बबी जामा

स्मृतिको स्क्रिनमा

म डराएर केही बोल्न सकिनँ। जामा कसरी फाट्यो भनी सफाइ दिन पनि दिन सकिनँ। काम्दै आमाअघि उभिएकी मेरो आँखा भुइँमा थियो। मतर्फ आमाको हात बढेको देखेर मेरा दुवै आँखा चिम्म भयो। थप्पड होला सोचेकी थिएँ। मेरो गालामा च्वाक्क आमाले म्वाँई  खाइन्। न्यानो अङ्गालो हालिन् । बबी जामाले हामी आमा छोरीको सम्बन्ध र प्रेमलाई अझ गाढा र कसिलो बनाइ दिएको मिठो र अविस्मरणीय क्षण थियो यो। गालामा सुकिसकेको आँसुको रेखासितै म आमाको अँगालोमा बाँधिएर मुसुक्क हासेँ।


कविता लामा, सिक्किम विश्वविद्यालय।


ग्राहक तान्ने चुम्बक

भीमराजको लुगा दोकान एउटा ‘ब्रान्ड नेम’ हो। खर्साङ सहरको मध्य भागमा अवस्थित हाटबजारमा यो दोकान अहिले पनि छ। एक समय यस्तो थियो- कमान बस्तीदेखि लिएर खर्साङ वरिपरिका मानिसहरूले भीमराजको दोकानमा किनेको लुगा लगाउन गौरव अनुभव गर्थे। जति लगाए पनि रङ्ग नजाने, मोटो, खप्ने, जाडो उत्तिकै थाम्ने, धेरै प्रकार र उमेर वर्गका लागि ठिकै मूल्यमा छानी छानी लुगा पाउने उनको दोकानलाई नचिन्ने कोही थिएनन्। धपक्क बलेको उज्यालो अनुहार र प्रायः सेतो कुर्तामा देखिने भीमराज बोली र व्यवहारले पक्का व्यापारी।

सबैलाई मनले नै माया गर्ने, कहिल्यै नरिसाउने, थानको थान लुगा देखाएर पनि नथाक्ने भीमराजले ग्राहकको मनमा आफ्नो विशेष ठाउँ बनाएका थिए। ग्राहकको मनोभावलाई सहजै बुझ्ने उनी कसलाई आमा, दिदी, बहिनी, दाजु, भाइ र छोरी भनेर सम्बन्ध गाँस्नमा खप्पिस। दोकानमा आएका ग्राहकलाई निरास बनाउन हुन्न, त्यसले व्यापारमा ठुलो घाटा लाग्छ भनी रणनीतिसित गद्दी सम्हाल्ने भीमराजले सबैको अनुहार र स्वर ठ्याक्क ठिम्याएर ग्राहकलाई लुगा किनाइ छाड्थे।

दिनभरि उनले ग्राहकलाई कति अनुरोध गर्थे त्यसको हिसाब कसले राख्ने? “तपाईँ  कहाँ हिँड्नु भएको? हतार गरेर हुन्छ? एकछिन बस्नु होस् न, धैर्य गर्नुहोस्, हामीले देखाएको लुगा तपाईँले मन पराउन भएको छैन, म देखाउँछु नि भित्र कोठामा अझै हाम्रो स्टक छ।” भन्दै एकैछिनमा थाक लुगा बोकेर ल्याउँथे। यस्ता अनेकौँ गुण र खुल्ला स्वभावले ग्राहकलाई उनकै दोकानतर्फ तानेर लैजान्थ्यो।

हाम्रा मान्छेहरू उनको दोकानमै जाने अर्को एउटा कारण पनि थियो- पुराना र विश्वासी ग्राहकलाई उनी जति पनि बाँकी दिन्थे। तुरुन्तै रातो खातामा हिसाब लेख्न भने बिर्सन्दैन्थे। वर्षैभरि फाटाकफुटुक मान्छेहरूले लुगा किनेको देखिने यस दोकानअघि दसैँमा निकै भिड हुन्थ्यो, विशेष आइतबार।  दोकानमा जस्तै घुइँचो देखे पनि आफ्नो खुसीले मान्छे बाहिर पालो पर्खेन्थे। भीमराज र उनको दोकानमा ग्राहकलाई सहजै तान्ने एउटा चुम्बकीय आकर्षण थियो।

अघिअघि दिदी, पछिपछि म

आमाले हामी दुई छोरीलाई त्यस दोकानमा वर्षमा दुईपल्ट लिएर जान्थिन्- (क)  दसैँको लुगा र (ख) स्कुलको युनिफार्मको लुगा किन्न।  कुनै कुनै वर्ष त यो खेप घटेर दसैँको लुगा किन्न मात्र त्यहाँ पुगिन्थ्यो। त्यस समय नयाँ लुगा किन्ने हर्ष मनबाटै पोखिएर छताछुल्ल हुन्थे। आज नयाँ लुगा किन्दा त्यो खुसी र उत्साह मान्छेको अनुहारमा कम नै देखिन्छ। अर्को वर्ष अर्को क्लासमा पुग्दा युनिफार्म साह्रै पुरानो देखिएन भने म लगायत हामी प्रायः साथीहरूले जामाको हेम खोलेर त्यसैले त्यो एक वर्ष बिताउँथ्यौँ। तर मलाई हरेक वर्ष नयाँ जामा लगाएर स्कुल जान मन पर्थ्यौँ किनभने नयाँ लुगाको स्वाद पर्ने गन्धले म मक्ख हुन्थेँ।

लुगामा नाक टस्साएर धेरै बेरसम्म त्यसको गन्ध आफूभित्र महसुस गर्न अझ पनि मन पर्छ मलाई। अचेलका लुगामा पहिलाको झैँ नयाँ र मिठो गन्ध पाउँदिनँ।  मलाई यस्तो लाग्छ कि पहिलोचोटि शरीरमा नयाँ लुगा लगाएको अनुभवमा पनि अचेल नयाँपन हराउँदै गइरहेछ। 

जे होस्, म कुरा गर्दैछु नयाँ लुगाको बारेमा।  ज्ञान आएदेखि स्कुल पढिन्जेलसम्म हरेक दसैँको लुगा नानाको जस्तै एकै खाले लगाउँदा लगाउँदा म वाक्क दिक्क भइसकेकी थिएँ। नानाले निलो जामा लगाए मलाई त्यही लुगाको प्यान्ट सिलाई दिन्थ्यो, पहेँलो कटराईको कोट बनाउँदा मैले पनि उस्तै रङ्गको कोट लगाउन कर लाग्थ्यो। पुल्का डट डट भएको जामा एउटै रङ्गको हुन्थ्यो, केवल प्रिन्ट केही भिन्न- नानालाई ठुलो, मलाई सानो। दसैँको लुगा किन्दा वा लुगा छान्दा मलाई त्यसले कस्तो लुगा लगाउने इच्छा छ? सोधेको थाहा छैन।

दिदी बहिनी एउटै लुगामा दसैँमा टिका लगाउन जान्थ्यौँ। तिहारमा भैलो यही एउटै लुगामा खेल्थ्यौँ। बेला बेलामा लाज पनि लाग्थ्यो। पछि अलिक ठुली हुँदै जाँदा आफू खुसी लुगा किन्छु भनी मनको इच्छा पोख्न मन लाग्थ्यो। किन हरेक वर्ष मैले नानाको जस्तै लुगा लगाउनु? प्रश्न गर्न मन लाग्थ्यो। मन विद्रोही भइ उठ्थ्यो। तर आमासँग यो भाव पोखाउने सहास कहिल्यै जुटाउन सकिनँ।

साथीहरूले प्रत्येक दसैँमा किसिम किसिमका डिजाइनमा लुगाहरू किन्थे, सिलाउँथे तर मचाहिँ नाना कै रहरले आफ्नो रहर पुरा गर्न बाध्या बन्थेँ।  घरमा नाना जेठी छोरी र त्यसकै कुराले प्राथमिकता पाउँथ्यो।  म बहिनी भएकीले यसलाई सोधिरहन खाँचो छैन भन्ने नानाको मनोभाव बुझेर ‘हुन्छ’-को टाउको हल्लाउन मात्र लुगा किन्न सँगै दोकान जाने गर्थेँ। नानाले आफूलाई मन परेको लुगा किन्ने गर्थी। म पुच्छर भएर बित्थामा पनि खुसी भएकी अभिनय गर्थेँ। धेरैवटा दसैँ र तिहार मैले नाना अमिता जस्तै लुगा लगाएर बिताइरहेकी थिएँ।

पिक्चरको जामा

डिम्पल अनि ऋषि कपुरको बबी फिल्मले मेरो जीवनमा एउटा नौलो मोड ल्यायो। सत्तरको दशकमा खर्साङ प्लाजा सिनेमा हलमा भिडका साथ चलिरहेको बबीको चर्चा हामी स्कुलेहरूमा धेरै दिनसम्म चुलिरह्यो। कुनै न कुनै दिन मान्छेको राम्रो समय आउँछ भनिन्थ्यो। मेरो पनि आएको जस्तो लाग्यो। मैले यही विशेष समय पर्खिरहेकी थिएँ। म सात आठ क्लासकी छात्रा थिएँ। किशोरावस्थामा दामी लुगा लगाएर सिनेमा हेर्न जाने मन कसलाई हुँदैन र? मलाई पनि हुन्थ्यो। मभित्र पनि के के गर्ने र कहाँ कहाँ घुम्न जाने रहरहरू थिए। आमासित बेला बेलामा भगवान्-को सिनेमा हेर्न जान पाउँदा पनि खुसी हुन्थेँ।

प्लाजा हलमा लागेको बबी नयाँ हिरो हिरोइनले खेलेको सिनेमा थियो। ‘हम तुम एक कमरे में बन्द है और चाबी खो जाए’ गीत हिट भयो। यो गीत, गाउने नगाउने सबै केटा केटीको मुखमा झुन्डिएको थियो। धेरै प्रेमी प्रेमिकाले आफ्ना प्रेम पत्रमा यो गीत लेखेको कुरा साथीहरूले भनेको थाहा छ। बाटोमा बसेका केटाहरूले केटी जिस्काउनलाई गुनगुनाएको थाहा छ। त्यसबेला हामी फिल्म वा मुवी हेर्न होइन सिनेमा वा पिक्चर हेर्न जान्थ्यौँ। आमाहरू बाइस्कोप हेर्न जान्थे। बबी सिनेमा हेरिसकेका साथीहरूले स्कुलमा डिम्पलले लगाएकी जामा र बेल बटमको कुरा गरेर मनमा त्यो पिक्चर हेर्ने यस्तो रहर उमारी दिए कि हामी  दुई चारजना साथीहरूले दिउँसो खाजा खाने पैसा जमा गरेर भए पनि बबी हेर्ने सल्लाह गर्‍यौँ।

खर्साङबासीको निम्ति मनोरञ्जनको साधन यही एउटा सिनेमा हल हाइवेमा अवस्थित थियो। अहिले त्यो हल बन्द भएको मात्र होइन तर जीर्णोद्वार अवस्थामा देख्दा मन नै कुँडिन्छ। मूल सडक अघि नै टोय ट्रेन दगुर्ने फलामको लामो लिकमा सिनेमा हेर्नेहरूको भिड र टिकट काट्नेहरूको लामो लाइन उभिएको हुन्थ्यो। टिकट काट्दा मान्छेमाथि मान्छे चढेको, एकाअर्कामा लाप्पा परेको, खुनमा लतपत देख्दा अबदेखि यस हलमा आउँदिनँ, सोच्न बाध्या बनाउँथ्यो। केही दिनपछि सबै घटना बिर्सिन्थ्यो। सबै सामान्य लाग्थ्यो र फेरि हल पुगिन्थ्यो। हरेक बिहिबार प्लाजामा नयाँ सिनेमा लाग्न साथ मान्छेहरूको भिड अस्वाभाविक रूपले बढेको हुन्थ्यो। तिनै सोमा उत्तिकै भिड- दिउँसो 12 बजी, साँझ 5 बजी अनि राति 9 बजी। 9 बजीको सिनेमा छुटेर राति 12 बजी मध्य रातमा खर्साङको सडकभरि मान्छेहरू दिउँसोझैँ ढुक्कैले हिँड्थे। कस्तो शान्तिमय परिवेश थियो त्यस समय हाम्रो समाजमा। आज त्यसको ठिक उल्टो समयसित लडिरहेका छौँ हामी सबै।

सिनेमा हेर्नको निम्ति टिकट बुक हप्ता दिन पहिलै गर्न पर्थ्यौ। टिकट बुक नगरी हाताहात त्यही दिन टिकट काट्न धेरै गाह्रो थियो, सजिलो थिएन। हाम्रो त कोही स्टाफ चिनाजना थिएनन्। टिकट काटेरै हेर्न पर्ने बाध्यता हामीसित थियो, नत्र ब्ल्याक्-मा टिकट किन्न पर्थ्यौ।  त्यो किन्न प्रशस्तै पैसा हामीसित थिएन। लाइनमा दुई घन्टादेखि चेप्टिएर भए पनि पहेँलो रङ्गको टिकट काटेर हामी पाँचजना रीता, शशी, प्रभा, निवेदिता र म थर्ड क्लासको कडा बेन्चमा बसेर, टाउको केही उत्तानो पारेर बबी हेर्न सफल भयौँ।  

ह्याफटाइम (इन्टरभल)-मा 5 पैसा र 10 पैसा गरी ढाकीमा सानो ठुलो खोचीमा बदाम बेच्ने हल भित्रै आउँथेँ दाजु दिदीहरू। अँध्यारोमा बदाम छोडाएर खाँदै पिक्चर हेर्नुको मजा नै अर्को थियो। कस्तो आनन्दको जीवन थियो त्यो, न कुनै दुःख, न मनको चिन्ता।

 बबी पिक्चर हेरेँ।  डिम्पल र ऋषि कपुरको जोडी खुप मन पर्‍यो। डिम्पलले लगाएकी सुन्दर जामा झन् मन पर्‍यो। पछिसम्म आँखा र मनमा त्यो जामा टाँसिरह्यो, झुन्डिरह्यो। आउँदो दसैँमा मैले पनि यस्तै जामा लगाउन पाएँ हुन्थ्यो। रहरहरू उम्रिन थाले। केटीहरूले यसलाई “बबी जामा” नामले फेसन बनाइ सकेका थिए।   

मैले गाली होइन, जामा पाएँ

म पनि बबी जामा सिलाउँछु सिलाउँछु, दृढ निश्चय गरेँ। आमाले अनुमति दिने हुन् वा होइनन् त्यो पछिको कुरा हो, पनि सोचेँ। यो पनि सोचेँ आमासित यो जामाको निम्ति जति नै जिद गर्न परे पनि म पछि हट्ने छैन। चुनौती लरतरो थिएन। आमाको अनुहार आँखा अघि आयो। भनेको नसुन्दा र अटेरी गर्दा बेल्ना, चिम्टा, कुचो, भाटा जे हात लाग्यो त्यसले डाम बसिन्जेल हिर्काएको विभत्स दृश्य आँखा, मन र मस्तिष्कमा एकै चोटि आँधि हुरी भएर आए। म अलिकति पनि विचलित बनिनँ। जुनै अग्लो पाहाड चढेर पनि यस वर्षको दसैँमा बबी जामा बनाउनु थियो। यो कस्तो ढिटपन हो मलाई नै थाहा थिएन। यसको नतिजा राम्रो हुन्छ कि हुँदैन त्यसको पनि चिन्ता थिएन।  भित्रबाट शरीर र मन दुवै काँपिरहेको थियो। यो अनुभूति आमाको कुटाइको डरले हो कि आफ्नो इच्छा पुरा हुने खुसीले हो, त्यो पनि थाहा थिएन। थाहा पाउने कोसिसमा आफ्नो शक्ति र ऊर्जा खर्च गर्ने पक्षमा म पटक्कै थिइनँ।  

दसैँ आउँदै थियो र हाम्रो नयाँ लुगा किन्ने दिन पनि छेउ छेउमा आउँदै थियो।  यस पालि बबी जामा लगाउने मेरो योजनामा कुनै हेरफेर हुने छैन। यो आफैसितको कसम थियो। बरू कुटाइ  नै खान परोस्, त्यो सहन्छु तर नानाको जस्तै लुगा दसैँमा लगाएछु भने त के? यो चुनौती आफैसित पनि थियो।

आइतबारको दिन बिहानै आमाले आपालाई जानकारी गराइन्, “आज हामी दसैँको लुगा किन्न बजार जानेछौँ।” कुरा सुनेर कान ठाडो भयो, हृदय गदगद। आज किन्ने नयाँ लुगा नानाभन्दा फरक रङ्ग, फुल बुट्टा भएको र अर्कै डिजाइनमा लगाउँछु। यसो गरेर म घरको नियमको विरूद्ध जाँदै थिएँ भन्ने कुरा मलाई राम्ररी थाहा थियो। जे पर्छ त्यही टर्छ। स्थिति बिग्रेर गए, डटेर सामना गर्छु। मन दह्रो गर्ने कोसिस लगातार गरिरहेकी थिएँ।

भीमराजको दोकान पुग्दा मेरो मुटु खुसीले भन्दा डरले हत्केलामा आइसकेको थियो। जुन हत्केला अघिबाटै पसिनाले लछेप्रै भिजिसकेको थाहा पाइरहेकी थिएँ। पसिना आउने चर्को घाम थिएन त्यो दिन खर्साङमा। दिन धुम्मिएको थियो। पानी परिहालेको थिएन। अग्नी परीक्षा दिने सही समयको मौका हेर्दै थिएँ। लुगा छान्ने क्रममा आँट गरेर केही बेरपछि मैले बबी जामा लगाउने इच्छा आमापट्टि नफर्की भीमराजलाई हेर्दै व्यक्त गरेँ।

व्यापारी भीमराजले मेरो मनोभाव यसरी बुझे कि जसरी ईश्वरले भक्तको मनलाई बुझ्ने गर्छन्। “लु भाइ, देखाइ देऊ यसलाई, बबी जामाको लुगा।”-यो आवाज आमाको थियो। मेरो कुरा सुनेर “ओइ, के हरे?” भनेर आमा रिसाइनन्, प्रश्न पनि गरिनन्। विश्वास भएन। म दङ्ग परेँ। गाली खान्छु सोचेकी थिएँ। म आज गलत साबित भएँ। आमाबाट त्यस्तो कुनै नकारात्मक प्रतिक्रिया आएन। डरले उभिरहेकी म, गद्दीमा ठाँट र सुविधाले खुसी हुँदै लुगा छान्न बसेँ।

केही दिनपछि सिलाइएको बबी जामा मेरो हातमा थियो। सोचेँ भन्दा कैयौँ गुणा सुन्दर। चिटिक्क परेको। सपना यसरी विपनामा परिणत भएको मिठो क्षण थियो त्यो। तत्काल बबी जामा लगाएर गाउँ घुम्ने मन भयो। साथीहरूलाई घरमै बोलाएर देखाएँ मेरो बबी जामा। हरियो मसिनो फुलमा बिच बिचमा रातो गुलाफको बुट्टा भएको, दुई पट्टिको बाहुलाको डिजाइन पप, पछिल्लो भागमा लगेर बेल्ट बाँध्ने, छरितो, छड्के कटिङ्गको मेरो बबी जामा साँच्चै मलाई मन पर्ने सुन्दर थियो। जामासित लगाउने बेल बटम म्याचिङ् हल्का हरियो रङ्गको थियो। जीवनमा पहिलोचोटि नानाभन्दा फरक लुगामा देखिने यस पालिको दसैँ मेरो निम्ति विशेष थियो। एउटा नयाँ लुगाले दिएको खुसी र सन्तोकमा संसार जितेको अनुभव गरेँ। बाल्यपनले दिएको खुसी र विजय थियो त्यो।

बबीजामा र व्यारिङ

हप्ताको पाँच दिन स्कुलको युनिफार्ममा हुन्थेँ। युनिफार्मदेखि मुक्ति पाउने दिन आइतबार। आफूलाई मन परेको लुगा लगाउने दिन र हप्तामा नुहाउने दिन पनि हो आइतबार। नुहाइ धुवाइ गरी बबी जामामा चिटिक्क तयार भई निस्कँदा कृष्णा छेमा, पवित्रको आमा, कल्पना, चन्द्र दिदी सबैले “तिमीलाई कस्तो सुहायो कविता बबी जामाले।” भनेर मेरो प्रशंसा गर्दा गजक्क पर्थेँ।

हाम्रो गाउँमा पक्की ठुलो सडक थियो। गाडी कम कुद्थे।  खाली खाली सडकमा हामी पाँच ढुङ्गे, गोल, कबड्डी, ब्याडमिन्टन, अम्बल डम्बल आदि खेलहरू खेल्थ्यौँ । घरभित्र बसेर हात हातमा मोबाइल चलाउने र  भिडियो गेम खेल्ने केटाकेटीमा परेनौँ हामी। बिहान खाजा खाएर घरबाट साथीहरूसित खेल्न निस्केपछि हामी दिउँसोको खाना खाने समय पनि पाउँदैन्थ्यौँ। जे जति खेलहरू घरबाहिर खेल्थ्यौँ। हामी दौँतरे चित्रकला, योगेश, पप्पु, शशी, सुदेश, प्रभा, जरिना, फरिदा, निवेदिता, द्वारिका आदि पालै पालो ब्यारिङ्ग खेल्थ्यौँ।  

चक्का लगाइ बनाइएको काठको दुईजना अटाउने सानो गाडी जसलाई ब्यारिङ्ग भनिन्थ्यो। अघिपट्टि केटा साथी पछि केटी साथी बसेर पालो पालो यो गाडी चढ्न खुबै रमाइलो हुन्थ्यो। मज्जा आउँथ्यो। हामी पाँच छजना केटीहरूलाई ब्यारिङ्गमा चढाउने भनेको योगेश सुदेश नै थिए। ध्रुव दाजु, ज्योति दादा, पुरन दाजु, विकास दाजुले हामी सानोहरूलाई पत्तै दिनु हुन्न थिए।

खाजा खाई घरबाट बिहान बबी जामा लगाएर तयार भई निस्किँदा आमाले माया गरी भनिन्- “ओइ नानी, यति राम्रो जामालाई फेरफारे नबना न, बजार जाँदा लगाउने लुगा हो यो। लुगाको इज्जत गर्न सिक है।” मैले बिन्ती भावमा भनेँ- “आज एकदिन लगाउँछु नि ल आमा। त्यसपछि धोएर राखि दिनुहोस्।” बाहिर अघिदेखि साथीहरू मलाई नै पर्खिरहेका थिए। आमाबाट अनुमति पाएको सङ्केत बुझेर म ब्यारिङ्ग खेल्न गएँ।

धेरै बेर पछि मेरो र पप्पुको पालो आयो। योगेश अघिल्लो सिटमा ड्राइभर भएर बस्यो, बिचमा पप्पु (मभन्दा सानी थिई) र म सबैभन्दा पछि। दुईजनाको सिटमा हामी तिनजना अटाई नटाई ब्यारिङ्गमा बस्यौँ। म कम्ति ठाउँमा पप्पुलाई च्याप्प समातेर बढो मुस्किलले अडिएकी थिएँ। सडकमा दुई तिनचोटि कुदेपछि मलाई पछिबाट केही अडकिएको जस्तो अनुभव भयो। झन्डै सडकमा उत्तानो परेर लडेँ। योगेश गाडी कुदाइरहेको थियो, हल्ला गर्दै। एक्कासी म चिच्याएछु “गाडी रोक न योगेश”।

अरू साथीहरू अलिक माथि गफ गर्दै, हाँस्दै आफ्नो पालो पर्खिरहेका थिए। हाम्रो ब्यारिङ्ग तल आइ सकेको थियो। मेरो चिच्याहटले एकैछिनमा चकमन्न बन्यो वातावरण। हाम्रो खेल यतिमा नै रोकियो। योगेशले गाडी रोकपछि म उत्रिन सकिनँ कारण मेरो बबी जामाको एकपट्टिको छेउ ब्यारिङ्गको चक्कामा बेरी सकेको थिएछ। योगेश र सुदेश दुवैले धेरै कोसिस गरेपछि चक्काबाट जामाको फेरलाई छुट्टाउन सकियो।

दसैँको नयाँ जामाको तल्लो भाग ग्रिजको कालोले चिन्नै नसकिने, चक्कामा फँसेर दुलो दुलो परेको। एकपट्टि च्यातिएर झुत्रो भएको देखेर मेरो सातो गयो। एक महिना मात्र भएको नयाँ जामा फाटेको देखे आमाले घरभित्र पस्न दिने छैनन् भन्ने डरले सानो नानी जस्तै म जोड जोडले “मेरो बबी जामा” भन्दै रुन थालेँ।

आमाको एक थप्पडले एक हप्ता ज्वरो आउँछ। सोचेर आङ जिरिङ्ग भयो। साथीहरूले मलाई फकाउने कोसिस गरे। मेरो रुवाइ रोकिएन। आँखाबाट खोलाको पानी सरह आँसु बगिरहेको थियो। धीत मरुन्जेल लगाउन नपाई बबी जामा फाटेको देखेर म साह्रै दुःखी भएँ। बिहान सुकिलो भई खेल्न निस्केकी म अहिले रोएर फुस्रो धुस्रो भएकी थिएँ। जामा फाटिनु ठुलो कुरो होइन। फेरि नयाँ बनाउन सकिन्छ। तर यो जामासित मेरो बाल्यकालको भावना, इच्छा, रहर, खुसी र सपना पनि एकै साथ फाटेको थियो। मेरो निम्ति यो एउटा जामा मात्र थिएन यसमा मेरो आमा आपा दुवैको माया, ममता, स्नेह, दुःख, परिश्रम र आशीर्वादसित मलाई जीवनमा खुसी र सुखी देख्ने सपना पनि थियो। साथीहरूले सम्झाइ बुझाइ मलाई घरसम्म पुर्‍याइ दिने भए। नयाँ बबी जामा अहिले फाटेर मैला देखिने भएको थियो।

झापटको ठाउँमा म्वाई

यस्तै दुर्गतिमा म घर पुगेँ।  दैलोमा उभिएर अघिदेखि बाटो हेरिरहकी मेरी आमाले मलाई यस हालतमा देखेर कुटिनन्। गाली पनि गरिनन्। म डराएर केही बोल्न सकिनँ। जामा कसरी फाट्यो भनी सफाइ दिन पनि दिन सकिनँ। काम्दै आमाअघि उभिएकी मेरो आँखा भुइँमा थियो। मतर्फ आमाको हात बढेको देखेर मेरा दुवै आँखा चिम्म भयो। थप्पड होला सोचेकी थिएँ। मेरो गालामा च्वाक्क आमाले म्वाँई  खाइन्। न्यानो अङ्गालो हालिन् । बबी जामाले हामी आमा छोरीको सम्बन्ध र प्रेमलाई अझ गाढा र कसिलो बनाइ दिएको मिठो र अविस्मरणीय क्षण थियो यो। गालामा सुकिसकेको आँसुको रेखासितै म आमाको अँगालोमा बाँधिएर मुसुक्क हासेँ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया