किताब, रहर र म

खुशी

अहिले टिभी छ, सोसल मिडिया छ। इन्टरनेट छ। पढ्नलाई हजारौं अप्सन छन्, तर किताब पढ्ने आदत अझ तीब्र तीब्र छ। किताबको स्वाद केहीले दिन सक्तैन। पन्ना पल्टाउनुको मज्जा कहाँ पाउनु। कागजको स्पर्शको विकल्प छैन।  आधा पढेका पन्ना बटारिराख्नु, नङ वा कलमले टिक गरिराख्नु र फुर्सद पाउने वित्तिकै तानेर पढ्नु, किताबले दिने संसारमा भुल्लिनु र एकछिन किताब छातीमा थन्काएर कल्पनामा डुब्नुजस्तो आनन्द कहाँ पाउनु?


सुदास राई


सबैको एउटा न एउटा रहर हुन्छ। मेरो पनि थियो। छ।  इङ्ग्लिशमा भन्नु हो भने, हबी। तपाईँको पनि त होला नी केही न केही हबी। है?

स्कुल पढ्दा धेर साथीहरु फौजी जाने रहर पाल्थेl  धेरै साथीहरुले यही रहर पालेर बसे  तर एक दुई जनाको पूरा भयो होला। रहर सबैको पूरा हुँदैन रहेछ।   इन्द्रबहादुर राईको एउटा कथामा भनिएको छ, ‘सबैले चाहे जस्तै हुने भए, संसार यस्तो कहाँ हुने  थियो।’

साँच्ची नै रहेछ।

स्कुल पढ्दा  पुस्तकालयमा आफुले भनेको किताब पाइन्थेन। गाउँको त्यति सानो पुस्तकालयमा कसरी पो आउँथे र चाहेजस्ता किताब। स्कुलको नि पुस्तकालय थियो तर म स्कुल  क्लास -१० मा पढ्दासम्म कहिले खुलिएन। अहिले स्कुलको पुस्तकालय त्यस्तै बन्द छ कि खुल्छ? थाहा छैन।

अब यो केटा कति ज्ञानी, स्कुलको किताब खोज्नु यति सारो पुस्तकालय गाको नभन्नु होला नि फेरि l आफ्नो सिलेबसका किताब होइन, कथा, कविता  र उपन्यासका किताब खोज्थें, जो पाइन्नथ्यो।

त्यो बेला प्रकाश कोविद सुपर हिट। सिरिजको सिरिज उपन्यास।  उनका उपन्यास चाँही गाउँको पुस्तकालयमा पाइन्थे। कोविदको नयाँ किताब आउँथ्यो, पुस्तकालय जान ढिलो भए किताब पाइन्नथ्यो। कसैले उडाइहाल्ने। त्यो किताब कुर्न २/३ महिना लाग्ने।

जब मेरो बुद्धि पलायो मलाई भने अलिक फरक रहर जाग्यो l यो रहर  पाल्नुमा मेरो आपाको ठूलो भूमिका छl

लाग्थ्यो, भविष्यमा म राम्रा राम्रा किताबहरु घरभरि थुपार्छु। गाउँको पुस्तकालयभन्दा धेर। यस्तो पो थियो मेरो रहर तl

 म अब अलिक अलिक किताब छिचोलने हुँदै थिएँl  गाउँमा एकदिन ढिलो गरेर भए नि हिमालचुली दैनिक आउने गर्थ्यो। त्यसबेला एउटै बस साइरथ चल्थ्यो। बिहान गएपछि राती आउने। हिजोको पेपर आज पढ्नु पर्ने। कोही बेला बस बिग्रेर ५/६ दिन सिलगुढी बसे एकैचोटी पेपर आइपुग्ने सबै दिनको।

बासी पढ्नुपर्ने। शायद, खबर पढ्नेलाई त्यतिबेला बासी नहुन पनि सक्छ। किन भने त्यतिखेर टेलिभिजन आएकै थिएन।  बिजुली बत्ती त झोलुङ र मालबाजार जाँदा मात्र देखिने। खबर सुन्नु परे एक मात्र  खर्साङ रेडियोको भर पर्न पर्थ्यो। त्यो पनि यस्तो बज्थ्यो मानौं, रेडियोभित्र हावाहुरी चलिरहेको छ।  बरु रेडियो नेपाल चैं निकै राम्रो आउनेl तर त्यसले हाम्रो खबर नभन्ने।

तरै पनि सुन्नैपर्ने। हामीलाई भारतभन्दा धेर नेपालकैबारे जानकारी हुने।  

त्यसैले पुरानो  पेपरमा भएको सप्पै खबर नयाँ लाग्दो हो गाउँलाई त्यो बेला l 

त्यो बासी हिमालचुली पेपरमा  फेन्टमको कार्तुनको सिक्युल छापिन्थ्यो। खोई कुन बार हो त्यो नि बिचको पाताको तलको सानो फेदमा आउँथ्यो। पेपरतिर मलाई आकर्षित गर्ने त्यो फेन्टम नै होl

फेन्टम त एकैछिनमा सक्ने। अक्षर छिचोल्दै थिएँ हुँला म। फेन्टम आउने दिन कथा, कविता पनि छपिँदोरहेछ।  त्यही पढ्ने आदत बस्यो।

आदत बसेपछि दराजमा राखेको कर्नल रञ्जितको उपन्यास सुटुक्क हेर्न थालियो। त्यही दराजमा मैले कोविद, शिवकुमार राईहरु पनि भेटें।

स्कुल गएपछि त भेटें ग्रामीण पुस्तकालय स्कुलनजिकl स्कुल सकिन साथ त्यहीँ पस्थें।  खोलिने १ बजिदेखि। त्यही पुस्तकालयमा मैले धेरै लेखक फेला पारें।  चिनें।

घरमा एउटा सानो दराज थियो l विस्तारै अब किताबहरू त्यहाँ मिलाएर राख्न थालेंl आपाको कर्नल रञ्जितदेखि लिएर गाउँको म्याग्जिन,स्मारिका, स्पर्श,समय र अरु। त्यहीँ राखेँ जय क्याक्टसको युग कविता र मान्छे, मोतिवीर राईको भावनागाङ्गेय।

त्यसपछि दराजमा किताब मिलाएर राख्ने आदत बस्यो। पढ्ने आदत बसेपछि किताबको माया लाग्दो रहेछ। किताबले जुन आनन्द दिन्थ्यो, त्यो कतै नपाइने।

गाउँमा एक जना मामा हुनुहुन्छ, भूमि गुरुङ। उनकोमा ठुलो ठुलो किताब देखेको थिएँl पढ्न मागें। दिनु नि भयो ४/५ वटा l ठण्डा महिनाको स्कुलको छुट्टी थियो। मजाले पढें त्यतिबेला भूमि मामाको किताबl त्यही किताबमा पढें श्रीकृष्णका चरित्र। धुन्दुकारीको कथा। भगवान शिव। अनि विष्णुका लीला। महाभारत र रामायणका कथाहरुl ठण्डा महिनाको छुट्टीमा मैले पढेको रहेछु शिवपुराण ,बिष्णुपुराण,कृष्ण लीला,रामायण अनि महाभारतl

सत्य भन्छु, ती किताबहरुबाट मैले आध्यात्मिकता र नैतिकता सिकें की सिकिनँ तर त्यो ठण्डा महिनाको छुटी भने मज्जाले काटें।

त्यसपछि पढ्नमात्र होइन लेख्ने रहर पनि पलायो। अनिल तेलैजा, मनोज बोगटी छिरिङ दीनजस्ता साथीहरुको साथ गाउँमै पाएँl

गाउँको स्कुल सकेर कालेबुङ आएँ। क्लास ११/१२ पढ्नl त्यो बेला गाउँको स्कुलमा उच्च माध्यमिक तहको क्लास शुरू भएको थिएन l

यहाँ आएर रूम पार्टनर पाएँ  नेपाली साहित्यमा अनर्स गर्ने सञ्जय थापा दाजु।  पाएँ  उनका  साथीहरु कमल  रेग्मी, रमेश थापा, उज्जवल बम्जनहरू।

अनि त के थियो, त्यसपछि पढ्नलाई अभाव रहेन। दाजुहरूलाई पर्याप्त पढियो। किताबको छेलोखेलो भयो।   

घरको दराज किताबहरूले भरिँदै जान थाल्यो। कालेबुङ पढ्दा महकुमा पुस्तकालय, केन्द्रिय पुस्तकालयका सदस्य भइयो। किताबले तानेर।

मलाई लाग्यो, मेरो नि रूमभरि किताब हुनुपर्छ। रहर अग्लियो। यस्तै बेलामा हो दराजमा छिरिङ दीनको  घरेडीबिनाका घरहरू राख्ने मौका पाएँ।  जय क्याक्टसको बिश्वासको घर  सजाउन पाएँ।

५ बर्ष कानुन पढ्दा ठूलोठूलो कानुनको किताब भेटें। साहित्यिक किताब छुट्यो। तरैपनि शिव खेडाको यु क्यान विन जस्ता किताब त पढ्न भ्याएँ नै।  प्रोत्साहित गर्ने विचार र किताब म आज पनि पढ्छु।

गाउँ छोड़ियोl पेटको लागि कालेबुङ नगर बस्न पऱ्यो। तर मज्जा के भने गाउँका जम्मै साथीहरू त कालेबुङ नगरमा नै पो भेटिए।  सबै आ आफ्नो पेशामाl  मैजस्तै जिन्दगी खोज्दै आएका। आफूलाई खोज्दै आएका। रमेश थापा, उज्जवल बम्जन, कमल रेग्मी, मनोज बोगटी, अनिल तेलैजा। सबै यतै।

साथीहरू लेखक भएपछि किताबको संसर्ग टुट्दैन। मैले लेख्न त छोडें पढ्न छोडिन। किताब पढ्न र किताब थुपार्न करकर गर्ने दुइ साथी छन्। एक लङ्गोटिया मनोज बोगटी, अर्को ११/१२ मा नेपाली सँगै पढ्ने रोशन विष्टl 

जब जब मनोज नेपाल जान्थ्यो उ सोध्थ्यो, कु कुन?

म किताबको सूची थमाउँथें। त्यसैको सिफारिसमा धेरै किताब थुपारें। अहिले त मनोज किताबकै दोकान खोलेर बसेको छ। किताबको के दुःख र?

रोशन साथी आफू साइन्सको विद्यार्थी। स्कुलमा नेपालीमा टप्पर हुने उ नै हुन्थ्योl  हामी कला विभागकालाई हेरेको हेरेको बनाउनेl  स्कुलमा खासै नजिक हुन पाएनौं।  पछि पेशाले   म कालेबुङ न्यायलय पुग्दा रोशन आफू पढेकै स्कुल  कुमुदिनी होम्समा शिक्षक भइसकेका थिए।

उ पनि किताबको कीरा। म पनि। बितेको केही वर्ष हामी दुई निक्कै किताब थुपाऱ्यौं। निक्कै किताब पढ्यौं। अहिले टिभी छ, सोसल मिडिया छ। इन्टरनेट छ। पढ्नलाई हजारौं अप्सन छन्, तर किताब पढ्ने आदत अझ तीब्र तीब्र छ। किताबको स्वाद केहीले दिन सक्तैन। पन्ना पल्टाउनुको मज्जा कहाँ पाउनु। कागजको स्पर्शको विकल्प छैन।  आधा पढेका पन्ना बटारिराख्नु, नङ वा कलमले टिक गरिराख्नु र फुर्सद पाउने वित्तिकै तानेर पढ्नु, किताबले दिने संसारमा भुल्लिनु र एकछिन किताब छातीमा थन्काएर कल्पनामा डुब्नुजस्तो आनन्द कहाँ पाउनु?

अहिले 6/7 दराज भरिसकेको छ। अब मेरो रहर पूरा हुँदैछ। गाउँको पुस्तकालयभन्दा धेर किताब मेरो कोठामा हुनेछ।

सानोको सपना अब पो पूरा हुँदैछ।

जय किताब।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया