मूल स्वर यही हो भनेर किटान गर्नु भनेको अरु स्वरलाई गौण ठान्नु हो: ज्ञानबहादुर छेत्री

प्रश्नउत्तर

ज्ञानबहादुर छेत्री असम तेजपुरका लेखक, अध्येता हुन्। भारतीय नेपाली साहित्यको वरिपरि रहेर नयाँ पुस्ताका उम्दा कवि, गजलगो निर्दोषिका तामाङले छेत्रीसित कुराकानी गरेका छन्। दार्जिलिङका लेखकहरूका साहित्य र यसका इतरक्षेत्रबारेका विचार त पर्याप्त पढ्न पाइन्छन्, तर उत्तरपूर्वीय क्षेत्रका सर्जकहरूलाई विरलै सुन्न पाइन्छन्। यसैले यसपल्ट छेत्रीलाई प्रस्तुत गरेका छौं-सम्पादक


भारतेली नेपाली कविताको मूलस्वर के हो ? समकालीन कविताले कुन कुन सामाजिक आयामहरुलाई सम्बोधन गरिरहेको छ?

अब कुनै एउटा स्वरको जमाना रहेन। एउटाले प्रभुत्व जमाउने महाख्यानको युग समाप्त भइसकेको छ। अहिले बहुलवादी स्वरहरु बुलन्द हुँदै छन्। विभिन्न किसिमका प्रवृति र स्वरहरु आएका छन्। तिनलाई मिसाएर एकाकार पार्नु मिल्दैन। मूल स्वर यही हो भनेर किटान गर्नु भनेको अरु स्वरलाई गौण ठान्नु हो। विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देश भारतवर्षमा आफ्नो जातीय सांस्कृतिक परिचयका साथ अरु सरह गरिमामय उपस्थिति देखाउन चाहन्छन कविहरु। कसैले छेउ लगाउन, पाखा लगाउन खोज्यो भने चुप लागेर बस्दैनन्। मनप्रसाद सुब्बा र रेमिका थापाकृत कविता सङ्ग्रह ‘किनाराका आवाजहरु’  बुलन्द भएका छन्। जातीय अस्मिताका कविता धेरैले लेखे। यसलाई मूल स्वर नभनेर साझा स्वर भन्नु ठिक होला। पहिले उल्लेख गरे अनुसार समकालीन नेपाली कविताले धेरैवटा आयामलाई समेटेर अघि बढेको छ। समकालीन भारतीय नेपाली कविताले राष्ट्रवादी, नारीवादी, एथ्निक, दलित, आदिवासी पर्यावरण र सामाजिक विसङ्गतिलाई समेटेको छ, सर्वोपरि मानवतावादी दृष्टि रहेको छ।

विगत एक दशकमा कविताले प्राप्त गरेका साहित्यक, सामाजिक र राजनैतिक उपलब्धिहरु के के हुन ?

विगत एक दशकमा साहित्यका अरु विधाहरुको तुलनामा कविता विधालाई विशेष गरी युवा कविहरुले धेरै माथि पुऱ्याएका छन, प्रगति सन्तोषजनक रहेको छ तर जबसम्म साहित्यका सबै विधाहरुको समानुपात उत्तरण हुँदैन तबसम्म पूर्ण सन्तुष्टि मिल्दैन। भारतीय नेपाली उपन्यास साहित्यमा डरलाग्दो ग्याप देखिँदैछ, हाम्रो युवा प्रतिभाहरुको ध्यानाकर्षण गराउन चाहन्छु। कवि पनि समाज वा राष्ट्रको अभिन्न अङ्ग हो। ऊ आफ्नो सामाजिक  दायित्वबाट भाग्न पाउँदैन। साहित्यक, सामाजिक र राजनैतिक विषयमा पनि नेपाली कविहरुले आवाज उठाएका छन्। दार्जीलिङको गोर्खाल्य़ान्ड आन्दोलन होस् या असमको रैथाने मुद्दा, नेपाली कविहरुले कलम उठाएका छन्। यसका साथै विश्वका कुरामा, सोमालियाका भोकमरी होस् अथवा अस्ट्रेलियाको बुस फायर नेपाली कविताले सबैलाई समेटेको छ। उसै गरी सिरियाको समस्यालाई पनि नेपाली कविले अभिव्यक्ति दिएका छन्।

खबरम्यागजिनमा भूपिन खड्का, सञ्जीव छेत्री, विकास रोका मगर, सुनिता खनाल जस्ता कविहरु सिरियाको समस्यालाई लिएर मानवताको पक्षमा उभिएका छन्। भूपिन खड्काको कवितामा, शक्तिकेन्द्रमा सोझै प्रहार गरेका छन। उदाहरण हेरौं —

             पुटिन या ट्रम्प

             बन्दुकको वेश्यालयलाई चर्च बनाएर

             तिमी बारुदको अगरबत्ति बालिरहेछौ

             एकथरी बनाइरहेछौ सरकारलाई ग्राहक

             र बन्दुक बेचिरहेछौ।

             अर्कोथरी बनाइरहेछौ विद्रोहीलाई ग्राहक

             र मिसाइल बेचिरहेछौ।

हालै कोरोना महामारीलाई लिएर उच्चस्तरीय कविता सामाजिक सञ्जालमा आइरहेका छन्। यसरी आजका नेपाली कविले आफ्नो सिर्जनामा विश्वलाई समेटेका छन्।

विगतका वर्षहरुमा नेपाली कविहरुले कुनै कसर नराखी कविको धर्म पालन गरेका छन्। अब के के साहित्यक, सामाजिक र राजनैतिक उपलब्धिहरु हासिल गरियो त भन्ने कुराका लागि अलिकति पर्खिनु पर्छ किनभने तात्तातै गरिएको मूल्याङ्कन लगत्तै उल्टिन पनि सक्छ।

समकालीन युवा कविहरुमा शिल्पचेत र बिम्ब प्रयोगको समस्या अनि कमजोरीहरु के के हुन ?

‘समकालीन’ शब्दले अन्योलमा पार्दछ। सन 2000 यता निकैजना प्रतिभासम्पन्न युवा कविहरु देखा परेका छन्। उनीहरुले प्रखर शिल्पचेतको परिचय दिएका छन्। सबै कविका सिङ्गो काव्यकृति नभएको हुन सक्छ अथवा यस लेखकका नजरमा नपरेको हुन सक्छ। कतिपय कविका पुस्तक र  कतिका  पत्रपत्रिका, सामाजिक सञ्जाल आदिमा फुटकर कविता पाएको छु। सुधीर छेत्री,  टीका भाइ, कमल रेग्मी, सुवास सोताङ, पवित्रा लामा, राजा पुनियानी, मनोज बोगटी, कर्ण बिरह, ज्ञानेन्द्र यक्सो यता असमका धर्मेन्द्र उपाध्याय र अर्जुन निरौला, कृष्णनील कार्की, लक्ष्मण अधिकारी आदि हाम्रा युवा प्रतिभा हुन्।

पहिलेका कविले प्रतीक र बिम्ब पुराण इतिहास र स्थानीय परिवेशबाट लिए। आजका कविले पनि मिथकबाट विम्ब नटिपेका होइनन् तर उनीहरुको क्षेत्र पहिलेको भन्दा अझ फराकिलो भएको छ। सारा विश्वका मिथकबाट उनीहरुले बिम्ब टिपेका छन्। आजको परिवेश पनि बदलिएको छ। भर्चुअल र साइबर जगतबाट पनि आजका कविले धेरै कुरा लिएका छन्। विम्ब र प्रतीकको अत्यधिक प्रयोगले कृतिलाई जटिल पार्नुका साथै  काव्यिक सौन्दर्यलाई पनि नष्ट गर्दछ। त्यो नून चर्को भएको व्यञ्जन जस्तै हुन्छ। सुधीर छेत्रीको फेरि अर्को अनुष्टुप-मा प्रतीक र बिम्बको नवीन र सन्तुलित प्रयोग पाइन्छ। कमीको कुरा गर्नु पर्दा इको राइटिङमा हाम्रा कविहरु अरु कस्सिएर लाग्नु पर्छ। किनभने सन्जय वान्तवाको त्यो गाउँमा त्यो बस्तीमा र केही युवा कविका फुटकर कवितामा पर्यावरण प्रति सचेतता देखिएको छ। पर्यावरणलाई लिएर अझ धेरै कृति चाहिएको छ, अहिले यो सिर्जनाको मूलधार बनेको छ।

भर्खरै ‘समिट टाइम्स’ अनि ‘गफसफ टिभी’मा नेपाली कविता वाचन सुनेको थिएँ। युवा पुस्ताका भीम रावत, प्रवीण खालिङ, कमल लाछिकाठी, राकेश क्रान्तिकारीका कविताले अत्याधुनिक विश्वधारलाई पक्रेको छ। प्रवीनका कविताको पङ्क्ति हेरौं त—-

          एमजी मार्गमा

         ओस्सिएका सपनाहरुको बिस्कुन सुकाएर

         बसिरहने

         बेरोजगार वर्तमान

         फलामे छौकीहरुमा जमेका पानीका थोपाहरु

         बादलको आँशु हो कि

         ग्योल्मोको आँशु

         अन्योलमा छ कविता।

   ( डेञ्जोङ अवशेष–  प्रवीण खालिङ)

उसै गरी भीम रावतको कोरोना फर्किएपछि भन्ने कवितामा ब्रेकिङ न्युज वाचनलाई विम्बको रुपमा यसरी प्रस्तुत गरेका छन्—

       यो आकाशवाणी गान्तोक हो

       समाचार अनिता निरौलाबाट सुन्नुहोस

       अस्वस्थताको कारण यमलोकका यमदुतले

       नोकरीबाट भोलन्टरी रिटायरमेन्ट लिएका छन।

       तत्कालै चित्रगुप्तले मानसरोवर पारी बस्ने

       कोरोनालाई यमदुतमा नियुक्ति दिएका छन।

      समाचार पुरा भयो।

°

भारतीय अन्य भाषाका कविताहरुसँग तुलनात्मक अध्ययन गर्दा भारतीय नेपाली कविताको अवस्था कस्तो पाउनु हुन्छ ?

हाम्रो देशमा संविधानमा मान्यताप्राप्त भाषा नै बाइसवटा छन्। त्यसैले भारतका सबै भाषाका कवितासँग दाँज्नु सजिलो छैन। तैपनि भारत सरकारको हिन्दी निदेशालयको पत्रिका वार्षिकी,  साहित्य अकादेमी तथा वेबसाइटहरुमा उपलब्ध लेखहरु अध्ययन गर्दा नेपाली कविताको स्थान अन्य भारतीय कविताको हाराहारीमा देखिन्छ। सिलगढीका महाकवि मोहन दुखुनले नौवटा महाकाव्य प्रकाशित गराएका छन् जो आफैमा एउटा कीर्तिमान बनेको छ। राजेन्द्र भण्डारी, मनप्रसाद सुब्बा, सुधा राई, इन्दुप्रभा देवी लगायत पहिले नाम उल्लेख गरिएका युवा कविहरु राष्ट्रिय स्तरमा मात्र होइन आन्तराष्ट्रिय स्तरमा समेत उजेलिन सक्ने प्रतिभा हुन।

थप कुरा

राष्ट्रिय अथवा आन्तराष्ट्रिय स्तरमा पुग्न र चर्चामा आउनका लागि अनुवादको ठूलो महत्व हुन्छ। साहित्य कृति जति धेरै भाषामा अनुवाद हुन सक्यो उति राम्रो। हाम्रा राम्रा भन्दा राम्रा कविका उत्कृष्ट कविता पनि अनुवाद नहुनाले सही ठाउँमा पुग्दैनन। अनुवादक जस्तै समालोचकको कमी पनि हाम्रो दुर्वलताको अर्को कारण हो। कुनै पनि आञ्चलिक भाषामा रचिएको कृतिको अङ्ग्रेजी वा हिन्दी भाषामा उचित मूल्याङ्कन हुनु आवश्यक हुन्छ। विडम्बनाको कुरा के छ भने हामीमा हिन्दी अथवा अङ्ग्रेजीमा लेख्न सक्षम अनुवादक अथवा समालोचकलाई हौसला दिनु त परै जाओस्, प्राय: तिनलाई अवाञ्छित तत्व ठानेर पर सारिन्छ। (यहाँ अनुवादक र समालोचक नेपाली साहित्यको सन्दर्भमा बुझ्नु पर्छ)।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया