धन्यवाद भन्न चाहन्छु। यसलाई समिक चक्रवर्तीले बङ्गलामा पनि अनुवाद गरेका छन्। अब अङ्ग्रेजी र हिन्दी अनुवाद पनि बजारमा आइपुग्ला।

हो। उसो त, फातसुङ मार्फत पाएको हरेक पाठकको प्रेम मेरो निम्ति विशेष छ। ती मध्ये मलाई यहाँ चाहिँ कलकत्ताका एक बङ्गला पाठकको सन्दर्भ झिक्न मन लाग्यो। त्यो पिपल्स लिटरेरी फेस्टिभलको कार्यक्रम थियो। जुन कार्यक्रम सकेर हलबाट निस्किँदै गर्दा  एक युवक मेरा नजिक आए। र सुस्तरी भने, ‘गोर्खाल्याण्ड आन्दोलन हुँदा म जन्मिएको थिइनँ। मेरा परवार एक समयका कट्टर सीपीएम हुन्। त्यही भएर होला, गोर्खा भन्नसाथ मलाई घृणा लाग्थ्यो। तर, जब फातसुङ पढेँ। त्यहाँका आन्दोलनकारीको दुःखको कथा पढेँ। तब मेरो नजर बदलियो। घृणा प्रेममा फेरियो। म एकचोटि दार्जीलिङ पुग्न चाहन्छु।’

अब भन्नुस्, कथा कसको निम्ति लेख्ने? जसले हाम्रो पीड़ा राम्ररी बुझेकै छैन, उसलाई बुझाउनको निम्ति? कि जसले नबुझेको एक्टिङ गरिरहन चाहन्छ, उसको निम्ति ?

फातसुङ नेपाली समाजको कथा होइन भने कसको कथा हो त ? कथामा मुख्य तीनवटा पात्र छन्। ती मध्ये एक लेप्चा जनजाति छन्। अर्का मुस्लिम अल्पसंख्यक छन्। र अर्का मुख्य पात्रको रूपमा राई पात्र छन्। चीफ पात्रको रूपमा त सुब्बा आइहाल्ने भो। यस बाहेक सहायक पात्रका रूपमा दलित प्रतिनिधि र अन्य जातका प्रतिनिधिहरू छन्। मुख्य पात्रमा रहेका लेप्चा, मुस्लिम पात्रसँग आलोचकको गुनासो हो भने के उनीहरू नेपाली समाज भित्रका होइनन् त ? मैले त उपन्यासमा इमान्दारितासँगले उनीहरू मार्फत नै दार्जीलिङको पीड़ा भन्ने कोशिश गरेको हुँ। यदि यी पात्रहरूको दुःख पीड़ाले नेपाली समाजलाई प्रतिनिधित्व गर्न सक्दैनन् भने नेपाली समाजलाई कुन समुदायभित्रको पात्रले प्रतिनिधि गर्न सक्ने हो त ? आलोचक महोदयले यसको औपचारिक घोषणा गरिदिनु पऱ्यो नि। होइन र ?

2018 मा तपाईँको पहिलो आख्यान 1986 ले युवा साहित्य अकादमी पुरस्कार प्राप्त गऱ्यो। पुरस्कार प्राप्त गरेपछि एउटा लेखकको साहित्यिक जिम्मेवारी के के हुँदा रहेछन् ?

पुरस्कारले नै मात्रै लेखकलाई साहित्यिक जिम्मेवारी बढाउने चाहिँ होइन। सोच्नुहोस्, साहित्य एकाडमी नपाउने राजनारायण प्रधानले अन्तिम श्वास हुञ्जेल लेखिरहे। उनको हरेक लेखनलाई आज पनि हामी प्रेमसँगले पढ्छौं। त्यसको सट्टामा हाम्रा केही राष्ट्रिय आवार्डीहरू पुरस्कार हात लागेपछि चुपचाप हराएका पनि छन्। फेरि राम्रो किताब बनोस् भनेर रातारात खट्ने सम्पादकहरूको जिम्मेवारीको  कथा पनि त अलग छ। जसलाई धेरैले अनदेखा गरिदिन्छन्। उदाहरणको निम्ति हाम्रो आँखै अघिका  सुधिर छेत्री, सञ्जय विष्टहरूलाई लिनुहोस्। उनीहरूले यहाँबॉट निस्किने धेरै जसो किताको सम्पादन गरिरहेका हुन्छन्। उनीहरूले पाउने भनेको  धन्यवाद बाहेक अरू केही पनि त होइन । तैपनि उनीहरूले आफ्नो जिम्मेवारी छाड़ेका छन् र ?

खासमा साहित्यप्रतिको जिम्मेवारी भनेको तपाईंको भाषा र साहित्यप्रतिको प्रेमले तय गर्ने हो। तैपनि राष्ट्रिय पुरस्कार पाएपछि एकचोटि त मैले मनमनै सङ्कल्प चाहिँ गरेकै हो, ‘अब नेपाली पाठकलाई किताबको संख्या होइन, किताब नै दिने कोशिश चाहिँ गर्नेछु।’

शायद पुरस्कारले दिलाएको सबै भन्दा ठूलो जिम्मेवारी यही नै पो थियो कि ?

साहित्यमा गुटबन्दीलाई कुन हिसाबले लिनुहुन्छ तपाईं ? फरक फरक साहित्यिक अभियानको रूपमा ? वैचारिक मतभेदकोरूपमा ?

यसलाई फरक फरक साहित्यिक अभियानकै रूपमा लिन सकिएला। किनकि, साहित्यको विकास यसरी नै हुँदै जाने  हो। तर, कहिलेकहीं समस्या के हुने रहेछ भने, आफ्नो गुटमा परे सबै उत्कृष्ट र अर्को समूहको जम्मै बेकार भन्ने सोच बोक्नेहरू समूहबाट निस्किदिँदा रहेछन्। यसो हुँदा चाहिँ गुटबाजीले साहित्यलाई गलत बाटोतिर धकेल्ने पो हो कि ? भन्ने लाग्छ। नत्र त सामूहिक प्रतिस्पर्दाले नै नेपाली साहित्यलाई नयाँ  उँचाईमा पुऱ्याउने हो।

हामीले बुझे अनुसार तपाईँ एकजना यस्तो लेखक हुनुहुन्छ, जो कुनै वाद सिद्धान्त वा कुनै साहित्यिक आन्दोलनहरूसँग संलग्न नभइकन नै एउटा उचाईँमा पुग्न सफल हुनु भो। तपाईँले लेखिरहेको साहित्यको तपाईँ एक्लै नेतृत्व गरिरहँदा यी माथि भनिएका कुराहरूको कतिको आवश्यकता पर्ने रहेछ ?

एउटा पहाड़ उक्लिएपछि थाह हुने हो, उक्लिनलाई अझ कतिधेरै  पहाड़हरू छन्। त्यसैले अहिले नै उँचाईँको कुरा नगरिदिएको ठीक होला ?

अँ। मैले धेरै अघि एउटा अन्तरवार्तामा भनेको थिएँ, आम पाठकलाई वाद र सिद्धान्तसँग खासै सरोकार हुँदैन।

तैपनि लेखनमा मेच्युरिटी बढ्दै जाँदा आफ्नो अलग धारणा पनि बन्दै जाने रहेछ।  त्यसलाई मुद्दाको रूपमा अघि बड़ाउनको निम्ति साहित्यिक आन्दोलन नै पो चाहिने हो कि, भन्ने चाहिँ कहिलेकहीं लाग्दो रहेछ। त्यसैले पनि म कुरा मिल्नेहरूसँग अथवा मुद्दाको सरोकारका आवाजलाई सँगै बोल्न सकिन्छ कि भन्नेहरूसँग जहिल्यै  नजिक हुने कोशिश गर्छु।

फेरि वाद र सिद्धान्तको भारी बोकेर हिँड़ियो भने सिर्जनाको सीमा साँघुरिएर पो जाने हो कि ? भन्ने डर पनि लाग्छ।  त्यही  भएर देखिने गरी कुनै साहित्यिक आन्दोलनसँग जोड़िएर नै हिँड़्ने रहर चै मैले गर्न सकेको छुइनँ।

नयाँ किताब लेख्नु हुँदैछ रे ? सुन्नमा आएको छ। तपाईँको अब आउने नयाँ किताब विशेष कुन विषयमा केन्द्रित रहेर लेखिएको पाउने छौं ?

खुशीको कुरा भारतेली नेपाली साहित्य लेख्नेहरूको निम्ति कन्टेन्टको कमी छैन। हामीसँग लेख्नको निम्ति  नेपालमा भन्दा धेरै विषयहरू छन् । तर, समस्या के छ भने, हामीले नेपालका लेखकहरूले झैं लेखनको निम्ति सङ्घर्ष गर्न सकिरहेका छैनौं। त्यसैले नै उनीहरूले झैं राम्रा किताब हामीले दिन सकिरहेका छैनौं !

जे होस्, यसचोटि थोरै नयाँ कन्टेन्टसँग नै आउने कोशिष मेरो रहनेछ। भूगोल पनि थोरै अलग ल्याउने कोशिष गर्नेछु। जसको रिसर्चको काम केही मात्रमा गरिसकेको छु। लकडाउनमा ल्यापटप नभएकोले केही दिन लेख्न सकिरहेको थिइनँ। अहिले मूर्तिकार अमीर सुन्दासले ल्यापटप पठाइदिएका छन्। थोरै लेख्ने कोशिष गरिरहेको छु।

यतिबेला त म नयाँ सिर्जनाको जरामा नै छु। त्यसैले अहिले नै फल वा फूलको कुरा नगरि हालुम होला ? एक दुईवर्षमा शायदै लेखेर सकूँला । अनि बताउँला नि । हुन्न र ?

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया