जिटिए- २ केवल एक भ्रम मात्र हो

असहमति

जिटिए-२ मा जतिपनि कार्यहरू भइरहेका छन्, यस्ता कार्यहरू त अन्य जिल्लामा पनि भइरहेको छ। राज्य सरकारले कर सङ्ग्रह गरेपछि सर्वसाधारण जनताको निम्ति बाटो – घाटो, पुल – झोडा, अस्पताल – पाठशाला बनाउने त कर्तव्य बन्दछ। जिटिए-२ मा कुनै त्यस्तो विशेष परियोजनाहरू भएको छैन जसको सबैले गुणगान गर्न सकोस्


आर. पी. वाईबा


वर्तमान दार्जीलिङ पहाडमा सञ्चालन भइरहेको व्यवस्था जिटिए- २ केवल एक भ्रम मात्र हो – यो चाँडो भन्दा चाँडो रद्द हुनुपर्छ। हाम्रो देशले अङ्ग्रेजहरूबाट स्वतन्त्रता पाए पनि दार्जीलिङ पहाड, तराई, डुवर्स बासीले अहिलेसम्म स्वतन्त्रता पाएको छैन। मेरोमा १९८६ को आन्दोलनको अनुभव रहेको छ साथै मैले २००७ देखि २०१७ को आन्दोलनमा पनि सक्रिय रुपमा सहभागिता जनाएको छु। १९८६ मा पनि जेल गएँ – २०१९ मा पनि जेल गएँ। दागोपाप कालमा कार्यकारी पार्षदको अनुभव पनि बटुलें तर हामी केवल एक कर्मचारी जस्तो मात्र भयौं र अहिले पनि अवस्था त्यस्तै नै छ।

चियाबगान बासी – सिन्कोना बासी – डि.आई.फण्ड बासी – फरेस्ट भिलेज बासी हामी सबैजना बसोबास गरिरहेको जमिनको मालिकाना हक हामीले आजसम्म पाउन सकेका छैनौं । यसको निम्ति जिटिए-२ ले के गर्दैछ? हामीलाई थाह छैन। यो विषय जिटिए-२ को क्षमता बाहिरको कुरा हो। जिटिए-२ एक क्षमताविहिन व्यवस्था हो भन्ने थाह पाएर नै हाम्रा अध्यक्ष बिमल गुरुङज्युले यसबाट राजिनामा दिएका हुन्। यो व्यवस्था झट्ट भन्दा झट्ट रद्द गरिनुपर्छ र केन्द्र सरकारको पहलमा त्रिपक्षीय वार्ता हुनुपर्छ नत्र ‘बोडोल्याण्ड टेरीटोरियल काउन्सिल’- को सुत्रमा (फर्मुलामा) राज्यपालले हस्तक्षेप गर्नुपर्छ।

जिटिए-२ मा जतिपनि कार्यहरू भइरहेका छन्, यस्ता कार्यहरू त अन्य जिल्लामा पनि भइरहेको छ। राज्य सरकारले कर सङ्ग्रह गरेपछि सर्वसाधारण जनताको निम्ति बाटो – घाटो, पुल – झोडा, अस्पताल – पाठशाला बनाउने त कर्तव्य बन्दछ। जिटिए-२ मा कुनै त्यस्तो विशेष परियोजनाहरू भएको छैन जसको सबैले गुणगान गर्न सकोस् – पहिलेकै कार्यहरूलाई लिपि पोती गरेर त्यसलाई बढाई चढाई गरी प्रस्तुत मात्रै गरिएको छ।

000

जिटिए-२ को नेतृत्वहरुको नाकामीहरू निम्नलिखित छन् –

१. पञ्चायत चुनाव गर्न सक्दैन

२. राशन कार्ड दिनु सक्दैन

३. गोर्खा प्रमाण र आवसीय प्रमाणपत्र (residential certificate) दिनु सक्दैन

४. जमिनको पर्जा पट्टा दिनु सक्दैन

५. अस्थायी कर्मचारी वर्गलाई स्थायिकरण गर्न सक्दैन

६. चिया बगान – सिन्कोना बगानको श्रमिकहरुको हितमा कुनै ठोस निर्णय लिनु सक्दैन

७. वर्तमान समयको महामारी कोभिड १९/कोरोना भाइरसको निम्ति केही गर्न सक्दैन

८. लकडाउनको कारण देशको विभिन्न राज्यमा फसेका मानिसहरूलाई फर्काउन सक्दैन

९. हाम्रो दार्जीलिङ पहाड तराई डुवर्सको युवाहरूलाई रोजगार दिन सक्दैन

१०. नेपाली भाषालाई लत्याएर बङ्गला भाषा प्रयोग गर्नुबाट रोक्न सक्दैन

११. बन्द चिया बगानमा ‘आर्थिक क्षतिपूर्ति’ दिनु सक्दैन

000

जिटिए-२ को नेतृत्वहरुले गर्नसक्ने काम भनेको यति मात्रै हो –

१. हाम्रो जातीय स्वाभिमानलाई बेच्न सक्छ

२. हाम्रो जातीय मुद्दालाई बेच्नु सक्छ

३. हाम्रो निर्दोष दाजु भाई दिदी बहिनीहरूलाई जेल पठाउनु सक्छ

४. विस्थापित परिवारको सदस्यहरूको घर कुर्की गर्न लगाउनु सक्छ

५. अरु त अरु गोर्खाल्याण्डको निम्ति शहीद बनेका योध्दाहरुको सपना र रगत बेच्न सक्छ – इत्यादि।

000

म एक वयोवृद्ध सङ्ग्रामीको नाताले यो अपिल गर्न चाहन्छु कि यस चोटी भारतको सत्तासिन दलले आफ्नो सङ्कल्प पत्रमा दार्जीलिङ पहाड, तराई, डुवर्सको निम्ति ‘स्थायी राजनैतिक समाधान’ गर्नेछौं भनेर उल्लेख गरेको छ यसर्थ सबै एकजुट बनौं – जातिलाई उन्मुक्ति दिलाउँ – आउने भावी पिडीको भविष्य उज्जवल बनाउँ।


लेखक गोर्खा जनमुक्ति मोर्चा, केन्द्रिय समितिका उपाध्यक्ष हुन्

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया