युवाशक्ति, मौनता र क्रान्तिबिच छटपट्टिएको समय

Girl in a jacket

बी० पी० बजगाईं


∇ अबको क्रान्ति केवल केन्द्र अनि राज्य सत्ताको हैकमवादी व्यवस्थाको विरुद्धमा मात्र होइन, आफ्नै समाजमा नयाँ सामाजिक चेत उभ्याउनको निम्ति पनि लडिएको होस्, जुन चेतले उभ्याएको समाजमा हाम्रा भोलिका नेताहरू आत्मा बेचेर उभिन नसकुन, अन्तरात्मा तुहिएको खोक्रो नेता भोलिको समाजले पैदा नगरोस्| कुर्सिको निम्ति सन्तानको भविष्य बेच्ने राजनैतिक संस्कृतिको विरुद्धमा पनि उभिएको होस् अबको क्रान्ति Δ


चीनको महान सांस्कृतिक क्रान्तिको एउटा नारा बङ्गालका हाम्रा गोर्खा समुदायलाई सुनाउन मन लाग्यो, “हामी गमलामा जतनले स्याहारेको फूलको बोट बन्न चाहँदैनौं, हामी अग्ला अग्ला पहाडहरूका गगनचुम्बी धुपी बन्न चाहन्छौं|”

मलाई माछा स्वादिलो लाग्छ, कहिले काहीँ म सिङ्गो ठूलो माछा किनेर घर ल्याउँछु अनि आफै काट्न बस्छु| मैले माछा काट्दा बङ्गालको मधेश खण्डमा माछा काट्दा प्रयोग गरिने हतियार ‘चुलेसी’ प्रयोग गर्दिनँ| खुकुरी उत्तानो पारेर बेँड़ भुँडीमा अड्काउँछु अनि माछालाई रेटेर टुक्रा पार्छु| माछा काट्ने मेरो यो तरिकाले मलाई गोर्खा भनेर चिनाउँछ|

मलाई जात कुखुरा (पोल्ट्री होइन) मनपर्छ| म मधेशमा बस्छु| कुखुरा किन्दा मधेशमा झैं छाला काढेर मासु मात्रै किन्दिन| सिङ्गो कुखुरा किन्छु| घरमा पोलेर तिते निकाल्छु| केही मासु तर्लङ्गै झोल बनाएर खान्छु अनि केही वाचिपा बनाएर खान्छु| छाला बेगरको मासु खाँदिन| मासु खाने मेरो यो तरिकाले मलाई गोर्खा भनेर चिनाउँछ|

चुवाको फूलको अचार बनाउँछु घरमा, कालो माने पकाएर खाँदिन| मलाई मेरै जातीय पकवान मनपर्छ| म मधेशमा बस्छु|

आजकल कालो माने पहाडमा भटाभट उम्रन थालेछन्, पहाडले पनि छाला काढेको मासु मन पराउन थालेछ, चुलेसी भान्सा कोठामा पसेकोले पहाडमा खुकुरीको धारमा खिया पर्न थालेछ|

जान्दछौं, हिरालाई हिराले काट्छ| यसैले हाम्रो भाषा, हाम्रो संस्कृति, हाम्रो अस्मिता जोगाउन आज म हाम्रो कविको होइन, बङ्गाल विश्वलाई चिनाउने कवि रविन्द्रनाथको ‘बलाका’-बाट “उरे नविन, उरे आमार काँचा” कविताको यो अंश नेपालीमा अनुवाद गरेर गोर्खा युवा समाजलाई पस्किन चाहन्छु:

 

“পথ কেটে যাই অজানাদের দেশে।

আপদ আছে, জানি অঘাত আছে,

তাই জেনে তো বক্ষে পরান নাচে,

ঘুচিয়ে দে ভাই পুঁথি-পোড়োর কাছে

পথে চলার বিধিবিধান যাচা।

আয় প্রমুক্ত, আয় রে আমার কাঁচা।“

 

(अनुवाद)

“हिँड बाटो खन्दै अन्जान देशतिर|

आपद छ: जान्दछौं हामी आघात छ,

यो थाहा छ र नै छातीमा प्राण नाच्दछ,

छोडिदेउ भाई, बाटो हिँड्ने

नियम र विधि विधान

ती रट्टू पण्डितहरुलाई,

आऊ प्रमुक्त, आऊ मेरो काँचो!”

केवल बोल्न सजिलोको निम्ति मात्र हामीले मातृभाषाको निम्ति आवाज दिएको होइन| मातृभाषा भनेको हाम्रो प्रत्येक घरहरूमा भएका स-साना नानीहरूको चरित्र विकास गर्ने भाषा हो| परिवारमा, समाजमा प्रेम स्थापित गर्ने भाषा हो| परस्परमा बाँधिएर एकताको सूत्रमा बाँधिने मध्यम हो| हामी हुनुको हाम्रो माध्यम भत्काउँदैछ राज्य सरकारले| हाम्रा स्वनामधन्य ज्ञानीहरु अझै मौन छन्| हामी हाँस्दा हाम्रा आँखाहरू समेत नेपालीमा हाँस्छन्, हामी रिसाउँदा हाम्रा आँखाहरू गोर्खा पाराले रिसाउँछन्| यसमा पनि पाबन्दी?

सायद समयले हाम्रा शिक्षित युवा समाजलाई काँधमा केही जिम्मेदारी दिँदैछ| युवा भनेको जीवनको समग्रतालाई स्पर्श गर्न सक्षम उमेर हो| जीवन अनि समाजको मूलगामी परिवर्तन नै अब युवाको पहिलो दायित्व बनेर उभिएको छ| आज हाम्रो सामाजिक, राजनैतिक, सांस्कृतिक, आर्थिक, दार्शनिक सबै पक्षहरू नै जीर्ण बनेर ढल्नलाई तयार छ| युवाको एउटा अनियन्त्रित जमात हा-हा-हु-हु अनि नशामा डुबेको छ| अधिकांश राजनैतिक-सामाजिक नेताहरू पेट पाल्न र भुँडी भर्नमा मात्रै व्यस्त देखिन्छन|

अधिकांश शिक्षक, प्राध्यापकहरू मौन छन्| यसैले नै भन्दैछु, समयले युवा समाजलाई काँधमा केही जिम्मेदारी दिँदैछ| समाज, भाषा अनि संस्कृतिको पक्षमा केही गर्छु भन्ने युवाहरूको ठूलो जमात नबन्ला| विश्वका कुनै पनि राजनैतिक-सामाजिक भीडमा उपस्थित सबैले आफु सहभागी हुनुको मूल औचित्य बुझेका हुँदैनन्, धेरै कम हुन्छन् औचित्य बुझ्ने|

त्यही कम संख्यामा भएका औचित्य बुझ्नेहरूले कोर्दै हुन्छन् नयाँ इतिहास| आज हामीलाई पनि धेरै ठूलो भीडको होइन तर हाम्रो सामाजिक-राजनैतिक आवश्यकतालाई बुझ्ने सानो झुण्डको खाँचो छ, इमान्दार झुण्डको खाँचो छ| बाटो छेकेको रूखको ठूलो मुडालाई हटाउन आयातित जेसीभीको होइन, त्यस मुडालाई खरानी बनाउने माचिसको स-सानो दुई-चार काँटीको खाँचो छ| फेरी पनि भन्दैछु, समयले युवा समाजलाई काँधमा केही जिम्मेदारी दिँदैछ|

अबको क्रान्ति केवल केन्द्र अनि राज्य सत्ताको हैकमवादी व्यवस्थाको विरुद्धमा मात्र होइन, आफ्नै समाजमा नयाँ सामाजिक चेत उभ्याउनको निम्ति पनि लडिएको होस्, जुन चेतले उभ्याएको समाजमा हाम्रा भोलिका नेताहरू आत्मा बेचेर उभिन नसकुन, अन्तरात्मा तुहिएको खोक्रो नेता भोलिको समाजले पैदा नगरोस्| कुर्सिको निम्ति सन्तानको भविष्य बेच्ने राजनैतिक संस्कृतिको विरुद्धमा पनि उभिएको होस् अबको क्रान्ति|

 

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया